'साइन्टिस्ट प्रोजेक्सन अफ अ लार्ज मार्सक्वेक अन द इस्टर्न मार्स विथिन टु डेज' शौचालयमा मोबाइल हेर्दै शौच गर्दै गरेको बेला उसको मोबाइलमा आएको आधिकारिक समाचार थियो त्यो। अरुबेला शौच गर्दा आधा घन्टा लगाउने माइकल। आज बल्ल उक्त समाचार पढ्दा जम्मा दुई/तीन मिनेट मात्र भएको थियो।
ऊ जति नै व्यस्त किन नहोस्, शौच गर्दा चाहिँ अप्रत्याशीत धैर्यता हुन्थ्यो उसमा। नेपालमा हुँदाको मनोज कुमार र अहिलेको माइकलमा धर्ती पातालको अन्तर होला तर नेपालमै हुँदाको शौच गर्दा धेरै समय लगाउने बानी अझै हटेको थिएन। उक्त खबर पढेसँगै उसलाई चाहिने धैर्यताको बाँध फुटिसकेको थियो। उसले हतार-हतार सफा गर्नको लागि पानीको स्विच अन गर्यो। ‘ड्रायरमा’ हात सुकायो अनि पाँच मिनेटमै शौच गरी बाहिर निस्कियो।
मंगल ग्रहको व्यस्त जीवन, काम काम भन्दै मरिमेट्टि गर्ने माइकल अब ती कुरालाई ख्याल नगरी छोरी र श्रीमतीलाई लिएर पृथ्विमा फर्कन हतार-हतार अत्यावश्यक सामान ‘प्याक’ गर्दै थियो। ढिला गरे रकेटको टिकट नपाइने भय छँदै थियो।
बाहिर आज अरु दिनभन्दा फरक दृश्य थियो। प्रहरीको साइरन सुनिन्थ्यो। माइकिङ पनि सुनिएको थियो। आकाशमा हवाईजहाज, हेलिकप्टर, प्राइभेट जेट, कारको जाम थियो। सबैलाई हतारो थियो मंगल ग्रहबाट भाग्नको लागि तर सडक पूरै जाम थियो। मानिसहरूमा एक किसिमको छटपटी देखिन्थ्यो। ऊ पनि उड्ने कारमा थियो। सडकमा जस्तै आकाशमा पनि जाम थियो तर जसोतसो उक्त जामलाई पन्छाउँदै ऊ रकेटपोर्टमा पुग्यो।
रकेटपोर्टको भिड थामिनसक्नुको थियो। प्रहरीलाई भिड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो। उसले जसोतसो भिडलाई पन्छाउँदै पृथ्वीको टिकट पायो। पहिलोपटक मंगल ग्रहमा पाइला टेक्ने टिकट पाउँदा जति खुसी थियो, त्योभन्दा कयौं गुणा खुसी मंगल ग्रहबाट पृथ्वी फर्कंदा थियो। टिकट नपाएकाहरू निराश हुँदै प्रहरीले सारेको सुरक्षित ठाउँतर्फ प्रस्थान गर्दै थिए।
नभन्दै वैज्ञानिकले आकलन गरेको समयावधीमै मंगल ग्रहमा १० रेक्टर स्केलको भुइँचालो गयो। उक्त भुइँचालोले भौतिक संरचनामा केही क्षति भए पनि मानवीय क्षति भने हुन पाएन। माइकल अमेरिका फर्किसकेको थियो। उसको परिवार र साथीसँगै केही समय बितापछि ऊ एक्लै आफ्नो जन्मठाउँ नेपाल जाने निधो गर्यो।
सन् २०२५ मा नेपालबाट अमेरिका छिरेको माइकल त्यसपछि पहिलो पटक नेपाल फर्किएको थियो। पहिला जुनसुकै ठाउँ भिडभाड हुने काठमाडौंको मुख्य चोकहरूमा समेत अहिले खासै चहलपहल थिएन। सडकमा गाडीको जाम पनि हटिसकेको थियो। वायु र धर्तीमा प्रदुषण घटिसकेको थियो। बाग्मती र विष्णुमतीको पानी पनि निश्चल देखिन्थ्यो। अमेरिका छिरिसकेपछि नेपालका साथीसँग सम्पर्क पातलिएको थियो तर काठमाडौं बस्ने एकजना साथीसँग भने नियमित सम्पर्क भैरहन्थ्यो। ऊसँगै काठमाडौंको साथीसँग उसकै निवासमा केही दिन बितायो।
'तँ मंगल ग्रहमा पुगिसकिस् है, हामी त अझै जहाँको त्यही' माइकलको साथीले आफ्नो फ्रस्टेसन पोख्यो। माइकलसँग भेट्दा र बोल्दा केही हिच्किचाहट महसुस गरेको राम्रोसँग बुझिन्थ्यो।
'जहाँ भए पनि खुसी ठूलो त रहेछ,' माइकलले केही सान्त्वना मिश्रित जवाफ फर्कायो।
'मंगल ग्रहमा गएर पनि आदर्श फलाक्न त छाडेको छैनस् है,' केही ठट्यौली पारामा माइकलको साथीले भन्यो।
'ह्या लिभ इट यार, बरु म नेपालबाट अमेरिका बाहिरिँदै गर्दा युवा नेताको लहर थियो अहिले उनै नेताको गभर्मेन्ट छ, कस्तो छ डेभलपमेन्ट?'
'जुन जोगी आए पनि कानै चिरेका, भाषण मात्र त रहेछ काम त पुरानोको भन्दा फरक छैन।'
'पहिला जस्तो आन्दोलन हुँदैन र अचेल?'
'कस्ले गर्छ आन्दोलन? देशमा युवा नै छैनन्। अलिअलि भएका पनि राजनीतिप्रति वाक्क भएर केही चासो नै दिँदैनन्।'
माइकल केही बोल्दै थियो तर उसको खाली हातमा एक्कासी उज्यालो बल्यो। रिङटोन जस्तो साइरन बज्यो। हातको उज्यालो र रिङटोनले मात्र त्यो मोबाइल फोन रहेको बुझिन्थ्यो। माइकलकी छोरीले अमेरिकाबाट भिडिओ कल गरेकी थिई तर उसकी छोरी स्कृनमा हैन साक्षात माइकल अगाडि नै बसेर कुरा गरे जस्तो देखिन्थ्यो। माइकलले फोन काट्यो अनि उसकी छोरी पनि स्वतः गायब भई। उक्त दृश्य कुनै स्वर्गकी परी वा भूतवाला कहानीभन्दा कम थिएन।
'प्रविधिले कहाँबाट कहाँ फड्को मार्यो है अब मानिसलाई अजम्बरी बनाउन मात्र बाँकी छ,' माइकलको साथीले आफ्नो स्मार्ट फोन स्क्रोल गर्दै भन्यो।
'अब त्यो पनि नियर फ्युचरमा पोसिबल छ। साइन्टिस्टहरू धेरै नजिक पुगिसकेका छन्।'
माइकलको साथी केही बोल्दै थियो, भान्साकोठाबाट उसको श्रीमतीको आवाज आयो- 'खाना रेडी भयो आउनुहोस्।'
उसको श्रीमतीको आवाजसँगै माइकलमा एउटा जिज्ञासाले सतायो, नेपाल छाडेको पच्चिस वर्ष भयो। अझै पनि महिला अधिकारको कुरा नारा मात्र रहेछ है। अनि आफैंले उक्त कुरालाई प्रतिवाद गर्दै आज एकदिनले मात्र पूरा समीक्षा गर्नु त के उचित होला र भन्दै आफैं प्रश्न अनि आफैं उत्तर दिँदै खानामै केन्द्रित गर्यो।
माइकलले आफ्नो झोला खोल्यो। सुट निकाल्यो। उक्त सुट पहिरिएपछि ऊ आकाशमा उड्न थाल्यो। उसको उडाइलाई लिएर मानिसहरू आकाशमा आश्चर्य मान्दै हेरिरहेका थिए। कोही रोमान्चित हुँदै हेरेका थिए भने कसैले भयको तरिकाले हेरिरहेका थिए। कसैले भने इन्टर्नेटबाट पहिले नै देखिसकेको हुनाले सहजै अनुमान लगाउन सकेका थिए। तर आफ्नो ठाउँमा पहिलोपटक देख्दा बच्चाले जस्तो जिज्ञासु तरिकाले सबैले हेरिरहेका थिए। आफू उडेको सबैले हेरिरहेको देख्दा माइकलमा बच्पनमा हवाईजहाज र हेलिकप्टरको आवाज सुन्दा जहाँ भए पनि दगुर्दै बाहिर आएर पहिल्याउने गरेको सम्झियो। चराहरूमा चिरबिर चिरबिर सुनिन्थ्यो। उनीहरूलाई कोही दुश्मन आएको इसारा गरिरहेका थिए। हुन त उनीहरूको भाषा कसरी बुझ्नु तर उनको चिट्चिटाहटले त्यति अनुमान लगाउन गाह्रो भएन।
ऊ उड्दै आफ्नो जन्मगाउँमा आइपुग्यो। पहिला तक्लु जस्तो सडक, उसलाई दैनिक कुल्चने खुट्टा नभएर होला वा उसको ढाडमा गुड्ने गाडी नभएर हो, उसको शरीरमा जटा पलाइसकेको थियो। सायद उसलाई टङ्गकिस गर्ने जनावर मारिएर हो या बसाइसरेर हो वनपाखामा दाह्री पलाएको थियो। उसको हात छिनाउने भागेर होला रुखहरू राम्ररी हुर्कन पाएको अझ उसको घाँटीमा आरा लगाउनेहरू नै ठाउँ छाडेर होला रुख बाच्न पाएको। सधैं रोइरहने वन हाँसिरहेको थियो। सधैं फोहोर बर्सने खोलामा आज मगमग बास्ना आएको थियो। बिजुलीका फलामे खम्बाहरू कतै ढलिरहेका थिए त कतै तार लत्रिएको थियो। अलिअलि लत्रीएको तार कुनै लहरे वनस्पतिको लागि बाँच्ने सहारा बनेको थियो।
गाउँको बाटोघाटो, वनपाखा, खोलालाई आकाशबाट नै अवलोकन गर्दै आफ्नो गाउँमै अवतरण गर्यो। सानोमा आमाले आफूले नखाइ नखाइ बचाएको चरी जब पखेटा राखेर स्वतन्त्र हुन्छ उसले आमालाई बिर्सन्छ। त्यस्तै पच्चिस वर्ष पहिले पखेटा राखेर गाउँबाट उडेको चरी अहिले फेरि आफ्नै गुँडमा फर्किएको थियो।
शनिबार बिहानको १० बजेको हुँदो हो। यतिबेला केटाकेटीहरूको बाक्लो भिडभाड हुने चौर पुरै खाली थियो। पुरै झड्यान भैसकेको थियो।नजिकैको वनमा बस्तुभाउ चराउने गोठालाहरूको भिड हुन्थ्यो तर अहिले सुनसान थियो। बाँदर लखेट्नलाई हेरालुहरू चिच्याउने र ढ्याङ्ग्रो ठोक्ने याम थियो यो। तर न त कुनै हेरालु थिए न त खेत बारीमा कुनै खेती थियो। उब्जालु बारी पुरै वन बनिसकेको थियो। मानिस त छोडौं कुकुर, बिरालो, बाख्रो, कुखुरो केहीको आवाज पनि सुनिएको थिएन। बरु आकाशमा चराचुरुङ्गीको एकोहोरो आवाज कानमा गुन्जिरहेको थियो। लाग्थ्यो म गाउँमा आएको थिएन कुनै सुनसान जंगलमा छु।
स्कुलको भवन पुरै चर्किएको थियो। जस्ता पातामा खिया लाएको थियो। स्कुलका डेस्क बेन्च कुनै पनि बस्न लायक थिएनन्। लाग्छ स्कुल धेरै पहिले नै बन्द भैसकेको रहेछ। स्कुललाई स्याहार सुसार गर्ने नभएर नै होला यति छिटो बुढ्यौलीले छोएको। जीर्ण भए पनि स्कुलको कक्षाकोठा भित्र माइकल पस्यो। उसको पुराना स्मृती झलझली आँखा वरिपरि घुमिरह्यो। सम्झियो ती साथी अशोक, प्रकाश, बसन्त, नवीन, रुपा, सम्झना जस्ता साथीहरू। सम्झियो तिनीहरूको बच्पनको अनुहार।
साँच्चै कहाँ होलान् है ती साथी, कस्तो भएहोलान्? साँच्चै आइदिए हुन्थ्यो नि फेरि ती साथीहरू पछाडिबाट आँखा छोपिदिन। आइदिए हुन्थ्यो नि ती साथी कापीका पानाको पुच्छर बनाइदिन। आइदिए हुन्थ्यो नि ती साथी टेबलमा उठेको बेला पछाडि पेन राख्दिन। साँच्चिकै त्यतिबेला रिसाए होला तर अहिले अहँ! ऊ रिसाउँदैन, बरु खुसी हुँदै तिनीहरूसँग अंगालोमा बेरिनेछ।
अलि बीचमा एउटा पुरानो डेक्समा माइकलको नजर पुग्यो, त्यहाँ लेखिएको थियो- एम प्लस पि। अर्थात् मनोज प्लस प्रभा। साँच्चिकै कति राम्री थिई है ऊ! तर माइकलको मायालाई कहिल्यै बुझिन। माइकल अहिले पनि त्यही डेस्कबाट उसलाई नजर लगाइरह्यो तर कल्पनामा समेत ऊ फिटिक्कै माइकल तिर फर्किन। स्कुल खाली थियो तर माइकल एक्लो थिएन, त्यहाँ माइकलका स्मृतिका साथीहरूले चिमोटिरहेका थिए।
स्कुलबाट केही ओरालो लागि सकेपछि एउटा पिपलको बोट थियो। त्यो पिपल एकदम तन्दुरुष्ट देखिन्थ्यो। पहिलेको भन्दा अझ फिँजारिएको र सलबलाएको पनि थियो। सायद उसको ढाडमा बुइँ चढेर उसलाई थकित बनाउने नभएर होला। अहिले ऊसँग लुकामारी गर्ने र उसलाई सताउने नभएर पनि होला ऊ खुसी हुनुपर्छ। नेपाल छाडेपछि हिँड्न बानी परेको थिएन, थोरै हिFड्दा पनि शरीर फतक्क गलेपछि केही समय त्यही पिपलकै काखमा आफ्नो थकान बिसायो।
पिपलकै छेउमा सानो मन्दिर थियो। पहिला झकिझकाउ उक्त मन्दिर अहिले भित्ता चर्किएको थियो। भुइँमा काँडैकाँडाले घेरिएको थियो भने भित्तामा पनि घाँस पलाएको थियो। काँडैकाँडा र झ्याङ पन्छायो। पानीले कुहिएको ढोका थियो, त्यसलाई पर सार्यो। अनि भगवानका मूर्तितिर नजर लगायो। सधैं हँसमुख देखिने भगवान पनि आज एकदम बिरामी देखिन्थे। निकै निरास देखिन्थे। वरिपरि झाडीले नै भगवानलाई आक्रमण गरे जस्तो देखिन्थ्यो। भेटी सहयोग गर्ने नभएर होला भगवानले पनि उपचार पाएका थिएनन्। कतिबेला त लाग्थ्यो भगवान नै बसाइँ सरेर अस्ट्रेलिया अमेरिकातिर गए कि?
माइकल मन्दिरबाट अलि पर प्रत्येक घर अवलोकन गर्यो। वरिपरि बुट्यान र घाँस बढेको थियो, घरहरू भत्किन ठिक्क जस्ता थिए। घर थिए तर मानिस कोही थिएनन। कुनै हरर फिल्मको भन्दा फरक थिएन दृश्य। जतिसुकै बहादुर आफूलाई ठाने पनि भित्र प्रवेश गर्न डर लाग्थ्यो। केको डर लाग्थ्यो थाहा छैन तर आफ्नै गाउँ पनि सुरक्षित महसुस गर्न सकेको थिएन।
एक-एक पाइलामा पुराना स्मृतिको चलचित्रहरू आँखामा झलझली आउँथे। दस/बाह्र वटा घर पछाडि एउटा यस्तो घरमा प्रवेश गर्यो जुन अरुभन्दा केही फरक थियो। घर वरिपरि सफा थियो। घर कतै पनि भत्किएको थिएन। घरको भुइँमा रातो माटोले लिपेको देखिन्थ्यो। त्यस घरमा मान्छे बस्छन् भन्ने अनुमान लगाउन माइकललाई त्यति गाह्रो भएन। घरको ढोका लगाएको थियो तर चाबी लगाएको थिएन।
उसले वरिपरि नजर लगायो। गोठमा बाख्रा भैंसी केही पनि थिएनन। एउटा कुखुराको पोथीले केही चारो आफ्नो मुखमा लिँदै थियो अनि त्यसलाई फाल्दै चल्लाहरूलाई दिँदै थियो अनि चल्लाहरू उक्त चारो टिप्न तँछाडमछाड गरिरहेका थिए। घर बाहिर तल खेतबारीतिर नजर लगायो। खेतबारी बाझै थिए तर करेसा बारीमा सिमी, गोपी लगायतका तरकारीहरू देखिन्थ्यो। माइकल घरको आँगनीको डिलमा पुग्यों। त्यहाँबाट वरिपरि नजर लगायो तर कोही पनि उसले देखेन।
एकैछिनपछि खेतबारीबाट सुकेका साना दाउरा कोखिलामा च्याप्दै स्वाँस्वाँ गर्दै फोहोर देखिने गुन्युचोली, चाउरिएको र कुप्रिएको शरीर अनि पछिपछि उस्तै मैलो र फाटेको दौरा सुरुवालमा लौरो टेक्दै बुढाबुढी माइकल तिरै आउँदै थिए।
बुवा आमाले उक्त सुकेको दाउरा फ्यात्त भुइँमा फाले। अनि एकैछिन माइकललाई हेरे।
'बाबु कता-कता चिने-चिने जस्तो लाग्यो,' बुढीआमा अलि झस्किँदै बोलिन्।
'बाबु त पैयापाटा साइलाको छोरा हैनौ र?' पछाडि उभिनुभएको बुढाबाले केही कापिए जस्तो स्वरमा अनुमान लगाए।
'हो बुवा, हजुर मात्र हो र बुवा गाउँमा?' माइकलले जवाफ फर्कायो।
'ए हे! तिमी मनोज हैन? यतिका वर्षपछि यस्तो नचिनेनी भएर आएको, कोही आउँदा नि भगवान नै आएजस्तो लाग्छ,' बुढाबा आमा केही खुसी र आश्चर्य मिश्रित देखिन्थे अनि त्यसमा थप्दै भने, 'सबै बसाइँ सरेर तराईतिर झरिसके बाबु, हामी जान सकेनौं, यही सडिएर बस्नु पर्यो।'
यति भन्दै बुढीआमा दलानतिर गइन् अनि एउटा बोराबाट बनेको चकटी दिँदै बस्नको लागि आग्रह गरिन्।
'ठिकै छ आमा।'
'अनि यहाँ कति घर हुनुहुन्छ त, भाइ कहाँ छन् र?'
'यहाँ हामी पाँच/छ घर मात्र छौँ, बुढाबुढी मात्र छौँ। छोरा इन्डियामा खै लफङ्गिएको हो कि बाबु कमाइ नभएको हो, खासै कमाइ छैन भन्छ। बुहारीले पनि छोडिसकी। यहाँ बिरामी भए पनि उपचार पाउँदैनौं। मरे पनि जलाउने मान्छे छैनन्। पुलिसलाई खबर गर्नपर्छ, आउँदा आउँदै लास कुहिन्छ। सबै गाउँ छोडिसके हाम्रो त यहाँ बिजोग छ बाबु।'
बुढीआमाको यस्तो कारुणिक कुरा सुनिसकेपछि माइकलले निकै नरमाइलो मानेको थियो।
'अनि बाबु आजभोलि कहाँ बस्छौ त? आज कसरी आयौं?' अघिदेखि केही चुप बस्नुभएका बुवा बल्ल बोल्दै हुनुहुन्थ्यो।
'म अमेरिका थिएँ बुवा,' माइकलले आधा मात्र सत्य बोल्यो।
'बाबु हिँड यहाँ घाम भयो होला, भोक पनि लाग्यो होला भित्रै बसेर कुरा गरौंला,' बुढीआमाले अनुरोध गरिन्।
बुढाबाले आफ्नी श्रीमतीलाई घरछेउमा बोलाएर केही झपारे जस्तो सुनियो। बुढीआमा पनि केही नबोली बिर्सिएको र गल्ती भएको स्वीकार गरेको देखिन्थ्यो। उनीहरूको खासखुस र केही झपारझुपुरले उक्त कुरा माइकल दलित भएकोले उसलाई खान भित्र बोलाएको भन्ने विषयमा रहेको बुझ्न उसलाई त्यति गाह्रो भएन। अघिसम्म मानव मात्र ठानेको माइकल अहिले बल्ल उसलाई झल्यास्स सम्झना आयो कि म दलित पनि हुँ भन्ने। यतिका वर्ष उक्त दुर्व्यहारलाई बिर्सिएको माइकलले अहिले बल्ल त्यो कहालिलाग्दो र आफू अपमानित भएको समय सम्झियो।
उतिबेला उसलाई ती कुरा सामान्य जस्तै लागेको थियो। अझ भनौं उसको दिमागमा सामान्य जसरी भरिदिएको थियो तर अहिले माइकलले बुझ्दै थियो कि मैले कति भयंकर अपमान भोगेको रहेछु भन्ने। आफू चन्द्रमामा गएर आउँदा समेत यहाँ छुवाछुत जस्तो सामाजिक विवेध र अन्धविश्वास ज्युँका त्युँ देख्दा उसलाई धेरै नराम्रो लाग्यो। यसपालि उसले कुनै विद्रोह गरेन बरु बुढाबा आामाले केही जवाफ दिनुभन्दा पहिला उसले नै 'ठिकै छ बुवा म बाहिरै वरिपरि हेर्दै बस्छु' भन्यो। अनि बाहिरै खाना खायो र भाडा माझेर गाउँ घुम्न निस्कियो।
पुनः उहीँ आठ/दश वटा घरको डरलाग्दो दृश्यपछि माइकल २५ वर्षपछि आफ्नै घरमा फर्किएको थियो। यसै त डर लाग्ने बाँसको झ्याङ अहिले झन् फैलिएर डरलाग्दो बनेको थियो। त्यो बाँसको देख्दा जति नै प्रगतिशील र विज्ञानलाई विश्वास गर्छु भने पनि बाँसभित्र केही अदृश्य शक्ति छ कि भन्ने डर लाग्थ्यो। सानोमा बासको सुपिलाको फिरफिरे बनाएर उडाएको सम्झियो। त्यही चौरमै डन्डिबियो, राज्जे, गुच्छा खेलेको सम्झियो।
ऊ सम्झँदै आफ्नो घरभित्र प्रवेश गर्यो। आफ्नो घर पनि अरु घरभन्दा फरक थिएन। उहीँ झड्यान, उहीँ भित्तो चर्किएको, उहीँ मूल ढोकामा ताला ठोकेको तर खियाले ताला आफैं कमजोर बनेको। गोठ थियो तर गाईवस्तु थिएनन्। घर थियो तर घरमा कोही थिएन। खेतबारी थियो तर वन जस्तै बनेको थियो। बारी बाँझो भएर होला बारीका छेउछाउका रुख समेत सुकिसकेका थिए। सबै घर वरिपरि नजर लगायो।
घरको डिलमा पुगेर चिच्याउँदै 'आमा..! आमा...! आमा...! आमा...!' भनेर बोलायो तर जति चिच्च्याएर बोलाउँदा पनि उसको आमाले सुनिनन्, है बाबु भनेर जवाफ दिइनन्। बोलाउँदा बोलाउँदै माइकल भक्कानो छोडेर रुन थाल्यो। उसको रुवाइमा पीडा र पश्चाताप मिसिएको थियो। आफू चन्द्रमामै पुगे पनि आमा बुवालाई नेपालमै छोड्नु परेको पछुतो थियो माइकलमा। आमा बिरामी भएर तड्पिँदा समेत भेट्न आउन नपाउँनुको पीडा थियो उसमा। आमाको मृत्यु हुँदा समेत दागबत्ती दिन नआउँदाको पीडा थियो माइकलमा।