हावाको सिरानीमा
राखेर टाउको आएकै क्षणमा
ओढाएर बादलको सिरक
लगाइदिएर इन्द्रेणी हार
तिमीलाई शृंगारेपछि
मेरो मुटुले स्वीकार गर्न थालको हो
तिमीसँगको हार
र लगाएको हुँ प्रेमको हार।
'हार'मा लगाएर
'उप' उपसर्ग
बनेपछि उपहार
मुटुलाई भेटी चढाएको हुँ
तिम्रै मुटुको नजिकमा
मानेर पवित्र पुज्यस्थल
र बनेको हो पवित्र प्रेम घर।
नसकिने कहिल्यै मुटुका वार्ताहरू
अभावमा धड्किरहने संवादहरू
मौनतामा बसेकै समय
भाकल गरेर मुटुका नाममा
मुटुलाई मुटु नै चढाइदिएपछि भेटी
तीर्थस्थल बनेका हुन्
आस्थाका भित्ताभरि झुन्डिएका
विश्वासका सयपत्री हार।
गुलाबी गुलाब गुन्जिरहने
मखमली मख्ख परी हाँसिरहने
लालुपातेले छरिरहने लालिमाको सेरोफेरोमा
पाखाभरि मुस्काइरहने रङ्गिन गुराँस बोकेर
'हार' मा 'अनु' जोडेपछि बन्ने
तिम्रो 'अनुहार'
हरेकबखत मुस्कुराइरहने अधरहरू
हेरी बस्ने पारखी नयनहरू
जहाँबाट नियालिरहन्छन्
निरन्तर बगाइरहन्छन्
प्रेमका अजस्र अविरल नदीहरू
प्रेमिल सुवासका धाराहरू
र मुस्कुराइरहन्छन् मुस्कानी अनुहारहरू।
अब छैन इच्छा मलाई
'हार'मा
'प्र' जोडेर त्यसको अर्थ सुन्न
अनि
'हार' मै
'सम्' जोड्दा हुने अत्याट लाग्ने कथा सुनाउन पनि।