शैलेन्द्र केसी डाक्टर भएर पहिलोपटक त्रिवेणी पुगेका थिए। तीन तिरबाट आएका बाटाहरूको सङ्गम त्रिवेणी चोकको मुटुमा त्रिकोण आकारको एउटा फलैचा थियो। हो, त्यही फैलैचामा रोज देखिन्थे, एकजना बूढोमान्छे। उनी कहिले रित्तै देखिन्थे, त कहिले एउटा कलेजी रङको पुरानो डायरी बोकेका हुन्थे हातमा। नव–आगन्तुक शैलेन्द्रलाई ती बूढामान्छे र उनको हातको डायरी रहस्यमय लाग्यो। र, मनैमन कौतूहलता जाग्यो।
एकदिन अफिस सकेर ती बूढामान्छेसित चिनजान गर्ने बहानाको ढुङ्गा खियाउँदै शैलेन्द्र नजिकै पुगे। बूढामान्छेले चिम्रा आँखालाई अझै चिम्रा बनाएर शिरदेखि पैतालासम्म हेरे। बसिरहेको ठाउँबाट यसो सरेजस्तो गरे। र, हातले छेवैमा बस्ने इसारा गर्दै भने, ‘अजनबीजस्तो मानेँ?’
‘हजुर, म अजनबी नै हुँ, म यही स्वास्थ्य चौकीको नयाँ कर्मचारी परेँ,’ सामुन्नेको स्वास्थ्य चौकीलाई औल्याउँदै शैलेन्द्रले बोल्ने बहाना खोजे, ‘अनि बा, एक्लै टोलाइरहनु भएको छ, धेरै बेरदेखि? कसैलाई पर्खिंदै पो हुनुहुन्छ कि?’
‘हजुुर! म कसैलाई पर्खिंदैछु। धेरै बेरदिखि होइन। धेरै वर्षदेखि भन्नुस्,’ बूढामान्छेले रुमानी पारामा उत्तर दिए, ‘मैले काललाई पर्खेको। मेरा सबै साथीसङ्गी लिएर गैसक्यो। जेठीमुखिनी बाँकी थिइन्। उनलाई पनि पोहोर साल लग्यो। म काल पर्खिंदा–पर्खिंदा थाकिसकेँ। त्यसै–त्यसै पट््यार लगेर आउँछ।’
उनी अट्हास गर्दै हाँसे, ‘हाहाहा...। बस्नुस् बाबु। ठट्ठा गरेँ। कत्तिको मनपर्छ बूढाबूढीको ठट्ठा?’
हात तानेर बूढामान्छे आफैंले बसाए, छेवैमा।
शैलेन्द्रले सोधे, ‘को जेठीमूखिनी बा?’
सडकपारि परित्याक्तजस्तो लाग्ने एउटा बङ्गलालाई औल्याउँदै उनले भने, ‘यो गाउँको विकासको श्रेय उनैलाई जान्छ। यहाँको स्कुललाई उच्च मावि बनाउनदेखि स्वास्थ्य चौकि निर्माण गर्न उनले आर्थिक–भौतिक सबैखाले योगदान गरेकी छिन्। ऊ त्यहीँ बस्थिन्। आफन्त जनहरू देशविदेश लागे। एक्लै भइन्। बाँचुन्जेल गाउँको सेवा गरिन्। जेजति थियो यही गाउँलाई दिइन्। त्यही घरको बारदलीमा बसेर छोराछारीको बाटो हेर्दाहेर्दै पोहोर साल मरिन्। कोही पनि फर्किएर आएनन्। बलिया–बाङ्गा विदेशलाई, बूढा–खाढा स्वदेशलाई भनेजस्तो भएको छ, आजभोलि। अन्तमा हामी सबैलाई टुहुरो बनाएर गइन्। र, मलाई एउटा नासो जिम्मा दिएर गएकी छन्।’
यही थियो, शैलेन्द्र र नागेश्वर थामीबीचको प्रथम भेट। रहँदैबस्दै जाँदा चिनजान बढ्यो। अटुट भयो– सम्बन्ध। भेटघाट थपिए। हाँसिमजाक बढे। दुःखसुख साटिए। र, बने– अन्तरङ्ग सँघाति। एकदिन देखिएन भने पूरै दिन फिका। बेरसिलो। खल्लो। अधुरो, अपुरोजस्तो लाग्नथाल्यो।
नागेश्वर थामीले लगभग ८० वसन्त पार गरिसकेका थिए, त्यही त्रिवेणीको धुलोमाटोमा। बूढामान्छे औधि रमाइला, मिजासिला र रसिक थिए। पाँच फिट जत्ति अग्ला थिए होलान्। पातलो र फुर्तिलो जीउ। हँसिलो चेहरामा प्रकृतिले पोतिदिएका थिए, एउटा अर्धनेप्टो नाक, दुई अर्धचिम्रा आँखा, सेतै फुलेको कपाल, पातला दाह्रीजुँगा र मुसुक्क नहाँसी नबोल्ने कलात्मक बानी।
एकदिन ती नागेश्वरको हातको कलेजी रङको डायरीलाई औल्याउँदै शैलेन्द्रले सोधे, ‘डायरी लेख्ने सोख छ कि क्या हो बाको? कहिलेकहीँ हातमा डायरी बोकेको देख्छु?’
‘मैले तपाईंलाई पहिल्यै भनेको थिएँ नि मुखिनीले एउटा नासो छोडेर गएकी छन्, त्यो यही हो, डाक्टर बाबु। मुखिनीको नासो। आफू डाँडाको घाम, कतिबेला फिस्स अस्ताउँने हुँ, टुङ्गो छैन। यसको हकदारसम्म यो डायरी कसरी पुर्याइदिनु? भन्ने चिन्तामा बाँचेको छु। न थात न ठेगाना।’ बूढाले बोझ बिसाए।
‘कस्तो नासो हो? भन्न मिल्ले भए बिसाउँनु क्यार। बोझ पनि हल्का होला। वा त, सहयोग नै पनि गर्न सकिन्छ कि?’ शैलेन्द्रले जिज्ञासा राखे।
डायरी शैलेन्द्र तिर तेस्र्याउँदै, ‘यो डायरी छोरीको हातमा सुम्पिदिनू भनेर गएकी छिन्, मुखिनीले। लाग्छ, यसैमा अड्किएको छ मेरो प्राण। यो नासो नबुझाइकन मरेँ भनेँ, माथि गएर मैले मुखिनीलाई के जवाफ दिनु? यत्ति एउटा काम पनि गरिदिएनौं भनेर रिसाउलिन,’ नागेश्वरले पीर बिसाए।
‘के रहेछ डायरीमा यस्तो?’ भन्ने शैलेन्द्रको जिज्ञामा बूढाले भने, ‘पढेर हेर्नुस्। डायरी बोकेको देखेर मान्छे मलाई पागल भन्न थालिसके। मलाई पागल नभैकन मर्न दिनुस, डाक्टर बाबु?’
यसो घामतिर हेरे शैलेन्द्रले र डायरीमा नजर डुलाए। डायरीको प्रथम पन्ना पल्टाउने बित्तिकै १६/१७ का एक युवा र एक युवतीको युगल फोटोसहित केही प्रेमील शब्दहरूको साथमा हस्ताक्षरसहितको अटोग्रफ थियो। शैलेन्द्र गौण गरेर हेर्दै थिए।
छेवैमा बसेका नागेश्वरले स्पष्टीकरण दिए, ‘यो जेठीमुखिनी र मेरो १० कक्षा पढ्दाखेरीको फोटो हो। सरस्वती पूजामा खिचिएको थियो। मसँग अरु फोटा थिएनन्। त्यसैले यही चिप्काइदिएको थिएँ। के थाहा मुखिनीको दाम्पत्य जीवनमा मांगलिक दोष बनेर प्रकट हुन्छ भन्ने।
त्यसपछि पेज १० सम्म विभिन्न व्यक्ति र शुभेच्छुहरूको अटोग्राफ थियो। शैलेन्द्रले सरसर्ती हेरे। अन्तमा मुखिनीले मितिसहित भरखरै केही संस्मरणहरू लेखेकी रहिछिन्। जो यसप्रकार थियो;
'शनिबार, असोज २७ गते, २०७५
मैले आफ्नाबाट माया नपाए पनि आफूलाई अभागी कहिल्यै सोचिनँ। किनभने मैले यहाँ तपाईंहरूजस्ता प्रणयशील मनहरूको माया पाएको थिएँ। चिन्ता के मात्रै थियो भने, यस्तो अशान्त मनलिएर फुस्स मरियो भने, भड्किएको आत्माले सबैलाई दुःख दिने पो हो कि?
धेरै वर्षदेखि खात लागेर बसेका भन्नैपर्ने केही दर्दले भरिएका कहानीहरू थिए मनमा। कसरी पो भनौं मनका यी कुरा, सोच्दै थिएँ। एक्कासी भेट भयो यो पुरानो डायरीसित। डायरीका पानाहरू पल्टाउँदै गएँ। विस्मृतिको दैलो उघ्रिंदै गयो। उतिबेला फेसन थियो, अटोग्राफीको। डायरीमा आफ्ना सेलिब्रिटी, सहपाठी, शिक्षक, मनपरेका मान्छेहरूको फोटो राखेर, हस्ताक्षर संकलन गरिन्थ्यो। मैले पनि गरेँकी थिएँ।
पल्टाएँ।
पहिलो नम्बरमा नागेश्वर थामीकै अटोग्राफी थियो। सुरुमै नागश्वरले हामी दुईको फोटो राखेर, केही प्रेमिल शब्दहरूका साथ यो डायरीको श्रीगणेश गरेका थिए। कालान्तरमा उसका तिनै शब्दहरू मेरो सम्बन्धविच्छेदको कारण बन्यो। सम्बन्धविच्छेदमात्रै भएन। नाबालक छोरीको बाल मस्तिष्कमा मेरो खिलाप विष भर्न सफल भए, घरका मान्छे।
म छोरीलाई मायाले सुम्सुम्याउन खोज्थें। ऊ तोतेबोलीबाट मलाई नछो भन्थी। उसले बोल्ने अप्रिय शब्द पनि छोरीको मुखबाट सुन्न म लालायित हुन्थें। विस्तारै–विस्तारै त्यो अवसरबाट पनि वञ्चित बनाइएँ।
सायद, आजभोलि त्यही छोरीलाई देख्नमात्रै पाए पनि सन्तोषले सास जान्थ्यो कि जस्तो लाग्छ। सायद यो मेरोभन्दा पनि मातृ–हृदयको मनोवाञ्छा होला।
आइतबार, असोज २८, २०७५
प्यारा त्रिवेणीबासी,
‘ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गो’ भन्छन्। मेरो र त्रिवेणी गाउँबासीको बीचको सम्बन्ध यस्तै छ। तर, तपाईंहरूको मन विशाल छ। त्यसैले जसजति मेरो थाप्लोमा र अपजसजति सधैं आफ्नो थाप्लोमा हाल्नुहुन्छ। म तपाईंहरूप्रति सधैं ऋणी छु।
जीवनको चीर विश्रामको स्वन्तसुखायको निम्ति केही कुरा बिसाउजस्तो लाग्यो। वास्तवमा, म नागेश्वरलाई मनमनै मनपराउँथें। तर, जात मिल्दैन थियो। वर्ग मिल्दैन थियो। मायाले जातपात र वर्ग हेर्दैन त भन्थे तर समाजले हेर्थ्यो। परिवारले विवाह–बन्धनको कसी त्यसैलाई मान्थ्यो।
त्यसैले हाम्रो प्रेम निसिद्ध बन्यो। गुनासो गरिनँ। जे जति सहेँ लुकीछिपी सहेँ। भनिनँ कसैलाई। पहिलोपटक यसरी लोकार्पण गर्दैछु, मेरो निषिद्ध प्रेम कहानी। सायद, मोक्ष प्राप्तिको निम्ति यो जरुरी लाग्यो। ता कि यो अतृप्त मन जागित्र बनेर यहाँहरूको कोठा–चोटामा नभौतारियोस।
ऊ मेरो बालापनको साथी। पाँचमा पढ्दैथियौं होला। एकपटक नागेश्वरको हाफपेन्टको पछाडि प्वाल परेछ। साथीहरू गलल्ल हाँस्दैथिए, प्वाल देखेर। ऊ कमिजको फेर तानीतानी छोप्न खोज्थ्यो। नागेश्वरको अखचलाई साथीहरू रमिता बनाइरहेका थिए।
‘यस्तो पनि मित्रता?’ मेरो बालमन पहिलो पटक अनुकम्पित भएको थियो, नागेश्वरको सङ्कष्टले। त्यही अनुकम्पा विस्तारै प्रीतिमा बद्लिएछ क्यार। प्रीतिनै भनेर ठोक्कोइ त गर्दिनँ। त्यो बैँसमा फुल्ने आशक्तिको मनोहर फूल पनि हुनसक्थ्यो। तर, अपराध चाहिँ पक्कै थिएन।
‘भोलिपल्ट भाइको अलि पुरानो हाफ–पाइन्ट चोरेर झोलामा हालें। तर, नागेश्वर त स्कुलै आएन। नरमाइलो लाग्यो। मन भारी भयो, दिनभरि। अब सधैं नआउने पो हो कि भन्ने चिन्ताले खेदिरह्यो। म भागिरहेँ। घर आएर खाजा खाएँ र फ्रकको भित्र हाफ–पाइन्ट लगाएर नागेश्वरको घर गएँ। र, उसलाई हाफ–पाइन्ट दिएँ। नागेश्वरले खुसी भएर लगायो।
पछि उसकी आमाले थाहा पाइछिन्। नागेश्वरलाई कुट्दै ल्याइन्। धन्न मेरी आमाले माफ गरिलिनु भयो। ‘गल्ती सतिदेवेले गरेकी रहिछ, यसलाई किन कुटेकी?’ मेरी आमाले मलाई र उसकी आमालाई हकार्नु भयो। र हाफपेन्ट उसैलाई दिनुभयो। त्यसबेलाको खुसी मेरो लागि अव्यक्त थियो।'
फलैँचामा बसेर डायरी सुनिरहेका नागेश्वरले सुँकसुँकाउँदै भने, ‘सामन्तवादी युग थियो। नगद र औद्योगिक वस्तुको चरम अभाव। अहिले पो पूँजीवाद मान्छेको घरघरमा छिरेर चुलोचौको मात्रै होइन शरीरको गुप्ताङ्गसम्म पुगिसकेको छ। सायद मुखिनीको यादले उनी भावुक भए। शैलेन्द्रले पुलुक्क हेरे, ऊतिर। र, फेरि डायरी वाचन गर्न थाले।
मङ्गलबार, असोज ३०, २०७५
आज फूलपाती। लाग्छ हामी हाम्रा धर्मसंस्कृति, परम्परालाई भुल्दैजाँदै छौं। हरेक दशैंमा लिङ्गे–पिङ हालिन्थ्यो त्रिवेणी गाउँमा। त्यो भन्दा पनि मलाई फूलपातीको दिन पिङको लठारो तानातान गर्ने खेल, टग–अभ–वार भन्छन क्यार, औधि मनपर्थ्यो। त्रिवेणी चोकको बीचोबीच एउटा खोल्सो बग्थ्यो उतीबेला। अहिले त विकासले पुर्यो। त्यही खोल्सोवारिका र खोल्सोपारिका बीच डगरमा लठारो तानातान हुन्थ्यो, फूलपातीको गोधूलि साँझमा। त्यो डगरनै हाम्रो रङ्गशाला थियो भन्दा पनि हुन्छ। अहिले त्यही डगरको पदचिन्ह सडकले बोकेको छ।
आमाबुबा जानुपर्दैन भन्थे। म लुकीलुकी भागेर जान्थें। म जहिल्यै नागेश्वरसँगै हुन्थें। हुर्रिएर लड्दा पनि मज्जा लाग्थ्यो। जसरी मलाई त्यो खेल प्यारो लाग्थ्यो। त्यसैगरी नागेश्वरको साथ पनि प्यारो लाग्थ्यो। सायद, मायाप्रीतिको भ्रूण अङ्कुराउँदै थिए क्यार! अथवा बैँसको अनुराग पनि हुनसक्थ्यो! खैर जे होस, जीवनको एउटा रमाइलो अकृतृम अनुभूति थियो, त्यो। सबैमा आउँछ। ममा पनि आयो।
आजभोलि त्यो रमाइलो परम्परा त्यसैत्यसै हराएर गयो। रमाइलोको रूप मात्रै होइन, लाग्छ परिभाषा पनि फेरिएको छ आजभोलि। हरेक फूलपातीको रात ती खुसीहरू डगरमा रुँदैरुँदै हिँडेको देख्छु, सपनामा। आज पनि देखेँ। र, बारदलीमा निस्किएर एकछिन टोलाएँ। कान थापेर सुनें मालश्री, मादल र खैँजडीको धून। तर, अहँ! तास खेल्ने र मदिरा सेवन गर्नेहरूको कल्याङ्मल्याङ र कोलाहलदेखि बाहेक केही पनि सुनिएन।
बुधबार, असोज, ३१, २०७५
गाउँबासीहरू खसीबोका पूजा गर्न र खानमा व्यस्त छन्। नागेश्वरसित जोडिएका केही घटना र प्रसंगहरू सम्झिएर म बार्दलीमा रमाइरहेकी छु। सम्झिल्याउँदा यो थोत्रिएको देहलाई पनि काउकुती लागाउँछ।
नागेश्वरको विवाहको मिति तोकियो। म काठमाडौंमा पढ्दै थिएँ। आएँ, मनलाई रुवाउँदै। फकाउँदै, फुल्याउँदै। यो त हुनु नै थियो। वहाँदेखि साथीको बिहे हेर्न आएको, न नागेश्वर बेहुलो भएको हर्न सकेँ, न जन्तेबाख्रो खान जान मन लाग्यो।
नागेश्वरको सुहागरातको रात म रातभरि सुत्न सकिनँ। खै, कतिबेला–कतिबेला झकाएछु। नागेश्वर परस्त्रीसित सुतिरहेको देख्न पुगें, सपनामा। त्यसको जगल्टा समातेर तानेको त, कुइनो गएर धुरी खाँबोमा बजारियो। ज्यान भुइँमा पछारियो। रक्तमुछेल कुइनो र टाउकोमा फुरौला लिएर काठमाडौं फर्किएँ। धुमधुमती एक्लै काटें कयौं दिनरातहरू। त्यो खत कुइनोमा आज पनि छ। तर, खै किन प्यारो लाग्छ।
अर्को प्रसंग यस्तो थियो। नागेश्वरको बिहे भएको दुई/तीन दिनपछि हजुरबाको श्राद्ध थियो। भान्छा कोठामा पिरामा बसेर खाना खाँदै थिएँ। नागेश्वरका बूढाबूढी पनि आए, खाना खान। उनीहरू भान्साकोठाको ठीक बाहिरपट्टिको खाटमा बसे। आमाले खाना लगेर दिनुभयो।
आफ्नो भागको अचार र खीर नागेश्वरले आफ्नी दुलहीलाई हालिदिए। ऊ मुसुक्क हाँसी। तर, उसको हाँसोले मेरो शरीरमा दुर्वासा श्रृषि सवार भए।
‘के गरी मुछेकी भात पनि?’ म नागेश्वरकी दुलहीको रिस थालको भातमा पोख्दै र‘छु, गज्याङ्गज्याङ मुछेर। आमाले त्यसो भनेपछि झसङ्ग भएँ र उठेर हिँडें ।
‘खै के भाको छ, यसलाई अचेल?’ आमाले म उठ्दै गर्दा भन्नुभयो। तर, मैले सुनेको नसुन्यै गरिदिएँ।
उनीहरूको जोडीलाई गाउँलेहरू परेवा र ढुकुरकोजस्तो जोडी भनेर तारिफ गर्थे। मलाई तारिफ गर्नेहरूको मुखमा झीर तताएर रोप्दिनुजस्तो लाग्थ्यो।
वास्तवमा उनीहरूको जोडी औधि मिलेको थियो। ममा मायाप्रीतिको भूत सवार भएको बेला थियो त्यो। म नागेश्वरकी श्रीमती नर्मदाप्रति आभारी छु। उनी जीवित छैनन् अहिले। उनको निर्दोष आत्माप्रति क्षमापार्थी छु।
बिहीबार, कार्तिक ०१, २०७५
मैले यी सब घटनालाई उमेरले ल्याएको एउटा मौसमी फूल र वासना सम्झेर विस्मृतिमा थन्क्याइसेकेकी थिएँ। जीवनको एउटा अप्रिय मोड ठानेर जिन्दगीसित संझौता गरिसकेकी थिएँ। जो मेरो परिवार र शुभचिन्तकहरू चाहन्थें।
तर त्यो सम्झौता पनि लामो समय टिकेन। आखिर प्रेमका तिनै पुराना कैँची–छुराले त्यो सम्बन्धलाई चुँडाइ छाड्यो।
तपाईंहरू मध्य धेरैलाई थाहा छैन। मेरो विवाह काठमाडौंमा भएको थियो। एकदिन मेरो अटोग्राफ, मेरा पति भूपध्वजले भेटेछन्। नागेश्वरको फोटोसँगै मेरो फोटो देखेपछि, अरु निहुँ के चाहियो र? सहपाठी हो भनेर कति सम्झाएँ। तर बचाउन सकिनँ त्यो सम्बन्ध।
मेरै सामु झ्याइँझ्याइँ बाजाबजाएर बिहे गरे अर्को। छोरीलाई भट्काए। रातोदिन उपेक्षा र टोकाइ सहेर पिँजडाभित्र रोएर बस्नुभन्दा खुदा आकाशमा उड्न मुनासिव ठानेँ। र, जन्मथलो फर्किएँ। यो र्ददले भरिएको कहानी कसैसित साटिनँ।
छोरी ठ्याक्कै मैजस्ती थिई। ‘नाक र खाने मुख बाबुको जस्तो भए पनि आँखा, कपाल, निदार, जीउडाल ठ्याक्कै तेरै हुन्’ सबैजना यसै भन्थे।
‘दायाँ स्तनको कोठी त दुरुस्त मेरै थियो’ धेरैपटक हजुरआमाले भनेको सम्झिसम्झि छोरीको त्यो कोठी सुमसुम्याएको थिएँ मैले। यतिबेला उसको त्यही सम्झनामात्रै छ मसित। छोरी छैन साथमा। ऊ अझै पनि बचपनमा बाबुले हालिदिएको भ्रममै बाँचेकी छ कि, सत्यतथ्य बुझी? त्यो पनि मलाई थाहा छैन।
म काखमा छँदा मेरा हजुरआमा, सानीमा, फुपूदिदीहरू मेरो स्तनको कोठीलाई सुम्सुम्याउँदै भन्थे, ‘मर्ने बेलामा सन्तानले घेर्छन। जहाँ-जहाँ भए पनि आमाको दूधको भारा तिर्न आइपुग्छन्।’ म काखमा बसेर लाडिँदै मुड्कीले हिर्काउँथें।
त्यत्ति कठोर पनि थिएन होला मेरो कोख। म निर्दोष थिएँ भन्ने कुरा थाहा पाएकी भए, जन्मदिने आमाको अनुहार हेर्न एकपटक पक्कै पनि आउने थिई होली जस्तो लाग्छ। आमाको मन न हो, कुरा खेलिरहन्छ।
आज पनि एकान्तमा चोली उचालेर हेर्छु। कोठी जहीँको तहीँ छ। अलि चाउरिएको छ। हजुरआमाले भनेका उतिबेलाका कुरा साँचो भइदिए पनि हुन्थ्यो जस्तो लाग्छ। तर अहँ! आजभोलि मान्छेहरू यति शक्तिशाली भएका छन् कि सृष्टिलाई नै बदल्ने क्षमता राख्छन्। त्यो जाबो भाग्यरेखा र कोठीको के कुरा भयो र?
मेरो कसैप्रति गुनासो छैन। छोरीसित त झन छँदैछैन। कुमालेको काँचो माटोजस्तै हुन, केटाकेटी। जे बनायो त्यही बन्छन्। उनीहरूले छोरीलाई मेरो विरुद्ध भट्काए। चरित्रहीन भनाउनसम्म पछि परेनन्। छोरीको दिमागमा त्यही भरिदिए। उसको के दोष?
आज पनि त्यही कोठी छाम्दै, एकदिन पक्कै फर्किन्छे, भनेर बाटो हेर्छु...।’
शैलेन्द्र भावुक भए। गला साफ गरे। र, डायरीको बाँकी अंश पढ्न थाले।
‘मित्र नागेश्वर,
म यो नासो तिमीलाई जिम्मा दिएर जाँदैछु। कथङ्कदाचित मेरी छोरी मातृभूमि सम्झिएर कुनै दिन फर्किछन् भने यो डायरी उनलाई दिनू। र, यत्ति भन्नु– तिम्री आमा यही बार्दलीमा तिम्रो बाटो हेर्दाहेर्दै मरी। स्तनको कोठी छाम्दै, छोरी आउछे भन्ने अटल विश्वासका साथ ईश्वरको प्यारी भई।
भन्दिनू– तिम्रो स्तनमा पनि आमाको जस्तै कोठी छ। स्तनमा कोठी हुने आमाका सन्तानहरू मर्ने बेलामा दूधको भारा तिर्न आउँछन्, अरे।'
नागेश्वर फेरि सुकसुकाउँदै बोल्छन, ‘यो डायरी मुखिनीले मर्ने बेलामा सिरानीमै राखेकी रहिछन्।’
छोरी उर्वशी,
शुभाशिष,
तिमीप्रति मेरो केही गुनासो छैन। तिमी जहाँ, जुन अवस्थामा भए पनि हाँसीखुसी, सुखी रहनू। तिमीले पनि बाल्यकाल बाँच्यौ, तिमीमा पनि बैंस आयो होला। विवाह भएको भए पक्कै छोराछोरी होलान्। छोरोछोरीप्रतिको माया के हो? थाहा पायौ होला। कथङ्कदाचित् यो डायरी तिम्रो हात लाग्यो भने आफ्नो जीवन भोगाइबाट थाहा पाउनेछौ, मेरो दोष के थियो? मैले के कति सजाय पाएँ?
मैले तिम्रै प्रतीक्षामा बाटो हेरेर जुनी काटेँ। यदि तिम्रो जनरबाट म दोषमुक्त भएँ भने, श्रद्धाञ्जली स्वरूप मेरो स्मरणमा केही अँजुली जलार्पण गर। त्यत्ति भए मेरो आत्म तृप्त हुनेछ। मेरो आत्मले चिर शान्ति पाउने छ।
प्यारा त्रिवेणीबासी, मित्र नागेश्वर,
सबैसबैमा विजया दशमी २०७५ को हार्दिक मंगलमय शुभकामना। मुस्किलले यति लेखेँ। अब म लेख्न सक्ने स्थितिमा छैन। हात लगलग काम्छन्। मन मस्तिष्क थाकेको छ। अलबिदा।'
डायरी सकियो। घाम अस्ताए। शैलेन्द्र र नागेश्वरले आ–आफ्ना आँखाको बादल हटाए। र, घरको बाटो तताए।
सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, मुखिनीको आत्मा बैकुण्ठ जाला। यो कथा छोरी उर्वशीको कानसम्म पुगोस् र नासो सुम्पिएर नागेश्वरले मर्ने बाटो पाँओस्।
यो कथा कस्ले सुनायो भन्नु हेला? अरु कसैले होइन। तिनै डाक्टर शैलेन्द्रले सुनाएका हुन्।