म सानैदेखि घरपरिवारको सौहार्द वातावरण र विशेष निगरानीमा हुर्किएँ। क्रमशः दुई बहिनी र दुई भाइकी जेठी दिदी म, ड्याडी-ममी र जिजुमुवा चाहनुहुन्थ्यो कि मेरो पठनपाठन राम्रो होस् र राम्रै थियो पनि।
एकपटक स्कुल सेकेन्ड गर्ल 'बनाइएको' बाहेक शिशुदेखि एसएलसीको नतिजासम्म म सेकेन्ड भएको रेकर्ड छैन।
पारिवारिक मामिलामा भने ममीसँग राम्रो सम्बन्ध हुन सकेन।
म चार वर्षकी हुँदा जब मेरी माइली बहिनी जन्मी। तब ममीले मेरो सामञ्जस्य ढंगबाट ख्याल राख्न सक्नुभएन। उहाँ नाटकीय भूमिकामा आफ्नो जिम्मेवारीबाट पन्छिनुभयो। म चार वर्षकी हुँदादेखि नै उहाँसँगको सम्बन्ध चिसियो।
म मेरी ममी र बहिनीको सामु एक्ली भएँ। मेरो कुरा सुनेर, बुझेर, ध्यान दिने कोही थिएन। ममी नाटकी लाग्थ्यो। मैले उहाँसँग विनम्र बिन्तीसहित प्रेमको भिख माग्दामाग्दा नपाएर, थाकेर हारेको महसुस हुन्थ्यो। कमसेकम एउटै ओछ्यानमा वरिपरि सुताइएकी दुई बाला छोरीलाई उहाँले काखा र पाखाको व्यवहार नगरेको भए हुने।
उहाँको त्यही व्यवहारको प्रभाव मेरो बालमस्तिष्कमा परेर जिन्दगीभर त्यसले चोट पुर्याइरह्यो। एउटै ओछ्यानमा एक आमा एउटी छोरीको मायामा रनभुल्ल हुँदा बेवास्ता गरिएकी अर्की छोरीको मन दुखेर निद्रा नपर्नु स्वाभाविकै हो। तर उहाँले यस कुरालाई सधैं सामान्य मानेर मेरो मर्म कहिल्यै बुझ्नुभएन। आमाछोरीको सम्बन्धमा जिन्दगीभर खटपट र उत्तरचढाव आइरह्यो।
तर आजकल जिन्दगीका विषम् परिस्थितका अग्रपंक्तिमा म उहाँलाई सम्झेर उहाँप्रति नै समर्पित हुन पुग्छु।
'मम्मी' उच्चारण मलाई अत्यन्तै प्रिय लाग्छ जुन उच्चारण सायद पहिलो पटकको तोतेबोलीमा मलाई मेरो ड्याडीममीले सिकाउनुभएको थियो। मेरी ममी, मेरी आमा जो मलाई असाध्यै प्रेम गर्नुहुन्थ्यो, गर्नुहुन्छ र गरिरहनुहुनेछ जुन कुरा मैले यो उमेरसम्म आफ्नो जिन्दगीभर कहिल्यै बुझ्न सकिनँ।
जिजुमुवाको निगरानीमा हुँदा उहाँ मलाई कडा अनुशासनको घेराबन्दीमा पारेर राख्न खोज्नुहुन्थ्यो। ममीसँग बिन्ती गर्दा पनि ममीको ध्यान पूर्णरूपमा मतिर खिच्न नसकेकी वा बहिनीको अगाडि समान प्रेम नपाएकी जस्ती मलाई स्वतन्त्रता मनपर्थ्यो न कि कडा अनुशासनको घेराबन्दी। त्यसैले जिजुमुवाको रेखदेखमा हुर्किँदै गर्दा म स्वतन्त्रता प्राप्तिको लागि उहाँविरूद्ध लड्नुपर्थ्यो।
म एकदमै जिद्दी थिएँ र मेरो यहीँ स्वाभावले उहाँको कडा बन्देजी, कारबाही तथा चेतावनी स्वीकार्दै थिएँ। उहाँसँग कहिलेकाहीँ झगडा हुँदा ख्यालैख्यालमा कपाल लुछ्न र हात टोक्न दिनुहुन्थ्यो र अरू बेला म अटेरी/गलत भए भने उल्टै मलाई पिट्नुहुन्थ्यो। ठूल्ठूला लट्ठी र दाउराले हान्नै लागेझैं तर्साएर डर, धम्की, यातना दिनुहुन्थ्यो त कहिलेकाहीँ प्रहार नि गरिहाल्नुहुन्थ्यो।
मैले सामना गर्न बाहेक लुक्नु वा भाग्नुको विकल्प थिएन। तर लुकेर वा भागेर म कहिलेसम्म र कति नै टाढा, कहाँ जान सक्थेँ र! खाना खाने बहाना र स्कुल जाने समयमा उहाँको शरणमा पर्नैपर्थ्यो। म रून्चे मुद्रामा प्रतिकार गर्थेँ जब उहाँ मेरो कालो मेहेन्दी लगाइएको बाक्लो कपाल जबर्जस्ती कोरेर बाँध्न खोज्नुहुन्थ्यो। त्यो पनि मैले भने जसरी बाटेर वा रिबन बाँधेर होइन, उहाँले चाहे जसरी जस्तो उहाँलाई ठिक लाग्छ।
म झर्किन्थेँ, जंगिन्थेँ। उहाँ मलाई हाफसर्ट लाउन दिनुहुन्न। हाफ मोजा लाउन दिनुहुन्न। मैले भने जसरी कपाल बाटेर रिबन बाँध्न दिनुहुन्न। यस्तै-यस्तै कुरामा। उहाँ परम्परागत विचारको हुनुहुन्थ्यो, म आधुनिकतामा रमाउँथेँ। मैले स्वतन्त्रताको पक्षमा जति नै वकालत गरे पनि मलाई सीमितताको लक्ष्मण रेखामा घेरिएको हुन्थ्यो।
जब जिजुमुवादेखि म अलग्गिनुपर्ने अवस्था आयो तब बाध्यताको जँघार तर्दै, खडेरीका सँघार नाघ्दै ममा स्वतन्त्रता हावी भयो। केही शुभ चिन्तकहरूबाट अरुसँग दाँजिएर प्रतिक्रिया र टीकाटिप्पणी आए पनि म खासै वास्ता गर्दैनथेँ। मलाई पहिल्यै पढाइएको थियो सीमितताको पाठ र मलाई जित्नु थियो आफैंसँग। त्यो कुरा मैले राम्रोसँग बुझेकी थिएँ।
जिजुमुवासँग हुँदा राति सुतेको बेला निद्रामा दाँत किट्दी रहिछु, सायद दिनमा खुम्च्याएको र दबाइएको अवचेतन मनको रिस पोख्न नपाएर होला! नभए त उहाँसगँ अलग र ठूली भएदेखि त्यसरी उग्र रूपमा समस्याकै हिसाबले आजसम्म निद्रामा दाँत किटेको भन्ने खबर छैन। मैले सानोमा त्यसरी दाँत किट्दा जिजुमुवालाई सह्य थिएन।
मेरो व्यवहारमा परिवर्तन ल्याएर मलाई निद्रामा समेत नियन्त्रणमा राख्न उहाँ मेरो मुखमा सिक्का राख्न दिनुहुन्थ्यो जसलाई हामी बचपनमा डलर भन्थ्यौं। त्यस्ता एक/पाँच रूपैयाँका डलरहरू राति सुत्दा मेरो मुखमा राखिन्थे कि म दाँत किट्न नसकुँ। बिहान हुँदा डलर पैसा कहिले मुखमै त कहिले ओछ्यानमा भेटिन्थ्यो, धन्न मैले कहिल्यै निलेकी हुन्थिनँ।
उहाँसँग अजीव जुक्तिहरू थिए, अलौकिक कथाहरू थिए, अनेकन रोचक नियमहरू थिए जो म चाहेर पनि नकार्न सक्दैनथेँ र ती सबै नकार्ने खालका पनि थिएनन्। मेरो उहाँसँग वैचारिक विमर्शको बेमेल हुँदा कतिपय कुराहरूको म प्रतिरोध र प्रतिवाद गर्थेँ, चाहे त्यो बिपनामा होस् या सपनामै! हाम्रो संगत ३/४ वर्षभन्दा धेरै हुन सकेन। म ११ वर्षकी हुँदा उहाँको देहावसान भइसकेको र सो कुरा मलाई एक वर्षपछि मात्रै जानकारी भएको थियो।
जिजुमुवा मलाई धेरै प्रेम गर्नुहुन्थ्यो जसको आभास मलाई उहाँको मृत्युपश्चात मात्र भयो। म अहिले चाहेर पनि ऋण स्वरुप पाएको उहाँको प्रेम ब्याजसहित चुक्ता गर्न सक्दिनँ। यही कुराले मलाई पिरोल्छ। उहाँले मलाई जीवन दिनुभयो, शिक्षाले मेरा नेत्रहरू खोलिदिनुभयो, तिता-मिठा यादहरू दिनुभयो, जीवनपर्यन्त जीवन्त रहने स्मृति र प्रेम दिनुभयो तर मैले उहाँलाई केही दिन सकिनँ र सक्दिनँ।
मैले मेरो मनमस्तिष्क र कागजका पानाहरूमा उहाँलाई जति अटाए पनि, जति सजाए पनि, जति रंगाए पनि उहाँको प्रेम र समर्पणसामु म फिक्का हुन्छु। म अधूरो हुन्छु। सानोमा मैले पढेको त्यो 'लिटल रेड राइडिङ हूड' को कथा जस्तै, 'द लिटल म्याच गर्ल' को कथा जस्तै। तर म ती कथामा जस्तै धोकेबाज मानवरुपी ब्वाँसा र क्रूर निर्दयी पात्रहरूबाट आफ्नो अस्तित्व सखाप पारिएकी कमजोर पात्र भने पक्कै होइन।
मेरी स्वर्गीय जिजुमुवाको स्मरणमा यो सन्देश छ कि- 'मेरी प्यारी जिजुमुवा, हजुर जीवित रहुन्जेल मैले हजुरलाई चिन्न सकिनँ। जब चिनेँ हजुर साथमा हुनुहुन्थेन। मलाई माफ गरिदिनू है जिजुमुवा, अर्को जुनीमा हाम्रो भेट भयो भने सप्रेम हजुरलाई प्रेम फर्काउने वाचा गर्छु।'
त्यस्तै मलाई लाग्थ्यो यो संसारमा मलाई सबैभन्दा धेरै प्रेम गर्ने मान्छे मेरो ड्याडी मात्रै हुनुहुन्छ र साँच्चै उहाँ हो पनि तर जीवन सधैँ भने र सोचे जस्तो एकनासको नहुँदो रहेछ। जीवनको कालखण्डमा उहाँसँग पनि वैमनश्यता र नैराश्यताको दूरी बढ्दै गयो। कारण थियो; जातीयताको खाडल जसलाई म पूर्न चाहन्थेँ तर उहाँ घोर विरोध गर्नुहुन्थ्यो र अझै गर्नुहुन्छ।
मेरो ड्याडीलाई अन्तरजातीय सम्बन्धप्रति खेद थियो र उहाँको खेदप्रति मलाई समस्या। म उहाँको त्यस किसिमको विचार र मान्यतासँग असहमत थिएँ र घरपरिवारमा ठाडो चुनौती दिन्थेँ कि म अन्तरजातीय सम्बन्ध नै जोड्ने छु। खासमा मेरो अभिप्राय जातीयताको आधारमा कोहीमाथि विभेद नहोस् भन्ने मात्रै थियो न कि ड्याडीममीको मन दुखाउनु। मलाई सो कुरा उहाँहरूलाई सम्झाएर सम्झाउन गार्हो हुन्थ्यो।
मलाई बाल्यकालमा 'शाह' थर सबैभन्दा ठूलो लाग्थ्यो किनकि उनीहरू राजपरिवारमा पर्ने भएकाले नेपालमा शासन गर्ने अधिकार दिइएको छ। तर एकै क्षणमा लाग्थ्यो, अरूको जात उच्च भनेर किन महत्त्व दिनु? आफ्नो जन्म जुन जातमा भयो, त्यसैमा हामीले गर्व गर्नुपर्छ। मलाई शाही हुनुमै गर्व लाग्थ्यो।
किशोरावस्थामा घरपरिवार र समाजमा जातीयता माथिको अन्योलतामा मेरो आपत्ति थियो। न म सम्झाउन सक्थेँ न खुलेआम विरोध गर्दै हिँड्न। म त्यहीँ समाजको एक सानी अंश थिए जहाँ आफ्नो जातलाई ज्यादा महत्त्व दिइन्थ्यो र अरूको तथा तल्लो जातलाई उपेक्षा गरिन्थ्यो। अहिलेको समाजमा सकारात्मक परिवर्तन त आएको छ तर पाएसम्म अझै पनि जातकै कारण एकअर्कालाई छेड हान्न कोही पछि पर्दैनन्।
मेरो सानैदेखिको बुझाइ सैद्धान्तिक र सर्टिफिकेट ज्ञानको केही महत्त्व छैन, जबसम्म त्यसलाई व्यावहारिक पक्षमा उपयोगिताका साथ सकारात्मक परिवर्तन ल्याउन सकिँदैन भन्ने थियो।
नत्र भने शिक्षित हुन मात्रै किन शिक्षित हुनु र, होइन त?
यस अर्थमा घरपरिवारको बिनासहमतिका बाबजुद पनि मैले आफैंले भने जस्तो गरी हेरेँ। तर फेरि म के कुरामा सचेत भएँ भन्दा अपरिपक्व उमेरमा अभिभावकको सही मार्ग निर्देशन बिना निर्णय पनि अपरिपक्व हुँदोरहेछ।
यस हिसाबमा म गलत थिइनँ, गलत छैन र गलत हुने छैन। जब गलत हुनेछु मलाई मेरो गल्ती स्वीकार्य हुनेछ!