आफू रुँदै, आफन्तलाई हसाउँदै
ईर्ष्यालुहरूको मनमा खुलदुली मचाउँदै
हिजो राति ऊ यहाँ आएको थियो
तर बिहान नहुँदै
खै! ऊ कहाँ हरायो
थाहै भएन
सदियौंदेखि लुप्त
महङ्गो त्यो सुनौलो बिहान
क्षितिजमा उसले ल्याउला कि भन्ने आशा
उसको काँधमा थोपरिएको थियो
कोमल ती नयनहरूको नजर
त्यही क्षितिजतिर थियो
ऊ आउँछ कि भन्ने आशै आशको तरङ्गले
उनीहरुको मन आत्तिँदै थियो
तर
ऊ आएन
खै! त्यही कालो रातमा
ऊ कहाँ हरायो
थाहै भएन
वर्षौंदेखि लागेको ग्रहण
हट्छ कि भन्ने आशा थियो
वर्षौंदेखि औंसीमा बिताउँदै गरेको रात
कट्छ कि भन्ने आशा थियो
ती आशाहरूको किरण
केबल ऊ मात्रै थियो
तर त्यो किरण
क्षितिजमा उदाउँदै उदाएन
त्यहाँ पुग्दै पुगेन
उसलाई ग्रहणले खायो या
औंसीको रातले निल्यो
पत्तै भएन
खै! ऊ कहाँ हरायो
थाहै भएन
मरुभूमिमा
घामले सेकिरहेको बेला
तिर्खाले ज्यान खाइरहेको बेला
मरुद्यानसम्म पुर्याउने बाटो
केवल ऊ मात्रै थियो
तर त्यो बाटो
मरुभूमिमा देखिँदै देखिएन
उसलाई बालुवाले छोप्यो या
दलदलले खायो
पत्तै भएन
खै! ऊ कहाँ हरायो
थाहै भएन
अब
त्यो आशा केबल आशा मात्रै रह्यो
महङ्गो त्यो सुनौलो बिहान पनि फर्केर आएन
त्यो ग्रहण पनि हटेन
त्यो औंसीको रात पनि कटेन
मरुद्यान जाने त्यो बाटो पनि मिलेन
त्यो तिर्खा पनि मेटिएन
थियो त केवल
आफन्तको आँखामा निराशा
अनि ईर्ष्यालुहरूको मनमा हर्ष
तर ऊ
यो वास्तविकताबाट कोशौं दूर
खै! कहाँ हरायो?
थाहै भएन, पत्तै लागेन
ऊ जहाँ हरायो
कहिल्यै नभेट्टिने गरी हरायो
कहिल्यै नफर्किने गरी हरायो।