कविता
ए सोध्नेहरू
भोकाएका भुँडीहरूलाई सोध
भोक के हो भनेर
ढाडिएका जुकाहरू
ती भ्रष्ट जुकाहरू
अरूको रगत पसिना चुसेर
अघाएका लाक्षी स्यालहरूलाई के थाहा
भोकलाई ब्रत ठान्ने स्वाभिमानI
ए सोध्नेहरू
परदेश गएकालाई सोध
घरदेश के हो भनेर
बाँसबारीका मालिकहरू
ललिता निवासका सुकुम्बासीहरू
सिंहदरबारका ठेकेदारहरू
सबैले यहाँ एकछाक खाएकै छन्
सिउँदो र सिमानाको रक्षा गरेकै त छन्
परदेशीले पसिना बेच्छन् र सपना किन्छन्
मालिकहरू पसिना किन्छन् र सपना बेच्छन्I
ए सोध्नेहरू
उपचार विहीनलाई सोध
जीवनको मूल्य कति महँगो छ
एयर एम्बुलेन्समा
दिल्ली र सिंगापुर उपचार गराउनेहरू
उनीहरू यहाँ भिआइपी हुन्
उनीहरूको त यहाँ अस्पताल छ
निजी अस्पताल
जहाँ तपाईंको उपचार हुँदैन
आर्यघाटमा त पालो आउँदैन
पैसा नभए
वीरमा पालो आउने कुरै भएनI
ए सोध्नेहरू
अनागरिकहरूलाई सोध
राष्ट्रियताको मर्म
नागरिकता विहीनलाई सोध
अनागरिक हुनुको दर्द
नागरिकता बेचेर शरणार्थी बनाउनेहरू
सत्ता र शक्तिको दोहन गर्नेहरू
राष्ट्रियताको पसल थापेर
पासपोर्ट किन्न बाध्य पारेकै छन्I
ए सोध्नेहरू
एकपटक भुइँको धुलोलाई
छातीमा कुल्चिँदाको पीडा
सत्ताका बुटहरूले
अन्यायका पर्खालहरूले
अन्धकारका पर्दाहरूले
निर्मलाको छातीमा जस्तै मुर्दारहरूले
यहाँ हरेकपल करणी गरेकै छन्I
यहाँ हरेकपल करणी गरेकै छन्।