घामपानीले लुछ्दालुछ्दै वर्षौंसम्म
मक्किसकेको छ एउटा पिँजडा
भत्किनै लागेका छन् यसका पर्खालहरू
फुस्किनै लागेका छन् तार
उप्किनै लागेका छन् भोटे ताल्चा
झुन्ड्याएका झ्याल अनि ढोकाहरू
चट्याङको सुस्त गर्जनले समेत
भूकम्पले घर ढलाए झैं
ढल्ने स्थितिमा छ पिँजडा
छिटै नै पिँजडा पिँजडा रहने छैन
फुक्का, स्वतन्त्र हुनेछे
वर्षौंदेखि पिँजडाभित्र
नजरबन्द एउटी चरी
खुम्चिँदा खुम्चिँदा भुलिसकेकी छे
उसले आफ्ना स्वर्णिम पखेँटाहरूलाई
हावामा फिँजाएर सपनाको उडान भर्न
एकै ठाँउमा थुप्रिएर बस्न अभ्यस्त
एक्कासी थुनामुक्त भएपछि
अब के गर्ली ऊ?
थुनामा बिताएका दिनहरू सम्झेर
भत्किएको पिँजडाका अवशेषहरूलाई
छातीमा टाँसेर बसिरहली?
कि डराउँदै, अक्मकाउँदै
बाहिर निस्केली खुला संसारमा?
बाहिर आएर के खोज्ली?
के हेर्ली? के देख्ली? के सुन्ली?
के ऊ फेरि उड्न सक्ली?
सपनाका उडान फेरि भर्न सक्ली?
खुला आकाशमा एक पटक पुनः
स्वतन्त्रताको उडान भर्न
कहाँबाट जुटाउँली
हिम्मत अनि साहस त्यो चरी?
कति पल्टको असफलता र
प्रयासपछि उड्न सक्ली विचरी?
आफ्ना कुँजिएका प्वाँखका
जराजरालाई हिम्मतको मलममा चोपेर
फर्फराउन खोज्दा पखेँटाहरू
आफ्नै खुट्टा अल्झिएर
कति पटक लड्ली?
लड्दै, पड्दै, उठ्दै, उड्दै गर्दा
आकाशमा थाकेर कति पटक
अत्याशको सास फेर्ली?
स्याँस्याँ गर्दै रुखको टुप्पोमा
कति चोटि बस्ली?
कति बेर सुस्ताउली?
बिर्सिसकेको उडान भर्दा
हर्षको आँसु चुहाउली?
कि खुला आकाशका
अनिश्चित, अनभिज्ञ
भय, खतराहरूमा
बेरिँनु पर्दा पुरानै जिन्दगी
ठिक मानेर पछुताउली?
भएभरको आँट बटुलेर
कंक्रिटको घना जंगल छिचोलेर
बतासको भूमिमा टेकेर
आकाश माथिमाथि उक्लिँदै गर्दा
उसका निर्दोष आँखाले
आशा देख्ला कि निराशा?
पाउमा फूल पर्ला कि काँडा?
मनले सुरक्षाको अनुभूति गर्ला कि असुरक्षा?
मटुले माया भेट्ला कि घृणा?
हातहरूमा प्रकृतिको वात्सल्य
बर्सिएलान् कि युद्धका घाउहरू?
निष्फक्री हाँसोले पोत्ली ओठ
कि बलत्कृत आँसुले भिज्ला
उसका परेलाहरू?
घामपानीले लुछ्दालुछ्दै वर्षौंसम्म
मक्किसकेको पिँजडाबाट
फुत्किएपछि के गर्ली चरी?