साँझ पर्न लागिसकेको थियो। रत्नपार्कबाट धुलिखेलको गाडी चढें। मलाई यो दुई घण्टे यात्रामा बसको अन्तिम सिटको कुना खुबै मनपर्छ- जहाँबाट यात्रुहरू चढेको-झरेको, कोचिएको, चिँढिएको विभिन्न दृश्यहरू अवलोकन गर्न पाइन्छ। दुर्भाग्यवश आज दुवै कुनाको सिट पाइएन्, अन्तिम सिटको बीचमै बसें।
गाडी चल्यो, रोकियो, चल्यो, रोकियो बानेश्वर पुग्न नै आधा घण्टा बढी लाग्यो होला। ट्राफिक जाममा गाडी अड्किँदा हुने दिक्दारी मेरा लागि नौलो होइन, काठमाडौंमा सार्वजनिक यातायात चढ्ने कसैका लागि नौलो नहोला। यत्तिकैमा बानेश्वर, शान्तिनगरबाट त्यही गाडीमा एक स्त्री चढिन्। उनलाई 'महिला' भनेर कथाको पात्र बनाउन किनकिन गाह्रो लाग्यो, न नै केटी भनी सम्बोधन गर्न सकें। केही शक्ति त पक्कै होला उनमा जसले गर्दा शब्द चयन गर्नै संकोच भएको छ।
गाडीमा बस्ने सिट थिएन। साँझपख धुलिखेलको गाडीमा धेरैजसो समय त उभिने ठाउँ पनि हुँदैन। बीच बाटोबाट चढेर बस्ने एकै प्रयासमा बस्ने सिट पाउन त पूर्व जुनीमा कम्तीमा गंगामा नुहाएको हुनुपर्छ जस्तो लाग्छ। उनी सिधैं लास्टतिर आएर उभिइन्।
उमेर २२/२३ वर्ष हुनुपर्छ। कपाल ठूलो काँटोले बाँधेकी थिइन्। बुलबुले जुल्फी गालामा झुन्डिरहेको थियो। सुतीको झोला बोकेकि थिइन्। झोलामा सगरमाथाको चित्र बुनिएको थियो। मेरा आँखामा गढेको दृश्य भनेको उनले आोढेको सेतो सल थियो- जुन दुरुस्तै आज समाजिक संजालमा छाइरहेकी महिला लडाकुले ओढेको सलजस्तै थियो। आँखामा गाँजल थिएन। ओठमा लाली थिएन। कानमा झुम्का थिएन। अरु सब उस्तै थियो। केही नलगाउँदा पनि केही नभएको जस्तो केही थिएन। फोटोकी लडाकु जस्तै बन्दुक चाहिँ थिएन। कहिलेकाहीँ कसैलाई गोली हान्न बन्दुक नचाहिने रहेछ। सुन्दरताका छर्राहरूले नि धेरै जना घाइते हुन सक्छन्।
असाधारण सुन्दरता साधारण लवाइमा हुन्छ भन्ने सप्रमाण चित्र थिइन् उनी- जीवित चित्र। कौशलटारमा मेरो छेउमा बसेर सुरुदेखि नै क्याण्डी क्रश खेलिरहेको एक केटो ओर्लिन उठेपछि मैले उनलाई बस्ने इसारा गरें। उनी मेरो छेवैमा बसिन्। हाम्रा खुट्टाहरू ठोकिए, पाखुराहरू छोइए। उनले सल मिलाएर ओढिन्। सलले मेरा दायाँ हत्केलाको केही भाग पनि ओढियो। झ्यालबाट आएको सिरेटोले पूरै शरीर चिसो हुँदा पनि हत्केलामा चिसो लागेन।
सल्लाघारी पुग्दासम्म अँध्यारोले छपक्कै ढाकिसकेको थियो। काठमाडौंबाट सँगै छुटिएका साथीहरूले घर पुगेर फेसबुक स्क्रोल गर्दै दुई/चार लाइक कमेन्ट गर्न भ्याइसके होलान्। म अझै छिमेकी जिल्लामै छु।
म सुन्दर तालको छेउमा बसेको थिएँ, मेरो लाज तालको पानीमा प्रतिबिम्बित भइरहेको थियो होला। म सुन्दर फूलको छेउमा बसेको थिएँ, केही फूललाई फूलिरहन मालीको आवश्यकता हुँदैन। उनी फूल थिइन, गुलाब वा सयपत्री होईन, सूर्यमुखी वा गोदावरी होईन। कुनै एकान्त बनमा फुलेको सेतो गुँरास जस्ती थिइन।
म यता-उता हेरेको मौका पारेर उनको मुहार हेरिरहेको थिएँ। एक मनोहर पेन्टिङलाई धित मरुन्जेल हेर्न नपाउँदाको छट्पटी मनमा खेलिरहेथ्यो। यस्तैमा मेरा चोर आँखा उनका आँखासँग जुधे। म पनि पग्लेर तालको पानीमै मिसिन्छु कि जस्तै भयो। उनका आँखा निलमणी झैं थिए। त्यसपछि उनका आँखाले पनि साउती मार्न थालेको झैं लाग्यो।
आँखाहरू कस्ता है? चोरी गरेझैं हेर्न सक्ने, चोरी गरेरझैं मात्र हेर्न खोज्ने। त्यसपछि हाम्रा आँखाहरू धेरै पटक जुधे। आँखाहरूले धेरै पटक चोरी गरे। सूर्यविनायकमा जुधे, जगातीमा जुधे, नलिन्चोकमा जुधे, पलाँसेमा जुधे। जब-जब आँखा जुध्न थाले, उनी मुस्कुराउन थालिन्। म नि दोब्बर मुस्कुराउन थालें। चिसोले सुकेका ओठहरू तन्काइरहन हरसम्भव प्रयास गरिरहें। आँखाहरूले के-के बोले, मुस्कानहरूले के-के बोले- तर मनलाई एक शब्द पनि सुनाएनन्। कानेखुसीसम्म गरेनन्।
साँगाको मोडमा आएपछि अँध्यारोबीचमा पनि उज्यालो कैलाशनाथ महादेव देखापरे। उनले दायाँ हातले आफ्नो छाती र त्यसपछि निधार छोइन्। मतर्फ हेरिन् र आफूजस्तै गर्न इसारा गरिन्। मैले पनि महादेवलाई ढोगें। इसारामा कुरा हुँदा पनि हामी आवाज निकालेर बोलेनौं। न मैले नाम सोधें, न कहाँसम्म हो सोधें। न उनले हेलो बोलिन्।
यतिसम्ममा अन्तिम सिटमा हामी दुई मात्र बाँकी थियौं। हाम्रो छेउका सबै यात्रु ओर्लिसकेका थिए। साँगा कटेपछि हल्का चिसो बढेजस्तै भयो। उनले सल पुन: मिलाएर ओढिन्। एक खुट्टा र पाखुरा त मेरो पनि ओढियो। यतिमा मतिर हेरेर पुन: मुस्कुराइन्। म छर्राहरूले पहिल्यै घाइते मान्छे। गोली लागेजस्तै भयो। तर पनि 'ऐय्या' लाई आवाजमा बदल्न सकिनँ।
उनी झर्ने ठाउँ या त २८ किलो या त धुलिखेल भनी अनुमान लगाएँ। साँगामा सकिएन, बनेपासम्म त बोल्छु-बोल्छु भनी अठोठ गरें। यो यात्रा कम्तीमा परिचयको यात्रा त होस्। भावनाका यात्राहरू तय गर्न अझ धेरै बाटाहरू छँदैछन्।
जनागलको भत्केको बाटोमा गाडी खड्याङ खुडुङ गरी चल्न थाल्यो। लडिन्छ कि भनेर उनले मेरो हात समातिन् वा समात्न पुगिन्, म भन्न सक्दिनँ। मलाई एक सफर बनारसमा साँझपख डुङ्गा शयर गर्दै भजन सुनेझैं महसुस भयो। ठयाक्कै यस्तो किन महसुस भयो म भन्न सक्दिनँ। यति सजिलै भन्न सकिने भए त कविताहरू किन लेख्नु पर्थ्यो र, निबन्ध नै काफी हुन्थे।
बनेपा पुग्नै लाग्दा उनी सिटबाट उठिन्। मतिर फर्किइन्, मुस्कुराइन्। बायाँ हात हल्लाएर बाईको इसारा गरिन्। म यसपटक मुस्कराउन सकिनँ। बोल्न त सुरुदेखि नै सकेको थिइनँ। उनको सल सिटमा अड्कियो। उनले झरक्क तानिन् र गइन्। सलको सानो धागो सिटमै अड्कियो।
मलाई के गरौँ, के गरौँ भयो। यतै झरौं कि पनि भयो। तर रातको ८ बज्न लागिसकेको थियो। कम्ती कराएर नाम त सोधौं भयो। त्यो पनि सकिनँ। म त्यो सलको च्यातिएको धागोजस्तै रहें। उनी खलासीलाई भाडा बुझाएर बनेपा पुल बजार झरिन्। म हेरेको हेर्यै मात्र भएँ।
कृया महत्वपुर्ण हुन्छन्- म बोल्न सक्नुपर्थ्यो। म गाडीबाट त्यही ठाउँ झर्न सक्नुपर्थ्यो। म सलमा अल्झिएर सलसँगै हिड्न सक्नुपर्थ्यो। तर मैले ताललाई हेर्दाहेर्दै ताल सुकेर फाँट भएजस्तै भयो, हेर्दा हेर्दै फूल झरेर डाँठ भए जस्तै भयो।
धुलिखेल पुग्नै लाग्दा बोलेको भए हुन्थ्यो भन्ने पछुतो मनमा बोकेर म बसको ढोका नेर पुगें। मैले पैसा तिर्न नखोज्दै खलासीले भन्यो, 'तपाईंको भाडा पुलबजार झर्ने दिदीले दिइसक्नु भयो है!'
मन अझै झल्यार्ङङ् भयो। सिसा फुटेजस्तै। धुलिखेल चोक ओर्लिएँ- मनको चिसो र बाहिरको चिसो दुबै खप्न नसकी चोकमा बन्द हुन लागिसकेको पसलमा गई एक सिगरेट सल्काएँ। धुवाँ बनेपा तिरै उढाएँ। म बन्दुक बोक्ने छापामार महिला लडाकुलाई गाउँमै छोडेर सहर पसेको कमाण्डर जस्तै भएँ- म जनता बिनाको नेता जस्तै भएँ।
सिगरेट सकियो। ठुटो भुइँमा फालें। खुट्टाले कुल्चिएँ। पैसा तिर्न हात गोजीमा हालें- ल्या! पर्स नै छैन त बा। अन्य खल्ती छामछुम पारें, पर्स त हराएछ। खल्तीमा केवल सेतो सलको च्यातिएको टुक्रो धागो मात्र थियो।