जुन दिनको प्रतीक्षामा जेनी व्यग्र उत्ताउली भएकी थिई, त्यो दिन अर्थात् १४ फेब्रुअरी पनि आइपुग्यो। उनको मनमस्तिष्कमा एक रोमाञ्चक अनुभूतिले पौडी खेलिरहेको थियो। उनको लागि जीवनको महत्वपूर्ण दिन नै यही हुन्थ्यो जसको लागि उनी ३६४ दिन पर्खेर बसेको हुन्थी।
समयको अन्तरालसँगै शरीरको बाहिरी बनावटमा परीवर्तन आए पनि आत्मा त्यही थियो, सोच त्यही थियो, मानसिकता त्यही र शरीरमा उर्जा पनि त्यही थियो जुन एक टिनएजरमा हुन्छ।
आज उनलाई पहिलो पटक जोनभन्दा पहिले पुगेर सरप्राइज दिने उत्कृट चाहना थियो। आँखामा बिताएका ती पलहरू त्यसैगरी आउँथे जतिबेला जेनी १३ वर्षकी मात्र थिई र जोन १४ को, साल भने एउटै नै थियो। जेनी ऐना अगाडि उभिई र आफ्नो फुलेका सेता कपाल, कैलो आँखा, चाउरी परेर मुजा परेका निधार र लत्रक्क परेर झुन्डएको गालालाई हेरी। ड्रेसिङ टेबलमा राखिएको एक क्रिमको डब्बा उठाएर गालमा दली। आफ्नो सेतै परेका कपालमा तेल लगाई र आफ्नो पूरानै ब्राण्डको बडी स्प्रे लगाएर घरको पार्किङमा राखिएको सेतो कार लिएर लकहार्ट (फ्लोरीडा) मा रहेको घरबाट ओरल्याण्डो पार्कतिर निस्की।
आज जेनीले केही फरक र विशेष ढंगले भ्यालेनटाइन डे मनाउने विचार गरेकी थिइन। ५ मिनेटको दूरी तय गर्ने वित्तिकै उसले जोनलाई दिन एउटा गुलाफको फूल याद आयो र झट्ट एक पसलमा गएर एउटा रोज, एउटा ग्रिटिङ कार्ड एउटा र हर्सिज मिल्क चकलेट लिई।
जीवनमै पहिलो पटक जेनी जोनलाई भेट्न ३० मिनेटअघि गएकी थिई। ऊ पार्कको गार्डेन नजिक रहेको उड बेन्चमा गएर बसी जहाँ हरेक वर्ष जेनीलाई भ्यालेनटाइनको वीश गर्न जोन आउने गर्दथ्यो।
हिल्सबोरोह हाई स्कुलमा पढ्दाको सम्झना आयो। दुवै कक्षा ८ मा पढ्दथे। आज पनि जेनीलाई त्यही एउटै घटना याद आयो। जेनी र जोन मिल्ने साथी थिए तर एकदिन जेनीको म्याथसको कपी हराउँदा क्लास टिचरले सबै विद्यार्थीलाई क्लास बाहिर पठाएर सबैको ब्याग एक-एक गरी चेक गरेकी थिइन्। जोनको ब्याग खोल्दा टिचरले उसकै ब्यागमा जेनीको कपी भेट्टाएकी थिइन्। मात्र यही एउटा कारणले जोनले स्कुल छोडनु परेको थियो।
जेनीलाई यो घटनाले ठूलो चोट पुगेको थियो। स्कुल प्रशासनले जोनलाई यो सजाय दिएकोमा ऊ साह्रै दुखी थिई। ऊ चाहँदैन थिई जोन टाढा होस भनेर, किनकि जोन नै उसको क्लासको सबैभन्दा प्रिय थियो। मात्रै एउटै कुराले उसलाई छटपटी लागेको थियो, आखिर जोन म्याथमा जान्ने हुँदाहुँदै उसको कपी जोनको ब्यागमा कसरी गयो भनेर। जेनीले आफूले आफैंलाई नै कसुरवार बनाएकी थिई, उसलाई हरेक समय जोनकै झझल्को आउथ्यो। जहाँ जाँदा पनि उसका आँखाहरूले जोनलाई नै चाहारी रहेका हुन्थे।
समय बितेसँगै जेनीलाई जोनको यादले सताउन छाडेन। एकपटक जोनसँग भेटेर माफी माग्ने चाहना थियो। जोन बसेको घर पत्ता लगाएर ऊ माफी माग्न गई तर जोनको बुबाको देहान्त भएका कारण उसकी आमाले जोनलाई लिएर कहाँ गइन् कसैलाई थाहा भएन। पश्चाताप गर्दै जेनी घर फर्केकी थिई।
जोनसँग भेट नभएको लगभग एक वर्ष भइसकेको थियो। सहर बजारतिर भ्यालेनटाइन डेको रौनक छाइसकेको थियो तर जेनीलाई भने खल्लो लागिरहेको थियो। भ्यालेनटाइन डेको दिन जेनीलाई घरमा बस्न मन लागेन, ऊ घर नजिकै रहेको ओरल्याण्डो पार्कमा गई र पार्कको एक किनारमा गएर झिलको अगाडि बेन्चमा बसेर पानीभित्र खेलिरहेका माछाहरूलाई टोलाएर हेरिरही। आज झन् जेनीलाई जोनको नै यादले सताइरहेको थियो।
साँझ पर्न लागेको थियो। पार्क घुम्न आउने केटाकटी, युवा-युवती, बुढाबुढी जो एकआपसमा माया प्रेमका कुराहरू साटासाट गरेर हिँडिसकेका थिए। अब त्यस पार्कमा केही बाँकी थियो भने जेनीलाई जोनसँग भेट्ने उत्कट चाहना र जोनसँग साटासाट गर्नुपर्ने माया प्रेमका कुराहरू।
चराहरूको चाइँचाइँ चुइँचुइँको आवाजले जेनीका आँखा टोलाउन छाड्यो, आँखाबाट बगेका आँसुहरू सुकिसकेका थिए। लगातार ५ घण्टा बसेको बेन्चबाट जेनी उठ्न लागी। सोही समय उसका अघि कोही आएर उभिएको जस्तो लाग्यो। जेनीले टाउको उठाएर यसो हेरी, नभन्दै उसको अघि जोन उभिएको पाई।
जोनलाई देखेर जेनीको खुसीको सीमा रहेन। उसका हात-खुट्टाहरू लरबराउन लागे। ऊ केही बोल्न सकिरहेकी थिइन, मात्र एकोहोरो जोनलाई हेरिरहेकी थिई। बोल्ने कुनै शब्द नै थिएन ऊसँग। ऊ पश्चतापको भूमरीमा पिल्सिरहेकी थिई। एक वर्ष अघिको घटनाले उसलाई पिरोल्यो। दुवैजनाले एकअर्कालाई हेरी मात्र रहेका थिए। जेनीको मुखबाट मात्र एउटा शब्द निस्क्यो 'जोन' र बेन्चमा बस्ने इसारा गरी।
आज ठिक एक वर्षपछि जेनी र जोनको भेट भएको थियो। दुवैजना एकआपसमा स्कुलमा पढ्दा समयको कुरा गर्न लागे। तर स्कुलको त्यो घटनाको कुरा गर्दा एकअर्काको मन दुख्छ भनेर त्यो कुरा कोटयाउन दुवैले चाहेनन्। बुबा बितेपछि त्यो सहर छोडी आमासँगै अर्को सहरमा बस्न गएको जोनले आमाले कसैको घरमा घरायसी काम गरी जीवन निर्वाह गरेको बतायो। उसका संघर्ष र पीडाका दिनहरू बितिरहेको कुरा गर्दै उनीहरू पार्क बाहिर रहेको केफ हाउसमा गएर एक-एक कप कफी खाए। अर्को वर्ष फेरि भ्यालेनटाइन डेमा नै भेट्ने वाचा गर्दै दुवै बिदा हुनलागे। जोनले जेनीको निधारमा एक चुम्बन गर्यो र ऊ बिदा भयो।
यसैगरी समय बित्दै गयो। हरेक वर्ष भ्यालेनटाइन डेमा उनीहरूको भेट हुन्थ्यो। दुःखसुखका कुरा हुन्थे। हाँस्ने रमाउने कार्य हुन्थ्यो ।दिनभरि पार्कमै घुम्ने र खेल्ने गर्दै कफीको चुस्कीसँगै उनीहरू बिदा हुन्थे। तर आफ्नो मनभित्र रहेको एकअर्काप्रतिको अथाह प्रेम पोख्न भने कसैले सकेका थिएनन्।
यो क्रम चलेको एउटा जुग नै बितिसकेको थियो। आज ६५ वर्ष पूरा भएको थियो। जेनी युवा अवस्थामा हुँदा धेरैको प्रेम र विवाहको प्रस्ताव आए तर उसले सबै प्रस्तावहरूलाई अस्वीकार गरी। मात्र चाहना थियो भने जोनको प्रेम प्रस्ताव तर जोनले यो प्रस्ताव आफैंले कहिले राख्न सकेन।
जोनले ४० वर्षको उमेरमा एक सारा नामकी युवतीसँग विवाह गरेको थियो जो ६५ वर्षको उमेरमा बितिसकेकी थिई। उसका छोराछोरी, नातिपनाति सबै थिए तर सबै घर छोडेर बाहिर नै बस्थे। जोन ८० वर्षको हुँदा पनि उसको शरीर चलायमान भएकोले ऊ आफ्नो व्यवहार चलाउन सक्षम थियो ऊ उसको साथी टमी (कुकुर) सँगै दिन बिताइरहेको थियो।
जेनी र जोनको आज ६५ औं वर्षको भ्यालेनटाइन डे थियो। यतिका वर्षसम्म जोनले मलाई रोज दिएर प्रेम प्रस्ताव नराखे पनि आज म मेरो प्रिय जोनलाई पहिलो पटक रोज दिएर प्रेम प्रस्ताव राख्छु र जोनले पनि स्वीकार गर्छ होला भन्ने उसलाई पूर्ण विश्वास थियो। जेनीले ६५ वर्षसम्म जोनलाई दिनको लागि संगालेर राखेको ग्रिटिङ कार्ड र ६५ वटा सुकिसकेका गुलाफका फूल त्यही पूरानो स्कूले ब्यागमा बोकेर आएकी थिई र त्यसैमा थियो म्याथको कपी पनि, जसका कारण दुवै जना टाढा हुन परेको थियो।
जेनीको धड्कनको चाल बढिरहेको थियो। कतिबेला जोन आउँछ र जोनको अघि प्रेम प्रस्ताव कसरी राख्ने भन्ने ऊ सोचिरहेकी थिई। नभन्दै सेता दारीवाल अल्गो जोन सुट टाई पेन्टमा आफ्ना फुलेका टाउकाभरिका कपाल छोप्ने गरी ह्याट लगाएर ठिक समयमा आइपुग्यो। जेनीको झन् धड्कन बढेर गयो। जोन जेनीको छेउमै आएर बस्यो र भन्यो- 'जेनी, ह्याब अ नाइस भ्यालेनटाइन डे।'
जेनीले पनि 'सेम टु यु, अल्सो ह्याब अ नाइस भ्यालेनटाइन डे जोन' भन्दै प्रतिउत्तर दिई। एकछिन दुवैजना मौन बसे। एकले अर्कालाई यसरी हेरिरहेका थिए जसरी एक १६ वर्षे युवायुवतीलाई एकले अर्कालाई हेर्छन्। दुवैजना एकअर्कासँग बोल्न सकिरहेका थिएनन्।
जोनले आफू दुई बीचको सन्नाटालाई तोड्दै 'जेनी, आज तिमी कति राम्री देखिरहेकी छौ' भन्यो।
'म सधैंभरि तिम्रो यो रुपलाई हेरिरहुँ भन्ने चाहन्छु।'
जोनको कुरा सुनेर जेनी मन्द मुस्काई र शर्माएर अर्कोतिर हेरी। जोनले जेनीको चिउडो समाएर आफूतिर तान्यो र भन्यो- 'जेनी, म तिमीसँग आज एक चिज माग्छु, के दिन सक्छौ?' जेनीले टाउको हल्लाउँदै समर्थन जनाई।
'जेनी, मलाई लाग्छ हामीले एकअर्कालाई हेरेर र वर्षको एक पटक नै भेटेर एकले अर्कालाई माया गर्दै ६५ वर्ष बितायौं। म चाहन्छु हाम्रा बाँकी जीवन यसरी टाढा नभएर सँगै भएर बितोस्। आई लभ यु सो मच जेनी। के तिमी मेरो प्रेम प्रस्ताव स्वीकार गर्छौ? मग विवाह गर्छौ?' भन्दै जोनले आफ्नो कोटको खल्तीबाट एउटा गुलाफको फूल निकालेर जेनीलाई दिँदै बेन्चमा बसिरहेकी जेनीको अगाडि घुँडा खुम्च्याएर बस्दै भन्यो।
जेनीका आँखाबाट तररर आँसुका धारा बग्न लागे। जुन कुरा जेनीले आजभन्दा ६५ वर्षअघि सुन्न चाहेकी थिई, त्यो आज उनले आफ्नै कानले सुन्न पाई। जेनी बोल्न सकिरहेकी थिइन, मात्र उसको आँखाबाट अविरल आँसुका वर्षा भइरहेको थियो। जोन शान्त मुद्रामा जेनीलाई हेरिरहेको थियो। उसलाई लाग्यो कहीँ उसले गल्ती पो बोल्यो कि भनेर, जँहा जोनका पनि आँखा रसाएर आएका थिए।
'जोन, जति बेला हामी स्कुलमा पढथ्यौं त्यति बेलादेखि नै म तिमीलाई चाहन्थें। तिमीलाई माया गर्थें। जुन कुरा तिमीले बुझ्न सकेका थिएनौ। हरेक भ्यालेनटाइन डेमा तिमीले मलाई प्रपोज गर्छौ भन्ने आश लिएर आउँथें तर तिमीले कहिल्यै मलाई प्रपोज गरेनौ। तिमीले मलाई आज नभए भोलि अवश्य प्रपोज गर्छौ भन्ने आशमा मैले सारा जीवन एक्लै बिताइसकें तर मलाई केही दुःख छैन, कमसेकम आज त प्रपोज गर्यौ। मैले तिम्रो यादमा र तिमीले दिएको एक चुम्बनलाई प्रेमको नासो सम्झेर यतिको जीवन त सहजैसँग बिताएँ भने बाँकी जीवन त के सयौं हजारौं वर्ष तिम्रो यादमा बिताउन सक्छु' भन्दै जोनलाई अंगालो हाली।
एकछिनपछि उसले ती आफ्ना त्यही ६५ वर्षअघि स्कुल लैजाने गरेको ब्यागको चेन खोल्दै भनी- 'जोन, यो ब्यागालाई चिन्छौ?'
जोन आश्चर्यमा पर्यो र उसले भन्यो, 'अरे! यो ब्याग त तिम्रो स्कुले बेलाको हैन? जसबाट मैले म्याथको कपी झिकेको थिएँ।'
जेनीले हो भन्दै 'मैले तिम्रो लागि संगालेर राखेको ग्रिटिङ कार्ड र गुलाफको फूल यहाँ छ हेर त' भनेर देखाई।
६५ वटै कार्डहरू जस्ताको त्यस्तै थिए। कतिपयको रंग उडिसकेको थियो भने गुलाफका फूलका पातहरू सुकेर धुलो भइरहेका थिए। जोनलाई भट्ट याद आयो र सोध्यो- 'के त्यो म्याथको कपी पनि यहाँ छ?'
जेनीले टाउको हल्लाउँदै ६५ वर्षअघिको थोत्रिन लागेको म्याथको कपी ब्यागबाट निकाली जसलाई सम्झना स्वरुप उसले संगालेर राखेकी थिई। जोनले हत्तपत्त त्यो कपी लियो र हतार-हतार पाना पल्टाउँदै केही खोजे जस्तो गर्यो।
जेनीले 'के खोजेको?' भनेर सोधी तर जोनले केही नबोली पाना मात्र पल्टाइरह्यो। उसले खोजेको कुरा भेट्न सकेन र केही क्षणपछि सम्झे जस्तो गरेर कपीको गातालाई खोल्यो जहाँ कपीका एक पाना पनि समेटिएको थियो। कपीको त्यो पहिलो पाना खोलेर जोनले जेनीको अघि बढायो।
जेनीलाई त्यो जोनको अक्षर हो भनेर चिन्न बेर लागेन। जेनीले कपीको पहिलो पानालाई आजसम्म याद गरेकी थिइन र खोलेर पनि हेरेकी थिइन। यदि कसैले हेरेको थियो भने जेनीको स्कुलको टिचरले हेरेकी थिइन् जुन कपी फिर्ता गर्दा कभरभित्र छिराइदिएकी थिइन्। जेनी त्यो कपीको पेजमा ६५ वर्षअघि लेखिएका अक्षरहरूलाई हतार-हतार पढ्न लागी। ऊ भक्कानिएर रुन लागी।
त्यस पानामा लेखिएको थियो- 'ह्याप्पी भ्यालेनटाइन डे जेनी, आई लभ यु सो मच। के तिमी मेरो प्रेम स्वीकार गर्छौ? योर जोन।'