एउटा केटा मान्छेको धेरै केटा साथीहरू हुनु स्वभाविकै हो। तर म भने अलि भिन्न स्वभाव भएको मान्छे। त्यसैले चाहना थियो एउटा केटी जो मेरो बेस्ट फ्रेन्ड बनोस्। ऊ सबै केटा साथीहरूसँग घुलमिल हुन सकोस्। मेरो र मेरो मन मस्तिष्कलाई बुझी साथ दिइरहोस्।
खोजीमै थिएँ। एकदिन साँझपख फेसबुकको पोस्टहरूमा रमाइरहेको मेरा हात एक्कासी फ्रेन्डलिस्ट तिर गयो। लिस्ट हेर्दै गर्दा एउटी अपरिचित केटीमा नजर गयो जो फेसबुकमा जोडिएकी रहिछिन्। उनको प्रोफाइल हेरें।
त्यसै समयमा मेरो फेसबुक पेज चलाउनी हुटहुटी थियो। पेज लाइक गर्दिन बाहना बनाउँदै 'हेल्लो' भन्दै मेसेज गरें। केही समयपछि जवाफमा 'हजुर' आयो।
मैले फेरि मेसेज गरें- 'एउटा हेल्प गर्न सक्नुहुन्छ?'
जवाफमा 'कस्तो हेल्प?' भन्ने आयो।
मैले मेरो पेजको लिंक शेयर गर्दै 'यो मेरो पेज लाइक गर्दिनूहोस् न' भनें। उनले 'हुन्छ तर केही समयपछि' भनिन्। त्यत्तिकैमा केही घण्टा हाम्रो कुरा भएन। पछि फेरि मैले मेसेज गरें 'खाना खानु भयो?'
कुरा गर्ने अरू प्रसंग थिएन। एकछिनपछि व्यवसायसँग सम्बन्धित एउटा स्टाट्स पठाएर कुरा सुरु गर्न थाल्यौं। कुरा सुरु हुन पाएको छैन त्यही प्रसङ्गमा उद्यमी बन्न पहिला पैसा चाहिन्छ कि इच्छाशक्ति भन्ने कुरामा विवाद सुरु भयो। केहीबेरको विवादपछि आफ्नो आफ्नो कुरामा केही कमजोरी पनि भएको मनन गर्यौं। त्यसपछि बल्ल सुरु भयो हाम्रो परिचय।
संयोगले हाम्रो पढाइ र लेभल एउटै रहेछ। त्यति कुरा गर्दैमा १० बजिसकेछ। अब सुत्नु पर्छ, भोलि कलेज जानुछ बिहान भन्दै हामी बिदा भयौं।
भोलिपल्ट साँझ पेजमा लाइक बढेछ कि नाई भनेर हेरें। लाइक नबढेको देखेपछि उसलाई मेसेज गरें- 'हजुरले त अझै लाइक गर्दिनुभएन।'
केही समयपछि उनले बिर्सेको बनाइन्। अनि फेरि सुरु भयो हाम्रो कुराकानी- खानु खानु भयो? के गर्नु भयो दिउँसो? आजको खबर के छ? कति पढ्नु हुन्छ? यस्तै-यस्तै धेरैजसो पढाइकै कुरा भए।
अर्को दिन मैले एउटा कुरा भन्छु है भन्दै 'तँ' भन्नी प्रस्ताव राखें। त्यसको विपरीत उसलाई तँ भनेको फिटिक्कै मन नपर्नी। तर म त तँ नै भन्छु भनी जिद्दी गरें। सुरु-सुरुमा तँ भन्दा ज्यादै रिसाउनी गर्थिन् तर विस्तारै बानी लाग्यो उनलाई।
यसैगरी दैनिक हाम्रो कुरा हुनथाल्यो। हामीले आफ्नो कुराहरू शेयर गर्न थाल्यौं। कहिले त कुरा नमिलेर झगडा समेत पर्थ्यो तर पनि आ-आफ्नो गल्ती महसुस गर्दै कुरा अगाडि बढ्यो।
एकदिन कुरा गर्दै जाँदा मैले बेस्ट फ्रेन्ड बनौं भनें। तर उसले आफ्नो पहिल्यै बेस्ट फ्रेन्ड भएको बताउँदै मेरो प्रस्तावलाई अस्वीकार गरिन्। म एकछिन अक्क न बक्क भएँ, जो त्यत्रो आशले भनेको थिएँ। केही बेरपछि उनको 'बरु साथी चाहिँ ठिक छ' भन्ने मेसेज आयो।
साँझ परेपछि उसलाई मेसेज गर्ने बानी लागिसकेको थियो। कहिलेकाहीँ कुरा गर्दै गर्दा झगडा गरेर पहिला गरेको मेसेज 'अनसेन्ड' गर्नी समेत नि गरियो। तर फेरि कुरा मिलाइहाल्ने हामी आफैं। जति नै झगडा गरे पनि एकाअर्काले आफ्नो आफ्नो गल्ती स्विकार्दै आगाडि बढ्नाले नै सम्बन्धमा सुमधुरता ल्याउँदो रहिछ।
यो समयसम्म हाम्रो चिनजान भएको छ महिना भैसकेको थियो। कहिले हामी झगडा गर्थ्यौं त कहिले केयर। साथै सुखदुःखका कुरा पनि साटासाट हुनी। नयाँ कुरा केही भए एकाअर्कालाई सुनाउनी बानी नै बसेको थियो, कति बेला सुनाउँसुनाउँ लाग्ने।
हरेक दिन कुरा भएन भने आज के गर्न बिर्सें भन्नी आभास हुन थालेको थियो। एकाअर्कालाई नभने पनि हामीबीच माया झाँगिसकेको रहेछ। हामी फोनमा बिरलै बोल्थ्यौं। धेरैजसो मेसेजमै कुरा हुन्थ्यो। कति रातहरू त मेसेज गर्दैमा कट्थ्यो र त्यतिकै उठेर बिहान कलेज जान्थ्यौं।
हामी साथी भएको एक वर्षमा एकअर्कोलाई राम्रोसँग चिनेको त थियौं तर हाम्रो भेट भने भएको थिएन। भएको थियो त के फेसबुकमा च्याट, अडिओ कल त बिरलै हुन्थ्यो भने भिडिओ कल त हुने कुरै भएन। तर एकअर्काको फोटो भने शेयर हुन्थ्यो। मलाई उनको मुस्कुराएको फोटो हेर्न साह्रै मन पर्ने, अझ भनौं उनको मुस्कानको फ्यान नै थिएँ।
बिहे गर्नी उमेर भएकी उनी, यो केटाले कुरा गरेको छ रे घरमा मेरो लागि, अनि यो केटाले यस्तो मेसेज गरेको छ, घरमा आज यस्तो भयो, यो गर्दैछौं सबै कुरा शेयर गर्थिन्। मानौं म उनको जीवनसाथी नै भइसके जसरी। म पनि आज कलेजमा यस्तो केटी देखें राम्रो लाग्यो भन्नेदेखि लिएर सबैजसो कुरा भन्नी गर्थें।
हामी एकाअर्कालाई हरेक परिस्थितिमा साथ दिन्थौं। उनले बेस्ट फ्रेन्ड बन्न अस्वीकार रे पनि बेस्ट फ्रेन्डभन्दा नि माथिको साथीको भाव भएको महसुस गर्थे म। हामीले एकअर्कालाई पनि धेरै नै बुझिसकेको थियौं।
हामी साथी भएको १८/१९ महिना भैसकेको थियो। एकदिन मैले उनलाई सोधेको थिएँ- 'तँलाइ कस्तो केटा मनपर्छ? सफलता पाइसकेको वा संघर्ष गर्दै गरेको मान्छे?'
जवाफमा उसले संघर्ष गर्दै गरेको मान्छे भनेकी थिई।
फेरि सोधें- 'किन नि? प्रायःले त धन सम्पत्ति धेरै भएको र सेटल भएको केटा रोज्छन् त।'
'धेरै सम्पत्ति भएकोले मलाई माया नगर्न नि सक्छ। भोलिका दिन मेरो सफलतामा तेरो हात के नै छ र भन्दै सम्पत्तिको धाक देखाउँदै दुःख दिन नि त सक्छ नि। यदि त्यस्तै नभए नि तर मलाई चाहिँ संघर्ष गर्दै गरेको नै मनपर्छ जो उसलाई मेलै नि हातमा हात मिलाउन सकुँ र सफल हुनुमा उसले मेरो नि हात छ भनोस्।'
कुरा राम्रो नै लाग्यो र सोचें, अहिले केही नहुँदा साथमा हुने व्यक्ति सफलतामा त झन् कसरी छोडेर जानसक्छ र ?
कुरा हुँदै गयो। दिन बित्दै गयो। सम्बन्धमा अझ आफ्नोपन थपिँदै गयो। कयौं पटक झगडा हुँदा पनि सम्बन्ध अझै मिठासपनमा हुर्किंदै गयो। देख्नु छैन, भेट्नु छैन आखिर कसरी? यही नै त हैन कतै 'माया बसेको भनेको' भनेर आभास भयो।
जब म दुःखमा हुन्छ र तनाव भएको बताउँछु, ऊ मलाई विचलित नहुनू म साथ दिन्छु भन्छे। यो भए के गर्नी भन्दा, त्यो नभए यो गर्नी यो नि नभए यो गर्नी भन्दै एकपछि अर्को विकल्प देखाउँदै सधैं सकारात्मक रहन सुझाव दिन्छे। त्यस कुराले गर्दा मलाई उनीसँग जोडिन अझ सहज बन्यो। अब त कुरा पनि आउने दिनहरू र भविष्यको बारेमा हुन थाल्यो।
हामी नजिक भएको अर्थात् कुरा हुन थालेको पनि २२ महिना भैसकेको थियो। कहिलेकाहीं लाग्थ्यो, कहिल्यै नदेखी नि यसरी नजिक हुन सकिँदो रहेछ। माया लाग्दो रहेछ। मायाको आँखा हुँदैन भनेको सुनेको थिएँ, अहिले हो कि के हो जस्तो आभास हुन थाल्यो।
यो समयसम्म आउँदा हामी अति नजिक भैसकेका रहेछौं कि मलाई यो नै मेरो जीवनकालको एक असल साथी हो, यो नै मेरी प्रिय हो भन्ने लाग्न थालेको थियो। उता उसलाई नि यदि मैले प्रपोज गरे स्वीकार गर्छु भन्ने मनमा खेलिरहेको रहेछ जुन कुरा हामी सम्बन्धमा रहिरहँदा मात्र उसले व्यक्त गरिन्।
त्यसलगत्तै उनको जन्मदिन थियो। मैले राति १२ बजे मेसेज गरेर शुभकामना दिएँ। सुरुमा शुभकामना दिन्छु सोचेको थिएँ तर पनि म अझै दोस्रो नम्बरमा परेछु, पहिलो जो उनको बेस्ट फ्रेन्डले नै गरेछ। तर दोस्रो नम्बरमा गरेको भए नि मेरो शुभकामनाले धेरै नै खुसी भएको कुरा व्यक्त गरिन्।
त्यसको २/४ दिनपछि मैले 'हेल्लो फ्युचर वाइफ' भन्दै मेसेज गरें। जवाफमा म पो हो फ्युचर वाइफ भन्दै प्रश्नचिह्न लगाउँदै सोधिन्। मैले मुस्कुराएको इमोजीसहित हो भनें। यही सन्दर्भ केही कुरा भए। जो सम्बन्ध हुनुपर्ने कुरा विश्वास, मायाको साथै सहयोगको भवना हामीमा भएपछि सम्बन्ध जोड्न किन आनाकानी गर्ने भन्दै हामी जीवनभर साथ दिने सम्बन्धमा बस्यौं।
लगभग दुई वर्षअघि जोडिएका हामी बिना स्वार्थ आजको दिनसम्म एकाअर्कालाई बुझ्दै हरेक कुरामा विश्वास गरेकै कारण आज हाम्रो सम्बन्धले पूर्णता पाएको जस्तो लाग्छ। नभेटेर पनि एकअर्काप्रति अपार माया जागिरहेको थियो। हामी अझै खुलेर कुरा गर्न थाल्यौं, थप परिपक्क हुँदै गयौं, उति नै एकाअर्काको समस्या बुझ्ने गर्दछौं।
सम्बन्ध जोडिसकेपछि मात्र हाम्रो भिडिओ कलमा कुराकानी भयो। त्यसको ३/४ महिनापछि भट्यौं। हाम्रो सम्बन्ध सुमधुर चलिरहेको छ। आज ऊ मेरो जीवनकै अमूल्य पात्र बनेकी छ, जसले बेस्ट फ्रेन्ड बन्न पनि अस्वीकार गरेकी थिई।