कविता
म हिँडेको छैन
फर्किने गोरेटो भत्काएर
न त भागेको हो
आफ्नै गरिबीलाई धिक्कारेर
बसाइँ सरेको पनि हैन
नियतिलाई दोष दिएर
म त एक चारा हुँ
आकाशमा स्वतन्त्र उड्न चाहने।
मैले त उषाको सुनौलो किरण खोज्न
गोधूलि साँझमा
तिमीले देखाएको क्षितिजपारिको
स्वर्ग तुल्य धर्तीको यात्रामा
पखेटा फिँजाएको मात्र हुँ
त्यसैले नसम्झ म तिमीलाई घृणा गर्दै
पराइका फराकिला सडकमा रमाइरहेछु
नसोच म आफ्नो कर्तव्य बिर्सेर
बिराना मानिसहरूको गुलामी गरिरहेछु
म त दूर देशको आकाशमा
प्रदीप्त किरणहरू बटुलिरहेछु
महासागरको अत्यासलाग्दो ज्वारभाटामा
मोतीका दाना खोजिरहेछु
तिमीले सिकाएका
आदर्श जीवनका पाठ याद राख्दै
आफ्नो अभिभाराका हिसाब राखिरहेछु
ता कि तिम्रो आकाशलाई
नवीन किरणले जाज्वल्यमान पार्न सकूँ
तिमीलाई सुन्दर शृङ्गारले सजाउन सकूँ
जन्मजन्मभर तिम्रो सेवा गर्न सकूँ
तिमी ती आशा भरिएका नजरले
मैले नाघेको क्षितिजमा चिहाइरहनु
थोरै प्रतीक्षा राख मातृभूमि
म अद्भुत उपहार बोकेर
छिट्टै तिम्रो काखमा फर्कनेछु।।