अवस्था जस्तोसुकै किन नहोस् सामाना गर्ने गरेको छु। तर प्रेमको अवस्थामा म कमजोर छु या मैले प्रेम गरेको मान्छे? वास्तवमा म आफैं कमजोर छु होला। जिन्दगीको दौडधूपमा हजारौंसँग प्रेम हुन्छ। यात्रामा हिँड्दा सहयात्रीसँग, कक्षामा हुदा सहपाठीसँग, कार्यलयमा हुँदा सहकर्मीसँग। यस्तै प्रेमको कथा हो यो।
काठमाडौंको सानो गल्ली जहाँबाट हजारौं सपनाहरू साकार हुने गर्छन्। बिहान चार बजेदेखि बेलुका ११ बजेसम्म बाघबजारको कोलाहलबाट मुक्त कहिले हुन सकिनँ।
प्रायः बाघबजारमा पढ्ने साथीहरू नेपालमा बस्न रुचाउँछन् जस्तो लाग्दैन। हो, यो प्रेमको सुरुआत पनि यही हो। कहिँकतै सुनेको थिएँ, १२ कक्षा पास गरेको युवा विद्यार्थी भिसा लागेन भने डिप्रेसनमा जान्छ। यो कतिको सत्य हो बुझ्नलाई कहिँकतै जानै पर्दैन, बाघबजारका गल्ली नियाले पुग्छ।
गाउँबाट १२ पास गरेलगत्तै काठमाडौं छिरेको म, आज चार वर्ष लाग्दा पनि यहींकै गल्लीतिर भेटिन्छन् मेरा पहिलाहरू। यहीँ अन्तरालमा भेटेको हो मैले सन्जुलाई। सन्जुसँग पहिलो भेट कन्सल्टेन्सीमा भएको हो। सबैले उसलाई गीत गाउन आग्रह गर्दै थिए।
संगीत भन्ने बित्तिकै मनमा उत्साह जागेर आउँछ। कुनै समय संगीतमै मेरा दिनहरू बितेका थिए। समय मिलेछ भने पक्कै पनि भन्नेछु मेरो र संगीत बीचको सम्बन्ध।
'ल सुन्दिम न साथी अजयको बोली पनि' दुई चार जनाको भिडमा मिसियो, स्वर सम्राट नारायण गोपालको स्वरमा सजिएको केही मिठा बात गर रात यसै काटिजान्छ। सन्जुको स्वरमा पनि निकै मिठो लाग्दै थियो। उनी पनि संगीत प्रेमिका थिइन्।
काठमाडौं बासी भए पनि उनको पहिरन सादा कुर्ता सुरुवाल नै थियो। फिक्का लिपस्टिक आँखामा हल्का गाजल, उसलाई देख्ने हर कोही पागल हुन्थ्यो, म त झनै २२/२३ वर्षको केटा आँखा अगाडि सुन्दरी देख्दा हर कोही पागल हुन्छ। म नहुने त कुरै थिएन। मेरो पनि उसमा माया जागेर आयो तर हिम्मत थिएन ऊसँग भलाकुसारी गर्ने।
कन्सल्टेन्सीमा लगभग दुई सय जना साथीहरू थिए। सबैको सपना विदेश गएर टन्न पैसा कमाउने थियो। नेपालमा बसेर केही गर्छु भन्ने मैले कमै भेटेको छु, अहिलेको अवस्थामा।
सन्जु आधा नाम थाहा थियो। फेसबुकभरि खोज्ने प्रयास गरें। सन्जु नामका हजारौं भेटिए तर मैले खोजेको सन्जु भेटाउन निकै अप्ठ्यारो भयो। भोलि अजयलाई पूरा नाम सोध्न लगाउँछु सोच्दै थिए, सेभ नभएको नम्बरबाट कल आयो।
'सबै साथीहरू मिलेर होली विशेष कार्यक्रम छ, तपाईंको पनि सहभागिता चाहन्छौं अवश्य प्रस्थान गर्नुहोला' भन्दै फोन काटियो। सन्जुले नै पो फोन गरेकी रहेछिन्, अर्को दिन थाहा भयो। आयोजना नै उनीहरू मिलेर गरेका रहेछन्।
केही कार्यक्रम होस् अनि मेरो उपस्थित नहुने त कुरै छैन, बच्चैदेखि खुब मनपर्छ। सानोतिनो प्रस्तुति मैले नि दिने गरेको छु।
'ओ, हाम्रो सर आइपुग्नु भयो। उहाँलाई चिया सियाको बेवास्ता गरिदिनु पर्यो,' अजयले सबैको अघि यसरी बोलेर मलाई त बेइज्जत नै गरे जस्तो लाग्यो।
'ह्या नजिस्की न,' मैले भनें।
'जिस्किनु परेन त, सर यति छिटो आउनु भएको छ।'
उसको छिटोको मतलब थियो म ढिला भएको छु।
'आउँला नि विदेश गएपछि समयमा, अहिलेलाई यसैमा चित्त बुझा न। तँलाइ एउटा कुरा सोध्नु थियो' भन्दै सन्जुसँग परिचय गराइदिन भनें।
साथी भनेका दुई प्रकारका हुन्छन्- एउटा भट्टीमा भेटिने, अर्को केटी पट्याउदा साथ दिने। दुई वटै गुण भएको साथी भाग्यले भेटिन्छ। त्यो हो अजय।
अजय शान्त स्वभावको छ। ११/१२ सँगै पढेकाले होला उसले हरेक कुरामा मेरो साथ दिने गरेको छ। यहाँसम्म कि रक्सीको गिलासदेखि लिएर एक गाँस खानासम्म उसको र मेरो छुट्टै कहानी छ।
सन्जु आफ्नो साथीहरूसँग टेबलमा बसेर गफ गर्दै थिइन्। अजयले मलाई 'हिँड् तँलाई तेरी सुन्दरीसँग परिचय गराइदिन्छु, तर साझ एक बोत्तल चाहिँ पिलाउनु पर्छ है' भन्यो
'हेल्लो गाइज, तपाईंहरूलाई मेरो प्रिय मित्रसँग चिनजान गराउँछु, मिल्छ?'
'नचिनेको मान्छेसँग हो परिचय गर्ने,' सन्जुको बोलीले मलाई अचम्मित बनाएको थियो। नचिनेको मान्छे या चिनेको मान्छे, को हुँ त म?
'मतलब?'
'अचम्म मान्नु पर्दैन महोदय, मैले तपाईंलाई धेरै पहिलादेखि चिनेकी छु।'
'तर कसरी?'
यत्तिकैमा अजय बोल्छ, 'हाम्रो सरलाई यति धेरै फुर्सद हुँदैन फेसबुकतिर निहालेर हेर्नलाई। मैले तेरो फेसबुक आइडी उसलाई दिएको थिएँ।'
'तिमी दुई जना एकअर्कालाई चिन्छौ?'
मेरो प्रश्नले दुवै जनाको ओठमा मुस्कान छायो।
'सन्जु मेरो घरबेटी हो। अनि म सन्जुको भाडावाला।'
'अजय तिमी नजिस्किउन, हामी राम्रो साथी हो,' सन्जुले भनी।
फुर्सद भए यसो फ्रेन्ड रिक्वेस्ट पनि हेर्नु होला।
उसको त्यो बोलीले मलाई ठाउँको ठाउँ फेसबुक खोलेर हेर्न बाध्य बनायो, 'के नाम छ तिम्रो?'
'सन्जु सन्जु!'
फ्रेन्ड रिक्वेस्ट आएको रहेछ चार दिन अघि। प्रोफाइल पिक्चरमा रुँदै गरेको सानो बालक थियो।
'अनि रुदै गरेको सानो बालक त तिमी होइनौं नि?'
'मलाई आफ्नो फोटो राख्न खासै मन पर्दैन त्यसैले।'
हामी फेसबुकमा पनि साथी भयौं। विस्तारै हामीबीच कुरा हुन थाल्यो। उसले मलाई धेरै पहिलादेखि चिनेको भन्थी।
हाई हेल्लो हुँदै यति समय सँगै बिताइरहेका थियौं मानौं हाम्रो सम्बन्ध राम-सीताको भन्दा पनि बलियो छ।
कहिलेकाहीँ त दिनमा २२ घन्टा फोनमै बोलेर कटाएका छौं। शनिबारको दिन उसले गोदावरी जाने रहर गरेपछि हामी दुई जना गोदावरी घुम्न गएका थियौं।
निलो कुर्थामा सजिएकी उसलाई मैले प्रेम प्रस्ताव त्यही दिन राखेको थिएँ। बिहानसम्म साथी भएर घुम्न गएका हामी फर्किंदा प्रेमी-प्रेमीका थियौं।
अब हामीले एकअर्कालाई विश्वासको नाताले हेर्न थाल्यौ।
बाघबजारदेखि सुरु भएको हाम्रो सम्बन्ध असन, न्युरोड, वसन्तपुर हुँदै कोठासम्म पुग्यो। एकअर्काप्रति खुब भरोसा थियो। सन्जु आफूलाई जसरी भए पनि विदेश जानु छ भन्थी। उसलाई नेपालभन्दा प्यारो सायद बाहिर नै लाग्थ्यो।
बिहे गरेर डिपेन्डेन्ट भिसामा जाउँ भन्दा 'अहिले हतार नगरौं'भन्थी। काठमाडौं छोडेर दुई महिनाको लागि नेपालगन्ज जानुपर्ने भयो। म नेपालगन्ज गएको हप्ता दिन नपुग्दै यता सन्जुको भिसा लागेछ। दुई/चार दिनमै उड्छे भनेर अजयले सुनाएको थियो।
उसको सम्पर्कमा आउने धेरै प्रयास गरें तर ऊसँग कुरै हुन सकेन। फेसबुकको वालभरि 'ह्याभ अ सेफ जर्नी ब्युटिफुल कपल' भनेर पोस्ट गरेको देखें। पोस्ट देखेर आँखाले पत्याउन सकेन।
के भयो त्यो दुई हप्तामा? न कुनै खबर, न कुनै सम्पर्क। म उसको जीवनमा थिएँ या थिइनँ मैले ठम्याउन सकिनँ। सम्बन्ध बलियो थियो हाम्रो, सायद समय बलियो हुन सकेन। म हरेक प्रश्नको उत्तर तिमीबाट खोज्दिनँ तर समयले साथ दिएछ भने पक्कै भन्नू तिमीले गरेको प्रेम के थियो?
चार वर्ष बितिसक्दा पनि अझै याद आउँछ, त्यो पुरानो गल्ली, साँघुरो बाटो, समातिएको हात अनि सँगै हुँदाको साथ। म यी गल्लीहरूमा तिम्रो छवि देख्ने गर्छु। वसन्तपुरको छाँगाभरि तिमीलाई लेख्ने गर्छु। असनको साँघुरो बाटोमा तिमीले हात 'नछोड है' भनेको सम्झिन्छु। फेरि झस्किन्छु, तिमी यो गल्लीमा हिँड्नुभन्दा पहिला नै हराइसकेकी छौ।