'बाबु, कहाँ हो?'
आमाको चिर परिचित मातृवात्सल्यमय जिज्ञासा।
म अहिले मुलुकको परिवेशबाट अलिक टाढा जाने तर्खरमा थिएँ। बुबाआमालाई भनेर अनि घर सल्लाह मिलाएर बाहिर जान त्यति सहज थिएन। त्यसैलै आफ्नै बुतामा आन्तरिक तयारी गरिरहेको थिएँ।
यतिबेला मलाई मेरा बाबाआमाले कसरी व्यवहार चलाउँदै आएका रहेछन् भन्ने जानकारी विस्तारै मिल्दै थियो। सायद यो मेरा लागि तालिम नै हो कि भन्ठान्छु।
सहरी जीवन आफैंमा गाउँले दैनिकीभन्दा फरक हुन्छ। कसैको सानो निजी व्यवसायमा उत्रै जागिर। महिना बित्न नपाउँदै पेस्की माग्न माथिको अनुमति लिन धाइरहनु पर्ने बाध्यता। घरबेटीले एकदिन ढिला भएपछि कुरा गर्ने हैन। तीन दिन पहिला नै 'ल है तीन दिन बाँकी छ' भन्ने पूर्व जानकारी दिइरहने अवस्था। त्यसमा तलमाथि गर्न कल्पनै नगरूँ। कि लुक्ने, कि छोड्ने, कि त भने जे आइपर्छ सहने तीन विकल्प मात्र खुला छन्। तर त्यसपछिको परिणाम बारे सोच्ने फुर्सद नमिलाएकै राम्रो मेरा लागि।
यो झन्झटबाट मुक्ति मिल्ने कहिले? मलाई अत्यास लाग्नु आम स्वभावभन्दा फरक थिएन।
दैनिकी चल्दै थियो। दुःखले परिपक्व बनाउँदै थियो। आमाको उही पुरानो मायालु लवज। कहिलेकाहीँ त कति फोन गरेर हैरान बनाउनु परेको होला भन्दै तर्किन खोज्छु। तर म त्यसो गर्न कहिल्यै सक्दिनँ रहेछु। सोच्छु, कम्तीमा यति संस्कार मेरो परिवारले अमिट बनाइदिएको रहेछ मलाई।
'म यतै बजारमा छु आमा,' मैले तयारी जवाफ पर्काएँ।
'रात पर्न लागिसक्यो नि। अब त घर जानुपर्छ बाबु। साँझमा धेरै समय घर बाहिर निस्कन हुँदैन है।'
मलाई थाहा छ अब आमाले 'डुलुवा लाग्छ' भन्नु हुनेछ।
त्यसैले हतार-हतार 'हुन्छ आमा, म कोठामा पुग्नै लागेँ' भन्दै अघि बढ्छु।
आमाले रात पर्न लाग्यो घर जानुपर्छ भनेर सधैं सम्झाउने गर्नुहुन्छ। म डेरामा छु। सानो कोठामा बस्छु। त्यो कोठा मेरी आमा बस्ने घरको पिँढीको पाँच भागको एक भाग जतिमा अटेको होला मुस्किलले। विचरा आमा घर जान भन्नुहुन्छ। कोठा जान अथवा डेरामा फर्किन भन्न जान्नु नै हुन्न।
मलाई मेरो घर अहिले नै पुगुँ पुगुँ लाग्छ। तर भावनामा बहकिएर दगुर्दै कामबाट निस्किएँ भने भोलि फर्किएर कहाँ जाने ठेगान नै हुँदैन। एकदिन टाउको दुखेर बिदा बस्नु पर्दा त कस्तो गाली खानुपर्छ।
'नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाउको अनुहार' भने जस्तो।
एक मनले 'आ, जे त होला। सबै गाउँमा अटेकै छन्। म मात्र नअटाउने हैन नि। घर पुगेपछि फर्कंदै नफर्के हुन्छ नि। के छ र?' भन्ने सोच्छु।
अनि तत्कालै मेरो तयारी सम्झन्छु। त्यसो गरेपछि त योजना चौपट भैहाल्छ नि। म तत्कालै आफ्नो प्रतिगमनतिर लागेको विचारलाई 'सही' मार्गतिर डोहोर्याउन तम्सिन्छु।
मेरी आमालाई के थाहा सहरमा घर हुन सजिलो छैन। भाडा तिरेर कसैको घरका केही कोठामा बस्ने हो भनेर। कोठामा बसेको पैसा तिर्नुपर्छ आमा भनेर पहिलोपटक सुनेर मेरी आमा आश्चर्यले कस्तरी चुकचुकाउनु भएको थियो। आफ्नो यो पूर्खाकै पालामा बनेको घर। फराकिलो आँगन। लामो पिँढी र सिकुवा। बार्दलीबाट निस्केर हेर्दा परसम्म देखिने आफ्नो जग्गा जमिन। हरियालीसँगै सुनदाने सुन्तला लटरम्म फलेका। आहा! लहरामा झुन्डिरहेका लामा लामा घिरौँला।
सिमालीका बोटमा माथि-माथि नै हुर्किरहेका सुनलहराको झुप्पाबाट लामा-लामा लहरा छानेर आमाले चस्मा बनाइ लगाइदिएको सम्झना आयो। त्यसपछि मेरो छोरो कस्तो राम जस्तै देखिएको भन्दै पिठ्युँमा थपथपाएको सम्झिएँ। सिमीको लहरो, पर्सीको लहरो वा काँक्राको बेलो सबैको फेद हुन्थ्यो। अनि सुन लहराको? मैले कैयौँ समय लगाएर धेरै पटक यसको फेद हेर्ने प्रयास गरेको थिएँ। मलाई यसको मूल जरा खोजेर घर नजिकै गेटमा बाह्रमासै लहरे फूलसँगै रोप्न मन लागेको थियो।
तानेर अर्को बोटमा फालिदिए आफैं फैलने यो त झन् सजिलो रहेछ। अहिले सहरका सडकमा फैलिरहेका तारहरू जस्तै। फरक यत्ति छ कि ती लहरा सुन जस्ता सुन्दर थिए, यी लहरा भान्सा उठिसकेपछिका पाहुना जस्ता।
त्यतिबेला मेरा मनमा मर्यादा पुरुष श्रीरामले मातापितालाई गरेको सम्मान र आज्ञाकारिता अनि भातृवात्सल्यको असीम पर्यावरण प्रचलित थियो। मेले पनि आफ्ना बाबुआमा र भाइ बहिनीप्रति उस्तै व्यवहार गर्ने प्रतिज्ञा गरेको थिएँ।
दौँतरीसँगको दैनिकीमा पनि म आफूलाई रिस उठे झट्ट म त मेरी आमाको राम पो हुँ त भन्ने सम्झिन्थेँ। त्यसपछि मेरो आक्रोश खरानीको डल्ला बनेर फुटि जान्थ्यो। कैंयन पटक मैले आफू नखाइ नखाइ हाम्रो करेसाबारीबाट जुनार टिपेर बाँडेको छु।
जथाभावी फलफूल बाँडेर सक्यो यसले भनेर गाली पनि खाएको छु। यसले मेरो मनमा द्विविधा बढ्थ्यो। सायद नजानिँदो तरिकाले तेरो र मेरोको भाव मैले त्यसरी नै सिकेको हुँला।
म कोठामा पुग्न लागेको थिएँ। आज बत्ती पनि गएछ। समसाँझमै टोल चकमन्न भैसकेको थियो। लुसुक्क कोठामा छिरेँ। छामछाम छुमछुम गर्दै सलाई खोजेँ र मैनबत्ती सल्काएँ। झोलामा भएको पासपोर्ट सिरानीमुनि घुसारेँ। अनि नित्यकर्मतर्फ लागेँ।
यतिबेला फेरि आमालाई सम्झिन पुगेँ। बिहान उठ्नेवित्तिकै तातो पानी पलङमै आइपुग्ने। कुनै दिन खाना थोरै कम खाए मात्र पनि के भयो बाबु भन्दै हेर विचार गर्ने। मुहारमा कान्ति कम हुन पाएको छैन समाधानका उपायहरू सुझाउन थालिहाल्ने, त्यो ममताको अनुभूति भयो।
खाना तयार गर्न तरकारी काट्नु थियो। चाल चौलाउनु थियो। आमाले सधैं चौलानी पिए शरीरलाई फाइदा गर्छ भन्नुहुन्थ्यो। तरकारी काट्दा पनि बोक्रो धेरै फाल्न हुन्न भन्ने गर्नुहुन्थ्यो। तर अहिले त आलु ताछ्ने तरिका देखेर पनि दिक्कै लाग्छ भनेको।
मेरी आमाले सिकाएको तरिका मैले त बिर्सेको छु, अरूको के कुरा? म एक्लै दिग्दार बनेँ। सोच्दैछु, सायद मलाई आफू एक्लै बसेर साँघुरो कोठामा खाना बनाउनुको पीडा पनि थियो कि?
म अझै सम्झन्छु, सिम्ले वनबाट टिपेको निगुरो र केही दाना आलु मिसाएर पकाएको तरकारी र तिहुनको परिकार। आमाले निगुरोको तरकारी पकाउँदा अमिलो मोही थोरै मिसाएर चखाएको स्वाद। खेतबारीमा कस्सिएर काम गर्दाको थकान र भोकको झोकमा निगुरोको छिपछिपे रससँग मोलेर खाएको सिम खेतको मसिना धानका चामलको भात सम्झन्छु। जिब्रो नै रसाएर आउँछ। अझ डौँठे निगुरोको कलिलो डुकु उसिनेर बनाएको अचार सम्झन्छु। अचारमा मात्रा मिलाएर भक्यौँलाको चुक, नुन, डल्ले खुर्सानी, जिरा र धनियाँको साग मिसाएर पछिको स्वादले सम्झएर मलाई उकुसमुकुस नै हुन थाल्छ।
आज खाना खान पटक्कै मन लागेन। पेटमा मुसा कुद्न थालिसकेका थिए। तिनलाई केही न केही आहारा त दिनै पर्छ नि। नमिठो मानी मानी थोरै खाएर सुत्ने तरखर गरेँ।
आज त निद्रा पनि के आउला र? ओछ्यानमा पल्टिएको मलाई आज निद्रादेवीले छुन मन गरिनन्। कल्पनाका तरेलीमा मन बहकिन थाल्यो।
परदेश जान पासपोर्ट बनाएर तयारी गर्दै गरेको हुनाले एक्कासी उताको कल्पनामा डुबेँ। म जाने देश त निक्कै विकसित छ होला। नेपाल जस्तो सुन्दर देशका बाबु आमाले दुःख गरेर हुर्काएका छोराछोरीहरूको समेत मेहनत र सत्कार आकर्षित गर्न सक्ने मुलुकहरू किन कमजोर हुन्थे र।
सधैं झलमल बत्ती बलिरहने। आफू बस्ने कोठालाई पनि आफ्नो इच्छाअनुसार तातो वा चिसो बनाउन मिल्न्छ रे। हैन मान्छेले के-के मात्र गर्न जानेको?
उता पुगेपछि त समय पनि उल्टो हुन्छ रे। उल्टो दिन। यता उज्यालो हुँदा उता अँध्यारो। उता उज्यालो हुँदा यता अध्यारो। उता पुगेपछि त मेरी आमाले भन्ने गरेको 'रात पर्न लागि सक्यो। अब त घर जानुपर्छ, साँझमा धेरै समय घर बाहिर निस्कन हुँदैन है बाबु' भन्ने गरेको मायालु बोली पनि समयसँग नमिल्ने रहेछ। म अवाक भएँ।
यता दिनभरको काम सकेर घरभित्र पस्ने समयमा उता भर्खर बिहान भएर आँखा मिच्दै काममा जाने हतारो हुन्छ होला। अब सुत बाबु, भनेर आमाले भन्ने बेलामा म काममा जान लागेको अवस्थाको कल्पना गरेँ।
मैले 'आमा, अहिले यहाँ त भर्खर उज्यालो पो हुँदैछ त' भनेपछि मेरी आमालाई कस्तो अचम्म लाग्छ होला।
हिजोआज जन्मदिनको खुसी मनाउने नयाँ चलन सम्झिएँ।
यो वर्ष त बाबुको जन्मेको बार र तिथि पनि ठ्याक्कै मिलेको रहेछ। गते चाहिँ कसो-कसो तीन दिनअघि परेछ भन्दै आमाले बुबासँग कर गरी-गरी मेरो जन्मोत्सवमा अष्ट चिरञ्जीवि र मातृकाको पूजा गराउनु भएको थियो। आजको सबै पूजा मेरो नाममा मात्र। म पनि महत्वपूर्ण मान्छे रहेँछु भन्ने लागेर मनमनै गद्गद् भएको थिएँ। म फुरुङ्ङ हुँदै यो खुसीमा अझ नाचेको थिएँ।
यता सहरमा अहिले जन्मदिन मनाउने तरिका पनि त उल्टो भएको छ। हामी पूजा भगवानको आराधना गर्दै दियो बालेर जन्मोत्सव गर्दै थियौँ। केक काटेर बाँड्ने र बलेको मैनबत्ती निभाएर खुसी हुने चलन पनि त हामीले चलाइआएको चलनभन्दा ठ्याक्कै उल्टो रहेछ नि।
आमा पनि नजिकै भएको अवस्थामा मेरो 'आधुनिक' जन्मदिन मनाउँदै गरेको कल्पना गर्छु। सायद आमाले भन्नु हुनेछ, 'म त छक्क पर्छु। के हो यस्तो? उहाँ यो त अपसगुन पो भयो त। जन्मदिनमा त देवी देउता भाकेर, उज्यालो बालेर स्तुती गर्दै मङ्गल कामना गर्ने हाम्रो चलन हो। यस्तो उल्टो काम के गरेको हो?'
सायद उहाँलाई विद्रोह गर्न मन लाग्छ होला। तर सन्तानको खुसीका लागि तपतप पग्लिन सक्ने मैनबत्ती जस्ती मेरी आमाले 'भैगो अब उनीहरूको खुसी नै यसो गर्दा हुन्छ म के गरौं त?' भनेर चित्त बुझाउनु हुनेछ।
तर म एकिनसाथ भन्न सक्छु उहाँले मनमनै भगवानसँग माफी माग्दै अनुनय विनय गर्नु हुनेछ, 'प्रभु मेरा सन्तती अनजान छन्। गल्ती गरे भने पनि यिनलाई बच्चा सम्झेर जोगाइदिनु होला। यी सबै हजुरकै सृष्टि त हुन् नि, मारे पाप पाले पुण्य।'
यस्तो सोच्दासोच्दै आज दिउँसो पढेको समाचार सम्झिन पुगेँ। 'अमृत समान आमाको दूध। आमाको दूधमा शिशुलाई चाहिने जति मात्रा हो त्यति नै प्रोटिन, भिटामिन र खनिजको मात्रा रहेको हुन्छ। जन्मेको एक घण्टाभित्र नै आमाको दूध खुवाउनु पर्छ।'
आहा मातृस्नेह त प्रकृतिको वरदान नै रहेछ नि भन्ने लाग्यो। मातृ शब्द नै उत्पत्तिसँग जोडिएको हुने रहेछ। मातृभूमि, मातृभाषा, मातृत्व र मातृवात्सल्य धेरै प्यारा शब्दहरू लाग्न थाले।
मलाई अहिले नै जुरूक्क उठेर घर फर्किन मन लाग्न थाल्छ। आमाको वात्सल्यमयी काखमा शिर राखेर प्रसन्न हुँदै भन्न मन लाग्छ, 'आमा तपाईंको यो सृष्टि अब तपाईंको आँखाबाट कहिल्यै टाढा हुनेछैन।'
सोच्दैछु, बिहान कहिले होला? रात पनि सधैंभन्दा लामो भएको जस्तो लाग्न थालेको छ यतिबेला। यति कुरा सोच्ने अवस्थासम्म आइपुग्दा मन भित्रबाट निचोरिएका भाव पानी-पानी भएर तँछाड मछाड गर्दै मेरा आँखाबाट संसार नियाल्न हतारिन थाले।
त्यतिबेला मेरो मनस्थिति कस्तो भएको हुनुपर्छ यहाँले आफैं कल्पना गर्न सक्नुहुन्छ।