बा
कालो मसी अनि
कालो मसीको डोबमा
तिम्रा काला अनि अन्धकार
सपना कोर्दैछु
बुझ्छु बा
तिम्रा अत्यासका सुस्केरा
थाहा छ
तिम्ले नभने पनि तिम्रा ती आत्याससँगै
कति पटक
अनिदो सागरमा डुबेका आँखाहरू
तिम्रा पीडा र छटपटीमा खुइँखुइँ
गरेका भाकाहरू
दु:खले छेकिदिएका शान्तिका तिम्रा बाटाहरू
बुझ्छु बा
बेचैनीले सल्काइदिएको तिम्रा मनका राँकाहरू
बुझ्छु बा
अम्लिएर बसेका तिम्रा चाहनाहरूलाई
मुखमा अड्काएर राखेका छौ
सन्तानको प्रगतिमा उफ्रन चाहने तिम्रा पैतालाहरूलाई
सान्त्वनाको साङ्लोले बाँधेका छौ
सन्तुष्टिको हाँसो बोक्न चाहने तिम्रा ओठहरूलाई
झुटो मुस्कानले थामेका छौ
बुझ्छु बा
प्रफुल्ल हुन तम्सिएका तिम्रा रहरहरूलाई
वेदनाको बजारमा बेचेका छौ
के गर्नु त बा
जिम्मेवारीको भारी बिसाउन खोजेर पनि
तिम्रो ढाडले ओत लाउने चौतारी भेटेको छैन
तिम्रो गलित हल्केलाले अझै पनि
तिम्रो गह्रौ निधारको अडेस लाउन छोडेको छैन
आफ्नो भाग्यरेखा मेटाएर सन्तानको भाग्यरेखा कोर्ने
तिम्रो प्रयासको कलमले अझै पनि सन्तानको हत्केला भेटाउन सकेको छैन
के गर्नु त बा
तिम्लाई उज्यालो बनाउन खोज्ने तिम्रो आशाको दियोमा अझै पनि
सफलता नामको तेललाई आफूमाथि पोखाउन सकेको छैन।