'मान्छे न हो, जिन्दगीले रुवाइहाल्छ, हँसाइहाल्छ, के-के गर्छ गर्छ। रातले दिनलाई पर्खिरहेको दिनले रातसम्म हिँडिरहेको देख्दादेख्दै भोग्दाभोग्दै सकिने रहेछ एकादेश। सास र आश छँदाछँदै कतिखेर भैँदोरहेछ लास पत्तै नहुने। जीवन एउटै छ तर जिम्मेवारी र संघर्ष भने जति पनि पाइने।
कति अपूरा, कति अधुरा र कति मधुरा मात्र विपना भेटाइने। केही नबुझ्दै, अलिअलि बुझ्दै, कहीँ रूझ्दै, कहीँ ओतिँदै, कही पोतिँदै समाप्त र पूर्णता अनि गन्तव्यसम्म पुगेपछि बन्छ एकदिन सबैको एकादेश। कसैलाई जिन्दगीले खार्छ, कसैलाई निखार्छ, कसैलाई उचाल्छ, कसैलाई पछार्छ, कसैलाई बिगार्छ, कसैलाई सपार्छ, जे-जे पार्छ त्यही एकादेशसम्म नपुग्दै पार्छ।
संस्कृतमा एक+आदेश मिलेर बनेको एकादेश शब्दको अर्थ हुन्छ एउटा अह्राउनु। कस्को अह्राइ हो, कस्को सम्झाइ हो र कस्को आदेश हो भन्ने कुरा कसैले बुझेर जान्छ, कसैले नबुझेर जान्छ तर एकादेश सबैको निश्चित छ र जिन्दगीको एक मात्र सत्य भनेकै त्यही एकादेश हो...'
यस्तै-यस्तै निबन्ध लैख्दै गर्दा सन्देश निदायो। जिल्ला स्तरीय खुल्ला निबन्ध प्रतियोगितामा उसलाई जसरी नि प्रथम हुनु थियो। उसले साहुको ऋण तिर्नु थियो, बाबुको उपचार खर्च जोर्नु थियो, आफ्नो विद्यालयको भर्ना भएँ भन्ने प्रमाणको बिल भर्नु थियो। गाईबाच्छाको चाकडी सबै-सबै खरबारी र खेतबारीको जिम्मेवारी उसकै काँधले धान्नु थियो। त्यसैले १५ वर्षमै उसलाई धेरै थोक जान्नु थियो।
पहिलो कुरा त उसले डाक्टरले भनेको मान्नु थियो। उसलाई अरूका गफ, अनुहार, हेराइ र सम्झाइ बुझाइमा कुनै ध्यान छैन। केवल अहिले उसको टाउकोमा एउटै चिन्ता छ, त्यो हो बुवाको टाउको। उसको आम्दानी भनेकै लेख हो। उसको अरू कुनै बाटो छैन जसले उसका सम्पूर्ण समस्या हल गर्न सकोस्। त्यसैले ऊ साह्रै धस्सिएको छ, कस्सिएको छ र तम्सिएको छ तर पनि निद्रा देवीले उसलाई धेरै माया गर्छिन्। ऊ थाकेको भोकाएको देख्नै सहदिनन्। आफ्नै काखमा राखेर लोरी सुनाउँदै सुताएझैं एकैछिनमा सुताइहाल्छिन् र ऊ निदाइहाल्छ।
निद्राले जब जब स्थिरता लिन्छ उसका सपना फेरि जन्मिन्छ। एकैछिनमा झस्किन्छ अनि झ्याप्प फेरि ब्युँझिन्छ। बिहानलाई पर्खिन्छ र बिहान भएपछि फेरि त्यही सम्झिन्छ। तर आजभोलि उसले बिहानलाई पर्खेर बस्न भ्याएको छैन। बिहान भएपछि सपनाको सम्झनाले सताएको छैन। किनकि उसको खाली समयमा प्रथम हुने सपनाले अड्डा जमाएको छ।
सपनाको प्रभावले उसका हातले कलम समाएको छ। कलमले निरन्तर मसी दान गर्नाले कापीले अक्षर पाएको छ। त्यसैले उसले आजभोलि अलिकति आश कमाएको छ। मनले धेरैथोक भन्छ, दिमागले छानी-छानी गन्छ र शीर्षकसँगै भावनालाई मिसाएर लेख्दा निस्कर्षमा बन्छ 'एकादेशको निबन्ध'। नजिकिँदै गरेको प्रतियोगिताको सम्पूर्ण तयारी उसले सकिसकेको छ, अब उसले सक्नुपर्ने केवल समयको प्रतीक्षा बाहेक।
पाँच दिन उसलाई अब काट्नु पर्नेछ, मनमा सद्विचार र सुभावना राख्नुपर्ने छ। त्यो पाँच दिनको समय उसलाई सगरमाथा छुन हिँडेको कछुवाजस्तै लाग्यो। उसको निद्रा, भोक-तिर्खा सबै भाग्यो. केवल प्रतियोगिता पर्खनमै पूर्ण रूपमा मन जाग्यो। लेखेर सकिसकेको र पाँच दिनभित्र उसले सोह्र सिँगार गरेर राखेको आफ्नो निबन्ध प्रस्तुत गर्न मञ्चमा उपस्थित भयो र सुरू गर्यो 'एकादेशको निबन्ध'।
देश, काल र परिस्थितिको समष्टि रूप अर्थात् परिवेश तात्यो। तालीको लामो झरी पर्यो अनि अल्छीको खडेरी पर्यो। सम्बोधन र आसन ग्रहण अनि स्वागत मन्तव्य वक्ताहरूका भाषण सुन्दा झ्याउ लागेर ओल्यास्स परेको अनुहारमा सबैले मुस्कान देखाए। सबैले आसन, ध्यान, चिन्तनलाई एउटै केन्द्रमा राखेर निबन्ध श्रवण गरे। उसले आनन्दपूर्वक निबन्धलाई श्रोताहरू र निर्णायकहरूको मन मस्तिष्कमा पुर्याएर प्रतियोगीको भूमिका राम्रोसँग निभायो।
अबको बाँकी प्रतिस्पर्धीका निबन्धहरूले पनि पूर्णता प्राप्त गरे। आगन्तुक अतिथिहरूले अन्य पार्टी र नेताहरूलाई तथानाम गाली गर्दै आफ्नो पार्टीले मात्र राम्रो गरिरहेको भन्दै भाषण दिँदा-दिँदा साँझ भयो। उसलाई भने ती नेताहरूका भाषण सुनेर निकै रिस उठिरहेको थियो।
अनेकौं आश्वासन, अनेकौं झुठ र अनेकौं गालीगलौजहरू मात्र जिब्रोको टुप्पोमै राखेर हिँड्नेहरू नै नेता किन भएका होलान्? यस्तै-यस्तै विचार खेलाउँदा खेलाउँदै उसका कानले उद्घोषकका अमृतमय वाणीबाट निर्णायकहरूका संयोजकलाई प्रतियोगिताको निर्णय सुनाउन आह्वान गरेको सुन्नासाथ उसको मनले आसन, पाद्य, अर्घ्य, आचमनीय आदि षोडसोपचारले पूजा गर्न भ्याइसकेको थियो। मनले तेत्तीस कोटि देवी देवताहरूलाई सम्झँदै प्रार्थना गर्न थाल्यो। हरिहर भगवानको बारबार मनले नमस्कार गरीरह्यो।
'सान्त्वना स्थान प्राप्त गर्न सफल भाइ सन्देश आचार्य' भन्ने सुन्नासाथ ऊ छाँगाबाट खसेझैँ भयो। एकैछिन दर्शक र उसको मनमा मौनता छायो, नैराश्यता आयो। कसरी यस्तो भयो? के कमि थियो र ममा मलाई प्रथम बनाउन नसकेका? के म कमजोर थिएँ त अरू प्रतिस्पर्धीभन्दा? के मेरो प्रतिभा र मेहनतको स्थान चित्त बुझाउने बाटो सान्त्वना नै हो त? यस्तै अनेकौ प्रश्नहरूले एकैपटक उसलाई गिज्याइरहे, होडलिरहे र औंला ठड्याइरहे।
उसको मनभित्र रहेको समुद्र आँझाभरि छचल्कियो। त्यति गहिरो समुद्र कहाँ आँखामा बसिरहन सक्छ र, ओरालो लागिहाल्यो। आँसु ओइरियो, मुखमा हाँसो देखाउन उसलाई निकै गाह्रो भयो। बडो मुस्किलले उसले स्टेजमा चढेर टीका थापेर खाँदा ओढी सान्त्वना राशी दस हजार रुपैयाँ लिएर आयो।
उसलाई आफैंप्रति अनेकौं शंका लाग्यो। कस्तो प्रतिभा हुनुपर्ने रहेछ त प्रथम हुनलाई? के लेख्नुपर्ने रहेछ मैले र के भन्नुपर्ने रहेछ भन्ने कुरा जान्न मन लाग्यो। ऊ प्रथम हुने व्यक्तिको नाम सुन्न र उसले बोलेका कुराहरू सम्झनलाई एकैछिन मन सम्हालेर त्यही बस्यो। प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेको क्रमशः नाम सुन्यो। ऊ छाँगा माथिको रूखको टुप्पाको हाँगाबाट खसेको सपना देखेर खाटबाट खसेझैं झसङ्ग भयो।
पार्टीहरूका झोले विद्यार्थी संगठनका सदस्य तथा सचिवहरू जसले राम्रोसँग पढ्न सकेनन्, निबन्ध लेखनका आवश्यक तत्वहरू जसलाई थाहा छैन तिनैको हातमा एक लाखको चेक। उनैको मुखमा कान्ति। उनैको घाँटीमा फूलमाला। उनैको टाउको रातो। उनैको हाईहाई। उनैको जय जयकार। ऊ निराश भएर घर आयो।
भर्ना भएका बुवालाई सम्झियो अनि सम्झियो सन्चो बनाउने डाक्टरभन्दा पहिले उपचारमा लाग्ने खर्च, एक लाख रुपैयाँ। उसले के गर्ने, के नगर्ने भन्ने कुरा पत्तो पाएन र दौडिँदै हस्पिटल गयो। बेहोस बुवालाई हेर्यो र बोलायो। मन भरिएर आँखाबाट पोखियो। डाक्टरलाई भेट्यो, डाक्टरसँग हार गुहार गरेर भन्यो- 'डा. साब, बाबालाई बचाइदिनूस्। म जसरी नि पैसा जम्मा गर्नेछु। हजुर ढुक्क हुनुस् अहिलेलाई दश हजार ल्याएको छु, यो म उधारो पे गरिदिन्छु।'
यत्ति भनेर सन्देश निस्कियो हस्पिटलबाट र निस्कियो पैसा जम्मा गर्न। प्रायः गरिबहरू मनका निकै सफा र पवित्र हुन्छन्। उसमा पनि धर्म थियो, मानवता थियो। उसलाई अब ९० हजार जुटाउन निकै गाह्रो थियो। ऋण कसैले पत्याउँदैन थिए। त्यसैमाथि सन्देशलाई पढाएर ठूलो डाक्टर बन्ने सपना बोकेका बाले गाउँका मुखियासँग दुई लाख जति लिएको ऋणले ब्याज बढाइरहेको थियो। मुखियासँग पनि ऊ फेरि नधाएको हैन तर उसको सम्पत्तिको नाममा त्यही एउटा गाउँको घर र एउटा भैंसी जसलाई दुई लाखभन्दा बढी पर्दैनथ्यो। त्यसैले मुखियाले पनि ऋण दिनबाट विमुख भए।
आमाको मृत्यु भएको सिन्धुपाल्चोकको मामाघर सम्झियो। मामाहरू सम्झियो। मेरै आमालाई किन लानु परेको भूकम्पले? आज न मेरो मामाहरू छन् न त आमा नै. म कोसँग मागूँ सहयोग? आमालाई सम्झFदा उसलाई भक्कानो उठेर आयो. निकै बेर सम्झेर रोयो।
आमा गएपछि उसको अनुहारमा कहिल्यै खुसी देखिएन, कहिल्यै हाँस्न सकेन ऊ। आमा नहुँदाको पीडा उसलाई अनुभव थियो। त्यसैले ऊ बाबा पनि यदि उपचार नपाएर रहनुभएन भने आफ्नो अभावै अभावको अवस्थाको अनुमान गर्न सक्ने भइसकेको थियो। अब जसरी नि बाबालाई बचाउनु थियो। त्यसैले बाबाको अवस्था देख्दा उसले रोएर बस्न सकेन र हिँड्यो पैसा जोर्न।
उसले काम खोज्दै हिँड्यो काठमाडौंका गल्ली-गल्ली चहार्दै। महिनाको दस/बाह्र हजारवाला काम मात्र बल्लबल्ल पाए पनि पन्ध्र दिनभित्र नब्बे हजार कमाउन सकिने कुनै काम भेटेन। धेरै रोयो, धेरै करायो तर कसैले नदेख्ने गरी। ऊ यहि सोच्थ्यो कि कसैलाई दुःख देखाउनुको कुनै अस्तित्व नरहेपछि किन देखाउने बेक्कारको रमिता! ऊ संसारदेखि थाक्यो र भगवान सम्झँदै बिन्ती गर्न लाग्यो।
ऊ बुवाको स्वास्थ्यलाभको कामना गर्दै मन्दिरऽ मस्जिद र गिर्जाहरूमा धाउन थाल्यो। बाटा र घरहरूमा बुवाको बिरामी प्रमाण पत्र देखाउँदै मान्छेहरूसँग सहयोग माग्दै हिँड्यो। दुई/चार रुपैँया गर्दै-गर्दै उसले दस दिनमा खाई-नखाई मागेर दस हजार जति जम्मा गर्यो। ऊ हस्पिटल गयो र बुवालाई हेर्यो। भएको रकम फेरि उधारो राख्दै अस्पतालमा तिर्यो।
उसले डाक्टर भेट्यो। डाक्टरको कुरा सुनेर उसलाई विरक्त लाग्यो आफैंसँग। ऊ निरीह देखियो। ऊ केवल एक्लो महसुस गर्न थाल्यो। उसलाई पैसाले निकै पछारेको थियो। 'बिरामीको अवस्था एकदमै नाजुक छ' बाट सुरू भएको डाक्टरको भनाइ 'एक लाख फेरि तपाईंले जुटाउनु पर्नेछ, हामी आज नै तयारी गर्नेछौं तर हजुरको उधारो एक लाख भैसकेको छ अब उधारो दिन सक्दैनौं' सम्म मनले दोहोराइरह्यो।
आफूले बाबुको पचार खर्च जोह गर्न नसकेकोमा उसले आफैंलाई गाली गर्यो। ऊ बुवाकै नजिक रूदै बस्यो। ऊ थाकिसकेको थियो सबैदेखि तर आज थाक्यो आफैंदेखि। उसको बुवालाई गाह्रो भयो। डाक्टरले अब बिरामीलाई बचाउन नसकिने भन्दै घर लैजान भने।
डाक्टरको कुरा सुन्नासाथ ऊ चिच्याएर रोयो। अस्पतालमा आए अलिअलि गाउँघरका मान्छे। नचिनेकाहरूले पनि दिए सान्त्वना र लगे एम्बुलेन्समै कति छिटो घर। वैतरणी गराएपछि उसका बुवाको प्राण गयो। पण्डित बोलाएर लगियो गाउँकै खोलामा र गरियो दाहसंस्कार। दुई जोर सेता कपडा छिमेकी अंकलले ल्याइदिए। उसले गाउँलेको सहयोगमा कर्तव्यनिष्ठ भई शुद्ध मनले क्रियाकर्म सक्यो।
अब ऊसँग ऊबाहेक थियो दुई/तीन लाख जति ऋण। उसले मोबाइल खोल्यो र बुवाको एउटा हस्पिटलको फोटो फेसबुकमा राख्दै बुवालाई श्रद्धाञ्जली नामक शीर्षकमा एउटा लामो कविता लेखेर राख्यो। पोष्टमा रियाक्ट र कमेन्टरहरू बढ्दै गए। कविता एकैदिनमा भाइरल भयो। उसले बल्ल केही हौसला पायो। साथीहरू बनायो र आफ्नाहरूको साथ पायो।
बुवा जिउँदो हुँदासम्म कसैले नहेरेको उसको अनुहार आज हेर्नलाई पैसा तिर्नुपर्ने भयो। पोइट आइडलमा भाग लियो, पुरस्कार जित्यो, देश तथा विदेशका कविता प्रतियोगिताहरू उसले भ्याएसम्म छोडेन। उसले सबैको ऋण चुक्ता गर्यो।
उसले बल्ल शान्तिको सास फेर्यो। उसलाई पोलिरहेको आगो बल्ल शान्त भयो। उसले फेरि बुवालाइ सम्झियो। हुन त बिर्सेको पनि कहिले थियो र! अझ सम्झियो कवि भनेर चिनाउने उसकव पहिलो कविता।