मलाई किन तिमी आफ्नो लाग्छ?
मलाई म आफैं आफ्नो लाग्दैन
मलाई किन तिमीलाई हेरिरहन मन लाग्छ?
म आफैंले आफैंलाई हेर्न मन लग्दैन
म आफैंलाई देख्दिनँ तर तिमीलाई देख्छु
म आफूले आफैंलाई महसुस गर्दिनँ
तर म तिमीलाई महसुस गर्छु
मेरा स्पर्शका कणहरू तिमीमा
स्पर्शित हुन्छन् तर
म आफैंले स्पर्श लिन सक्दिनँ
कहिले आँखा भएरै दृष्टिविहीन भए जस्तो लाग्छ
कहिले उज्यालोमै रात परे जस्तो लाग्छ
म यो पनि बुझ्छु कि
माया गर्नलाई पनि माया चाहिँदो रहेछ
जसरी मन दिनको लागि
अर्को मन चाहिन्छ
मलाई मन माग्न आउँदैन
तर माया माग्न आउँछ
यति हो, माया
माग्दैमा कहाँ पाइन्छ र
कति माया नपाएरै पनि
सुन्दर बनिदिन्छ
कति माया पाएरै पनि
फिक्का बनिदिन्छ
माया भएर पनि माया नदिनु र
माया नभएर पनि माया दिनुमा
फरक छ नि है?
तिम्रो मनमा पनि माया होला,
तिम्रो मनमा पनि भावना होला
थाहा छैन,
तिमीले कति लुकाएर राख्यौ
कति गुम्साएर राख्यौ
अनि कस्को लागि राख्यौ होला
तर एउटा कुरा तिमीलाई थाहा छ?
यो मनभित्र केवल तिमी सजिएकी छ्यौ
यो मुटुभित्र केवल तिम्रै आभास
सुवासिन बनिरहेछ
सायद, तिमी बाहेक अरु नाम
यो मुटुले स्विकारेन कि?
मलाई लेख्न आउदैन
प्रेमका गाथाहरू
मलाई देख्न आउँदैन
प्रेमका सुन्दर जहावटहरू
मलाई महसुस गर्न
आउँदैन प्रेमका आयमहरू
अनि मलाई निभाउन आउँदैन
सम्बन्धका अमिट भूमिकाहरू
तर,
जब म लेख्छु, तिमी सन्दर्भ बन्छौ
जब म देख्छु, तिमी बिम्ब बन्छौ
जब म बोल्छु, तिमी झंकार बन्छौ
जब म महसुस गर्छु, तिमी भाव बन्छौ
जब म सम्बन्ध निभाउन आउँछु
तब तिमी सारथी बन्छौ
अहो! कस्तो माग यो प्रेमको
यहाँ लेख्न पनि तिमी नै चाहिने
यहाँ देख्न पनि तिमी नै
यहाँ बोल्न पनि तिमी चाहिने
यहाँ महसुस गर्न तिमी चाहिने
अनि यहाँ भूमिका निभाउन पनि
तिमी नै चाहिने
साँच्चै आनौठो लाग्छ
त्यस्तो के चिज छ होला तिमीसँग?
जसले मलाई हर तरहबाट
तिम्रो हुन प्रेरित गर्छ!
लाग्छ, यहाँ कथा बन्न पनि
तिम्रै कहानी जरुरत पर्छ !
आखिर मन त मनै हो
कसैलाई मन दिँदा
मन दुखाइदिन्छ
कसैलाई आँखा दिँदा
आँखा रसाइदिन्छ
कसैलाई हात दिँदा
हात छुटाइदिन्छ
कसैलाई साथ दिँदा
साथ टुटाइदिन्छ
यो मन कस्तो-कस्तो?
कहिले गाह्रो कुरा सजिलो लाग्ने
कहिले सजिलो कुरा गाह्रो लाग्ने
भन्नै पर्छ
मनलाई गाह्रो बनाउने पनि
यो मनै रहेछ
मनलाई प्यारो बनाउने पनि
यो मनै रहेछ...
तर तिम्रो र मेरो मन कस्तो मन?
मन मनभित्रको हाम्रो मन
न टुट्छ, न छुट्छ
यो त हराभरा बगैँचाको
सुवासिन सुवस हो
सधैं मात्र जुट्छ।