प्यारो मान्छे, तिमी मसँग टाढा भएको पनि ५ वर्ष पूरा भैसकेछ। अर्थात्, तिम्रो यो लोकमा भैतिक उपस्थिति नभएको पनि ५ वर्ष पूरा भैसकेछ। तिम्रो आत्मा जुनसुकै प्राणीमा भए पनि सधै सुखी होस्, यही प्रार्थना छ भगवानसँग।
प्यारी, अहिले यो लोकमा प्रेमको मौसम चलिरहेको छ। तर जब-जब प्रेम दिवसको माहोल आउँछ तब-तब बेस्सरी यो मन मुटु भक्कानिन थाल्छ, तिम्रो यादहरूले पोल्न थाल्छ। सास फेर्न गाह्रो हुन्छ, उकुसमुकुस हुन्छ। आज हामी भौतिक रुपमा टाढा भएको यत्रो समय हुँदा पनि तिम्रो ठाउँ अरुलाई दिन सकेको छैन।
मलाई घटना परिघटना सबै थाहा थियो, तिमी आउँदै आउँदैनौ भनेर! शरीर, रुप, रंग केही नभए पनि भगवानले बितेकाहरूसँग भावना साट्ने केबल माध्यम वा शब्द मात्रै दिएको भए पनि सायद उसले यसरी म्यासेज पठाउँथ्यौ होला, र हाम्रो संवाद नियमित भइ नै रहन्थ्यो।
मायालु, भौतिक रुपमा तिमी सामु नभए पनि भावनात्मक रुपमा तिम्रो मनभित्र नै छु। भौतिक शरीर रहेछ भने पनि केही दूरी कायम हुन्छ नै। तर तिमी र मेरो बीचमा भौतिक होइन, भावनात्मक सम्बन्ध छ जुन शिलालेख र ताम्रपत्रभन्दा पनि युगौंसम्म अमिट रहनेछ।
तिमीसँगै यो भौतिक संसारमा बाँच्न नपाए पनि तिम्रा यादहरू भने सगरमाथा जस्तै अटल रहनेछन् र ती यादहरूका बीच म जीवित रहनेछु। थाहा छ काली तिमीलाई? तिमी मबाट टाढा भएदेखि तिमीभित्रको गरिराइको अन्तमा अझै बढी हराएको छु। साथमा नभए पनि तिमीसँग बिताएका पलहरू यादहरूमा रमाउँदै छु।
हरेक पल मनभित्र साउने झरी परे पनि थाहा छ काली म आफैलाई सम्झाउने गरेको छु। किनकि तिमीले नै भनेकी होइनौ र, आफू रोयो भने आफूले सबैभन्दा धेरै माया गर्ने मान्छेको आत्मा भिज्छ भनेर। काली, मेरो आँसु खसाएर म तिमीलाई भिजाउन चाहन्नँ किनकि मलाई थाहा छ तिमीलाई चिसोले कति छिटो छुन्छ भनेर। काली यो कलियुगको स्वार्थी संसारमा नभए पनि अर्को लोकको सुनौलो प्रतीक्षामा छु।
आज प्रेम दिवस, प्रेम दिवसको शुभकामना मेरो प्रिय। म तिम्रो लोकमा नभए पनि करोडौं कोश टाढाबाट परलोकमा रहेकी प्रिय तिमीलाई प्रेम दिवसको शुभकामना। धत्! आँसु पो झार्छौ, सधैं तिम्रै साथमा त छु। आफूलाई कहिल्यै एक्लो नसम्झिनू। यता हेर त, मेरो मनभित्र कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको छु।
मलाई थाहा छ तिमी मलाई निरन्तर नियालिरहेकी हुन्छौ। रातको त्यो सुनसान समयमा मसँग एक्लै कुरा गर्न मेरो घरको छानामाथि शान्तिपूर्वक आउँछौ। मैले त भन्ने मात्रै काली हो, वास्तवमा तिमी जूनभन्दा नि चम्किली थियौ। साँच्चै तिमी त जून पो भइसकिछौ। जून मध्यमा नि सबैभन्दा चम्किलो तारा।
मलाई आजभोलि तिम्रो निर्जीव फोटो हेर्नभन्दा पनि चम्किलो तारा हेर्न मज्जा आउँछ। तिमीले नै भनेकी होइनौ, भगवानले धेरै माया गर्नुभयो भने आफ्नो घरमा लगेर जान्छन् र सबैभन्दा चम्किलो तारा बनाएर राख्छन् भनेर।
म झरीसँग खुब रमाउँछु किनकि तिमीले नै भनेकी थियौ नि बितेकाहरू आफ्नासँग भेट्न झरी बनेर आउँछन् र स्पर्श गरेर बाफ बनेर जान्छन् भनेर।
प्रिय, म मेरो हरेक प्रेम दिवसलाई तिमीलाई भेट्ने खुड्किलो सम्झन्छु। कुरेर बस है त्यही मुस्कानका साथ मुस्कुराउँदै। प्रिय, म तिमीसँग पुनर्जन्ममा भेट हुने आशाको प्रतीक्षामा छु।
वैज्ञानिकले सबै कुरा बनायो, अर्को लोकमा जाने साधन पनि बनायो तर बितेर जानेहरूसँग कुरा गर्ने माध्यम र लोकमा जाने साधन बनाउन सक्यो भने सबैभन्दा ठूलो चमत्कार त्यही हुन्थ्यो। धेरै-धेरै सम्झना मेरी परलोककी माया तिमीलाई।
प्यारो मान्छे, समयसँगै यादहरू त धमिलो हुँदै जालान् तर तिमीप्रति माया कदापी कम हुने छैन मेरो मनमा। तिम्रो लोकमा नआएसम्म मलाई तिम्रो अभाव खट्किरहने छ। एकदिन अवश्य पनि हाम्रो मिलन हुनेछ भन्ने आश राखेको छु।
मैले भगवानलाई चुनौती दिन सकिनँ। बाँच्नु कसैको निगाह होइन, मर्नु कसैको आज्ञा पालन होइन। त्यसैले मैले आफूखुसी जीवन त्याग्न सकिनँ। यो जुनी यस्तै भयो प्यारी, अर्को जुनी तिम्रै बन्नेछु। मेरो वाचा भयो।