मस्तिष्कमा सुन्दर भविष्यको चित्र कोर्दै मनमा बेगिन्ती आशा र आँखामा ठूल्ठूला सपना बोकेर राजधानी सहर छिर्ने विद्यार्थीको जमातभित्र म पनि पर्छु। म अर्थात् स्मिता। एसएलसी गाउँकै सरकारी स्कुलबाट दिएपछि काठमाडौं आएँ। प्लस-टुमा साइन्स पढ भनेर जान्नेहरूबाट सल्लाह पाएपछि त्यसै गर्ने सोचें।
काठमाडौंको शान्तिनगरमा एक फ्ल्याट भाडामा लिई सानिमा, सानाबा र भाइ (सानिमाको छोरो) बस्दै आउनुभएको थियो। म पनि त्यहीँ बस्ने कुरा भयो। गृहजिल्ला राजधानीबाट ३ घन्टाको मात्र दूरीमा भएकोले कहिलेकसो स्कुल बिदा हुँदा म सानिमाकोमा आइरहन्थें। त्यसैले मलाई सहर त्यति नौलो लाग्दैनथ्यो।
सरकारी स्कुलपढेको र नतिजा पनि राम्रै भएकाले छात्रवृत्तिसहित नयाँ बानेश्वरको एक कलेजमा पढ्न थालें। कलेजको ओरेन्टेसनमा मैले विकासलाई भेटेको थिएँ। ऊ ५ कक्षासम्म मसँगै गाउँमा पढेर परिवारको साथमा काठमाडौं आएको थियो। अपरिचित अनुहारहरूका बीच हराइरहेकी मलाई उसलाई भेट्दा राहत मिलेको थियो। हामी क्लासमा सँगै बस्ने, सँगै पढ्ने, कुराहरू सेयर गर्ने गर्थ्यौँ। समय बित्दै गयो, सबैसँग हाँस्ने, खुलेर बोलिहाल्ने, चञ्चले, चुलबुले बानी भएर मेरा मिल्ने साथीहरू पनि थुप्रै भए।
पढाइ राम्रोसँग चल्दै थियो। एकदिन मेरो मोबाइलमा टिङ्ग घण्टी बज्यो। मोबाइल खोलेँ, एउटा फ्रेन्ड रिक्वेस्टसँगै म्यासेज रिक्वेस्ट पनि थियो। हेरेँ, अपरिचित त लागेन तर ठम्याउन सकिनँ। प्रोफाइलमा 'स्टडिइङ एट लिभरपुल कलेज' लेखेको र साझा साथीमा बायोलोजी पढाउने म्याम र अरु दुईजना कलेजको साथीहरू देखेपछि सजिलै अड्कल लगाएँ, त्यो मान्छे पनि लिभरपुल पढ्छ। फ्रेन्ड रिक्वेस्ट एसेप्ट नगरी। सुतेँ।
बिहान उठ्दा फेरि पनि म्यासेज आएको थियो त्यही नामको, मतलब गरिनँ। त्यस आइडीबाट मेरोमा 'हाई, हेलो खाना/खाजा खायौ' जस्ता बारबार म्यासेज आइरहन्थ्यो, रिप्लाई भने कहिले गरिनँ। उसको सामान चोरेर भागे झैं मलाई त्यो मान्छे म्यासेज गरेको गर्यै गर्थ्यो।
बेमतलब गर्दागर्दै त्यही नामबाट आएको एउटा म्यासेजले मेरो ध्यान खिच्यो। लेखिएको थियो, 'कसैले ममाथि जादू गर्यो स्मिता।' फेरि अर्कोमा 'कसैलाई देख्दा दिलमा घन्टी बज्छ भन्ने कुरा मैले सिनेमामा मात्र सुनेको थिएँ, तर जब मैले उसलाई पहिलो पटक देखें एकदमै अजीव महसुस भयो सायद घन्टी बज्यो। त्यो खाले भावना मलाई कुनै केटी देख्दा कहिले आएको थिएन।'
मलाई अचम्म लाग्यो, मनमनै के तालको मान्छे होला भन्ने सोचेँ अनि आफ्नै स्टाइलको म्यासेज फर्काएँ, 'अनि मलाई चाहिँ के सुना'को त?'
केही समयपछि उत्तर आयो- 'मलाई माया बस्यो स्मिता, तिमीसँग बस्यो, तिम्रो आँखासँग बस्यो, तिम्रो रुपसँग बस्यो, तिम्रो बोलीसँग बस्यो, तिम्रो चन्चलतासँग बस्यो। यसलाई तिमी जसरी बुझ, जसरी जाँच तर मैले तिमीलाई प्रेमप्रस्ताव राखेको हुँ।'
म त अक्क न बक्क भएँ, स्कुल पढ्दा त्यसै कसैको नाम जोडेर साथीहरूले जिस्काउँदा त सर्वश्व नै सकिएको जस्तो लाग्थ्यो। अहिले कसैले यसरी प्रेम प्रस्ताव राख्दा त मेरो मुटुले ठाउँ नै छोड्यो। म केही अपराध गरेर भागेको अपराधी जस्ती भएँ। मैले उत्तर दिइनँ।
केही समयपछि फेरि म्यासेज आयो, 'हतार छैन स्मिता, मैले जबरजस्ती तिमी मलाई प्रेम गर भनेको होइन तर मेरो मन मस्तिष्कमा तिमी मात्र घुम्छौ, जसरी घारमा मौरी घुम्छन्। तिमीले त्यो दिन स्टेजमा कन्फिडेन्सका साथ वाचन गरेका कविताका एक-एक लाइन मेरा यादमा छन्। तिम्रो सुन्दर, चुलबुले, खुलेर बोल्ने बानी अनि तिम्रो बोल्डनेसले मलाई मोहनी जादु लगाए। नराम्रो लागेको भए माफी चाहन्छु तर म तिमीलाई गुमाउन चाहन्नँ स्मिता।'
म फेरि केही बोलिनँ। हरेक दिन कलेज जाँदा त्यो मान्छे खोज्थें तर देख्दिन थिएं। फेसबुकमा फोटो पनि क्लियर थिएन, त्यही पनि चिन्ने प्रयास गरी नै रहन्थें। महिना बित्यो मैले त्यो मान्छे देखिनँ, चिनिनँ। उताबाट म्यासेज आउने क्रम जारी नै थियो। अब मैले रिप्लाई गर्ने साहस जुटाएँ। प्रेमप्रस्ताव राखेको व्यक्तिसँग बोल्नु नै पाप हो जस्तो लाग्थ्यो मलाई। सायद मेरो हुर्काइ नै त्यस्तो वातावरणमा भयो।
खाना खायौ भनेर आएको म्यासेजको रिप्लाईमा 'हजुर खाएँ' भनेर पठाएँ अनि एकोहोरो संवाद दोहोरोमा परिणत भयो। फेसबुकमा आज सुरु भएको कुरा, आज रिप्लाई गर्न नभ्याएको भोलि, भोलि नि कुरा नटुङ्गिने अनि पर्सी हुँदाहुदैँ हाम्रो कुरा दिनहुँ हुन थाल्यो। उसको नाम रिजन थियो। मभन्दा एक ब्याच सिनियर रहेछ। मैले कलेजको एउटा प्रोग्राममा कविता वाचन गर्दा उसले ख्याल गरेको रहेछ।
दिन बित्दै गयो। रिजन र मेरो हरेक दिन फेसबुकमा कुरा हुन थाल्यो। हाम्रो कलेज एउटै भए पनि क्लास अलग थियो, त्यसैले ब्रेकमा होस् या छुट्टी हुँदा होस हामी संगै हुँदैनथ्यौं, उसको अगाडि नै छुट्टी हुन्थ्यो। सामाजिक सञ्जालको माध्यमबाट बोल्दाबोल्दै विस्तारै हामी धेरै नजिक हुन पुग्यौं। कलेज छुट्टी भएको बेला कति पटक मिलाएर भेट्यौं पनि।
कुरा गर्दागर्दै यतिसम्म भयो कि मलाई ऊसँग बोल्ने आदत बस्यो। म अब ऊसँग नबोली बस्नै सक्दिनँ जस्तै हुन्थ्यो। सिधा भन्दा मलाई ऊसँग प्रेम बस्यो। उसलाई पनि सायद त्यस्तै हुँदो हो। उसको प्रेमप्रस्ताव प्रत्यक्ष रुपमा नस्वीकारे पनि म अब उसको प्रेममा परिसकेँ, मलाई कताकता डर पनि लाग्थ्यो किनकि कसैसँग प्रेम सम्बन्धमा हुनु त्यो पनि सानै उमेरमा कुनै अपराधभन्दा कम थिएन म स्वयमका लागि।
त्यो उमेरमा विपरीत लिंगी मान्छेसँग आकर्षित हुनु स्वभाविक नै हो, त्यसलाई प्रेम मानिँदैन र सफल पनि हुँदैन भन्ने जस्ता हजारौं कुरा सुन्दै हुर्किएकी म पनि यसबाट टाढै बस्न चाहन्थें तर जब म उसको प्रेममा परेँ तब लाग्थ्यो, 'हाम्रो प्रेम सफल हुन्छ, असफल हुने कारण नै के पो हुन सक्छ र? यो आकर्षण होइन। उसले मलाई बाले जत्तिकै माया गर्छ, आमाले जत्तिकै ख्याल गर्छ।' यस्तै कुरा मनमा खेल्थे मेरा। म उसलाई सम्झेर दुनियाँ भुल्न थालिसकेको थिएँ।
उसको घर काभ्रेमा थियो, काठमाडौंमा दाइसँग बस्थ्यो। म गाउँ जाँदा उसकै घरको बाटो हुँदै जानुपर्थ्यो। त्यो क्रममा म एक/दुई पटक उसको घर पनि गएको छु। उसको आमाले पनि मलाई आफ्नी छोरी जस्तै माया गर्नुहुन्थ्यो। उसले मलाई भन्ने गर्थ्यो, 'तिमी यति प्यारी छौ, यति लक्षिणकी छौ, तिमी मेरो जीवनमा आएपछि सकारात्मकता मात्र भेटेको छु, तिमीलाई म गुमाउन सक्दिनँ स्मिता।'
म खुसी थिएँ। यो प्रेम भन्ने चिज नै यस्तो जो आफ्नो थिएन ऊ सबैभन्दा प्यारो भयो। उसको कारण मैले विकाससँग पनि झगडा गरेँ किनकि विकास र रिजन एकअर्कालाई मन पराउँदैन थिए। अनि मैले प्रेमलाई मित्रताभन्दा माथि राखें। प्लस-टुसम्म देशमा पढेर अमेरिका, अष्ट्रेलिया, जापान, युरोप अनि केही नलागे खाडी जाने सोचमा ऊ पहिल्यै थियो।
आइएलटिएसमा ७ अंक ल्याएपछि उसले एउटा कन्सल्टेन्सीबाट सिड्नीमा आइटीको लागि अप्लाई गर्यो। यो वर्ष ऊ अष्ट्रेलिया जाने अनि अर्को वर्ष म पनि आइएलटिएस गरेर ऊ भएकै ठाउँमा गएर आआफ्नो जिम्मेवारी पूरा गर्ने सपना हामीले साथमा बुनेका थियौं र सपनाको नजिक थियौं। उसको पढाइप्रति निकै लगाव थियो अनि मलाई पनि पढाइरहन्थ्यो। त्यसैले प्रेममा परेर मैले पढाइ बिगार्नु परेन।
मेरो दिउँसोको क्लास भएको हुनाले म ऊसँग दिनभर हुन्न थिएँ। बेलुका ऊ नयाँबानेश्वरमा कुरिरहेको हुन्थ्यो, हामी दुवैको डेराको दिशा एकैतिर पर्थ्यो, त्यसैले सँगै तर अरुले देख्लान भनेर डराइ-डराइ आ-आफ्नो थलोतिर लाग्थ्यौँ।
आजभन्दा भोलि भन्दा उसको भिसा आयो, जाने दिन पनि निधो भयो। म अलि ननिको मान्दाखेरि उसले 'अर्को वर्ष त भेट भैहाल्छ नि, म गएपछि तिमी आउँदा सजिलो हुन्छ। अनि हामीले हाम्रा बाआमालाई सुख दिनुपर्छ' भन्थ्यो। ऊ आफ्नो आमाबाको कुरामा धेरै नै सिरियस थियो। म यही बानीमा ज्यादा फिदा थिएँ।
म पनि त्यस्तै छु। कहिले अष्ट्रेलिया गएर टन्न पैसा कमाउने अनि बाआमालाई जति दु:ख गर्ने हो गरिसक्यौ, अब नगर भन्ने होला जस्तो लाग्थ्यो। रिजन अष्ट्रेलिया जाने दिन भयो। उसलाई पुर्याउन दुई/तीन जना साथी र म विमानस्थल पुगेका थियौं। हाम्रो प्रेमसम्बन्ध सुरु भएको एक वर्ष जति भएको थियो, छुट्टिने बेला अंगालो मार्दै 'नरोऊ ल' भनेको थियो। त्यसै पनि विमानस्थलमा नचिनेकै मान्छे देख्दा पनि रुन आइहाल्छ मलाई, अहिले त प्रेम गरेको मान्छे टाढा गएको सम्हाल्न सकिनँ रोएँ अनि भविष्यको लागि गएको हो, म पनि जानुछ भनेर आफैं मन बुझाएर शान्त भएँ।
दिनहरू आँधीबेहेरीकै वेगमा दौडिएरहेका थिए। अष्ट्रेलियामा उसको बिहानै कलेज हुन्थ्यो अनि कलेज सक्ने बित्तिकै काममा जानुपर्थ्यो। मलाई उसले हरेक दिन उताको बिहान ५ बजे कल गर्थ्यो, म उसलाई रातिको १२ बजेसम्म कुरेर बस्थें। म्यासेज त प्रायः भइ नै रहन्थ्यो तर फोनमै कुरा गर्न राति मात्र मिल्थ्यो। म ऊसँग नबोली कुनै दिन सुत्दिन थिएँ। उसको पनि मसँग नबोली दिन सुरु हुँदैन थियो।
मेरो छुट्टै कोठा थियो, त्यसैले मलाई ऊसँग बोल्न समस्या हुँदैन थियो। म अन्त आफन्तकोमा गएर पनि कहिल्यै बसिनँ। ऊ मलाई सबै कुरा सेयर गर्थ्यो। के-के भयो, के गर्यो, कति कमाइ भयो, यति ऋण तिरें, यति आमाबुबालाई दिएँ सबै भन्थ्यो।
समयसँगै दौडिँदै जाँदा यता मेरो पनि १२ को परीक्षा दिएर आइइएलटिएसको तयारीमा लाग्ने बेला भयो। रिजल्ट राम्रै आयो। एउटा कन्सलटेन्सीको सहयोगमा उसकै युनिभर्सिटीमा मेरो पनि अप्लाई भयो। उसलाई भेट्ने अनि आमाबालाई सुख दिने सपना पूरा हुने दिन धेरै टाढा थिएन। हामी दुवै खुसी थियौं तर विडम्बना मेरो भिसा रिजेक्ट भयो। सबै सपना छिनमै बिलाएर गयो।
भिसा लागेन केही थिएन, देशमै बसौँला अरु देश जाउँला तर अप्लाई गर्ने बेला भएको खर्च, बैंकमा ३ महिनासम्म ब्याज तिर्नलाई आफन्तको खुट्टा ढोगे बराबर गरेर मेरा बाले खोजेका ऋण के गरी चुकाउने? निम्नमध्यम वर्गीय परिवारको छोरी म, फेरि अप्लाई गर्ने चान्स थिएन। यस्तै सोच्दा सोच्दै मेरा रात अनिदो बित्न थाले, तर रिजनले मलाई धेरै हौसला दिन्थ्यो। देशमै केही गर्छु भन्ने भावना पनि आयो। तर ऋण सम्झिँदा आकाश खसेर थिचेजस्तै हुन्थ्यो। युरोप जान्छु भन्ने सोचेर मैले डेनमार्कको लागि पनि अप्लाई गरें तर डेनमार्कले पनि मलाई पत्याएन।
कति सानिमाकोमा बस्नु भनेर एउटा साथी र म मिलेर एउटा कोठामा बस्न थाल्यौं। उता रिजनले पनि मलाई विस्तारै इग्नोर गरेको महसुस हुनथालेको थियो। तर व्यस्त होला, अर्काको देशमा भनेजस्तो नहोला भनेर आफ्नो मन बुझाउँथें। सधैं कतै जानुअघि मलाई म्यासेज गर्ने ऊ साथीहरूसँग बाहिर-बाहिर रातरात भर हिंड्ने अनि २/४ दिन नै सम्पर्कमा नहुने। म ट्रीपमा गएको भन्ने यस्तै-यस्तै हर्कत देखाउन थाल्यो।
मैले दिनभरि १० वटा म्यासेज गर्थें। उसले ए, ल, हो, होइन, ओके यस्तै-यस्तै मात्र रिप्लाई गर्थ्यो। उसले मलाई बिहान पनि साथीहरू हुन्छन् गर्दिनँ है भनेर कल गर्न छोड्यो। यता दिउँसो २ बजेतिर उसको फुर्सद हुँदो रहेछ तर म बिहान क्याम्पसमा पढ्थें अनि दिउँसो एउटा कन्सल्टेन्सीमा काम गर्थें, त्यसैले दिउँसो बोल्न मिल्दैन थियो। कम्तीमा म्यासेजमा त कुरा गर्न मिल्थ्यो त्यही पनि ऊ थकाई लागेको छ, खाना पकाउनु छ भन्थ्यो।
यस्तै यस्तै हुँदै हाम्रो कुरा पातलो हुँदै गयो। मलाई यसरी इग्नोर नगर न, म मरेतुल्य हुन्छु भनेर मैले उसलाई भन्दा बिजी भएर हो के बुझ न यार, तिमी मलाई बुझ्दै बुझ्दिनौ भन्थ्यो। यति भनेपछि मैले भन्ने के नै हुन्थ्यो र! बल्लबल्ल फोन गर्थ्यो, त्यही पनि यसको फोन आयो, उसको फोन आयो भनेर राख्थ्यो अनि गर्दैनथ्यो। घन्टौंपछि आफैं गर्दा पनि उसको फोन बिजी देखाउँथ्यो, घरमा बोल्दै छु भन्थ्यो। म कुरि नै रहन्थें।
त्यस्तैमा उसको पकाउने, खाने, सुत्ने बेला हुन्थ्यो। हाम्रो सम्बन्ध विस्तारै खस्किएको महसुस हुन्थ्यो मलाई। म बिहान कलेज अनि उतैबाट काममा जान्थें। कोठामा बेलुका आइपुग्थें। म आइपुग्दा कहिलेकाहीँ कामको सिफ्ट चेन्ज भएको बेला उसको पनि आउने बेला हुँदो रहेछ। बाटोमै फोन गर्थ्यो अनि रुममा पुगेर पकाउँछु, खान्छु, सुत्छु भन्थ्यो। रुम पुग्नसाथै राख्थ्यो।
उसको यस्तो व्यवहारले मलाई एकदमै टर्चर भैरहेको थियो। फेब्रुअरी महिना थियो। फेब्रुअरी ७ देखिको हरेक दिन मैले उसलाई विश गरेँ। त्यो म्यासेजपछि अरु-अरु पनि मैले गरेको म्यासेज हुन्थ्यो। त्यहीवाला चाहिँ उसले नदेखे झैं गर्थ्यो, अरु म्यासेजको पनि एउटा शब्दमा रिप्लाई गर्थ्यो।
फेब्रुअरी १४ अर्थात् प्रणय दिवसको दिन उठ्ने बित्तिकै उसलाई अनलाइन देखेँ। खुसी हुँदै फोन गरें तर उसले काट्यो। काटेर म्यासेज गरेन। अघिपछि ऊ बिजी भएको बेला फोन काटेर यो गर्दै छु भन्दै म्यासेज गरिहाल्थ्यो। म्यासेज गर्न पनि मिलेन होला भनेर चित्त बुझाएँ। आफैंले लेखेँ, 'ह्याप्पी भ्यालेनटाइन डे डियर। तिमीलाई म सधैं खास लाग्न सकुँ जसरी कलेजमा कविता वाचन गर्दा लागेकी थिएँ।'
उताबाट तुरुन्तै नेपाली र अंग्रेजी मिसिएको म्यासेज आयो। यस्तो म्यासेज आयो, त्यो पढेर म म रहिनँ। लेखिएको थियो, ' यत्रो इग्नोर गर्दा पनि बुझ्दैनौ? कमन सेन्स छैन तिम्रो? आइ एम इन लिभिङ रिलेसनशिप विथ रिया। वि आर टुगेदर नाउ, सेलिब्रेटिङ आवर फर्स्ट भ्यालेनटाइन।'
'अनि म?' भनेर लेखौं कि जस्तो लाग्यो तर सबै क्लियर छ, लेखेर किन लम्ब्याउने? सकियो। प्रणय दिवसमा प्रेमीबाट एउटी प्रेमिकाले उपहार स्वरुप पाएको म्यासेज थियो त्यो। यत्ति म्यासेज पढेर सक्दा नसक्दै म पसिना र आँसुले भिजें। यसै पनि मलाई आँसु आउन केही नै हुनुपर्दैन। धेरै सेन्सेटिभ मान्छे छु। रुँदा-रुँदा म पूरै अचेत भएछु।
मेरो र उसको बारे मैले जम्मा तीन जना साथीलाई भनेको थिएँ। उसले पछिल्लो समय गरेको व्यवहार बारे सँगै बस्ने साथी रितिका मात्र परिचित थिई। उसले मेरो धेरै ख्याल गर्थी। मलाई उसले के गरी, कसो गरी, के खुवाई, कसरी अचेतबाट चेत बनाइ थाहा छैन। रितिकाले यो विषयमा मलाई कहिले कुरा गरिनँ।
म पूरा पागल जस्ती भएको थिएँ। के गर्छु होसमा गर्दिन थिएँ। उसको अन्तिम म्यासेज जति पटक पढ्थें त्यति पटक म बौलाउँथें। मैले उसलाई सामाजिक सञ्जाल लगायतबाट नामनिशान केही कतै नरहने गरी मेटाइदिएँ तर मन मस्तिष्कबाट मेटाउन सकिनँ। रिजन वाक्कदिक्क लाग्ने गरी मेरो पछि परेको सम्झिन्थें अनि फेरि रियावाला म्यासेज। त्यसपछि सर्वश्व नै सकिएजस्तो लाग्थ्यो। काम गर्न छोड्दिएँ।
केही दिनपछि म गाउँ गएँ। त्यस्ती चन्चले चुलबुले छोरीको हालत देख्दा आमाबा पनि चिन्तित भए। मलाई त भनेनन् तर बासँग केही लागेको हो कि, झारफुक गर्न फलानाकोमा लानुपर्यो भनेर आमाले भन्दै गरेको सुनेपछि आफैंलाई धिकार्न मन लाग्यो।
मैले सोचें, निःस्वार्थ प्रेमका धनी मेरा आमाबा मेरै लागि भनेर सकि नसकी, खाइ नखाइ दु:खकै भुङ्रोमा पिल्सिरहेका छन्, म दुनियाँको लागि ज्यान किन फाल्नु? त्यसपछि मैले कसैलाई प्रेम गर्ने आँट गरिनँ। आज वर्ष बितिसक्दा पनि म प्रेमिका बनेको र मैले प्रेमीलाई गरेको प्रेमप्रति घृणा जागेर आउँछ।
प्रणय दिवसमा छुट्टिएकाहरू जोडिऊन, प्रेम मेरै जसरी कसैको नछुटोस्। प्रणय दिवसको शुभकामना।