बाले पैसा पठाउन छोडेपछि
छिमेकीले बोल्न छोडेपछि
भाइले दाइ र दाइले भाइ मान्न छोडेपछि
म हराएँ, म गुमनाम छु।
थिए मेरा पनि ठूला-ठूला भयंकर डरलाग्दा सपनाहरू
पूरा गर्दा हुने तर हुन नसकेका रहरहरू
म आफ्नै सपनाको मलामी भएर हिँडेको दिन
म आफ्नै रहरको शत्रु बनेको दिन
न म रहेँ, न मन रह्यो।
एकदिन पैसा माग्ने साथीले मबाट पैसा पाएन
ऊ हरायो
एकदिन मसँग रमाइलो गर्ने सोच पूरा नहुँदा
प्रेमिका हराइन्
एकदिन फोन नगर्दा आफन्त हराए
एकदिन काम नगर्दा पैसा हरायो
एकदिन घाम र पानी नदिँदा बिरुवा मर्यो
एकदिन म नबोल्दा परिवार हरायो
अनि
एकदिन म यी नै सबै पूरा गर्न लागेँ
म हराएँ, न म रहें न मन रह्यो।
म आफू हराएँ अरु जिताउन,
अरु जितिरहे, मैले जिताइरहें
म दिइरहें, उनीहरू लिइरहे
म दिँदा थाकें, उनीहरू लिँदा थाकेनन्
मैले दिन सकिनँ, उनीहरूले लिन पाएनन्
अनि
मेरा ९९ गुणले हारें, १ बैगुनले जित्यो
तब
न म रहें, न मेरा रहें, न मन रह्यो, न जीवन रह्यो।