मेरा शब्दहरूमा भाव छन् त
ती हरेक भावमा तिमी छ्यौ
हेर! हेर! ती हिमालहरू टलक्क
सेता दन्तलहरहरू देखाइ
मन्द मुस्कुराहटमा
बिहानीको सूर्यको किरणसँगै
हाँसिरहेका छन्
हो, त्यही सूर्यको किरण
भइ म तिमीसँग
हाँसिरहन चाहन्छु
अनि हरेक दिन तिम्रो
मुस्कुराइरहेको सुन्दर मुहार
देख्न चाहन्छु
त्यो सुन्दर बगैँचामा
फुलेको अमूल्य फूल डेलिया झैं
तिमी यत्रतत्र मेरो वरिपरि
सुवास छरिरहनू, म केबल
त्यो फूलमा जीवन्त झुन्डिने
भमराझैं तिम्रो वरिपरि
घुमिरहने छु
पुस माघको कुहिरोको
बीचममा पनि
बिहानी जसरी माछापुछ्रेले
फेवालाई हेरी
आफ्नो ताजगीमा मुस्कुराउँछ
हो, म पनि त्यसरी नै
तिम्रो ताजगी र दीर्घायुमा
जीवन्त तिम्रो साथमा
बैशाखी भइ हिँडिरहन पाउँ
देवकोटाको मुनामदन अनि
शेक्सपियरको सोनेट झैं
संसारले अचम्म मानी जीवन्त
पढिरहने केवल एउटा
कहानी बनोस् हाम्रो
प्रेमकहानी
न त त्यहाँ कुनै क्लाइमेक्स होस्
न त वियोग नै
होस त केवल सुरुवात!
रोमियो अनि जुलेट
लैला अनि मज्नु
तिमी अनि ममा
संसारले फरक भेटोस्
केवल यही अर्थमा कि
ती सब वियोगमा डुबेका
इतिहास थिए त
अब तिमी अनि म
संसारको सुखी वर्तमान छौं
विल यु बि माइन फरेभर?