नर्सिङ पढाइ सकेपछि रिता दिदीले केही समय काठमाडौंमै जागीर खान थाल्नुभयो। कहिले राति, कहिले साँझ, कहिले बिहानै ड्युटी पर्ने भएकाले दिदीलाई काठमाडौंमा एक्लै कोठामा बस्न असहज भयो। रितिकलाई पनि गाउँबाट सहर बोलाउनु भयो। भर्खर +२ सकेको रितिक दिदीसँगै काठमाडौं बसेर बिएससी फिजिक्स पढ्न भर्ना भयो।
नेपालमा नर्सिङ पेसामा काम अनुसारको पारिश्रमिक नहुने, विदेशमा धेरै राम्रो कमाइ हुने भन्ने बुझेपछि बिएन पढ्न दिदी अमेरिका जानुभयो। रिता दिदी अमेरिका जानु भएपछि रितिक काठमाडौंमा एक्लै भयो। उसले पनि न्युजिल्याण्ड जाने प्रक्रिया सुरु गर्न थाल्यो।
दिदीलाई अमेरिका पठाउन यता गाउँमा काकाले आफन्त, छरछिमेकसँग ऋण लिनु भएको थियो। सामान्य खेतीकिसानी गर्ने काकालाई छोरालाई पनि न्युजिल्याण्ड पठाउन पर्ने भएपछि ऋण अझ थपियो। ६ महिनाको अन्तरालमा छोराछोरी दुवैलाई विदेश पठाउँदा लागेको ऋणले काकालाई पिरोल्न थाल्यो।
छरछिमेक आफन्तले 'छोराछोरी दुवैलाई विदेश पठाइहालिस्, अब आनन्दको जीवन व्यतीत गर्ने भइस्, अब खेतबारीको काम पनि किन पो गर्छस्' भनेर काकालाई मख्ख पार्दिन थाले। सय कडा ३ को ब्याजमा विश्वासको भरमा आफन्तले दिएका ऋण, विदेश गएको एक वर्षसम्म तिर्ने छाटँकाँट नभएपछि काकालाई चिन्ता हुन थाल्यो। सम्पत्तिको नाममा अंशमा पाएको साढे १ बिघा खेत र सामान्य काठको घर बाहेक काकासँग अरु केही थिएन।
ऋण लिँदा पनि केही गरी तिर्न नसके खेत बेचेर भए पनि ऋण तिरौंला भन्ने हिम्मतले काकाले ऋण लिनु भएको थियो। विदेशमा भएका छोराछोरी आफ्नो पढाइकै खर्च पुर्याउन रातदिन मेहनत गरी काम र पढाइमा घोटिरहेको र अझै एक वर्ष ऋण तिर्न पैसा पठाउन नसक्ने भन्ने बुझेपछि काका सबै खेत बेचेर ऋण तिर्ने निर्णयमा पुग्नुभयो।
अहिले लागेको ऋण सावाँ, ब्याजसहित तिर्न खेत बेच्दा पुग्छ। अलिक ढिला भयो भने त्यही खेतले पनि ऋण तिर्न सक्दैन भन्ने बुझी काकाले आफ्नो अंशमा पाएको खेत बेच्नुभयो। पूर्खाले अंशमा दिएको खेत बेच्दाको पीडा भन्दा पनि ऋणको भारी सदाको लागि बिसाएकोमा काकालाई केही समय हाईसन्चो भयो।
काकाले अब खेत जोत्न नपर्ने भयो। काकीले पनि घाँस काट्न छोड्नु भयो। भएका गाई, गोरु समेत सबै बेच्नु भयो। खेतले मानिसलाई निकै व्यस्त बनाउने रहेछ, खेत बेचेपछि काकाकाकी निकै फुर्सदिलो हुनु भएको छ। गाउँ डुल्ने, घुम्ने समय प्रशस्त प्राप्त हुन थाल्यो।
उता रितिकले 'गाउँमा जति दुःख गर्नु थियो गर्नुभयो, अब नगर्नू। म अलि पछि सहरमै घर बनाइदिन्छु, अहिले काठमाडौंमा कोठा भाडामा लिएर बस्नू' भन्न थाल्यो। बारम्बार फोनमा रितिकले यस्तो भनेपछि काकाकाकी सधैंको लागि आफ्नो पूर्ख्यौली ठाउँ छोडेर काठमाडौंमा भाडामा बस्न थाल्नुभयो।
सहरमा भाडामा बस्न थालेपछि काका-काकी झन् बढी फुर्सदिलो हुनुभयो। गाउँमा हुँदा बेलुका गाई दुने बेला भएपछि जहाँ गए पनि घरमै आइपुग्नु पर्ने बाध्यता हट्यो। कुखुरा, हाँसलाई चारो हालिरहनु पर्ने झन्झटबाट मुक्त हुनुभयो। बर्खा लागेपछि खेतमा मज्जाले खटिनु पर्ने बाध्यता सदाको लागि अन्त्य भयो।
कहिलेकाहीँ रितिकसँग कुरा हुँदा भन्थ्यो, 'अहिले आमाबालाई आनन्द छ, केही काम गर्न पर्दैन। गाउँ बसेर धेरै दुःख गर्नुभयो, अब सुखका दिन सुरु भए।'
सहर बसेको केही महिनासम्म वर्षौंदेखि गरिरहेको काम छोडेर आनन्दले बस्न पाएकोमा एक हदसम्म काकाकाकी खुसी नै देखिनु हुन्थ्यो। समय बित्दै गयो, छोराछोरीले विदेशबाट पैसा पठाउन थाले तर काकाकाकीमा खुसी घट्दै गयो। सहरमा बस्दा जेलमा बसे जस्तो महसुस गर्न थाल्नु भयो। सदैको दिनचर्या एउटै भएपछि मन प्रफुल्लित हुन छाड्यो।
बिहान र बेलुका एक समय छोराछोरीसँग भिडिओ च्याटमा सन्चो बिसन्चोको गफ गरेपछि बाँकी समय कसरी कटाउने भन्ने चिन्ता हुन थाल्यो। कोठामै ज्यादा बसेर होला, काका प्रेसरको बिरामी हुनुभयो, नियमित औसधि सेवन गर्न थाल्नुभयो। काकालाई खसीको मासु औधि मनपर्ने, गाउँमा हुँदा जहाँ काट्दा पनि नसोधी दुई केजी घरमा ल्याइदिन्थे। प्रेसरको बिरामी भएदेखि भान्सामा खसीको मासु पाक्न छोड्यो।
'आमाबाको जीवन आनन्दित तरिकाले व्यतीत भइरहेको छ, दुःख केही गर्न परेको छैन, अब एउटा घर बनाइदिएपछि अझ ढुक्क हुन्छ,' रितिकले बेलाबेला मसँग च्याटमा कुरा हुँदा भन्थ्यो। नभन्दै काठमाडौंमा घर बन्न सुरु भयो। दिनभरि समय कटाउन गाह्रो भएको अवस्थामा घर बनाउन थालेपछि काकालाई केही समय व्यस्त बनायो। काकीलाई पनि घर बनाइरहेको ठाउँमा जाने, कामदारसँग गफ गर्ने, चिया पकाएर दिने समय मिल्यो।
यस्तै दिनचर्याले काकाकाकीलाई १० महिना आनन्दित तुल्यायो। साढे २ तल्लाको घर, प्रायः सबै कोठामा एटेज ट्वाइलेटसहित सुबिधा सम्पन्न घर बनाउनु भयो। आफ्नो अनुकूलको मात्र घर बनाउने कुरा नक्सा बनाउँदै मलाई रितिकले भनेको भएर घर भाडामा लगाउन नमिल्ने गरी तयार भयो।
पहिले भाडामा बस्दा माथिल्लो, तल्लो तलामा बस्नेसँग गफगाफ हुन्थ्यो, कतै जाँदा पनि केही चोरी होलाकी भन्ने डर थिएन। आफ्नै घरमा बस्न थालेपछि काकाकाकीलाई झन् बढी समस्या थपियो।
'साढे २ तल्लाको घर दुई जनाका लागि आफैंमा ठूलो भयो, घरले नै तर्सौला जस्तो लाग्न थाल्यो। आजकल कतै टाढा बस्ने गरी जान मिल्दैन, जहाँ गए नि बेलुका घर आउनै पर्यो। समय ढल्किँदै गएकाले घर पुस्न नि कष्टकर हुन थाल्यो,' काकीले बेलाबेला भेट्दा यस्तै दुखी कुरा गर्नुहुन्थ्यो।
काका कतै हिँड्न नपाएर एकै ठाउँमा बसिरहनु पर्ने कुराले चिन्तित हुनुहुन्थ्यो अनि कहिलेकाहीँ घरमा आउने पाहुनालाई भन्नुहुन्थ्यो- गाउँमा लैनो गाईले घर छाड्न दिएन, सहरमा आफ्नै घरले कतै जान दिएन।
काठमाडौंमा घर बनाएपछि रिमा दिदी एक महिनाको बिदा लिएर घर आउनु भयो। काकाकाकीलाई रमाइला ठाउँहरू घुमाउन लानु भयो। पिंजडामा बसेको महसुस गर्ने काकाकाकीलाई विभिन्न रमणीय ठाउँहरू घुम्दा औधि खुसी भएको भाव दिदीले सामाजिक संजालमा हाल्ने तस्बिरहरूमा देख्न पाइयो केही समय।
घुम्न जानु, घुमाउनु तत्कालको मनोरञ्जन मात्र नभएर पछिसम्म नि रमाइलो अनुभूति हुने रहेछ। विगतमा आफ्ना मान्छेसँग घुमेका तस्बिरहरू हेरेर वर्तमानमा ती यादहरूलाई पुनर्ताजगी गर्न सहयोग गर्ने रहेछ। चाडबाड आएपछि काकी त्यही विगतमा छोरीसँग घुमेका तस्बिरहरू फेसबुकमा हालेर, ती खुसीका पलहरूलाई पुनर्ताजकी गर्नुहुन्छ।
दिदी बिदा सकेर अमेरिका फर्किनु भएको दुई वर्ष बितिसक्दा पनि रितिक नयाँ घरमा आउन सकेको छैन। डिप्लोमा अध्ययन गर्न गएको भाइ ब्याचलर सकिसक्दा पनि अझै घर आउने सुरसारमा छैन।
मसँग कहिलेकाही गफ हुँदा भन्छ, 'भने जस्तो कमाउन सकिएको छैन, केही पैसा संचित भएपछि नेपाल आउने हो।'
यता काकीलाई छोराको बिहे गर्न औधी हतार भएको छ। घरभरि एकपटक टन्न आफन्त भरेर कार्जे गर्न मन छ।
'हामी दुई जना मात्र यत्रो घरमा सधैं बस्न सक्दैनौं। बरु भाडामा बस्दा यताउता बोल्ने मान्छेहरू हुन्थे, आनन्द थियो। यत्रो घर स्याहार्न पनि सकिँदैन। भूत बंगलामा बसे जस्तो लाग्छ कहिलेकाहीँ। आफन्त कोही रात बस्ने गरी आए नि हुने, यसो गफ गर्ने मेसो त हुन्थ्यो। रितिक नभएपछि तँ नि आउनै छाडिस्। तेरो काकालाई पाहुना आउँदा मात्र खसीको मासु खुवाउँला, प्रेसरको बिरामीले धेरै खसीको मासु खान हुन्न भन्छु। त्यही भएर कोही पाहुना आए नि हुने जस्तो हुन्छ काका लाई घरीघरी,' काकीले बेलाबेला मलाई फोन गरेर यस्तै पीडाका कुराहरू सुनाउनु हुन्छ।
रितिकले काकाकाकीलाई 'नेपालमै केटी खोज्नू, तपाईंहरूले खोज्नु भएको, रोज्नु भएको सँगै म बिहे गर्छु, केटी भेटिएपछि म नेपाल आउँछु' भनी आश्वासन दिएको रहेछ। आजकाल काकाकाकी छोरोलाई बुहारी खोज्न आफन्तमाझ खुब लाग्नु भएको छ।
'छोरो विदेशमा, विदेशमा सेटल भएका केटालाई केटी भेट्न के गाह्रो भयो र? भेटिहालिन्छ नि,' भिडिओ च्याटमा मैले काकीलाई भनें।
काकीले जवाफमा भन्नुभयो, 'विदेशमा सेटल भएका केटासँग बिहे गर्ने केटी त पाइँदो रहेछ तर उनीहरू नि विदेश नै जाने सर्तमा मात्र मान्ने रैछन। हामीजस्ता बुढाबुढीसँगै बस्ने भनेपछि कोही नमान्ने रहेछन्।'
त्यसो हुँदा रितिक नेपाल आउने अझै अन्योल नै रह्यो। काकाकाकी थप केही वर्ष घरमा एक्लै रहनु हुने भयो।