ती चाउरी नपरेका अनुहार भएका मान्छे छन् नि
तिनीहरूले तिम्रै बुई चढेर गुलाब समात्ने भएका हुन्
ती सेतो गुलाब झैं कपाल भएका मान्छे छन् नि
तिनीहरू नै हुन् जसले आफ्नो जिन्दगी गुलाब बनाउन
तिम्रो जिन्दगीलाई डस्टबिनमा मिल्किएको गुलाबको डाँठ बनाए
तिनीहरू जस्तै बरु तिमी पनि फोहोर बन्नपर्थ्यो
तिनीहरू फोहोर बने- जिन्दगीमा गुलाबै गुलाब फुलाए
तिमी सफा डाँठ बन्नेतिर लाग्यौ- तिम्रो जिन्दगी उजाड बगैंचा बन्यो
तिमीलाई थाहा छैन र?
मरुभूमिमा गुलाब फुल्दैन
अनि मरुभूमि जस्तै भएको तिम्रो जिन्दगीमा कहाँबाट गुलाब फुल्छ?
गुलाब फुल्न त-
पानी, माटो, ठाउँ, उचाइ, गहिराइको तारतम्य मिलेको हुनुपर्छ
अनि एउटै कुराको तारतम्य नमिलेको तिम्रो जिन्दगीमा कहाँबाट गुलाब फुल्छ?
गुलाब त मानिदिन पर्नेहरूको सभा समारोहमा फुल्छ
गुलाब त मालिकको-
खुट्टामा, हातमा, घाँटीमा, शिरमा फुल्छ
गुलाब त वरिष्ठहरूको-
गेटमा, टोइलेटमा, कोठामा, घरमा फुल्छ
गुलाब त महामहिम ज्युहरूको-
समाजमा, देशमा, विदेशमा फुल्छ
गुलाब त पाँचतारेमा फुल्छ
गुलाब त महलमा फुल्छ
गुलाब हर्षोल्लासमा फुल्छ
अनि गुलाब पैसामा फुल्छ
अनि तिमी चाहिँ को हौ र तिमीले गुलाब पाउनलाई?
तिमीले किन गुलाब पाउनपर्यो?
तिमी त गरिब हौ
तिमी त मजदुर हौ
तिमी त किसान हौ
तिम्रो त आफ्नै खेत छ-
खेतमा वर्षेनी खेर जाने अन्न छ
तिमीसँग त सडकको नाली छ-
नालीमा फोहोर छ, नाली सफा गर्ने तिम्रा हात छन्
तिमीसँग त पिँजडा जस्तो घर छ-
घरमा आकाशमा बादल लाग्दा चुहिने छानो छ
अनि तिमीसँग गुलाब किन हुनुपर्यो?
तिमीसँग गुलाब पाउनपर्ने कारण के छ?
कसैलाई महामहिम बनाउन सहयोग गर्दैमा
तिमीले गुलाब पाउनुपर्छ भन्ने पनि त छैन
कसैको लागि तीर, भीर, पीर पन्छ्यायौ भनेर
तिमीले गुलाब पाउनुपर्छ भन्ने पनि त हैन
तिम्रो त्यो निर्दोष अनुहार र तिम्रा त्यी निष्पक्ष आँखाले
तिमीलाई गुलाब दिँदैनन्
गुलाब पाउने सपना मात्रै देखेर गुलाब पाइन्छ कहीँ?
गुलाब पाउन त ठग, फटाहा, चोर बन्नपर्छ
सडकका पेटीमा त तिमी नै छौ त
अनि सडकका पेटीलाई ठग्न किन नसिकेको?
पुलको मुनि तिमी नै सुतिराको छौ त
अनि पुलमुनिको फोहोर चोर्न कसले सिकाइदिन्छ?
खोलाको तिरमा
भएजति पीरमा
नदीको किनारमा
तिम्रै प्रतीक्षा गरीरहेको इनारमा
त्यो विकट गाउँमा
उस्तै उरन्ठेउलो ठाउँमा
तिमीलाई बेच्न कुरिरहेको यो सहरमा
सपना तिम्रो बेची आफ्नो साम्राज्य खडा गरिरहेका
छोटे-बडे मालिकहरूको रहरमा
सबैमा तिमी छौ त
उल्लेखित सबैको फटाइ गर्न किन नसकेको?
मालिकलाई गुलाबको फूल मनपर्छ
तिमी त गुलाबको डाँठ हौ
जो न त सुकेर फोहोर बन्न सक्छ
न त हरियो फर्किन सक्छ
तिमी त्यो गुलाबको त्यस्तो डाँठ हौ
जसलाई मालिकहरूले-
आपत्तिमा याद गर्छन्
अप्ठ्यारो समाउँछन्
विपत्तिमा टेक्छन्
तर सहजतामा डस्टबिनमै मिल्काइदिन्छन्।