म सानो हुँदा
गल्लीको तगारो पार भएपछि
एउटा सानो लिखुरे गोरेटो बाटो
तन्किँदै र खुम्चिँदै
उक्लिँदै र ओर्लिंदै
फँलाटे जंगलतिर पसिजान्थ्यो
जहाँबाट म बिहानै
एक भारी दाउरा लिएर फर्की आएपछि
स्कुल जान पाउँथे नि!
आपा,
खै त्यो बाटो?
कता गयो?
फिपीमा (चोयाको ढाकी) केही थान सेलरोटी
कठुवामा तीन पाने रक्सी
र फिलिङ्गेको अचार कोसेली च्यापेर
एक आङ्कुले बाङ्कुले बाटो हुँदै
हामी सानोमा माउलो जान्थ्यौं नि
जहाँ घरीघरी भेटिन्थे
खोला तर्न काठका साँघुहरू
आज खै त्यो बाटो? कहाँ छ?
भुजेल गाउँको छेवैछेवै भएर
एक धर्सो बाटो कोल्टे पर्दै
ढाडखोलाको शिर नाघेर
बाहुनबाजेको घरतिर जान्थ्यो नि
जुन बाटो भएर म खेताला खोज्न जान्थेँ
जुन बाटो भएर म बेलाबेला
राँके बजार भर्न निस्कन्थेँ
कहाँ छ आपा त्यो बाटो?
खै?
कसरी मेटिए त्यत्रा बाटाहरू?
छोरा!
सहरबाट ठूल्ठूला बाटाहरू गाउँ पसे
र तिमीले सोधेका
प्रत्येक साना मसिना बाटाहरूलाई
कुखुराले गड्यौला निले झैँ निले
मेलापात र हाटबजार गर्ने पैतालाहरू नभएपछि
ती बाटाहरू मासिए
र आज नयाँ ठूला बाटाहरू जन्मिए
तिमीलाई थाहा छ?
यसरी जन्मिएका हरेक बाटो
आजकल सहर तिर मात्रै कुद्छ
सोचेको थिएँ
ओसार्दो हो यहाँ फलेका खर्बुजाहरू
तर ओसार्न थाले
खर्बुजा फलाउने हातहरू
लागेको थियो
ओसारिने छन् हाम्रा अदुवा र बेसारहरू
तर ओसारिन थाले
खनीखोस्री गर्ने जाँगरहरू
छोरा!
गाउँ आई फर्केको प्रत्येक बाटो आज
राजधानीको हवाई अड्डालाई छोएर
आकाशे बाटोमा जोडिँदै
मरुभूमिको देशतिर कतै बिलाउँछ
र उताबाट कहिले दुई पैसा पठाउँछ
त कहिले मान्छे भरेको
चिसो बाकस पठाउँछ।