स्वास्नी नभए पनि घरमा बुहारी छ। छोरो विदेश भए पनि नजिकै भएका छोरीहरू भेट्न आइरहन्छन्। नातिनातिनाले माया गर्छन्। बुढेसकालमा त्योभन्दा बढी अरु के नै चाहियो र?
बाहिरबाट देख्नेहरूले भन्ने यही हो। घरभित्रका व्यक्तिले भोगेको मानसिक तनाव बाहिरबाट देख्न सकिँदैन। घरभित्रका सदस्यहरूबाट वर्तमानमा गरिरहेका व्यवहारलाई नियालेर उत्पन्न भएको मानसिक तनावबाट मुक्ति पाउन नसकेको एक वृद्ध व्यक्ति जसले विगतमा आफूले जानी नजानी गरेका कार्यहरूको विवेचना गरेर जीवनको उत्तरार्धमा तनाव सिर्जना भएको परिवारसँग म परिचित छु।
एकदिन मैले छोरीलाई भनें, 'सधैं यो बेला बुवा उठेर तल आइसक्नु हुन्थ्यो। आज किन यति बेलासम्म उठ्नुभएन? जा, जा नानी बुवालाई बोला।'
उसले कोठाबाटै जवाफ फर्काइ, 'म बुवालाई बोलाउन भ्याउँदिनँ। स्कुल जान ढिलो भइसक्यो, म हिँडेँ।'
ऊ स्कुल हिँड्ने बेला भो भनेपछि ८:३० भइसकेछ। यतिबेला बुवा तल आएर चिया खाइसक्नु हुन्थ्यो। आज यसबेलासम्म किन उठ्नुभएन? आज बुवालाई के भयो?
मन चसक्क भयो। फटाफट तलमाथि गए। बुवा सुतेको ओछ्यानमा पुगेर 'बुवा, बुवा' भनेर बोलाएँ। बुवाले सिरकबाट मुख निकाल्दै, 'के सारो कानको जाली नै फुट्ने गरी कराएकी? के भयो?' भन्नुभयो।
अत्तालिएर ठूलै स्वरमा कराएछु भन्ने महसुस गर्दै 'आज सधैंको समयमा उठ्नुभएन? किन ढिला गर्नुभयो? वा सन्चो भएन भनेर बुझ्न आएकी' भनें।
बुवाले, 'म आउँछु, तँ जा' भन्नुभयो। म तल आएर बिहानको काम धन्दामा लागें।
बोलाएर आएको पनि निकै बेरपछि मात्र बुवा तल आउनुभयो। मैले चिया दिएँ। बुवाले भन्नुभयो, 'अहिले मेरो नुहाउने पानी नतता। चिया खाएर म फेरि सुत्छु। बरु एउटा ज्वरोको दबाइ दे।'
ज्वरो आएकाले बुवा ढिलो उठ्नुभएछ भन्ने थाहा पाएँ। 'बुवा खाली पेटमा औषधी नखानू। दूधसँग खाने कि तातो पानीसँग? जेसँग मन लाग्छ त्यहीसँग अलिकति सातु खानू' भनेर सातुको साथमा औषधी ल्याएँ।
'बा, थर्मोमिटर लगाउनु त अहिले ज्वरो कति छ हेरौँ अनि राति कतिबेरदेखि ज्वरो आएको? हामीलाई किन नसुनाउनु भएको' भनेर सोधें।
बुवाले 'जीउ बेलुकैदेखि कटकटी खाँदै थियो तर ज्वरो चाहिँ बिहानीपख मात्रै आएको' भन्नुभयो।
बुवाको ज्वरो १०० डिग्रीभन्दा माथि रहेछ। केहीबेर पानीपट्टी गरेपछि बुवा फेरि सुत्न जानुभयो। दिउँसो १ बजेपछि बुवा उठ्नुभयो।
'मलाई ज्वरोले छोड्यो। नुहाउने पानी ठिक्क पार' भन्नुभयो। नुहाइसकेर खाना खान बसेपछि बुवाको नाकबाट सिँगान चुहियो। सिँगान पुस्ने रुमाल दिँदै बुवालाई रुघाखोकीको ज्वरो आएछ क्यार भनें।
बुवाले भन्नुभयो, 'मलाई पनि त्यस्तै लाग्दैछ। अहिले ढिलो खाएको छु। मेरो निम्ति बेलुका केही पकाउनु पर्दैन।'
तर बेलुका अलिकति जाउलो पकाएँ अनि औषधी खानको लागि खानुपर्छ बुवा भनेर कर गरेँ। त्यतिबेला बुवाले, 'मलाई ज्वरो आयो भनेर दिदीहरूलाई खबर गर्दे' भन्नुभयो। राति सुत्नुअघि नजिकै भएका दुई दिदीहरूलाई फोन गरेर आज बुवालाई सन्चो छैन भनेमँ। विदेशमा भएकी माइली दिदीको म्यासेन्जरमा बुवालाई सन्चो नभएको कुरा लेखें।
भोलिपल्ट पनि बुवालाई ज्वरो आयो। ६/६ घण्टाको फरकमा ज्वरोको औषधी नखाँदा फेरि ज्वरो आइहाल्यो। अलिकति खिचडी खाएर बुवा दिनभरि ओछ्यानमै ढल्किरहनु भयो। बेलुका दालसँग सुक्खा रोटी खान्छु भन्नुभयो। बुवाको खाना लिएर ओछ्यानमै गएँ। त्यहीबेला बुवाले, 'खै दिदीहरू मलाई भेट्न आएनन् त? तैले दिदीहरूलाई भनिनस् कि क्या हो?' भन्नुभयो।
मैले हिजो बेलुकै भनेको तर दिदीहरू अलिक व्यस्त हुनुहुन्छ रे, शनिबार मात्र आउँछु भन्नुभएको छ भनें। बुवाले निराश हुँदै, 'आजभर्खर बुधबार हुँदैछ, शनिबार मात्रै आउँछन् रे' भन्नुभयो।
बुवाको अवस्थालाई मध्यनजर गरेर सान्त्वना दिँदै भनें, 'बुवा, चिन्तित नहुनू। दुई दिनपछि दिदीहरू आइहाल्नु हुन्छ नि। तपाईंको रुघामार्कीको ज्वरो पनि भोलिसम्ममा पक्कै निको होला।'
बुवाले अल्छी गर्दै एउटा रोटी र अलिकति दाल खानुभयो।
बेलुकाको घरधन्दा सकेर ओछ्यानमा पुगेपछि श्रीमानसँग सल्लाह गरें। रुघामार्कीको ज्वरो तीन दिनमा सन्चो हुन्छ भन्छन्। भोलिसम्ममा ज्वरो कम भएन भने बुवालाई डाक्टरकोमा लैजान्छु। आफ्नो मान्छेसँग कुरा गर्न थालेपछि समय बितेको पत्तो हुँदैन। रातिको १० बजिसकेछ। विचरा बुवा फोन चलाउनुहुन्न। फोन नचलाएपछि अल्मलिने मेलो पनि छैन। आमा बितेपछि साह्रै न्यास्रिनु भएको छ।
सन्चै हुँदा पनि छोरीहरू मलाई भेट्न आइदिए हुन्थ्यो भनेर आशा गर्नुहुन्छ। अलिकति बिरामी हुने बित्तिकै अत्तालिएर छोरीहरूलाई खबर गर्दै उनीहरू मलाई भेट्न आउँछन् भन्नुहुन्छ। तर बाबुआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुंगामुढामाथि भने जस्तै भएको छ।
हिजो बुवाका बारेमा ठूली दिदीलाई सुनाउँदा दिदीले, 'बुवालाई केही हुनुहुँदैन खबर गरिहाल्नु हुन्छ। रुघाको ज्वरो होला, दुई दिनमा ठिक भइहाल्छ। तर पनि ज्वाइँको अफिस नगई हुँदैन। शनिबार मात्रै आउँछ रे भन्दिनू। भिनाजुसँग बाइकमा आउँदा मलाई सजिलो हुन्छ। पब्लिक बसमा यात्रा गर्न गाह्रो लाग्छ' भन्नुभयो। बुवाको अस्वस्थतालाई वास्तै गर्नुभएन। सधैं झैँ हल्का रुपमा लिनुभयो।
कान्छी दिदीले पनि ठूली दिदीको जस्तै कुरा गर्नुभयो- 'यो हप्ताभरिलाई भिनाजु बाहिर जानुभएको छ। भिनाजु नभएपछि गाडी पनि छैन। फेरि केटाकेटीको स्कुल पनि छुटाउन भएन। उनीहरूलाई स्कुल पुर्याएर आउँ भने ट्याम्पुमा चढेर आउन झर्को लाग्छ। दिदी शनिबार आउने भइछ। म पनि शनिबार नै आउँछु। दिदीबहिनीको भेट नभएको महिना दिन भइसक्यो। त्यही आएर भेटघाट गर्ने।'
उहाँका लागि बुवाको सन्चो/बिसन्चोभन्दा पनि दिदीबहिनीको भेटघाट अनि कुराकानीले अधिक महत्व राखेको प्रष्ट छ।
माइली दिदीले बिहानै कल गर्नुभएछ। घरधन्दामा व्यस्त थिएँ, कल मिस भएछ। दोस्रो पटकमा कल उठाएँ। दिदीले, 'बुहारी, फोन गर्ने बित्तिकै उठाउनुपर्छ भन्ने थाहा छैन? मलाई काममा जान ढिलो हुन्छ। समयमा पुग्नुपर्छ। कति पटक भन्नु जतिखेर मन लाग्यो उतिखेर गर्नलाई तिम्रो जस्तो घरको काम होइन' भन्नुभयो।
उहाँ यति व्यस्त हुनुहुन्थ्यो कि मलाई थर्काउँदा थर्काउँदै काममा जाने बेला भयो। अहिले बुवालाई कस्तो छ भनेर सोध्न समेत भ्याउनु भएन।
घरको कामलाई कामै नदेख्ने मान्छेसँग व्यवहार गर्न गाह्रो छ। घरको काम गर्नेले पनि बिहान, दिउँसो, बेलुका समयअनुसार चल्नुपर्छ। घरको काममा अहोरात्र खटिनुपर्छ। सधैं व्यस्त हुनुपर्छ। बरु बाहिर गएर काम गर्नेको एक दिन भए पनि छुट्टी हुन्छ। घरमा काम गर्नेको कहिल्यै छुट्टी हुँदैन भन्ने कुरा बुझेर पनि बुझ पचाएपछि के लाग्छ? यस्ता व्यवहारिक कुरा मैले मात्र बुझेर के गर्नु? नबुझ्नेसँग पनि कुरा नगरी घरव्यवहार चल्दैन? जहिले पनि उहाँको फुर्सद भएकै बेलामा मैले फुर्सद भइदिनु पर्छ। उहाँले गफ गरेकै बेलामा मैले पनि गफ गर्न भ्याइदिनु पर्छ।
दिनरात नै फरक पर्ने ठाउँमा बसेपछि समय मिल्दैन। समय नमिलेपछि कुरा गर्न सजिलो छैन। बेलुका आफ्नो फुर्सदको समयमा गफ गरौँ न भन्यो भने दिदीको बिहान काममा जान हतार भइरहेको हुन्छ। दिदीको बेलुका, हाम्रो बिहान कल गर्दा दिदीको सुत्ने बेला हुन्छ तर यता बुवा उठ्नुभएकै हुन्न। एकछिनमा बुवा उठ्नुहुन्छ अनि तपाईं आफै बुवासँग कुरा गर्नू भन्यो भने 'बुवा उठुन्जेल बस्न सक्दिनँ। दिनभरि काम गरेर थाकेको छु। मेरो सुत्ने बेला भयो। बेलामा सुतेन भने निद्रा पुग्दैन। अनिदो भएपछि काम गर्न गाह्रो हुन्छ' भन्नुहुन्छ।
छुट्टीको दिन समय मिलाएर कुरा गर्दा हुने तर छुट्टीको दिन पनि 'मलाई बिहानै उठ्न मन लाग्दैन, म ढिलो उठ्छु' भन्नुहुन्छ। छुट्टीको दिन बुवासँग कुरा गर्न अलि छिटो उठ्न सक्नुपर्ने तर दिदी त्यसो समेत गर्नुहुन्न। माइली दिदीले बुवासँग गफ नगरेको धेरै भइसक्यो। स्वदेशमा हुँदा बुवाको ख्याल गर्ने, बुवालाई भेट्न आइरहने उहाँ विदेश गएपछि बदलिनु भएको छ।
जस्तो भए पनि विदेशमा हुने टाढा छन् भनेर चित्त बुझाउन सकिन्छ। तर यही नजिकै दुई घण्टामा आउजाउ हुने ठाउँमा भएका दिदीहरू बुवा अस्वस्थ हुनुहुन्छ भन्ने थाहा हुँदाहुँदै पनि उहाँको अवस्था बुझ्न, उहाँलाई भेट्न आउनुहुन्न। आफ्नो सुबिस्ता पर्खेर बस्नुहुन्छ।
हुन त सबै मनकै कुरो हो। मेरो माइती घर यति नजिक भएको भए म सार्वजनिक गाडी चढ्न झर्को मान्ने थिइनँ। समय मिलाएर महिनामा एकचोटि जसरी पनि बुवाआमालाई भेट्न जान्थें। उहाँहरू पनि खुसी हुनुहुन्थ्यो तर के गर्नु? आफ्नो त माइत नै टाढा पर्यो। एक दिनमा जाइआई गर्न सकिन्न। बुढो विदेश गएका दिनदेखि माइत जान पाएकी छैन।
बुढो विदेश गएपछि बुवा माइत जान मन लाग्यो भनेकी थिएँ। बुवाले, 'दिदीहरूलाई भन्, कुनै एउटी दिदी आएर मेरो साथी बसे भने तँ जा' भन्नुभयो। बुवाका कुरा ठिकै हुन्। दिदीहरू संयुक्त परिवारमा बस्नुहुन्न, आफ्नो मात्रै घर व्यवहार मिलाउँदा भइहाल्छ भनेर एक/दुई पल्ट दिदीहरूलाई भनें पनि तर उहाँहरूले आफ्नै बुवालाई पकाएर खान दिन गाह्रो मानेको बुझेपछि भन्न छोडिदिएँ।
पहिलादेखि नै बुवा घर छोडेर खासै हिँड्नु हुन्नथ्यो। त्यसमाथि हिजोआज बुढो भएर होला बुवाको वरिपरि कोही न कोही हुनैपर्छ।। घरमा मलाई एक्लै छोडेर कतै नहिँड, कतै नजाओ भन्न थाल्नुभएको धेरै भयो। फेरि बजारको घर, मान्छे पनि आइरहन्छन्। यत्तिकै छोड्न मिल्दैन। छोराछोरी बिहान स्कुल गएका बेलुका मात्र आइपुग्छन्। आजभोलि म घरमा यसरी बाँधिएकी छु कि माइतीको कुरै छोडौँ, यसो छरछिमेकतिर हुने सामाजिक कार्यहरू (विवाह वर्तमानमा पूजा आदि) मा मुख देखाउन समेत भ्याउन छोडिसकेँ।
बुवालाई खान नदिई हिँड्ने कुरा भएन। बुवा आफ्नै पाराले लामो समयसम्म बिहानको पूजापाठ नगरी खानै खाइदिनु हुन्न। बुवाको बिहानको खाना खाँदा ११ बज्छ अनि दिउँसो ३ बजे बुवालाई चिया खाजा दिन जताबाट भए पनि जसरी भए पनि आइपुग्नै पर्छ। त्यो छोटो समयमा के भ्याउनु? मुस्किल हुन्छ।
लगातार दुई दिन ज्वरो आएपछि अहिले बुवालाई सन्चो भएको छ। तर खानामा खासै रुचि छैन। करले अलिकति खानुहुन्छ। शनिबार बिहानै साइली दिदी भिनाजु अनि दुई जना भान्जाभान्जी आउनुभयो। उहाँहरू आइपुगेको केहीबेरमा ठूली दिदी र भिनाजु पनि आउनुभयो। म बिहानको खाना, दिउँसोको नास्ता, भान्जाभान्जीलाई मनपर्ने खाने कुरा बनाउनमा व्यस्त भएँ। बेलुका ८ बजेतिर उहाँहरू फर्किनु भयो।
भोलिपल्ट खाना खान बसेपछि बुवाले भन्नुभयो, 'जीवनको उत्तरार्धमा आएर घरव्यवहारका कुरामा ध्यान गए। विगतमा आमाले सबैलाई मिलाएर राखेकी रहिछे। घरव्यवहारमा निपुण उनले सबै नराम्रा कुराहरू ढाकछोप गरेर राम्रा-राम्रा कुरा मात्र सामुन्ने ल्याइछे। हुन त कहिलेकाहीँ छोरीहरूले चर्किएर आमासँग बोलेको नसुनेको होइन। तर तिनीहरूलाई के कुरा गरेका भन्दा- केही होइन पराई घर गएका छोरी चेली चित्त दुखेपछि माइत आएर दुःख पोग्छन्। छोराछोरीका बारेमा तपाईंले चासो गरिरहनु पर्दैन। सबै मेलोमेसो म मिलाउँछु। म हुँदाहुँदै तपाईंले घरव्यवहारका बारेमा कुनै टेन्सन लिनु पर्दैन। फेरि डाक्टरले तपाईंलाई चिन्ता नलिनु भनेको बिर्सिनु भो? भन्थी।
वास्तवमा भन्नुपर्दा आमा हुन्जेल घरका सबै कुरा थाहा पाउन जरुरत नै परेन। दिनभरि अफिस गयो। महिना मरेपछि तलब ल्याएर आमालाई दियो। त्यसबाहेक घरव्यवहारका बारेमा मैले अरू केही गर्नु परेन। मैले आफूलाई घरव्यवहारबाट यति टाढा राखेछु कि आफ्ना सन्तानको स्वभावलाई बुझ्ने कोसिस समेत गरिनछु। आमा बितेको पाँच वर्षपछि अहिले मात्र यिनीहरूको सही पहिचान गर्दैछु। आजसम्म आफ्नो सन्तानको स्वभावलाई नचिनेर छोरीहरूले मलाई माया गर्छन् भन्ने भ्रम पालेछु। हिजो बेलुका ओछ्यानमा पल्टिएर यिनीहरूले विगत र वर्तमानमा गरेका व्यवहारलाई विवेचना गरेपछि भर्खर मात्र यिनीहरू कतिसम्मका मतलबी रहेछन् भन्ने भेउ पाउँदैछु।
आमाको क्यान्सर रोगको उपचारमा लागेको ऋण तिर्न भएको अलिकति खेत पनि बेच्नुपर्यो। त्यतिले मात्र नपुगेपछि त्यही ऋणले पिरोलिएर तेरो लोग्ने विदेश गएको छ। विचरा त्यहाँ कति दुःख गर्छ होला। तर उसबेला हामीलाई पनि भाइलाई जति नै सम्पत्ति चाहिन्छ भनेर आमालाई घुर्क्याई घुर्काई बराबर सम्पत्ति लिएका उनीहरू अहिले केही थाहा नपाएझैँ चुपचाप बसेका छन्। हाम्री पनि आमा हुन्। आमाको उपचारमा लागेको खर्च अलिअलि भए पनि सघाउँछौँ भाइ भनेर अहिलेसम्म भनेका छैनन्। अझ भाइ विदेशमा छ। हामीलाई तीजमा, तिहारमा गतिलो भाग चाहिन्छ भन्दै आउँछन्। आफूहरू भने कुनै दिन केही ल्याएर बुहारी 'यो तँलाई, बुवा यो तपाईंलाई' भन्दैनन्। अरु त अरु विचरा भदा भदैनीको बर्थडेमा समेत 'जसको बाउ विदेशमा छ उसलाई हामीले के दिनु र?' भन्दै लाज पचाएर रित्तै आउँछन्।
आजसम्म मैले त्यता कुराहरूमा खासै ध्यान दिइनछु। तर आज रातभर पुराना कुरालाई याद गरें। निदाउन सकिनँ। विगतका स्मरणले यिनीहरूले सधैं त्यसै गरेछन् भन्ने छर्लङ्ग भयो। मैले धेरै सोचेर मनन गरेर भनेको, अबदेखि तँ पनि यिनीहरूका लागि मरिहत्ते नगर्। मैले के भनें? भन्ने ठानिस् होला। तर मैले त्यसै भनेको होइन। पहिलेका सबै बिर्सिए पनि यसपालि यिनीहरूले गरेको व्यवहारलाई हेर्। यिनीहरूको आडम्बरलाई हेर्।
मलाई सन्चो भएन हेर्न आऊ भन्दा चाहिँ उनीहरू सहजले मन लागेका दिन मात्रै आए। आएपछि भने स्वाङ पारेर 'ज्वरोले बुवालाई निकै गलाएछ, अलिक राम्रोसँग हेरविचार गर्, प्रशस्त फलफूल खान दे' भने। बिरामी छु भन्ने सुनेपछि उनीहरू फलफूल लिएर आएका भए हुन्थ्यो तर लाज पचेकाहरू केही नलिकन रित्तै हात आए। अरुबेला केही नल्याए पनि बिरामी भेट्न जाँदा रित्तो हात जानु हुँदैन भन्ने संस्कार बिर्सिएकाहरूले यहाँ आएर तलाई संस्कार सिकाए।
बुहारी, 'अल्छी नगरिकन बुवालाई मिठो मसिनो बनाएर खान दे, बुवा निकै कमजोर हुनुभएछ' भने। त्यो सुनेर मलाई झन् चित्त बुझेन। आफूहरू चाहिँ सासूससुरा स्याहार्नका अल्छीले छुट्टिएर बसेका छन्। आफ्नै परिवारलाई मात्रै पकाएर खुवाउनु पर्दा समेत 'अब घर गएर पकाएर खाने जागँर छैन, हाम्रो लागि पनि बेलुकाको खाना पकाए है बुहारी' भनेर खाएर गए। फेरि उनीहरूलाई खुवाउन त्यति सजिलो पनि छैन। उनीहरूलाई स्वादिलो मसललेदार खानेकुरा चाहिन्छ। मासुका साथमा दाल, तरकारी, अचार थरीथरीका परिकार खान खोज्छन्। 'बुहारी, तँलाई भान्सामा सघाउने कोही छैन। एक्लै धमाधम गरिरहेकी छेस्। बुवाको लागि अलग्गै पकाउनुपर्छ। केही सघाउनुपर्छ कि?' भनेर समेत सोधेनन्। 'सब्जी के छ? हामी गफ गर्दै सब्जी केलाउँछौँ। तँलाई सजिलो हुन्छ' पनि भनेनन्। माइत आएपछि बसीबसी खानुपर्छ भन्ने उनीहरूको आदत नै भइसकेको छ।'
एकोहोरो बोलिरहनु भएको बुवाको कुरालाई बीचमा काट्दै मैले भनें, 'बुवा, तपाईंका कुरा मननयोग्य छन्। तर मानसिक रुपमा उहाँहरूको टहल गर्न म सधैं तत्पर छु। तपाईंलाई थाहै छ। माइतमा मेरा दिदीबहिनी छैनन्। विवाहपछि मैले उहाँहरूलाई आफ्नै दिदी मानेको छु। अझ आमा नभएपछि उहाँहरू मेरा निम्ति आमा समान हुनुहुन्छ। परिवारका सबैसँग असल व्यवहार गर्नुपर्छ भनेर मेरी आमाले दिएको संस्कारलाई भुल्दिनँ। परिवारको इज्जतमानलाई लिएर तपाईं निराश नहुनू। यो उमेरमा यसरी चिन्ता लिनु राम्रो होइन। दिक्क नमानी जे जस्तो छ त्यसैमा सन्तोष गर्नुपर्छ। सन्तोषबाट नै स्वस्थ अनि दीर्घ जीवन प्राप्त हुन्छ।'
बुवाले मेरो कुरामा सहमति जनाउनु भयो तर आफू दृढ हुँदै भन्नुभयो, 'सही भनिस् सन्तोषम् परम सुखम् तर यतिका वर्षपछि मेरो मनले ठहर गरेको कुरालाई म नकार्न सक्दिनँ।'
त्यस दिनदेखि बुवा निराश हुनुहुन्छ। खासै बोल्नु पनि हुन्न। बुवामा देखिएको परिवर्तनले उहाँ मानसिक बिरामी हुनुभएको हो भन्ने अड्कल गरेको छु। बुवाको अवस्था देखेर बुढोलाई छुट्टी मिलाएर चाँडै आउनु भनेकी छु। बुवालाई चाँडै मनोचिकित्सक नदेखाए अवस्था नाजुक बन्ने पक्का छ।