अस्ति
तिमी अतिथि भएर आयौ
मैले रमाएर स्वागत गरेँ
मेरो स्वागतलाई
तिमीले अधिकार ठान्यौ
मैले आतिथ्यको कर्तव्य निभाएँ
हिजो
तिमीले मेरो परिवारमा हैकम जमायौ
मैले भारी भएर एक्लो मन बुझाएँ
परिवारको विवशतालाई
तिमीले सम्पन्नताको विजय ठान्यौ
मैले अतिथिको सिमाना सम्झाएँ
आज
तिमीले मेरो गाउँ नै जिस्क्यायौ
मैले पीडा भएर आक्रोश देखाएँ
गाउँको निरीह आतिथ्य सत्कारलाई
तिमीले शक्तिको निसर्त स्वीकृति ठान्यौ
मैले अतिथि हुनुको अर्थ सम्झाएँ
तिमी अतिथि नै रह्यौ
म एक्लो नै भएँ
परिवार विवश नै रह्यो
गाउँ निरीह नै भयो
तर म सम्झाइरहनेछु
अतिथि हुनु भनेको
सम्मानको अतिथि हुनु हो
आतिथ्यको सम्मान हुनु हो
तिमीले अतिथिको अर्थ बुझेपछि
तिमीले आतिथ्यको सम्मान जानेपछि
तिमीले मेरो, परिवारको अनि गाउँको
स्वाभिमानको सम्मान गर्न थालेपछि
तिमीलाई फेरि स्वागत गरौंला
अहिलेलाई, यु आर नट माइ वेलकम्ड गेस्ट!