कविता
छोरी
पर...देश गएकी तिमीलाई लेख्दै गर्दा यो कविताको चिठी
गुन्द्रीभरि सुकाउन नपाउँदै एक अंगालो उज्यालो
नसकिँदै परेवासँग घुरघुर घुरघुर
यसो सोच्छु–
वर्षौंदेखिको प्यास मेट्न पाए पनि त हुन्थ्यो–
तिम्रा गोडाको जल खाएर।
हिजो
सुनाउँदै गर्दा तिम्री आमालाई रामायणका श्लोक
कालो गाताको रामायणभित्र भेटियो–
एउटा पुरानो पत्र
तिम्रो बाले तिम्री आमालाई लेखेको पहिलो प्रेमपत्र।
उतिबेला
ढेब्रीको रातो उज्यालोमा लेखेका ढल्किँदा अक्षरहरू
यसो हेर्छु– उत्तिकै सुन्दर छन् अहिले पनि,
तिम्रा आँखाको डिलडिलमा लगाइदिएको गाजल जत्तिकै सुन्दर।
माया पोखिएको त्यो पहेलिँदै गरेको पाना सुँघ्छु–
अझै पनि उस्तै छ बासना
आलुबाट निस्केको ढुँडीको जस्तै।
तर जति तन्काए पनि यो बुढो दिमागलाई
सम्झनै सकिनँ,
कसको हातको बाटो पुगेको थियो त्यो चिठी तिम्री आमासम्म?
कसरी फर्केर आएको थियो तिम्री आमाको स्वीकृतिको खबर पनि।
चिठी देखेर हाँसेकी तिम्री आमालाई त थाहा होला कि त्यो हुलाकी (?)
तर
अहँ छोरी
म सोध्नै सक्दिनँ, तिम्री आमालाई यस्तो प्रश्न
मलाई अझै पनि लाज लाग्छ–तिम्री आमासँग।
अचेल त
चिठी लेख्न पढ्न नपाएको पनि एक जुग हुन लागिसकेछ।
तिमीलाई जत्तिकै सम्झन्छु
डबल गुलाबको गाता भएका कापीमा तिमीले लेखेका बान्कीला अक्षरहरू।
कालोपाटीका मास्टरका अक्षरजस्तै गोला अक्षर लेख्ने तिमी
पर...देशमा कापी र कलम नचाउन नभुल्नु ल।
तिमीले तिमीजस्तै सुन्दर अक्षर लेखिरहँदा
तिम्री आमालाई सुनाइरहन्थें–
अक्षताका अक्षर अक्षताजस्तै सुन्दर छन है बुढी
अचेल त त्यसरी सुनाउन नपाएको पनि जुगौं भयो छोरी।
गाउँभरीका लाहुरेका चिठी लेख्ने तिमी
तिम्रै अक्षर बोकेर आउने खाम नआएको पनि जुगौं भयो छोरी।
अचेल
हुलाक घर अगाडिको समीको फेदमा बाघचाल खेल्दै
चिठी कुर्नेम जस्तै बुढाहरू देख्दै देख्दिनँ,
राम्रा अक्षर लेख्ने मास्टरलाई चिठी लेख्देऊ न बाबु भनेर जाने बुढीहरू पनि नदेख्दा त
यसो सोच्छु–
अचेल गाउँमा बुढीहरू छैनन् कि राम्रा अक्षर लेख्ने मास्टर छैनन् हँ?
कि मुग्लानी छैनन् अचेल (?)
कि सरकारले बन्द गर्यो हुलाक घर हामी गाउँलेलाई (?)
हुलाकीका झोलामा सरकारी छाप लागेका बाहेक अरू खाम भेटिनै छाडे छोरी।
अचेल
हातका औंलामा कलम नचाएर जन्माउने अक्षर नदेखेको पनि
कुन्नि कति जुग पो हुन लागेछ।
लामो नेपाली कागजमा बनाएको तिम्रो चिना हेर्छु
अनि चिनाफल बताउँदै गरेको ज्योतिषीलाई टिभीमा हेर्छु,
सम्हालेर राखेको स्कुले कापी हेर्छु
अनि किबोर्डमा औंला थिचेर होमवर्क गरेको विद्यार्थी हेर्छु,
राम्रा अक्षर लेखेर तिमीले पुरस्कार थाप्दै गरेको तस्बिर हेर्छु
अनि टाइपिङ स्पिड विजेताको अनुहार हेर्छु,
खै,
रायोको पातजस्तै म मुजा परेको हुँ कि
अक्षर र कलमको जुग मुजा परेको हो छोरी (?)
अचेल त पोषिला अक्षर चाख्न पनि
रामायणभित्रको उही पुरानो चिठी पो सम्झन परेको छ।
छोरी!
तिमी भुर्रर उडेर छाडेर गएको यो पुरानो बस्तीमा
तिम्रो बा लाई
भक्किम्लोको फेदमुनि बसेर
तिमीले स्कुल पढ्ने बेला लेख्नेजत्तिकै सुन्दर तिम्रा अक्षर छाम्न मन छ
अँगेरीको पातमा बेरेको सूर्ति र तिम्री आमाको गालाको डिम्पलमा रोपेको माया
पालैपालो सल्काउने मन छ
पग्लिएको सुनजस्तो सुन्दर अक्षरमा
पोलेको तात्ततातो आलु जत्तिकै मी...ठो खबर टाँसेर
तिमी चिठी लेख्न त सक्छ्यौ नि हैन?
आउने पूर्णिमाको दिन
पैयूँको लौरो टेक्दै टेक्दै पुग्नु छ–
हुलाक घर अगाडिको समीको फेद,
र,
खेल्नु छ–हाम्रो जमानाका बुढाहरू जम्मा गरेर बाघचालको खेल।
अनि, घर फर्किंदा ल्याइदिन मन छ–
मेरी छोरीकी आमालाई उसकी छोरीका बान्कीला अक्षरको एउटा खेत।
म हुलाक घरमा तिमीलाई कुरिरहनेछु।