कविता
हरेक दिन असल बन्न प्रयास गरिरहन्छु
समूलका प्रयन्नहरू यसैमा लगाइ रहन्छु
कुनै समय मलाई विपरीत सिकाइदिन्छ
अनि म विपरीत भावका रूपमा हिँडिदिन्छु
म नियतबाट हैन सिकाइबाट खराब छु।।
हरेक व्यक्तिसँग असल बन्न प्रयास गरिरहन्छु
समूलका प्रयन्नहरू यसैमा लगाइ रहन्छु
व्यक्तिका स्वभावले मलाई विरूद्ध सिकाइदिन्छ
अनि आफूलाई सिकाउँदै विरूद्ध भैदिन्छु
म नियतबाट हैन सिकाइबाट खराब छु।।
हरेक सम्बन्धमा असल बन्न प्रयास गरिरहन्छु
समूलका प्रयन्नहरू यसैमा लगाइ रहन्छु
स्वार्थहरूले आफ्नै भिन्न दृष्टिकोण बनाइदिन्छ
अनि आफूसँग भिन्नता भित्र कोण बनाइदिन्छु
म नियतबाट हैन सिकाइबाट खराब छु।।
हरेक आस्थाहरूमा आफैंलाई बिकाइरहन्छु
समूल विचारहरूसँग प्रेम मिलाइरहन्छु
अवस्थाहरूले अनायास विछोड बोकिदिन्छ
अनि आफूसँग आफैंलाई चट्टान बनाइदिन्छु
म नियतबाट हैन सिकाइबाट खराब छु।।
हरेक आशाहरूमा आफैंलाई बुझाइरहन्छु
समाजका आशाहरूमा आफैंलाई सिकाइरहन्छु
प्रयत्नशील हर आवाजहरूसँग रमाइ रहन्छु
एउटा स्वतन्त्र अवस्था मलाई 'म' सिकाइदिन्छ
अनि म पनि समाजको जस्तै आकार भैदिन्छु
आफैंमा अनेकौं बिम्बहरूको सृजना गरिदिन्छु
म नियतबाट हैन सिकाइबाट खराब छु।।