जम्काभेट भयो सासू-बुहारीको। ठम्याउन सकेनन् सासूका बूढ्यौलो आँखाले। बुहारीले चिनी तर तर्की, नदेखेझैं गरी। बुहारीलाई बोलौं–बोलौं, मनमा गाँठो परेर बसेका कुराहरू खोलौं-खोलौं नभएको कहाँ हो र! तर कहाँ हुन्छ र मनले सोचेजस्तो मात्रै? मन फटाउन, मन भड्काउन, मन रुवाउन, मन चिढ्याउन मान्छेको मन–मस्तिष्कभित्र अनेक खाले मनोदशा, मनोव्यथा, मनोरथ, मनोराग, मनोरोगले घर गरेर बसेको हुन्छ।
उतिबेला पनि कहाँ मानेको थियो र बुहारीको मनले घर छोडेर हिँड्न। सासूकै बुहार्तन र रातदिनको कठोर वचनले त हो नि निस्किएर हिँड्नु परेको! कहाँ बिर्सिएकी थिई र उसले, ती हृदयवेदी वचनहरू। फेरि सासू पटक्कै बेखुसी थिइन, ऊ निस्किएर हिँड्दा। बरु, ‘कुच्चोले बढार्नुपर्ने कसिङ्गर हावाले उडायो’ भनेर खुसी पो थिई।
कोही पनि आएर रोकेनन् उसका गोडा, जेठो छोराले भित्र्याएकी बुहारी घरबाट निस्किएर हिँड्दा। घरमा सासू मात्रै थिइन, एउटी नन्द थिइन्, देवर–देउरानी थिए। उनीहरू पनि खुसी थिए भाउजूको बहिर्गमनबाट।
‘अनि त्यस्ती सासूलाई नदेखेझैं गरी तर्किएर के बिगार गरेँ र मैले’ सोची।
‘फेरि मेरो अभिवादन स्वीकार गर्छे नै भन्ने के ग्यारेन्टी? यत्रा मान्छेको मुखेन्जी निदारमा लात्ताले हानेर लडाइदिइन् भने। नदुखेको टाउको किन दुखाउने? होस्’ बुहारीले आफ्नो बाटो समाती।
‘उसले पनि त बोलाउँदा भैहाल्थ्यो नि?’
माइती गरिब थिए, पढाइ थोरै थियो। तर इज्जत र स्वाभिमान कसैको भन्दा होचो–नीचो थिएन। त्यो त्यही पढेलेखेकी, संभ्रान्त सासू थिई जसले अनेक थरी भए नभएका, गरे नगरेका आरोप–प्रत्यारोप लगाइएर बुहारीलाई घरमा टिक्न–खान दिएकी थिइन। धनीमानी, संभ्रान्त, धेरै पढेलेखेका सासू, नन्द–नन्देज्वाइँ, देवर–देउरानीको बुहार्तन सहनै नसकेर अन्ततोगत्वा नाबालक लालाबाल काखी च्यापेर उसले घरबाट निस्कनु परेको थियो।
दाइजो नल्याएको निहुँमा उनले मात्रै होइन उनका माइतीले समेत तथानाम गाली खानु पर्थ्यो। माग्ने, थाङ्ने, भिखारी, बेइज्जती, हलीगोठाला... के-के हो के-के। घरमा कुनै पनि अप्रिय घटना घट्यो, अशुभ समाचार आयो त्यसको भार पनि बुहारीकै खप्परले बोक्नु पर्थ्यो ‘यसले लोग्ने त टोकी–टोकी, यसको गृहप्रवेश भएदेखि, शुभलाभ देख्न–सुन्न नै नपाइने भयो। कस्ती अलक्षिणी रहिछ।’
कतिसम्म भने नन्द परीक्षामा फेल भएको कुरालाई समेत ‘यो अलक्षिना डङ्किनीले के के टुनामुना गरेर नन्दको दिमाग बिगारी’ भन्ने आरोप समेत खेप्नु परेको थियो उसले। सम्झिल्याउँदा सेवाढोग त के, मुखसम्म देख्न नपरे पनि हुन्थ्यो जस्तो भएको थियो बुहारीलाई।
यी नै दुई सासू–बुहारीको जम्काभेट थियो त्यो। बुहारीलाई लागेको थियो, ‘आफूले जस्तै सासूले पनि उसलाई देखिदेखि नबोलाएकी हो। मैले चाहिँ किन बोल्नु पर्ने?’ तर त्यो उसको भ्रम थियो कि साँचो भगवान जाने।
बुहारी तर्किएर हिँडी आफ्नो बाटो। सासूलाई नोस्टाजियाले समात्यो। अतीतका विविध प्रिय–अप्रिय दृष्यहरू आएर बाटो छेके। त्यही अपठित निम्नवर्गीय बुहारीले एउटा नाति जन्माएकी थिई। उता, नर्सिङ गरेकी छोरी र एमडी गरेको डाक्टरबाट अर्को नातिको जन्म भएको थियो। दुवै वर्ष चारेकका भएका थिए। एकदिन छोरीको छोरालाई सकिनसकी काँधमा बोकेर बुढी पसलतिर जाँदै थिइन्। गरिब बुहारीले जन्माएको नाति हजुरआमालाई पछ्याउँदै पछिपछि हिँड्दै थियो।
गल्लीका कुकुरलाई पनि त्यो दृष्य अनौठो लागेछ क्यार। सुतिरहेको कुकुर जुरूक्क उठेर भुक्न थाल्यो। हजुरआमालाई पछ्याइरहेको नाति टपक्क ढुंगो टिपेर कुकुरमाथि जाइलाग्यो, ‘मेरो आमालाई टोक् त, तेरो टाउको फुटाइदिन्छु।’ कुकुर भाग्यो। उता नर्सिङ गरेकी छोरीको छोरो चाहिँ, ‘टोक बुढीलाई टोक’ भनेर काँधमाथि बुरुकबुरुक उफ्रिरहेको थियो।
हातमा ढुङ्गो बोकर हजुरआमाको सुरक्षार्थ ढाल बनेर खडा भएको त्यही नाबालक नातिलाई सम्झी। हिँड्न नसकेर हातगोडा कटकट खाइरहेका थिए। त्यही गरिब बुहारीले हातगोडामा तेल गाएर माडिदिएको सम्झी। र धेरै पढेका, धनीमानी र संभ्रान्त छोराबुहारी र छोरीज्वाइँहरूले भर्खरै दिएको उपहार ‘एक्लोपन’ सम्झी। आँखा टिल्पिलाए। बादलले बाटो ढाक्यो। हातगोडा फतक्क गले। बोकी रहेको तारको झोला भुइँमा बिसाइ। थकित र गलित ज्यानलाई बाटोको छेउमा टुसुक्क टेकाइ। र, खुइय्य गरेर थकाइ मेटाइ। अघि हेरी। पछि हेरी। दायाँ हेरी। बायाँ हेरी। सायद हुनसक्छ त्यही नातिको झझल्कोले पिरोलिएकी थिई होली।
एकजना नौजवान बटुवा टुप्लुक्क टुपुल्किए।
‘हजुरआमा, कहाँ पुग्नुपर्ने? रिँगटा लाग्यो कि? खै ल्याउनुस् त झोला म बोकिदिन्छु,’ ती अन्जान नौजवानको कुरा सुनेर आमाले उसको मुखमा पुलुक्क हेरी। हेरिरही।
‘बाबु, पढेलेखेका मान्छे ज्ञानी हुनुपर्ने कि अनपढ?’ उठ्ने सहारा खोज्दै दायाँ हात ती अन्जान युवातिर पसारिन्।
‘यो पनि सोध्ने कुरा हो र आमा? किन यस्तो कुरा सोध्नु भएको? पढेलेखेकै मान्छे ज्ञानी हुन्छन् नि,’ दुवै हातको सहारा दिँदै ती युवकले बुढीआमालाई उठाए।
‘बाबुले कति पढेका छौ?’ झोलाको लोती समाउँदै आमाले सोधिन्।
‘कहाँ पढ्नु आमा, साक्षरसम्म भएको छु, १० सम्म,’ आमाको हातबाट झोलाको लोती आफूतिर तान्दै प्रतिप्रश्न गर्यो, ‘किन यस्तो कुरा गर्नुभएको आमा? तपाईं कहाँसम्म पुग्नु पर्ने?’
‘म एउटी पढेलेखेकी अज्ञानी महिला हुँ बाबु। मसित मनग्गे भौतिक सम्पत्ति छ। म लेख्नपढ गर्न जान्दछु। त्यत्ति हुँदाहुँदै पनि म आज जुन दुर्गति भोगिरहेको छु मेरो आफ्नै अज्ञानताको कारणले भोगिरहेको छु। पढेलेखेर मात्रै ज्ञानको ज्योति बल्दैन बाबु। पढ्नुलेख्नु भनेको त दियोमा बत्ती र वर्तनको जोहो गर्नुमात्रै रहेछ। जबसम्म त्यसलाई बालिँदैन त्यसबाट ज्योति प्रकट हुँदैन। म त्यही बल्न नसकेको दियोको बत्ती हुँ।
एकपटक त्यही गरिब बुहारीबाट जन्मिएको मेरो नाबालक नातिले मलाई बाल्ने कोसिस गरेको थियो। तर मभित्रको शिक्षा र दौलतको अहङ्कारले मलाई बल्नै दिएन। म त्यही बल्न नसकेको दियोको बत्ती हुँ। र, म त्यही नातिको खोजीमा निस्किएकी अज्ञानी, अलक्षिणा हजुरआमा हुँ, बाबु।’
बुढीआमा ती अन्जान युवाको हात समाएर एकोहोरो बोलिरहिन्। एकोहोरो हिँडिरहिन्। त्यो अन्जान युवाले बुढीआमाको कुराको मेलोमेसो पाएको भए त मरिजाउँ। बुढीआमालाई कहाँ लगेर छोडिदिउँ त भन्नेमा अल्झिएको थियो युवाको ध्यान। फेरि सोध्यो, ‘आमा, तपाईं कहाँसम्म जाने? कहाँ छोडिदिनु तपाईंलाई?’
‘कहाँसम्म लान सक्छौं, त्यही लगेर छोडिदेऊ बाबु। मेरो कारणले तिम्रो काममा बाधा नपरोस्, बस,’ यति भनेर बुढीआमाले यताउता हेरिन्।
युवा पर्यो छक्क। भैगयो अक्क न वक्क।
‘यो बुढी सद्धे हो कि ठिस् हो’ भन्ने सोच्दै अघि बढ्यो।
‘तर, कहाँसम्म अघि बढ्ने?’ सोच्दै थियो। दिमागमा घन्टी बज्यो। वास्तवमा घन्टी चाहिँ नजिकैको मन्दिरमा बजेको थियो। त्यही मन्दिरको प्राङ्गणमा बोझ बिसाउने निर्णय गर्यो।
‘ल हजुरआमा तपाईंलाई मैले यहीँसम्म ल्याइपुर्याउन सकें। यही मन्दिरमा बस्नुस्। यहाँ पाप पखाल्न मात्रै होइन। भला मान्छेहरू धर्म कमाउन पनि आउँछन्। भिक्षादान गर्छन्। ग्रहण गर्नुस्। वा तपाईंको नाति पनि आउने हो कि?’ मन्दिरको पेटीमा राखिदिँदै युवा बिदा भयो।
‘हुन्छ बाबु, जानुस्। ईश्वरले बाबुको कल्याण गरून्। यहाँसम्म ल्याइदिनु भयो। धन्यवाद।’
बुढीआमाले अन्जान युवालाई बिदा गरिन्। र, सोचिन् ‘के यो मन्दिरमा बस्ने देउताले मेरो पाप पखालेर नातिसित भेट गराइदिन्छन् होला त?’
त्यो अन्जान नवयुवाले सोचेको थियो कि बुढी आमालाई त्यहाँ छोडेर टाउकाको बोझ बिसाए। तर ऊ भ्रममा थियो। उसले त ती बुढी आमाको बुढीएको कायमात्रै त्यहाँ छोडेको थियो। बोझ त उससितै उसैको थाप्लोमा गएको थियो।
‘ती आमैले के खाइन् होला? कसैले खान दियो कि दिएन होला? कति दिनदेखि भोकै थिइन्? को होलिन् ती बुढीआमा? हेरचाह गर्ने छोरानाति होलान् कि नहोलान्? कुरा सुन्दा खानै नपाउने दरिद्र जस्तो त लाग्दैन थियो। फेरि आफूलाई पढेलेखेकी अज्ञानी भन्थिन्। के भनेको होला त्यो? डिप्रेसनकी बिमारी पो थिइन् कि, अस्पतालबाट हिँडेकी... थुक्क, प्रहरी चौकीमा जिम्मा दिएको भए राम्रो हुन्थ्यो क्यार?’
एउटी अपरिचित बुढीआमाले उसको थाप्लोमा हालिदिएको बोझ उति गह्रौ थियो कि जुन दिनभरि उसको टाउकोबाट उत्रिएन।
घर आयो। बहिनी उसैगरी हाँसीखुसी थिई। आमा उसैगरी उजाड चेहरा लिएर शान्त थिइन्। जसरी धरती आफ्नो थाप्लोमा अनेकखण्डका युद्ध, गोला–बारूद, हत्या–हिंसा, प्राकृतिक–अप्राकृतिक प्रकोप र त्यसबाट निसृत भोकमरी, रोगव्याध, अनाथ, टुहुरा सन्तानको सन्ताप, पीडा, वेदना बोकेर चुपचाप बसेकी छिन्। तर, त्यो अन्जान नवयुवकको टाउकोमा भने ती बुढीआमा छिरेर उसको दिमाग खराब गरिरहेकी थिइन्।
खान बस्दा आमाले उसको बेचैन दिमागको सुइँको पाइहालिन् र सोधिन्, ‘के सोच्दै छस्, तेरो दिमाग त घरमा छ जस्तो छैन। के हो कुरा?’
उसले आमालाई ढाँटेन। ढाँट्नै किन परेको थियो र! सबै कुरा बेलिविस्तार लगायो। र, आफूलाई ती बुढी आमालाई मन्दिरमा अलपत्र छोडेर हिँडेकोमा कता-कता ठीक नगरेको जस्तो लागेको कुरा आमालाई कह्यो।
‘एकदमै ठीक गरिस् बाबु। मन्दिर नै सही ठाउँ हो त्यस्ता मान्छेको लागि। तैंले आफ्नो कर्तव्य पूरा गरिस्। अब बाँकी कर्तव्य अरूहरूलाई पूरा गर्न दे। एकलास निर्जन ठाउँमा अलपत्र छोडेर हिँडेको भए पो तेरो गल्ती हुन्छ। पीर–सुर्ता नलिकन सुत्। थाकेको होलास्। भोलि काममा जानु छ।’
आमाले बेलुकाको धन्दा गर्दै छोरालाई सम्झाइबुझाइ गरिन्। र, सबै आआफ्ना बिस्तरातिर लागे।
भोलिपल्ट, सधैं झैं आमाले खाना बनाइन्। छोरी खानपिन सकेर कलेजतिर लागिन्। छोरो कामतिर लाग्यो।
तर आमा?
आमा छोराछोरी हिँडिसकेपछि अघिल्लो रात छोराले बयान गरेको मन्दिरतिर लागिन्।
किन?
किनभने उनको मनमा शंका र खुल्दुली पलाएको थियो कि कतै ती बुढी महिला उसले सब्जी किनेर आउँदाखेरि बाटामा देखेको आफ्नै सासू त होइनन्! कतै उनी आफूले हिजो गरेको गल्तीको भूलसुधार गर्ने ठाउँ त खोजिरहेकी छैनन्। यदि त्यसो हो भने किन मौका नदिने? आखिर गल्ती मान्छेले गर्छ भने, गल्तीको सुधार पनि त मान्छेबाटै हुने हो।
बुहारी मन्दिरमा पुग्दा दोलाईं घुम्लुङ्ग ओढेर मन्दिरको पेटीमा सुतिरहेको आकृतिमा उसको नजर पर्यो। यतिबेलासम्म सुतिरहेको देख्दा मनमा चस्का पनि पस्यो कि कतै बुढी भगवानकी प्यारी त भैसकिनन्। विस्तारै दोलाईं उठाएर हेरिन्। बुढी बिहानको पारिलो घामको रापिलो काखमा मस्त निदाइरहेकी थिइन्। सोचिन्, सायद बेलुकाको चिसो ओसमा निद्रा परेनछ क्यार।
उनको आशंकाले मेल खायो। ती बुढीआमा उनले अघिल्लो दिन सब्जीमण्डी अगाडि देखेकी सासू नै थिइन्। झकझक्याइन्। बुढीले विस्तारै आँखा खोलिन्। आँखा मिचिन् र गहिरिएर हेरिन्। उनलाई लाग्यो मन्दिर सफासुग्घर गर्ने परिचारिका रहिछिन् क्यार! सकिनसकी झोला बोक्दै ठाउँ सरिन्, ‘नानी, अबेलासम्म सुतेछु।’
सासूआमाको त्यो हर्कतबाट बुहारीलाई थाहा लाग्यो हिजो सासूबुढीले आफूलाई देखेकै रहिनछिन्। बुहारीले आफूलाई चिनाइन् र घर लिएर आइन्। सासूआमाले माफी मागिन्, प्रायश्चित्त गरिन्। बुहारीले बिलौना पोखिन्, दुःख व्यक्त गरिन्। दुवै सासूबुहारीले आँसुले मन माझामाझ गरे। आखिर दुई आत्माको माझामाझ र मैथुनपछि प्रायश्चित्त र क्षमादानको जन्म भयो। प्रायश्चित्त र क्षमादान साटासाट गरे। र, बिना कुनै बिचौलिया, बिना कुनै शुल्क हिजोको पीडादायक बिछोड मिलनमा बद्लियो।
छोरो कामबाट, छोरी कलेजबाट घर फर्किंदा आमा र मन्दिरमा छोडेकी ती बुढीआमा देखेर छोराछोरी छक्क परे। सासूबुहारी अथवा आमा र हजुरआमा खाना पकाउँदै आफ्नो कथा सुनाए। छोराछोरी अथवा नातिनातिनी चाखपूर्वक आफ्ना कथा सुने।
ती बुढीआमा अर्थात् ईश्वरी खदालको निकै ठूलो तकझक रहेछ, गाउँमा। धनीमानी पढेलेखेकी, त्यसमाथि प्रधानपञ्चकी स्वास्नी, सानु तुजुक थिएन अरे। लोग्नेको परमधाम भएपछि घरमा उसकै हैकम चल्थ्यो। तर जेठो छोराले आफ्नो खुसी कमलासित बिहे गरेपछि छोराबुहारीसित रिसले आगो भएकी रहिछिन्। कमलाको नखाशिखान्त सुन्दरताले खदाल्नी बजैको छोरो नारायण मात्रै होइन सबै फिदा हुन्थे अरे। अरूहरूलाई वास्ता नगरी कमलाले विवाह नारायणसित गरेकी रहिछिन्।
कमलाको माइतीको आर्थिक अवस्था कमजोर रहेछ। खदाल्नी बजै भन्थिन् अरे, ‘त्यसैको अनुहार चाटेर बस्। अरूथोक त त्योबाट के हुने हो र? बाबुआमा भिखारी भइहाले। बल्लतल्ल आजको छाक टर्यो भने भोलिको छाक जुटाउनै धौ–धौ हुन्छ। बाबुको इज्जत माटैमा मिलाइस्, कुलाङ्गार।’
तर बुहारी कमला भने गाई प्राणी। जति नै गरे पनि सहने– कर्तव्य परायण। कमलाको दूरदिन तब सुरू भयो जब एउटा दुर्घटनामा उनको श्रीमानको देहान्त भयो। त्यसपछि त सासूको गालीमात्रै होइन, लात्ती र मुक्कासमेत खानुपर्ने दिन सुरू भए।
अन्ततः कमलाले आफ्नो ज्यान र छोराछोरीको भविष्यको लागि घर नै छोडेर हिँड्नुपर्ने दिन आयो। र, लगभग २० वर्ष पहिला चार वर्षको छोरो निधि र दुई वर्षकी छोरी निष्ठालाई काखी च्यापेर निस्किएकी रहिछन्।
जब पढेलेखेका छोराबुहारी र छोरीज्वाइँलाई खदाल्नी बजै घाडो र झर्को लाग्नथाल्यो, उनीहरूको स्वतन्त्रता र आधुनिक जीवनचर्यामा बाधा बन्न थालिन् तब बुढीआमाको घैंटोमा घाम लाग्यो। उसले आफ्नो शिक्षा र दौलतरूपी दियोलाई ज्ञानरूपी अग्निले प्रदीपन गर्न नसकेकोमा पश्चाताप भयो।
त्यो शिक्षाको के काम जसले अशिक्षितलाई मार्ग निर्देश गर्न सक्दैन। त्यस्तो दौलतको के काम जुन दौलत असहाय र दीनहीनहरूको काम आउँदैन। जब खदाल्नी बजैले ठक्कर खाइन्, उनको बुद्धिको भाँडोको बिर्को खुल्यो।
एउटी सासूले मेरी बुहारी शिक्षित छे भनेर के गर्व गर्नु जुन बुहारी अशिक्षित सासूको खिल्ली उडाउँछे। सासू भन्नै घिनाउँछे। त्यस्ती शिक्षित सासूको के काम जसले अशिक्षित बुहारीलाई शिक्षाको प्रकाशले दीप्त गर्नुको सट्टा हेला र उपहास गर्छे। घरबाटै खेद्छे।
बुढीआमा निधि र निष्ठालाई दुईपट्टि राखेर भन्छिन्, ‘मैले तिमीहरूलाई घरबाट खेदेर अक्षम्य अन्याय गरेँ। मैले तिमीहरूको बाबुको मृत्युको कारण तिम्री आमाको थाप्लोमा हालेर ठूलो पाप गरेँ। जुन दुर्घटनामा तिम्रो बाबु मात्रै होइन अरू पनि धेरै मान्छे मरेका थिए। तर म तिमीहरूलाई तिमीहरूको हकबाट बञ्चित गरेर पाप र अन्यायको घडा भर्न चाहन्नँ। हिँड घर जाउँ। म तिमीहरूको हक तिमीहरूलाई सुम्पिएर बाँकी जुनी पापमोक्षको लागि कुनै मन्दिर या कुटीमा अर्पित गर्न चहान्छु। प्रायश्चित्त गर्न चाहन्छु। म भन्दिनँ मलाई माफ गर। किनभने म त्यो लायक छैन। म धन्य भएँ, किनभने मैले तिमीहरूलाई भेटेँ।’
‘होइन आमा, तपाईंको माया बिना हामी अधूरा, अपूरा र टुहुरा हुन्छौं। हामीलाई तपाईंको न्यानो माया चाहिन्छ। यत्रा वर्ष तपाईंको माया नपाएर हाम्रो आँत खहरिएको छ। मायाको घडा घोप्ट्याएर हाम्रो खरिएको आँतलाई शीतल पारिदिनोस् आमा। यदि तपाईं बिना त्यहाँ बस्नु छ भने किन जाने घर? हामी जाँदैनौं। यहीँ ठीक छ,’ दुवै नातिनातिनी सुक्क–सुक्क गर्दै आफ्नो बचपनदेखि गुम्सिएर बसेको बह पोख्छन्।
‘आमा, मैले हजुरलाई कहिल्यै नराम्रो नजरले हेरिनँ। जहिले पनि तपाईंको मन जित्ने कोसिसमा लागेँ। हजुरको छोराले पनि त्यही सिकाउनु हुन्थ्यो- आमाको मन हो एकदिन पग्लिन्छ पग्लिन्छ। बाहिर रिसाएजस्तो गरेको मात्रै हो। भित्रभित्रै हामीलाई माया गर्नुहुन्छ। तर, मैले तपाईंको मन जित्नै सकिनँ आमा। उहाँको देहवासनपछि मलाई बस्न अति गाह्रो भयो। त्यसैले...’ कुरा टुङ्याउन सकिनन् कमलाले।
‘अनि आमा! देवर देवरानी, नन्द...?’
‘सबै जना देश छोडेर हिँडे। उनीहरूले यति पढेछन् कि यस्तो देशमा बस्नै लाज भयो अरे। अनि मलाई आमा भन्न पनि...। त्यही पनि जाउँ भन्दै थिए। मेरो मनले मानेन,’ आमाले सुकसुकाउँदै बुहारीलाई बीचैमा रोकेर भनिन्, ‘तिमीहरूको हकको नासो बुझाउनु पर्ने थियो एकातिर। अपराधबोधले थिचेर जिउनै कठिन भएको थियो अर्कोतिर। दैवले संयोग जुटाइदिए। बोझमुक्त भएको छु...।’
सबैजना खुसी, याचना, विलौना र प्रायश्चित मिश्रित आँसु र हाँसोमा रमाउन थाले। बुढीआमाले विदेशिएका छोरा–बुहारी र छोरी–ज्वाइँलाई सम्झिन् र यस्तै प्यारो अर्को जम्काभेटको प्रार्थना गर्दै चार थोपा आँसु खसालिन्। र, नातिनातिनीलाई अंगालो हालिन्।