कल्पनाको अन्तरीक्षमा विचरण गर्दैगर्दा
जब भेटिए हाम्रा आँखाहरू
कम्पित देह जुनको अडेस लाग्न पुग्छ
अनायास तेज थपिन्छ मेरा कोषहरूमा
उतिखेरै बर्सिए खुसीका उल्कापात मनभरि
तिमी त त्यो प्रेमपुञ्ज हौं
जसलाई म सूर्य बनेर घुमिरहन चाहन्छु।
यो चर्म पनि चञ्चल छ, चलाख छ
कसरी-कसरी पक्रिन्छ तिम्रा चोर स्पर्शहरू
र कहाँ राख्छ खै लुकाएर
अनौठोसँग सम्हालेको छ
जसरी कोसौँ परबाट
रसहरू बोकी ल्याउँछ माहुरीले।
ए! रानीमौरी
तिम्रो महकमा मोहित छन् मेरा चेतनाहरू
अवचेतन मनको सबैभन्दा भित्री पत्रमा
तिम्रो तस्वीर अल्झिएको छ।
तिमी साथमा हुँदा संसार बिर्सनु सामान्य हो
तिमी नहुँदा यहाँ आफैंलाई त बिर्सन्छु
तिम्रो स्पर्शको बुँदले नरुझेसम्म
फक्रिने छैन, मुस्कुराउने छैनन्
गुलाफका पत्ताहरू मेरो अनुहारमा।
अचानक
एउटा बिसौनीमा भेटिएका दुई फकिर हामी
हेर्दाहेर्दै माकुरा बनिदियो विश्वास र
मसिनो जालो निकालेर जेलिदियो दुई मन
जालो जब्बर बनेर निस्कन्छ या जलतरासी?
यो झ्याँउकिरी हृदयले भने
जोडजोडले पुकार्दै छ तिम्रो नाम।
एउटा अनौठो छाल उठिरहेछ मभित्र
तिनका सुस्केरा भनिरहेछन्-
अर्को बिसौनीसम्म
पैतालाहरूको डोब एउटै हुनेछ।
अर्को बिसौनीसम्म
धड्कनले सिर्जना गर्नेछ नवीनतम् धुन।
अर्को बिसौनीसम्म
जतनसँग कसैले बटुल्नेछ हाँसोका कणहरू।
अर्को बिसौनीसम्म,
कसैले लेखिसक्नेछ सुन्दर कहानी।
अर्को बिसौनीसम्म
बनिसक्नेछ एउटा सुन्दर प्रेमाज्य।
जब उघ्रन्छन् स्वप्न कक्षको आग्लो
म हुत्तिएर आइपुग्छु वर्तमानको टाकुरामा
देख्छु पहराको कोख चिरिएको साँघुरो बाटो
देख्छु हिम्मतको राफ तिम्रो गालामा
पर्खिरहेछु तिम्रो मुस्कान सहितको स्वीकृति
जहाँ भेटिन्छन् पवित्र सम्बन्धको सेतु
त्यहीबाट तय गर्नुछ हामीले
हाम्रो जीवनको सार्थक यात्रा।