एकोहोरो पारि क्षितिज हेरेर टोलाइरहेछु। दौडिरहेछन् सबै-सबै अफ्नै रफ्तारमा बिहानीको अफिस भेटाउन। म भने टोलाइरहेछु त्यो पारि क्षितिज हेरेर। एउटा चरो अचानक मेरै छेउबाट वेगले उडेर गयो। उसलाई पनि हतार छ होला।
हेरिरहेछु त्यही चरालाई पर पर, अलप भएको मेरो आँखाको नजरबाट। सोचिरहेछु कहाँबाट आए होला? कहाँ जाने होला? उसलाई त यो सहरमा बस्नलाई ठाउँ पनि छैन, एक त रुख बिरुवा छैनन् अनि सहरको गाइँगुइँमा त्यो प्रकृतिको बीचमा रमाउने प्राणाीलाई के मनपर्दो हो सहर।
हुन त मलाई पनि यो सहर मन पर्दैन तर पनि त बसिरहेछु। त्यस्तै भएको हो कि त्यसलाई पनि। फेरि ऊ त उड्न सक्छ। मिनेट भरमै कहाँ-कहाँ जान सक्छ। त्यस्तै म पनि उड्न सक्ने भए त! रोगले कुँजिएर कतै हिँड्न नसक्ने बिरामी जस्तै भएको छु। सहर छोड्न नि सक्दिनँ, बस्न त परिहाल्यो।
निरास हुँदै थिए। त्यत्तिकैमा पछाडिबाट कसैले धकेलेछ, झसंग भएँ। कति हतार छ मान्छेहरूलाई, मिनेट-मिनेटमा मोबाइल खोल्दै समय हेरिरहेछन्। समयले ०९:५० पनि बजाइसकेछ। सबैजनालाई इमान्दार बन्नुछ। म यत्तिकै यस भिडमा थपिन हिँडिरहेछु। म किन हिँडिरहेछु त्यो मलाई पनि थाहा छैन।
हिँडिरहेछु, हेरिरहेछु सहरको दृष्य। बाहिरबाट लेप लागेको बढेमानको भवन अगाडि ठिंग उभिरहेको छु। सबै मान्छे त्यही भवन जस्तै लाग्छ। बाहिरबाट हेर्दा साँच्चिकै यसले हाम्रो परम्परा जोगाएको छ, आफ्नै मौलिकतामा बनाएको भवन जस्तो लाग्छ। जब अलि नजिकबाट हेर्यो भने पाइँदैन फरक, छेउछाउका भवन र त्यसमा। त्यस्तै त्यस्तै लेप लागेका मानिसहरू छन् सहरमा।
'सहरको भिडमा म एक्लो एक्लो छु' भन्ने गीत मनमनै गुनगुनाउन मन लागिरहेछ तर पनि बाहिर सडक वारिपारि दृष्यले म त्यो पनि गर्न सकिरहेको छैन। विस्तारै हिँडिरहेछु र अझै राम्रो दृष्य हेर्न पुलतिर बरालिने निदो गर्छु। लाग्छ कुनै ठूलो कायाँपलट गर्ने निर्णय गर्दैछु, मन खुसी हुन्छ। अनि विस्तारै आकाशे पुलतिर लाग्छु।
घडीमा १०:२० पनि भइसकेछ। कति मानिस समयमा अफिस पुग्न नसकेकोमा निरास अनुहार लिएर दौडिरहेछन्, कोही अझै पनि हतार-हतार हिँडी नै रहेछन्। विस्तारै चारैतिर हेर्दै पुलतिर चढिरहेछु र सोचिरहेछु, म कहिले यी मानिस जस्तै हतारमा हिँड्न पर्ने हो। म पनि त सहरमा काम गर्न भन्दै घरबाट हिँडेको आज एक महिनाभन्दा बढी भइसकेछ।
केही पाउँछु होला काम? कसैले फोन गर्छ कि भन्ने आशमा बेला बेलामा मोबाइल हेरिरहेछु, सिँढी उक्लिरहेछु। जब पुलको उचाइँमा पुग्दै थिएँ, दुई जना असहाय 'मर्न कसैलाई रहर हुँदैन’ भन्ने गीत बजाएर सहयोग मागिरहेथे। मैले पनि गोजीबाट केही रूपैयाँ झिकेर उनको हातमा राखिदिएँ। मनमनै धन्यवाद दिएँ मेरो बाबाआमालाई।
मैले अझै कमाउन त सकेको छैन। त्यही पनि असहायलाई दिन दश/बिस रूपैयाँको जोहो त म मलाई खर्च पठाएकोबाट पनि गर्नसक्छु। यो भन्दैमा म बढी दानी छु वा सहयोग गर्नेछु भन्ने होइन। म अहिले त बाबाको पैसामा नै पालिएको छु भने मैले के सहयोग गर्न सक्थें!
विस्तारै पुलबाट उता बबरमहल र यता मिनभवनतिर दृष्य पालैपालो नियालिरहेछु। पुलबाट मानिसहरूको आवतजावत दश बजेपछि पनि कत्ति नि कम भएको छैन। म हेरिरहेछु, गाडीहरू दौडिरहेछन्। समय पनि विस्तारै बढिरहेछ, घाम पनि मेरै टाउको माथि आइरहेछ। जाडोको मौसम घामको किरणसँगै सहरको दृष्य हेरिरहेछु।
सोचिरहेछु अनेक, कतिबेला आफ्नै गाउँमा सुनसान भएको कुरा आइरहेछ, सबै मानिसहरू यसरी नै सहर र विदेशतिर गए भने त्यो गाउँको के होला? त्यो हाम्रा पूर्खा र हजुरबा हजुरआमाको मेहनतको के होला? मनमनै चिसो पस्छ। दिनमा मुस्किलले दुई/चार वटा गाडी मात्रै ओहोरदोहोर गर्ने गाउँमा, यहाँ त पुलबाट सयौं गाडीहरू दौडेको देख्दा अचम्म मान्छु। अनि निरास हुन्छु गाउँ सम्झेर।
पुलबाट एकोहोरो दृष्य हेरिरहेछु। त्यही संसद भवनमा पनि विस्तारै चहलपहल बढ्दै गएको छ। आज बैठक रहेछ क्यारे तर त्यसबारे त्यति सोच्न मन छैन मलाई। गाउँमा चुनावका बेला काठमाडौं आएपछि मसँग खबर गर्नू, राम्रो काम लगाइदिन्छु भन्दै जितेर आएका अहिले वास्ता नै गर्न छाडे। मैले त उतिबेलै भनेको तर बाबामम्मीले गर्दा दिइयो भोट जागीरको आशमा। अहिले सम्झँदा पनि रिस उठेर आउँछ।
घडीले १२ भन्दा बढी बजाइसकेछ। चहलपहल उस्तै छ। मनमा अब चियाको तलतल लागिरहेछ। अब पुलबाट ओर्लिने निर्णयमा पुग्छु। अझै पनि परको दृष्य हेर्न मन लागिरहेछ। पुलको सिँढी झरिरहेछु र एकछिन हिँडेर यता होस्टेल तिर चिया पिउने ठाउँमा जान अघि बढिरहेछु।
उता संसद भवनतिर गाडीको आगमन बढ्दै गइरहेको छ। मनमनै ती गाडी देखेर रिस उठिरहेछ। ती सबै किन-किन निरास र झुट मात्र भएका मानिस जस्तै लाग्छ। विस्तारै अगाडि बढिरहेछु।
पछाडि 'सस्तो बजारभित्र सबै सामान मिलाएर' भन्ने आवाज गुन्जिरहेछ। म पनि ती सामान र्हेदै अगाडि बढिरहेछु र पैसा कमाएर किन्ने कल्पना बुन्दै अगाडि बढ्छु। चिया पसल भित्र छिर्छु र एक कप चिया अर्डरसँगै एक टेबलको छेउतिर बसेर टोलाइरहन्छु। मानिसहरूको भिड यहाँ पनि उत्तिकै छ। चिया-चुरोट बेच्ने हतारमा छन् दाइ पनि।
मनमनै मैले पनि यस्तै गर्नुपर्छ कि भन्ने सोच आइरहेछ। तर आँट गर्न भने सकिरहेको छैन। चिया कुरिरहेछु र हेरिरहेछु पसल वारिपारि। त्यत्तिकैमा मोबाइलको घन्टी बज्छ र झसंग हुन्छु। छिटोछिटो फोन हेर्छु, मम्मीको फोन रहेछ।
हेलो! हजुर मम्मी दर्शन, सन्चै हुनुहुन्छ?
'सन्चै, तँ सन्चै छस्?'
सन्चै अनि बाबा?
'बाबा नि सन्चै हुनुहुन्छ, अनि के गर्दै छस् त?'
म यत्तिकै मम्मी। काम खोजिरहेको छु, पाउँछु होला एक/दुई दिनमा।
'हो र? कहिलेसम्म खोज्छस् त काम? सुन् त, त्यो तल्तिर ठूलाबाको छोरा दिपक छ नि, त्यो त जापान जाने भएछ रे। थाह पाइस्?'
नाई मम्मी।
'अस्ती ठूलाबाले भन्दै हुनुहुन्थ्यो, तिम्रो छोरालाई नि ट्राइ गर्न भन त भन्दै हुनुहुन्थ्यो। कुरा गर् त त्यो दाइसँग कहाँबाट गरेका रहेछन्।'
हस् मम्मी। म जान्नँ बाहिर, यही पउछु होला एक/दुई दिनमा, त्यही नि बुझ्छु नि।
'पाउँछु होला भनेर कति दिन बस्छस्? अर्को महिना त्यो पोहोर साल तँलाई फी तिर्दा लिएको ऋण तिर्नुछ।'
हो, त्यही मिलाउनू न म तिर्छु अलि पछि।
अनुहारको रंग उड्दै गएको छ। यत्तिकैमा चिया पनि आउँछ, विस्तारै दाइ चिया टेबलमा राखेर जानुहुन्छ। म मम्मीलाई सोध्छु, 'चिया खानुभो?'
'नाई, अब खानुपर्ला नि। बाबा खाना खाएर सुत्नुभाछ। उठेपछि पकाउनु पर्ला नि एकैचोटि। ए सुन् त, विशाल अस्ती घर आएको छ रे। पर्सी पासपोर्ट बनाएर फर्किने रे। केही पठाइदिउँ त्योसँग?'
'नाई-नाई मम्मी, केही चाहिँदैन।'
'खाजा के खाएको छस् त? सातु र रोटी बनाएर पठाइदिउँ?'
'पर्दैन, पर्दैन।'
'सातु र रोटी बनाएर पढाइदिन्छु, लिन गएस्।'
'हस् मम्मी।'
'सुन् त, छिटो काम खोजेर लाग् एकतिर, कि विदेशको तयारी गर्। यत्तिकै बस्नु हुन्न।'
किन-किन मम्मीसँग बोल्न पनि धक लागिरहेछ। आफ्नो अहमले घरका परिवारले दुःख पाएको भान भइरहेछ। पढाइ सकेर राम्रो काम पाउने आशा पनि विस्तारै मर्दै गइरहेछ। उता चिया पनि सेलाइसकेछ। चिसो चिया दुखी हुँदै पिउँछु र निरास हुँदै लाग्छु होस्टेलतिर।
यस्तै बरालिएर यी गल्लीहरूमा हिँड्न लागेको पनि आज ३०/४० दिन भइसकेछ। थाहा छैन अझै कति दिन यत्तिकै बरालिन्छु। घडीमा दुई पनि बजिसकेछ। खाजा खाने समय भएछ भन्दै लाग्छु होस्टेलतिरै।