दसैं नजिकिँदै थियो। केही खुसी साट्न त केही छरछिमेकका साथीभाइसँग सम्बन्ध गाँस्न अन्य चाडपर्वमा घर गए पनि नगए पनि दसैं तिहारमा चाहिँ घर जानैपर्थ्यो। किनकि दसैं भनेको दसैं हुने रहेछ, केबल बालापनमा मात्र।
बढ्दो उमेर अनि थपिँदै गएको जिम्मेवारीले मलाई विस्तारै पिरोलिरहेको थियो। फेरि अर्को दसैं नजिकियो। वर्ष दिनपछि आएको चाड घर त जानैपर्यो। केही कोसेलीको पोको र परिवारसँगै दसैं मनाउने धोको बोकेर म गाउँ गएँ।
गाउँ उदास लाग्दो थियो। न गाउँमा पिङ थिए, न ऊबेला पिङ मच्चाउने साथीभाइ नै। जता हेरे पनि घरमा आमाबुबा मात्रै। जसोतसो खुसी हुँदै दसैं राम्रै चलिरहेको थियो। ऊबेला टीका लगाउन नपाउँदै नयाँ लुगा लगाएर मामाघर जान हतार हुन्थ्यो तर अहिले कतिबेला टीका लगाइएला र कल्छे खेतको धान काटौँला भन्ने हतारो। सात वर्ष भएछ दसैंमा मामाघर नगएको पनि। यो पटक पनि उस्तै भयो। टीका सकेर हामी आफ्नो खेतमा धान भित्र्याउनतर्फ लाग्यौं।
धान भित्र्याउने चटारोले दसैं बढो खल्लो लाग्दैथियो। पूर्णिामाको दुई दिन अघि दिनभरिको काम सकेर थकान मेटाउन घरमा आराम गरिरहेको थिएँ। जति गाह्रो भए पनि एकपटक मोबाइल नहेरी निद्रा नलाग्ने रोगले मलाई पनि छोइसकेको थियो। मोबाइल हेर्दै फेसबुक स्क्रोल गर्दै थिएँ। एक्कासी एकजना युवतीले हेल्लो भन्दै सन्देश पठाइन्। मेरो लागि दसैं खल्लो भइरहेको थियो। उनको त्यो सन्देश प्राप्त हुनसाथ मेरो मनले म आफैंलाई भन्न थाल्यो- केटा, अब तेरो दसैं बल्ल सुरु भयो।
प्रेम गर्नेले साँच्चै प्रतीक्षा गर्न सक्नुपर्ने रहेछ। खासमा म उनको सन्देशको लामो समयदेखि प्रतीक्षामा थिए। प्रतीक्षा पछिको फल प्राप्त हुँदा खुसीको सीमा रहेन। जसलाई असाध्यै मन पराइन्छ उहीबाट सन्देश आएपछि सीमा रहोस् पनि कसरी? मैले उनको पहिलो सन्देशलाई उत्तर दिँदै क्रमशः हाम्रो कुराकानी लम्बाउनेतर्फ लागें।
प्रेमको सुरुआत साह्रै जटिल हुने रहेछ। प्रस्ताव राखौं त सिधैं ब्लक गरिदिने होला भन्ने पीर। मन सम्हाल्न एकदमै गाह्रो हुने रहेछ। पहिलो दिनमा मैले कयौं प्रयत्न गरें। घाँटीसम्म आइसकेको थियो तिमीलाई मन पराउँछु भनौं भनेर तर भन्न सकिनँ। किनकि म विश्वस्त थिएँ अब उनी मेरो जीवनमा आइसकिन् भनेर।
कुराकानी अगाडि बढिरहेको थियो। कहिले म त कहिले उनी जिस्किरहेका थियौं। के होला भन्ने भर नभएको मायामा फसेर मेरो सायदै त्यहीँ रात होला बिना निद्रा घाम झुल्केको। यसरी पहिलो रातमा नै हामीले धेरै कुराकानी गरिसकेका थियौं। बाँकी थियो त अब सँगै जीवन जिउने कुरा मात्र।
विस्तारै दिन बित्दै गयो। म्यासेजमा मात्र कुराकानी गरिरहेको मलाई अब उनको आवाज खुबै सुन्न मन लाग्न थाल्यो। मैले प्रस्ताव राख्ने बित्तिकै उनले सहजै स्विकार्दै फोन गर्न अनुमति दिइन्। घरमा सबै परिवारका अगाडि फोनमा बोल्न आँट कसरी आउँथ्यो! म घरबाट केही पर गएँ र पूर्णिामाको जून हेर्दै उनीसँग फोनमा गफिन थालें।
जसरी जूनले यो धर्तीलाई राति पनि उज्यालो पारिरहेको थियो, त्यसरी नै मेरो मन पनि उनको कुराले चम्किँदै गयो। म्यासेजमा भन्न नसकेको कुरा मैले फोनमा भन्ने आँट बटुलें। प्रेमको प्रस्ताव राख्न नपाउँदै उनले मलाई जवाफ फर्काइन्, 'म तपाईंलाई धेरै पहिलेदेखि मन पराउँथें।'
बुढापाका भन्थे- 'भाग्यमा लेखेपछि आफैं आउँछन्।' हो रहेछ भन्ने प्रमाणित बनाएर उनी मेरो जीवनमा आइन्। संयोग भनौं, मैले मात्र हैन उनले पनि मन पराएर आजसम्म हाम्रो सम्बन्ध राम्रै चलिरहेको छ। तर सम्बन्ध अगाडि बढाउने हो भने आफूले चलाउन सक्नुपर्ने रहेछ।
उनी ज्यादै रिसाउँछिन्। कहिलेकाहीँ त फकाएर पनि के साध्य जस्तो लाग्छ तर म सक्दिनँ किनकि उनको रिसमा पनि म माया देख्छु। सायद यहीँ भएर होला हामी निरन्तर बोलिरहेका छौँ।
वर्तमान राम्रै छ तर भविष्यको के ठेगान? कयौं भेटिए, थाहै नदिई छुट्टिए। सधैं सँगै तिम्रो भएर सिउँदो सजाउँछु भन्नेहरूको नाम सदाका लागि मनबाटै मेटिए। मैले संसार खोजें, म जस्तो कोही भेटिनँ। जब उनी भेटें, तब लाग्यो उनी जस्तो अरु कोही भेट्दिनँ। त्यसैले मैले उनी रोजें।