कुर्सीमा पुगेपछि
आफ्नै नेता पराई भयो
सेवा गर्न पठाएको
उसले त रजाइँ गर्यो
मेरो काँधमा चढेर
सपनाहरू लुटेर
मैले हुन्छ भनेपछि
भोट हाल्न तयार भएका
ती औँलाहरूले
ओठको सहारा लिएर
विकास र रोजगार मागिरहेका छन्
तर कुर्सिमा पुगेको ऊ
पराई भयो
सेवा गर्न पठाएको
उसले त रजाइँ गर्यो
उमेरको प्रवाह नगरी
दिन र रातलाई वास्ता नगरी
जसरी हुन्छ उसले जित्नै पर्छ
अनि मात्र बोलेको पूरा हुन्छ
सपना यस्तै बाढें
विश्वास गरी गरी
आज पुगेर कुर्सीमा
बोल्छ नानाथरी
मलाई पर्खाएर राख्छ
दलाललाई हजुर भन्छ
खेर गयो ती सबै बोली
पश्चताप लाग्छ आजभोलि
सेवा गर्छ भनेर पठाएको
उसले त रजाइँ गर्यो।
उसैद्वारा बाढिएका सपनाहरू
मेरा ओठहरूले भट्याइदिए
अविश्वास जनताले गरेकै थिए
मैले विश्वास जगाइदिएँ
राखेर बन्दुक मेरो काँधमा
पुग्न सफल भयो त्यो कुर्सीमा
आज ती सपनाहरूले
मलाई सोध्छन्
सोधिएका प्रश्नहरूको
पोको लिएर पुग्दा
ऊ भन्छ यस्ता त कोको आउँछन्
गोप्य ढोकाबाट फुत्त भाग्छ
मानौँ उसलाई सिद्ध्याउन
मैले मिसाइल बोकेर गएको छु
सेवा गर्छ भनेर पठाएको
उसले त रजाइँ गर्यो।