म भन्दिनँ तिमी नजाऊ परदेश भनी
तिमी निस्फिक्री जान सक्छौ
सुदूर परदेश
घुम्न सक्छौ विश्वका तमाम आश्चर्यहरू
बटुल्न सक्छौ वैश्विक अनुभूति
नाप्न सक्छौ मृतसागरको गहिराइ
पर्गेल्न सक्छौ
प्रशान्त महासागरको फैलावट
देख्न सक्छौ
साइवेरिया र अमेजनका
बोटवृक्षको सघनता
नियाल्न सक्छौ वैकालको
स्वच्छ पानीमा आफ्नै स्निग्ध अनुहार
हो, तिमीले हिरोसिमा र नागासाकीको
विगत र वर्तमान हेर्नुपर्छ
काला जातिको स्वर्णिम संघर्ष हेर्नुपर्छ
इदि अमिनको इतिहासदेखि
माओ र लेलिनको चिहानसम्मको
भिन्नता छुट्याउनु पर्छ
घुमेर विश्व परिवेश
विश्वका कुन-कुन साँध, सिमाना
छुट्याएको छ गोर्खाली रगत र पसिनाले
हेर्नैपर्छ र बुझ्नैपर्छ
आणविक युद्धको
बरबरता भोगेको यूरोप
अभाव, गरिबी र भोकमरीमा
पिल्सिएका अफ्रिकी देशहरूको
इतिहास र वर्तमान बुझ्नुपर्छ
कसरी उठेका छन् अरबियन
मरुभूमिमाथि समृद्ध इमारतहरू
साँचेर अनुभव लिएर विश्व परिवेशको
यथार्थ चित्र
तिमीले आफैं कोर्नुपर्छ आफ्नो
देशको मार्गचित्र र सुन्दर भविष्य
आज तिमी र तिमीहरू
जसरी गइरहेकाछौ सुदूर परदेशमा
त्यसरी नै फर्कनु एकदिन बटुलेर अनुभव
संगालेर वैश्विक अनुभूति
श्रृङ्गार्न आफ्नै मातृभूमि
तिमी उतै नअस्ताउनू, उतै नसेलाउनू
नभुल्नू आमाको काख र ममता
नबिर्सनू जहाँ पुगे पनि आफू हुर्किएको
आँगन र गाउँघर
यी हिमाल, झर्ना र खोलाहरूले
पहाड कन्दरा, भिर र फाँटहरूले
लेक र बेँसीहरूले
सदासदा पर्खिरहनेछन् तिमीलाई
तिम्रो सामर्थ्यलाई
तिम्रो सिर्जनशील पौरखलाई
तिम्रो बिदाइमा हल्लिएका हातहरू
तिम्रै स्वागतार्थ पुष्पगुच्छा लिएर पर्खिरहेछन्
नगल्दै हातहरू, नओइलाउँदै फूलहरू
नमुर्झाउँदै सपना र नमर्दै आश
तिमी फर्कनू
अवश्य फर्कनू।