यो सृष्टिमा जन्मेपछि मर्नु त सबैलाई छ। चाहे त्यो मानव होस् वा जनावर, या अन्य कुनै वस्तु नै किन नहोस् नष्ट भएर सबैलाई जानु नै छ। आफू रहुन्जेलसम्म सबैको राम्रो सोचौं, कसैको पनि नराम्रो नसोचौं। मान्छेको जिन्दगी न हो, आज हो कि भोलि कसैलाई थाहा छैन।
मेरो जिन्दगीमा एउटा दोषी गुलदस्ताले घटाएको अविस्मरणीय घटनाको कहानी छुट्टै खालको छ। जब मैले कसैको लागि केही उपहार स्वरूप दिन किनेको गुलदस्ताले नै मलाई तीनछक बनाइदियो।
असोजको अन्तिम अनि कात्तिकको पहिलो सातातिर हो, दसैंको रौनक चलिरहेको थियो। सबै स्कुल, कलेज, कार्यालयहरूले छुट्टी दिन सुरु गरिसकेका थिए। सबैलाई घर जाने जमर्को त्यति नै थियो जति अरुलाई थियो। केही मान्छेहरू काठमाडौं छोडेर घरतिर लागिसकेका थिए।
यही बीचमा मलाई घर जान मन नै भएन किनभने घरमा गएर नि के गर्नु? न आफ्नो दसैं नै छ, न त कोही साथीहरू नै। भएका सबैको बिहे भइसकेको थियो, बचेका अरु साथीहरू कोही कता थिए थाहा नै भएन। त्यही सोचमा डुब्दै थिएँ, घरदेखि बाबा ममीको फोन आएर सताइरहेको थियो। घर जाने मन नहुँदा नहुँदै पनि बाबा ममीले गर्दा जानैपर्ने भयो।
दसैं नभए के भो त, एकपटक घरतिर आए सबैसँग भेटघाट जस्तो पनि भइहाल्छ। त्यही निहुँमा गाउँघरको वातावरण पनि बुझिन्छ। एक महिना जति घुमघाम पनि गर्ने समय भइहाल्छ। आइज न भनेपछि जानु नै पर्यो।
जानुभन्दा पहिला कसैलाई भेटेर नै जाम न त भन्ने भो, र भेट्नलाई मेरो फेसबुकबाट भेटिएकी एउटी केटी साथीलाई भेट्ने निर्णय भयो। उसले नै मलाई भेट्ने प्रस्ताव राखिन्। मैले नि नाई भन्न सकिनँ। त्यस्तो व्यस्तता बावजुत पनि उसलाई भेट्ने समय निकालें। भेट्ने कुरा भयो अक्टोबर आठ तारिकका दिन बिहान।
अब कोही केटा केटीलाई पहिलो पटक भेट्न जाँदैछ भने के दिने भनेर सोचमग्न हुन्छ। के लिएर भेट्न जाने भनेर सोच्नु पर्यो मैले। अन्त्यमा एउटा उपाय आयो मेरो दिमागमा, अरु केही नलगौं। एउटा राम्रो गुलदस्ता लिने कुरा फाइनल भयो।
यो जोमनमा जसले जसलाई पनि फूलको झुप्पा दिनसक्छ, चाहे त्यो साथी होस् कुनै कार्यलयमा राम्रो काम गर्दा वा प्रेमी प्रेमिकाले पनि एकअर्कालाई दिनसक्छन्। मैले नि कसैलाई गुलदस्ता दिने निर्णय गरें। एउटा राम्रो गुलदस्ता त्यसमा विभिन्न रंगका गुलाबको फूलले बनेको एक आकर्षक गुलदस्ता किनेर दिने भए।
साँझ सात बजेतिर हुनुपर्छ, म र एउटा बहिनी त्यो सामान लिन गयौं। तीस मिनेट जति हिँडेपछि एउटा पसल मात्र खुला भेट्यौं। त्यहाँ छिर्यौं, छिरिसकेपछि त्यो कोठा नै विभिन्न थरीका फूलहरूले सुगन्धित थियो त्यो पसल। अब त्यहाँ पसलको दिदीलाई एउटा गुलदस्ता तयार पार्न लगायौं। त्यसमा पनि विभिन्न थरीका गुलाब मिसाएर एउटा राम्रो गुलदस्ता तयार गर्न लगायौं।
अन्त्यमा एउटा सोचेजस्तो गुलाबको गुलदस्ता तयार भयो र प्याक गर्न लगाएर त्यहाँदेखि हिँड्यौं। त्यसपछि रुममा आएर खाना खाएर सुतें।
भोलिपल्ट बिहानै उठेर हातमुख धोएर उनलाई भेट्न गएँ। काठमाडौंको जाम छिचोल्दै र दुई/तीन वटा गाडी फेरेर उनले भनेको ठाउँमा पुगियो।
उनले भनेको समयभन्दा अगाडि नै त्यहाँ पुगें। त्यहाँ पुग्नेवित्तिकै उनलाई कल लगाए दुई/तीन पटक कल गरिसकेपछि बल्ल फोन उठ्यो। 'एकछिन पर्खिनु न है, म तयार हुँदैछु' भनेर कल काटियो।
दुई घण्टा पर्खंदा पनि उनी त्यहाँ आउँदै आइनन्। यताउताको मान्छेले मलाई मात्र नियालेर हेरेको देखेर आफूलाई नै कस्तो-कस्तो लागिरहेको थियो। यति धेरै पटक कल गर्दा पनि उठेन।
अन्त्यमा उनी नआउने जस्तो लागेर म पनि त्यहाँदेखि हिँडें। भारी मन लिएर आफ्नो बाटो लागें। हातमा फूलको बुक्के, साथमा टुटेको मन। बाटोभरि उसको बारेमा नानाथरी, राम्रा, नराम्रा पक्षहरू मनमा खेलिरहेका थिए। कुन तालमा कोठा पुगें पत्तो नै भएन मलाई।
त्यो दिन कोठा आएर धेरै कुरा बुझें मैले, हरेक केटा मान्छेको कमजोरी केटी किन हुन्छ भनेर। मैले उनीबाट एस्तो सबक सिकें कि, उनी त किस्ताकिस्तामा झुट र धोकाको खेती गर्ने रहेछिन्। कसैको एउटा झुटले जिन्दगीभर जति सत्य बोले नि विश्वास नलाग्ने भयो मलाई।
कोठा पुगेर नि केही खान मन लगेन, त्यत्तिकै पल्टिरहेको थिएँ। उसको कल आयो उठाउन सकिनँ, फेरि कल आयो मैले उठाइनँ। त्यो कल देखेर यति धेरै रिस उठिरहेको थियो कि उसको त्यस्तो व्यवहार देखेर र मलाई झुट बोलेकोले केही प्रतिक्रिया नै दिन सकिनँ। धेरै पटक कल गरे पनि मैले उठाउनै सकिनँ। अन्त्यमा एउटा लामो म्यासेज आयो उसको।
लेखिएको थियो- 'मलाई माफ गर्देऊ एक पटकको लागी, मलाई यस्तो गर्न मन त थिएन। तर घरमा बाबा बिरामी भएकाले अचानक घर आउनु पर्यो, हजुरलाई कुनै सूचना नै दिने समय नै भएन मसँग। सब कुरा अचानक भयो। फेरि पनि मलाई माफ गर्देऊ यस्तो व्यवहार गरेकोमा मलाई।'
त्यति भन्दा पनि के विश्वास गर्न सक्थें र म, यो सब नाटक र बहाना बाजी होकि के हो भनेर सामाजिक सञ्जालमार्फत कुराकानी भएको मान्छे पो हुन् उनी। फेरि पनि उतादेखि कल आयो, यो पटक उता एक शब्द बोल्न नपाउँदै यतिदेखि यति धेरै रिस पोखें कि उसलाई रुन न हाँस्नु बनाएर छोडें।
'फेरि पनि माफ गर्देऊ मलाई, तिम्रो मन दुखाएकोमा' भनेपछि पनि मैले माफ गर्नै सकिनँ उसलाई। त्यसपछि पनि एक हप्ता जति कुरा भयो हाम्रो र त्यस्तै हल्काफुल्का अन्त्यमा ऊप्रति केही विश्वास नै गर्न सकिनँ, उसलाई मैले सबै ठाउँमा ब्लक गरें।
त्यो दिनदेखि चिनजानको केटीसाथी बाहेक अरुसँग सामाजिक सञ्जालमार्फत बोल्ने बानी छोडिदिएँ।
यो थियो पहिलो पटक मलाई गुलदस्ताले घटाएको घटना जसले यो क्षण सम्झँदा पनि अहिले नै हो जस्तो लाग्ने। अझै पनि प्रेसर बढेर, दिमाग तातेर रिस उठेर आउँछ मलाई।
जसोतसो मेरो जीवन पहिलाको जस्तै आफ्नै गतिमा चलिरहेको थियो। त्यही दुई/तीन महिना जति बितिसकेको थियो। माघ महिनामा एउटा केटी साथीको म्यासेज र कल आयो। उनी मेरो क्लासमेट थिइन्।
धेरैपछि हाम्रो सम्वाद हुँदै थियो, भलाकुसारी गर्यौं। धेरै कुरा गरिसकेपछि उनले अन्तिममा भनिन्- 'माघ पहिलो साता मेरो बिहे छ, जसरी नि आउनू। तिमी नआए म साथी नै मान्दिनँ। बोल्न नि बोल्दिनँ तिमी बिहेमा नआए ।
मैले केही भन्न नपाउँदै उता कल काटिन्छ। म्यासेज लेखेर छोडिदिएँ- म यसको लागि साच्छु, समय मिलेछ भने आउँछु। मिलेन भने दुःख नमान्नू, म नआउन पनि सक्छु। यसको लागि मलाई माफ गर्देऊ।'
यति भनेर पठाएँ तर ऊ भने अनलाइनबाट नेटो काटिसकेकी रहेछिन्। म्यासेज नै सीन भएन।
यस्तै सोच्दै थिएँ जाम कि नजाम् भनेर। तीन दिनपछि कल आयो उसको- 'मलाई म्यासेज गरेर लज्जास्पद नगर, जसरी भए नि आउनू अरु मलाई केही थाहा छैन।'
नजाने मन हुँदाहुँदै पनि जानु नै पर्ने भयो। अरु जाने साथीहरूले पनि कल गरेर सँगै जानुपर्छ भने। बिहेको बिहान काठमाडौंदेखि दस जना साथीहरू दुइटा गाडी चढेर गयौं। उसको घरको लागि तीन घण्टाको यात्रामा साथीहरसँग बाटोमा रमाइलो गर्दै गयौं। म आइपुगें भनेर उसलाई कल गरें।
'हस् त्यसो भए अब त्यहाँदेखि सिधैं दायाँतिरको बाटो लागेपछि दस मिनेटमा घर पुगिन्छ'
भनेर फोन राखिहालिन्।
हामी बिहे घरमा पुग्यौं। उनी दुलहीको पहिरनमा एकदमै राम्री देखिएकी थिइन्। भेटघाट भयो अरु केटी साथीहरू ऊसँग बसे तर हामी केटाहरू त्यहाँबाट निस्केर गाउँतिर घुम्न गयौं।
दुई घण्टा जति घुमिसकेपछि त्यहाँ जादा टीका लगाउन सुरु भइसकेको थियो। हामीले पनि आफूले लगेको आआफ्नो तर्फबाट लगेको गिफ्ट दियौं। मैले भने दुवैजनाको लागि गुलदस्ता लगेको थिएँ।
उनीहरूलाई दिएर त्यहाँदेखि निस्कन लागेको के थिएँ मलाई यो पटकको गुलदस्ताले पनि ठूलो झट्का दियो। एक्कासी कुनै ठाउँबाट एकदम नराम्रो दुर्घटना जस्तो भएर कल आयो। त्यो पनि प्राइभेट नम्बरदेखि कल आयो। यो कल मेरो भोकतिर्खा सब हराउने गरी आएको थियो। त्यो कलको छानबिन नहुँदासम्म मेरो सातोपुत्लो उडेको थियो।
चार दिनपछि त्यो कलको छानबिन गरिसकेपछि बल्ल म आफ्नो होसमा आएको थिएँ। तर मलाई भने यो गुलदस्ताले कहिले राम्रो गरेन, जहिले पनि दुखी मात्र बनायो। अब त मैले जीवनभर यो फूलले बनेको उपहार न अरुलाई दिने न आफू कसैबाट लिने निर्णय गरें।
हजुरहरू के भन्नुहुन्छ? तर म यसलाई अर्को उपनामले चिन्छु। त्यो हो, दोषी गुलदस्ता। अब त मलाई यो शब्द सुन्दा नि पारो तातेर आउँछ। अरुको जीवनमा राम्रो भूमिका खेले पनि मेरो जीवनमा यसले सधैं नकारात्मक भूमिका मात्र खेलको छ यो गुलदस्ताले। त्यही भएर मलाई यो शब्द र नाम नै सुन्नु छैन, मेरो जीवनको दोषी गुलदस्ता।