म एउटा फूल मन पराउँछु
त्यो फूल मलाई यति मनपर्छ कि
जहाँ मदनको माया हार्नेछ
त्यो फूल फूलेको हैन
सायद स्वर्गबाट झरेको होला
किनकि
त्यो फूलमा
भाव छ अभाव छैन
आसन छ शासन छैन
मान छ बेइमान छैन
त्यसैले त टक्क रोकिएको छु
म एउटा बगैंचाको फूल चुम्न हिँड्ने भमरो हुँ
मलाई जून फूल भए पनि हुनु पर्ने
तर
त्यहीँ फूल चाहिएको छ
मलाई धेरै मालीहरूले खेदेका छन्
त्यहीँ पनि
मैले कुनै फूल चुमेको छैन
मलाई फूलको रस आउँदैन
मलाई फूलको स्पर्श आउँदैन
केही दिनदेखि त कुनै रङ, जात, भाषा, स्थान
जस्ता कुरा आउन छोडेको छ
म घरीघरी घोरिएर सोच्छु
सायद त्यो फूललाई म वरपर घुमेको मन पर्दैन होला
त्यसैले त मेरो अघि उनी मौनता भर्छिन्
अति भए
शब्दको काँडा छर्छिन्
प्रजातिको कुरा गर्छिन्
यस्तै पारा हो भने कुनै भमराको स्पर्श बिना नै झर्छिन्
अज्ञानको खाडलमा पर्छिन्
प्रेम बिनाको जीवन मर्छिन्
त्यसैले
म शब्दको काँडालाई मायाको डाँडा बनाउन चाहन्छु
म उनलाई जातमा प्रेमको नवजात बनाउन चाहन्छु
उनले प, फ, ब, भ, म भन्दा माथिल्लो ओठमा बस्न चाहन्छु
प्रेमको ज्ञान दिई किनारामा निकाल्न चाहन्छु
र
उनको प्रेममा डुबी उनको साथ मर्न चाहन्छु
यी सबै कुरा चाहँदा चाहँदै
एउटा सपना छ
कसैले के छ सपना भनी सोधे
भन्ने थिएँ-
म अब त्यो फूललाई आफ्नो देह दिन चाहन्छु
त्यसैले
मेरो सपना छ
कुनै कालमा म त्यो फूलमा बस्दै गर्दा
त्यो काल रूपी हात्ती आओस्
रात होस्
अन्धकार होस्
अरू भर्खर फुलेका फूलहरू
अन्ध भएर मन्द-मन्द घुर्दै हुन्
त्यो घुराइको श्वास प्रश्वासले
त्यो बगैँचा नारी कुञ्जको वातावरण झैं सुगन्धित होस्
त्यो फूल पनि केही मात्रामा सुक्न थालेको होस्
मेरा उड्ने पखेटाहरू झर्ने अवस्थामा हुन्
तर त्यो फूल एक कुनामा
आफ्नो छुट्टै स्थान लिएर एक्लै बसेको होस्
त्यहीँ बसोबासमा
जहाँ मेरो घर त्यो फूल र ढोका फूलको पत्र होस्
त्यो पत्रे ढोका बन्द होस्
र
कालरूपी हात्तीले
म र मेरो रसयुक्त फूलमा नटराज भई ताण्डव नृत्य गरोस्
हाम्रो अन्त्य एकसाथ होस्
जहाँ उनको र मेरो कुनै कुरा कुरा नछुटिओस्
सबै मिलोस्
जसरी मिल्छन् पानी र दूध
तर
त्यहाँ कोही राजहंस बन्न नसकुन्
त्यो रातपछि सूर्य उदाए झैं त्यो घटना सामान्य बनोस्
हाम्रो त्यो अन्त्य पनि यति स्वाभाविक बनोस् कि
जुन रात र दिनले पनि चाल नपाओस्।