आफ्नालाई आफ्नो बनाउन जीवन दाउमा राखिन्छ
तर आफ्नो कहिले आफ्नो भएन
तैपनि सधैं न आफ्नो हुन्छ कि भनेर
आशमा बाँचिन्छ
हातमा उठेको ठेला लुकाइ
भोको पेटको ज्वाला लुकाइ
रित्तो गोजीको आहात लुकाइ
पसिना र रगतको खोला लुकाइ
आफ्नोलाई आफ्नो बनाइराख्न खोजेता पनि
ऊ र उनीहरू कहिले आफ्ना भएनन्।
न त सोधे कहिले दुखाइ
न त सोधे कहिले भोगाइ
न त दिए हाँसेर बधाई
न त दिए खुलेर आशिक
तर आफैंलाई थाहा नभएको एक गल्ती
पाउँदा कति रफ्तारमा गर्छन् आलोचित।
धन सम्पत्तिको कुरा आए
कति कमाइस् भन्ने रैछन्
दुःखका कुरा सुनाए
आफ्नै कथा लम्याउने रैछन्
आफूलाई केही पर्दा कत्रो रुवाबासी
आफूले सहयोग माग्दा दिन्छन् उत्तर बासी।
आफ्नालाई आफ्नो बनाउँदा थाक्न थाल्यो मन
हुन्न रैछ जे नै गरे पनि त्यो मानवदेह परिपूर्ण
अमृत रस पिलाउँदा पनि
अघाइसकेपछि त विष नै गर्ने रैछन् बमन।
न दिएर जस पाउनु
न खुवाएर माया
जति नै मरिमेटे पनि दुःखको भेलमा
लागि हाल्छन दायाँ बायाँ।
बाटो हिँड्ने बटुवाले दिन्छ एक भेटमा आशिष
मन्दिरको देवताले दिन्छन् अदृश्य आशीर्वाद
यो आफ्ना नामको वृक्षले दिने रैछ अति नै ताप र राप
यो आफ्ना भन्नेको केइ नबिगारे पनि
सधैँ पाइने घात प्रतिघात।
कमजोर भएर भेट्न गए, माग्ने झैँ गर्ने
आफ्नो काममा हराउँदा ठूलो भयो भन्ने
सधैं ज्यू-ज्यू गरिरहोस सोच्ने
फेरि छेउमा पुग्दा घात गर्न तम्सिहाल्ने।
संसार कति विचित्र रैछ
आफ्नाले आफ्नैलाई गर्ने घात
नचिनेको मानिसले बरु
दुखाइमा दिन्छन् हात।
यो भएन, यो गरेन आफ्नाको सधैं गुनासो
धर्तीमा आफ्नाको आफ्नै नाता भयो गलपासो
गाह्रो रैछ आफ्नाको कुवचन सहन
अजम्वरी नै भए जस्तो
नथाक्ने रैछन आलोचना।