खोइ कहाँबाट सुरु गरौं हाम्रो पूरा हुन नसकेको प्रेम कहानी। दोधारमा परें, मेरी बन्न नसकेकी उनी हुन् कि उनको बन्न नसकेको म!
'प्रेम के हो?' एकदिन चोभारको डाँडामा पुसको घाम ताप्दै गर्दा मेरो काखमा पल्टिएर सोधेकी थियौ। सायद यसको उत्तर थाहा नभएर पनि मान्छे प्रेममा हुन्छ भन्दै मैले जवाफ दिएको थिएँ। तिमीले भनेकी थियौ, 'ह्या भन्नु न, के हो के प्रेम भनेको?'
मैले जवाफमा भनेको थिएँ, आज प्रेम नभएको मान्छेसँग भोलि प्रेम हुनसक्छ र आज प्रेम भएको मान्छेसँग भोलि घृणा भरिन सक्छ। जुन प्रेममा आज र भोलिको भिन्नता हुँदैन त्यो नै प्रेम हो।
जसरी समय र मौसम परिवर्तनसँगै ठाउँको पनि स्वरुप बद्लिन्छ, त्यसरी हाम्रो पनि रङरुप अनि मन पनि बदलिँदो रहेछ। प्रेमको व्याख्या अनेक प्रकारले भएका छन यद्यपि पहिलो र अन्तिम प्रेमको व्याख्या कडी भने दुनियाँभर उस्तै हुन्। प्रेम गर्ने तरिका फरक होला तर संवेदनाको आधार चाहिँ एउटै हुन्छ।
मनमुटु भित्र साझा संवेदनाले घोचेको त पक्कै हुन्छ। प्रेम जीवनको अन्य चिज जस्तै हो। यो एउटा खोज हो, यात्रा हो। तिमीलाई थाहा हुँदैन तिमी मझधारमा। यथार्थ माया एउटा खराब लागू औषध र त्यसको प्रयोगकर्ता जस्तै हो। पहिलो चोखो प्रेम भनेको एउटा कुशल बन्दी बन्नु जस्तै हो र यो खतरनाक औषधि पनि मानिन्छ। प्रेम तपाईंले खोजेको केही होइन, केही हो जसले तपाईंलाई खोज्छ।
अपरिपक्व प्रेमले भन्छ म तिमीलाई प्रेम गर्छु किनभने मलाई तिम्रो आवश्यकता छ। तर परिपक्व प्रेमले तिमी मेरो आवश्यकता हौ, त्यसकारण म तिमीलाई प्रेम गर्छु भन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ। तर यो नशा धेरै पटक बाहिर निस्किन्छ। कहिले सात दिनमा त कहिले सात महिनामा, त कहिलेकाहीँ सात वर्षमा। नशा बाहिर निस्कनुमा केबल तीन कारण हुन सक्छन्।
पहिलो, जुन मान्छे एकदम राम्रो थियो तर पछि गएर उसका कमिकमजोरीहरू आउन थाले जुन रुचिकर भएनन् भने।
दोस्रो, जुन प्रेम बिना वाचाका साथ सुरु भएको थियो। पछि वाचाको दबाब हुँदै सर्तहरू थुपार्ने थालियो। जस्तै यस्तो नगर उस्तो नगर, यस्तो लगाऊ यस्तो नलगाऊ, योसँग बोल त्योसँग नबोल आदि।
तेस्रो, विभिन्न कारणहरू जस्तै घर र समाजको दबाब, सुखी र समृद्धि जीवनको चाहना हुन्छन्।
तर यथार्थ के भने बिना वाचाका साथ सुरु भएको प्रेमको यात्रामा जुनसुकै साथीको साथ जुनसुकै स्टेशनमा उत्रिनु उसको हक हो। तिमीले पनि त्यही गर्यौ प्रिय। भगवानको मूर्ति छोएर कसम खाने तिमीले नै 'सरी तपाईंलाई यो जुनीमा मेरो जीवनमा कुनै स्थान छैन' भन्यौ। जसरी मरिसकेको मान्छेलाई ज्युँदो बनाउन सकिँदैन, त्यसरी नै बिछोडपछिको प्रेम आश गर्नु उस्तै हो। तिम्रो माया र बेचैनीबाट बच्ने एक मात्र विकल्प हो, विवाह जुन प्लास्टिकको फूल हो। यसले जिन्दगीभर साथ त दिन्छ तर समय समयमा उसलाई धुनु पर्छ। यो फूल सुन्दर हुन्छ, स्थायी पनि हुन्छ तर यसमा त्यो सुगन्ध हुँदैन जो फुलेको फूलको डालीमा हुन्छ।
मलाई तिम्रो लत लागेको थियो प्रिय, तिमीसँग एकान्तमा बस्दा घण्टौं बितेको पत्तो हुँदैन थियो। फोनमा कुरा गर्दा रात बितेको पत्तै हुँदैन थियो। तिमी बिरामी हुँदा तिमीभन्दा बढी दुखी र छटपटी मलाई हुन्थ्यो। तर समय रहेछ दौडिरहने, अझ पनि दौडनु पर्ने, त्यो पनि मौसममा बदल्दै। समयले मौसम बदलिए पनि मान्छेका मन नबदलिए हुन्थ्यो नि।
सायद मान्छेका मनहरू मौसमभन्दा नि छिटो बदलिन्छ होला यो समयमा। यो आज त्यही समय जसले मेरो मुटुमा बसेको आकृतिलाई जबर्जस्ती उखेल्न खोजिरहेछ। मनभित्र अड्याउन कोसिस गर्दागर्दै पनि त्यो तुफानले हाँगा भाँचेरै छोडेको छ, तिम्रो आकृतिको। आज तिमी मभन्दा निकै पर छौ। भौगोलिक दूरीले होइन, भावनाले।
हो प्रिय, पशुपति मन्दिरबाट सुरु भएको हाम्रो प्रेममा भावना मिसाएर मैले बढी मलजल गरें। तिम्रो मायाकै खातिर म भौतारिरहे। सायद तिमीभन्दा बढी पागल म नै होला।
तिमी बिना बाँच्न पनि कठिन होला जस्तो माया गरेको, मैले नै पन्छाउन बाध्य भएको छु। कुन मन कुन मुटुले सके होला र प्रिय! म आफैंले रोपेको बोटलाई आफैंले निमोठ्ने दुस्साहस कसरी गरे होला? त्यो मलाई नै थाहा छैन। अहिले म बद्लिएको छु।
म थाकें प्रिय। मैले तिमीलाई मेरो अधीनमा राख्न खोजेको थिइनँ, यो जाली दुश्मनी नजरबाट बचाउन खोजेको थिएँ। तिमीलाई गुमाउन चाहँदिन थिएँ। जिन्दगीभरि आफ्नो अन्तिम साससम्म तिम्रो बन्न चाहन्थें। म हारें।
मेरो माया अनि साथलाई तिमीले जेल जीवन जस्तै ठान्यौ। म माया गरेको मान्छे तिमीलाई कसरी जेल अनि बन्धनमा राख्न सक्ने आँट हुन्छ र ममा! म त जिन्दगीभरि तिम्रोसाथ मा हुन चाहन्थें र तिमीलाई यो जाली दुनियासँग सचेत्त गराउन चाहन्थें। तिमीले यसलाई जेल जीवन र आफ्नो स्वतन्त्र खोसेको महसुस गर्यौ। तिमीले जित्यौ मैले हारे प्रिय।
म अब तिम्रो जिन्दगीको काँडा बनेर बिझ्न चाहन्नँ। तिम्रो जिन्दगीमा तिमी स्वतन्त्र छौ। म त माया गरेको मान्छे, तिम्रो खुसी सधैंभरि चाहन्छु। अब तिमी पनि चकित हुन्छौ होला एक कल फोन नगरी, एक म्यासेज नगरी कसरी बस्न सक्यो होला भनेर। तर माफ गर प्रिय, म तिम्रो कदापि हुन सकिनँ।
म कसैको हुँला, तिमी पनि कसैको हुनेछौ। तर तिमी जहाँ जस्तो भए पनि मेरो मुटुमा कोरिएको तिम्रो तस्बिर कहिल्यै हट्ने छैन। म जसको हुनेछु उसमा तिमी पाउने छैन। तर पनि तिमीलाई गुमाउनु नै छ मैले। मैले आफैं रोपेको प्रेमको बिरुवालाई च्यातेर मिल्काउँदै छु। तर जति कोसिस गरे पनि जरा उखेल्न सक्ने छैन।
तिमीले नै भनेकी थियौ, कति प्रेमिल जोडीहरू अघिल्लो जुनीमा पूरा गर्न नसकेका बाधाहरू अर्को जुनी लिएर पूरा गर्न आउँछन् र हामीलाई थाहा नै नदिएर पूरा गरेर जान्छन्। जसलाई हामी भन्छौं, अधुरा सम्बन्ध।