आभा र मेरो मागी विवाह भएको थियो। विवाह भएको बल्ल छ महिना कट्दै थियो। विवेकी धागोमा अडिएको हाम्रो सम्बन्धमा विस्तारै माया पलाउँदै थियो। जीवनका जोड घटाउमा हरहमेसा हामी नयाँ नयाँ आविस्कारहरू गर्ने कोसिसमा थियौं।
एक अर्कालाई राम्ररी बुझ्न अनन्त काल बाँकी थिए। कुनै हतारो थिएन। एक अर्काप्रति अप्रिय बन्नुपर्ने, महात्मा बन्नुपर्ने कारण पनि थिएन। झूटा सतपत्रे कुराहरू गरेर आफू होनहार देखिनु पनि थिएन। हाम्रो सम्बन्धले लय पक्रिँदै थियो। कहिले मेरो अभाव उनी पुर्थिन् त कहिले उनको अभाव म पुर्थें। हामी हाम्रा अहमलाई मुसुमुसु हाँसेर टारिदिन्थ्यौं। हाम्रा फेसबुकका जोडी फोटामा मानिसहरू ईर्ष्याले फेक लभ रिक्याट बर्साउँथे। हामी चुपचाप जिन्दगीका 'लब ढब' गरिरहन्थ्यौं आफ्नै वरिपरि।
एकदिन अचानक अफिसमा कुरा उठ्यो। एक जना कर्मचारीकै छिमेकमा बिहे भएको लामो समयसम्म पनि श्रीमतीको पूर्व प्रेमीसँग सम्बन्ध टुट्न नसक्दा डिभोर्स नै भएछ रे। यस्तो घटना कानमा पर्दा पत्याउन मनले मानेन। थप कौतुहलता जागिरह्यो मनमा। तर थप प्रश्न सोध्न सकिनँ।
त्यही घटना सुनेको दिन, मलाई किनकिन आफ्नै सम्बन्धमा पनि कतै त्यस्तै पो छ कि! भन्ने भावनाले तर्सायो।
पारदर्शी मेरो र आभाबीचको सम्बन्धमा पर्दा लगाउने काम गर्यो त्यो खबरले। आफैंभित्र निसास्सिँदै म घर पुगेँ। त्यो दिन आभालाई अरू दिनको जस्तो देखिनँ! अझ भनौं, जस्तो मैले देख्न चाहन्थेँ त्यस्तो देखिनँ। अर्थात् मभित्र पनि कतै आभाको समेत पूर्व प्रेमीसँग अझै सम्बन्ध छ कि? भन्ने भाव परिसकेको थियो।
फेरि सम्झिएँ हाम्रो पहिलो भेटका कुरा,जहाँ मैले तिम्रो कोही माया गर्ने व्यक्ति छ कि भनेर सोध्दा आभा मौन बसेकी थिइन्। त्यो क्षण मलाई मौनताको अर्थ 'छैन' भन्ने लागेको थियो। तर अहिले आएर त्यो मौनताको अर्थ 'छ' भन्ने तर्फ मोडिँदै गएको देखेर म आफैं छक्क परिरहेथें। सधैं अफिसबाट घर फर्कंदा हालखबर सोध्ने, पानी ल्याइदिने, वरिपरि बस्ने श्रीमती त्यो दिन परपर भएको देख्दा म लगभग निचोडमा पुग्न थालिसकेको थिएँ।
अनि त के चाहियो आभा किचनमा खाना पकाइरहँदा मैले उनको मोबाइल हेर्ने दुस्साहस गरेँ। खै! के नवीन अन्वेषण गर्ने चाहना बढ्यो मलाई? अरूको निजी कुरा त्यो पनि नथापाउने तरिकाले चियो चर्चो गर्नु कसरी न्यायोचित हुन सक्छ र?
मोबाइलमा उनकै नामको पासवर्ड थियो। म सिधै म्यासेन्जरमा पुगें। जुन चिज हेर्न म बारम्बार तर्सिरहेको थिएँ त्यही चिज देखेर म निशब्द भएँ। एकैचोटि नसाहरू बटारिएजस्तो भए।सगरमाथाको शिखरमा अक्सिजन सिद्दिएर सास फेर्न नसकेको आरोही जस्तै भएँ।
म्यासेन्जरमा अमित नाम गरेको केटाको म्यासेज धेरै लामो थियो जसलाई लभ रियाक्ट गरेर रिप्लाई समेत गरिएको थियो।
अमितले लेखेको थियो, 'आभा! तिमी मेरो जीवनको पहिलो प्रेम हौ। जोमार्फत् म हिजोमात्र होइन आज पनि आफू अनुभूत हुने गर्छु। तिम्रै सम्झनाका अनेक स्वरूपहरूमा मेरा क्रियाहरूले आत्मप्रकाशन लिइराख्छन्। म जे लेख्छु वा जे बोल्छु ती सबै हाम्रा सम्बन्धका उपजहरू हुन्। ती आरआर क्याम्पस पढ्दाका दिनहरू अझै याद छ मलाई। आफ्नै गुण छोडेर उड्न खोज्ने मलाई तिम्ले नै त छहारी दिएर संरक्षण गरेकी थियौ। मेरो प्रतिभालाई प्रस्फुटन गर्न तिम्ले नै सघाएकी थियौ। तर हेर त आज म यत्रो उपन्यास लेख्ने भइसकें, पत्रिकाहरूमा अन्तर्वार्ता दिने भइसकें तर तिमी नै मसँग छैनौ। मैले तिमीलाई आफ्ना उपन्यासका पात्रहरूमा खोज्दै हिँड्नुपरेको छ। योभन्दा ठूलो विडम्बना अरू के हुन सक्छ?'
यसको उत्तरमा आभाले जवाफ पनि फर्काएकी थिइन्।
उनले लेखेकी थिइन्, 'अमित जे हुनु भइसक्यो। विगतलाई कोट्याएर केही हुँदैन। मलाई तिम्रो याद नआउने होइन। तर यादहरूलाई वर्तमानले जितेर हिँड्नुपर्ने अवस्था छ। हाँगा हाँगामा तिम्रै स्पर्श छ भन्दैमा तिमीलाई नै स्पर्श गरेर बसिराख्नुपर्ने कुनै रहर अब छैन मलाई। किनकि अब म कसैको भइसकें। तिमीलाई थाहा छ अमित, अरू कसैकी श्रीमती भएर यसरी भूतपूर्व प्रेमीसँग बातचित गर्नु पनि अपराध हो मेरा लागि। अब त्यस्तो कुनै चमत्कार होला भनेर आस पनि गर्दिनँ जहाँ तिमी र म फेरि जोडिन सकौं। त्यो आतसबाजी उडाउनु जस्तै हो र यसको तत्काल कुनै आवश्यक र औचित्य पनि देख्दिनँ म। म तिम्रो हितको कामना सधैं गर्छु तर तिमीले मलाई कहिल्यै बुझ्न सकेनौ र अब पनि बुझ्दैनौ। तिम्ले यसरी म्यासेज गरिराख्नु पनि नबुझ्नु कै पराकाष्ठा हो। तिमी आफ्नै अहममा बाँच्न चाहन्छौ। जुन अब मेरा लागि खतरनाक हुन सक्छ। माछाले पानीको महत्व पोखरीमा हुँदा नै बुझ्नुपर्छ जब माझी दाइले जालमा पारिसकेपछि पानीका लागि बिलौना गरेर वा पानीका लागि तड्पिएर त्यसले कुनै घनिभूत अर्थ राख्दैन।'
करिब एक महिना अगाडिको यो वार्तालापपछि उनीहरूबीच अरू कुरा पनि भएका थिए। तर धेरै अगाडिका म्यासेज भने डिलिट थिए। थप पछिल्ला म्यासेज हेर्न खोज्दै गर्दा आभा किचनबाट कोठातर्फ आउँदै गरेको मेसो पाएपछि मैले मोबाइल जस्ताको तस्तै राखेँ।
आभा र अमितको सम्बन्धको झिल्को पाएपछि मेरा आँखाहरू टट्टाइरहे। मान्छे न हो अझ पुरूष कहाँ त्यसै शान्त हुन्थ्यो र मन? त्यो पूर्व सम्बन्धको जरा खोतल्न मन लाग्यो। आभाको फेसबुक प्रोफाइल खोलें र वर्ष अगाडिका पोस्ट र फोटोहरू चिहाएँ। जहाँ हरेक पाइलामा अमितका साहित्यिक कमेन्ट भेटिन्थ्यो। एउटा आभाको सारी लगाएको फोटोमा अमितले कमेन्टमा लेखेको थियो, 'प्राकृतिक आर्यपना छ तिम्रो स्वरूपमा जहाँ कुनै कृत्रिमता छैन।'
आभा र मेरो बिहेको जोडी तस्बिरमा पनि अमितको कमेन्ट भेटें, 'म अब बिरामी हुन्छु होला, हृदय नै हृदयबाट टुटेको छ। यो रोगको उपचार मैले कहाँ भेटूँ?'
यस्ता असुहाउँदा कमेन्ट गर्ने अमितलाई आभाले कहिल्यै ब्लक गरेकी छैनन् न रिप्लाइ गरेको भेटियो। एक प्रकारले मनमा आभालाई लिएर रिस पनि उठ्यो। कति दिन हामीबीच बोलचाल भएन। अनेक बहाना हुन्थे। आभा चुँडिन नसकेर झरेको फूलजस्तै भएकी थिइन्। हामी बीचका खुसीहरू बालुवामाथि बगिरहेको देख्दा परिवारका अन्य सदस्यहरू पनि अचम्मित थिए।
भाषाहीन भएर बाँच्यौं हामी चुपचाप २-४ महिना। आभाको तारिफ गर्न मलाई कुनै किताबका ठेली पल्टाउन पर्थ्यो। उनको अधर चुम्न चट्टान फुटाउन पर्थ्यो। आभालाई अंगालो मार्नु त मेरा लागि ऐंसेलुको घारीमा अल्झिनु जस्तै लाग्थ्यो। श्वास र ढुकढुकीबिना एउटा निरस चित्रकारले कोरेको ढुंगे चित्र जस्तै भाथ्यो हाम्रो जिन्दगी।
त्यतिकैमा एकदिन मैले फेरि आभाको म्यासेज चेक गर्ने जमर्को गरेँ। उनी कौसीमा घाम ताप्दै थिइन्। एक हप्ता अघिको म्यासेज रैछ। अमितले 'हामी भेटौं न कुरा गर्न छ' भनेर पठाएको रहेछ।
त्यसको उत्तरमा आभाले लेखेकी रहिछन्,'तिमीसँग भेट्न कि त म श्रीमानसँग आउनुपर्छ कि त श्रीमानको अनुमति लिएर आउनुपर्छ। तिमीलाई अहिले पनि एउटा असल साथीका रूपमा म लिन्छु। तर यो होइन कि तिमी त्यसको फाइदा उठाएर हाम्रो पूर्वप्रेमलाई जीवन दिन खोज्छौ। सालौ सालपछि पनि भगवान रामलाई अयोध्यामा विशाल मन्दिर बनाएर प्राण प्रतिष्ठा गरेजस्तो सजिलो कुरा होइन यो पूर्वसम्बन्धहरू। भावनाहरू जीवित हुन्छन् तर जब एकचोटि एक जनासँग उम्रिएको भावना मर्छ, त्यही ठाउँबाट फेरि उस्तै गरी पलाउन गाह्रो मात्र होइन असम्भव पनि हुन्छ। तिमी यो भुलभुलावटबाट जति सक्दो चाँडो उत्रिएकै राम्रो। बास्ना छउन्जेल मात्र वृक्षहरू लयदार लाग्छन् तर जब बास्ना छैन त्यो केही कामको लाग्दैन। सम्बन्ध बास्ना जस्तै हो। हामीबीच मित्रताको बाहेक अरू आकर्षणको बिन्दु कतै छैन अब। जसले ममा प्रेमको लीला सिकायो ऊप्रति म क्रुर हुनै सक्दिनँ। तर सिकाउने गुरूकै समिपमा मात्र सधैं शिष्यहरू रहिरहन्छन् भन्ने हुँदैन। महाभारत कै कथाबाट समेत तिम्ले सिक्नुपर्छ,एकअर्का बीच परेको बेला लड्न पनि सक्छन् गुरु शिष्यहरु।म तिमी प्रति आभारी छु तर यो आभारीको रेखा छ।जहाँ तिम्रो स्थान पूर्ववत भन्दा कतै पनि छैन। हामी अहिले मात्र साथी छौं, किनकि म यो पनि प्रमाणित गर्न चाहन्छु कि निराकार बिछोडको प्रेमले छुट्टै सुनौलो मित्रताको बिहानी पनि ल्याउन सक्छ। यसलाई हामी दुवै र सबै बिछोडिएकाहरूले सिको गर्नु जरूरी छ।'
यो पढ्दै गर्दा मेरा आँखामा आँसु झरेछन्। मैले पत्तै पाइनँ। ढोका छेउ बसेर सुकसुकाउँदै गरेकी आभा देखेर म झसंग भएँ। अघिदेखि आभा त नदेखिने गरी मलाई चिहाइरहेकी रैछिन्।
एकछिन हामी दुवै रोयौं र अंगालोमा बेरियौं। मुलायम सिमली भुवामा बोरिएजस्तै भयो मलाई धेरैपछि।
भोलिपल्ट शनिबार थियो। आभाको अनुरोधमा हामी एउटा पुरस्कार वितरण समारोहमा पुग्यौं। त्यहाँ पुग्दा पो थाहा पाएँ, त्यो पुरस्कृत उपन्यासको नाम 'आभा' रहेछ र लेखक अरू कोही नभएर अमित रहेछ। त्यो मित्रता देखेर म नतमस्तक भएँ। अमित, म र आभा कफी खाँदै धेरैबेर गफियौं। उपन्यासका पानाहरूमा वर्णन भएका आभाका पात्ररूपी सुन्दरताहरूलाई अमित सुनाउँथ्यो। आभा मतिर हेर्दै मुस्कुराउँथिन् र अंगालो हाल्थिन्। अमित भने आफ्नै उपन्यासमा हराइरहेको थियो लाग्थ्यो उसले आभालाई अझै भुल्न सकेको छैन तर पनि आभाको प्रस्ताव अनुसार सुनौलो मित्रता स्वीकार नगर्ने छुट पनि त उसलाई छैन। आभाबिना ग्रहण लाएजस्तै हुने अमितलाई अरू पाठकबीच छाडेर हामी छुट्टियौं।
श्रीमतीज्यूको पूर्वप्रेमीसँग मैले पनि मित्रता गाँसें। जसले पाठ सिकायो मलाई शंकाको भरमा आफ्नै भरोसायोग्य मानिसहरूसँग कहिल्यै टाढिन हुने रहेनछ।