नारायणघाटबाट काठमाडौं जानु थियो। एउटा बैँस ढल्केको माइक्रो ढोका आँ... गरेर घ्यारघ्यार गरिरहेको थियो तर चालक थिएनन्। हातमा टिकटको बण्डल बोकेका केही थान चुल्ठेहरूले मुखभरि जर्दा चपाउँदै बाजले सिकार झम्टिएझैँ मलाई झम्टे।
'दाइ, काठमाडौं जाने हो?'
मैले जाने, नजाने, अहिले जाने, भरे जाने, गाडीमा जाने, पैदलै जाने केही भन्नै नपाई सिट खाली छ यसमा, हिँडिहाल्ने हो, मुग्लिनको जाम कट्ने लास्ट भाले गाडी हो भन्दै टिकटमा फटाफट 'देखि' मा नारायणघाट र 'सम्म' मा काठमाडौं लेखिहाल्यो। सङ्ख्या १, सिट नं ७, रू ५५०/-
'पान्से पचास? दिनुपर्ने चैँ कति?'
'पान्से पचासै हो। छिटो गर्नु दाइ याँ धेरैबेर रोक्न मिल्दैन ट्राफिकले 'ल्याङ हान्छ'। नाम भन्नु त दाइ।'
भनेँ, लेख्यो।
टिकट दियो, हेरेँ। छि: यस्तो पनि अक्षर लेख्ने!
जम्मा एउटा सिट खाली रहेछ, त्यसैमा बसेँ। ड्राइभर पनि बस्यो गद्धीमा। खलासी थिएन। चुल्ठे ड्याम्म ढोका लगाएर ड्राइभरको झ्यालमा गएर भन्यो- '१४ जना हाल्देको छु, मैले १७ सय राखेँ है। ल जाऊ।'
ड्राइभर सोझो प्रकृतिको जस्तो लाग्यो। बोली पनि नरम थियो। उनले भने- 'हजार राख्नूस् न।'
चुल्ठे एक्कासी जंगियो- 'जाम हुने बेलामा यत्रो मान्छे खोजेर हाल्द्या छु। जाऊ न खुरुक्क।'
विचरा ड्राइभर केही बोलेन।
ट्राफिकले 'ल्याङ' हान्नुअघि नै गाडीले बाटो समात्यो। मैले यात्रु गनेँ, जम्मा १४ नै रहेछन्। हिसाब गरेँ।
१४ इन्टु ५५०।
सात हजार सात सय।
१७ सय लगिहाल्यो। बाँकी रह्यो ठ्याक्क ६ हजार।
एकछिन बाटो नापेपछि रामनगरमा देब्रेपट्टि ॐ साई नाम बोकेको तेलको कुवाँमा रोकियो। म पनि ढोकै छेउमा भकोले फुत्त ओर्लिएँ। ड्राइभर इकु जस्तै झण्डै। दाप्से अनुहार, झुस्स केही थान दाह्री, साना गाँठीको। निकै तिर्खाएको रहेछ मोटर। टन्न पियो तेल। मिल्के अंकमा हिसाब देखायो ५ हजार ९ सए ९९ रूप्याँ ८५ पैसा।
बचत भयो पूरै १५ पैसा। ६ हजार दियो फिर्ता आएन।
लौ ड्राइभर त टाट पल्टियो छिनको छिनमै!
बाटो लागियो। ड्राइभरको अनुहारमा एक चिम्टी खुसी छैन। मैले सोचेँ, बीच बाटोमा टायर पड्कियो या केही बिग्रियो भने के गर्छ यसले? यात्रुसँग सापटी माग्छ कि! विचरा, यस्तो पाराको गाडी कुदाइले त के काम देला त!
डल्ले मोटरले करिब १० वर्षको छोटो अवधिमा बनेको ३६ किमी बाटोमा फन्को लगाउँदै, रमाउँदै मुग्लिन काट्यो। कुरिनटार आउने बेलामा भनेँ, 'दाइ, त्यहाँ रोक्नुस् है सुन्तला लानुछ।'
रोक्यो एउटा पसल छेउमा। पसलेका लोग्नेस्वास्नी मगर भाषामा कुरा गरेको सुनेँ। खाजा खाने विषयमा कुरा गर्दै थिए।
मैले तीन किलो किनेँ, पैसा दिएँ। ड्राइभरले ५ किलो लिँदै भन्यो, 'पैसा फर्कँदा दिन्छु है।'
सधैँ हिँड्ने मान्छेलाई बाँकी दिइहाल्छन्।
रून्चे अनुहार। कुरैकुरामा थाहा भयो गाडी उसको आफ्नै रहेछ। बस्ने ढुंगेअड्डा। कमाइको पारा त्यस्तो छ, बाटो संसारकै सबैभन्दा रड्डी, गाडी बैँस ढल्किसकेको। घरीघरी लाग्थ्यो काठमाडौं चाहिँ ड्राइभर र हेण्डल मात्र पुग्छन् होला।
बाटोका कारण धेरै थर्किँदा रिस उठ्दो हो। बेलाबेला बेतोड दौडाउँथ्यो। भौडीमै जाकिहाल्छ कि जस्तो लाग्ने गाँठे।
खानीखोलाबाट दुई जना महिला चढे। ६०/६० दिनुस् न भन्यो। ५० दिन्छौँ भनेर १००० बराबरको कचकच गरे। ल हुन्छ भन्यो। १०० को नोट दिए, त्यसपछि अरू १५ मिनेट जति त्यही ५० र ६० को बारेमा गलफती गरे। सधैँ त्यो बाटो हिन्छन् रे उनीहरू। लाग्थ्यो गाडीभन्दा बढी उनीहरू हिँड्छन् त्यो बाटोमा।
यात्रा जम्मा १२६ किलोमिटरको मात्र। बिहान १०:१५ तिर मोटर चढेको बेलैमा साढे तीनै बजे कलंकी ल्यायो। दौडेको दौडेकै गर्नाले पाँचै घण्टामा पार गरियो। कतारबाट काठमाडौं आए जस्तो।
देशको राजधानी आउने बाटो। विगत १०/१२ वर्ष जतिबाट निर्माणाधीन छ, अब चाँडै १५/२० वर्षमा बनिहाले त सरर दौडिन पाइन्थ्यो भन्थे यात्रु।
मैले भनेँ, 'बीसै वर्ष त नलाग्ला, काम तीव्र गतिमा भैराछ, १७/१८ वर्ष सम्ममा त पक्कै बनिसक्ला।'
कतै असारे खेत देखिन्थ्यो, कतै कोइला खन्ने सिलाङका खाडल जस्ता, कतै लेदो बोकेर खहरे उर्लिएका त कतै माईखोलाको बगर जस्तो। निकै बेरपछि थाहा भयो ती सबै बाटोकै मनोरम दृष्य पो रहेछन् जम्मै छिचोल्नुपर्ने। लाग्थ्यो, ड्राइभरलाई कसरी थाहा हुन्छ होला यो बाटै हो भनेर!
एक ठाउँ सुख्खा पहिरो झरेछ। बाटो बन्द। बेलाबेला झर्दै थियो बुर्र-बुर्र कुखुरालाई चारो छरेजस्तो। सारा गाडी त्यहीँ अड्के। हिँडिहाल्दा पनि गर्लम्मै खसेर पुर्यो भने के गर्नु! अर्को युगमा डाइनोसरको हड्डी भन्दै निकाल्लान्। तुरुन्तै १ घण्टा जति पर्खँदा डोजर आयो। सफा गर्यो माथि हेर्दै। डराउँदो रहेछ डोजरवाले पनि।
घरी दायाँ ढल्किने, घरी बायाँ। घरी बेढङ्गले उफार्ने, घरी सिटै भाँचिने गरि थेचार्ने। टाउको त झ्यालमा कति ठोकियो कति, धन्न बेच्नु पर्दैन र मात्र नत्र स्याउ भएको भए कसले किन्थ्यो होला मेरो टाउको!
आहा! क्या मज्जाको यात्रा राजधानीको।
कलंकीमा ओर्लिए सबै। म पनि निस्केँ। ड्राइभरले गाडी फनक्क घुमायो। कुटीतिरै लागेको होला। बेखुस आत्मा लिएर फिर्ता नआएको पूरा १५ पैसा र ५ किलो सुन्तला बोकेर खिस्स हाँस्दै घर छिर्यो होला! सुन्तला देख्दा घरमा खुसी पनि होलान्, खालान् तर उसले के जवाफ देला जब उसको थकित शरीर बिसाउने बेलामा श्रीमतीले सोध्छिन्, 'आज कति बचत भयो बुढा?'