बिहान कलेज अनि दिउँसो अफिस गरी दिनहरू चलिरहेकै थियो। बाबा, आमा, भाइ र म, हाम्रो सानो परिवार। खान लाउनको दुःख थिएन। बाबा सुगर र प्रेसरको बिरामी। समाजमा बाबा-आमाको राम्रो पहिचान थियो।
अफिसबाट फर्किएपछि कलेजको असाइनमेन्ट गर्थें। पढाइ अनि काम दुवै राम्रोसँग चलिरहेकै थियो। पढ्नमा पनि म अब्बल नै थिएँ। १२ कक्षा प्रथम डिभिजनमा पास गरेको म ब्याचलर दोस्रो वर्ष अध्ययनरत थिएँ। बाबा-आमाले मलाई सुखमै हुर्काउनु भएको थिएँ।
१२ कक्षा सकेर कलेज जान थालेपछि मनमा छुट्टै प्रकारको भावना आउन थाल्यो। साथीभाइको मायाका कहानी सुन्दा रमाइलो लाग्थ्यो। उमेर बढ्दै जाँदा बाबा, आमा, परिवार साथीभाइसँगै पुरुष मित्रले पनि माया देखाउन थाले। उनीतिर आर्कषण बढ्न थाल्यो। हामी सामाजिक संजालमा साथी भयौं। घण्टौं च्याटमा झुन्डिन थाल्यौं, भिडिओ कलमा लामो कुराकानी हुन थाल्यो।
तातो भाडोमा नौनी पग्लिएजस्तै म उसको मायामा पग्लिँदै गएँ। फोन नम्बर आदानप्रदान भयो। सामीप्यता बढ्दै गयो। म तिमीलाई धेरै माया गर्छु, मन पराउँछु भन्दै गुलाबका फूलहरू ल्याउन थाल्यो। मलाई मनपर्ने चिजहरू ल्याइदिन लाग्यो। मलाई पनि ऊ राम्रो लाग्न थाल्यो। संसारमा ऊभन्दा राम्रो कोही छैन जस्तै भयो। हेर्दा ज्यान सुरिलो, हल्का दारी पालेको, कपाल मिलाएर काटेको, बोलीमा चिनी मिसाएजस्तो मिठासपन भएको।
विस्तारै हाम्रो माया बढ्न थाल्यो। छुट्टीको दिनमा पनि घरमा अफिस छ भनि ढाँटेर हामी घुम्न जान थाल्यौं। ऊ पनि मैले काम गर्ने अफिसमा काम गर्दथ्यो। म उसलाई सरदेखि बेबी भन्न थालें। उसले पनि मलाई मायालु भन्थ्यो। तर हामी कामको सिलसिलामा एकअर्कालाई 'सर मिस' नै भनेर सम्बोधन गर्दथ्यौं।
हाम्रो सम्बन्धको बारेमा हामी दुई बाहेक अफिसमा कसैलाई थाहा थिएन। मैले कलेजमा सँगै पढ्ने साथीलाई मात्र भनेकी थिएँ। उसलाई भेटेदेखि माया नै संसार सजाउने सुन्दर यन्त्र हो जस्तो लाग्न थालेको थियो। बाबा, आमा, आफन्तको माया पनि फिक्का लाग्न थालेको थियो। ऊ एकदिन अफिस नआउँदा मन खल्लो हुन्थ्यो। एकदिन देख्न नपाउँदा पानी बिनाको माछाजस्तै मन छटपटिन्थ्यो।
अफिस, गल्ली, चोक हुँदै हाम्रो माया ऊ बस्ने कोठासम्म फैलिन थाल्यो। घरमा साथीको घर जानुछ भनि ढाँटेर म उसको कोठामा रात बिताउन थालें। उसको कोठामा जाँदा उसले आफैंले खाना बनाएर खुवाउँथ्यो। मायाको बेगमा तनमनसँगै मैले उसलाई शरीर सुम्पिएँ। हामीबीच सहमतिमै यौन सम्पर्क हुन थाल्यो। दिनहुँ बढ्दो मायासँगै अफिस बाहिर पनि भेटघाट बाक्लिन थाल्यो। बाबा-आमालाई ढाँटेर मैले उसको विश्वास गरें।
ऊसँग चिनजान भएको एक वर्ष भएको थियो। मैले आफ्नो शरीरमा परिवर्तन पाउन थालें। पहिलेभन्दा ज्यान भारी हुने, खाना नखाँदा पनि पेट टन्न हुने, बान्ता आउन थाल्यो। घरमा आमालाई भन्दा ग्याष्ट्रिक भयो होला भनेर बिरेनुन, लसुन, टिमुर पानी बनाएर खान दिनुभयो। मेडिकलमा जचाउन जाँदा पनि ग्याष्ट्रिककै औषधि दिनुभयो।
मेरो महिनावारी गडबड थियो। कहिले ६ महिनापछि हुन्थ्यो भने कहिले वर्षदिनमा हुन्थ्यो। दिनहुँ म आफूलाई कमजोर महसुस गर्न थालें। जाडो मौसम भएकोले मैले बाक्लो कपडा लगाउँथें। साथीभाइले त मोटाउँदै गएछस् त भन्थे। आफ्नो ज्यान पनि मोटो भएर हिँड्डुल गर्न असहज भएको थियो।
आफ्नो शरीरको पीडासँगै अर्को पीर मनमा थपियो। एक हप्तासम्म अफिस नआएको उसले जागीर छोडेको खबर सहकर्मी साथीहरूबाट सुनें। जाडो मौसममा हात खुट्टासँगै मन पनि चिसो भयो। उसले मलाई नभनीकन जागीर छोडेछ। मलाई फेसबुक, इन्स्टामा ब्लक गरेछ। मोबाइल नम्बर पनि सम्पर्क हुन सकेन।
कतै अप्ठयारोमा पो पर्यो कि ऊ, मनले सोच्यो। तर किन मलाई सामाजिक संजालमा ब्लक गर्यो? दिन, हप्ता हुँदै एक महिनासम्म ऊ सम्पर्कमा आएन। मेरो ज्यान भने अझै भारी हुँदै गइरह्यो। आमासँग म जाँच गर्न हस्पिटल गएँ।
डाक्टरले भिडिओ एक्स-रे गराउन लगाउनु भयो। लामो लाइनको पर्खाइपछि मेरो पालो आयो। भिडिओ एक्स-रे गराउने डाक्टरले मेरी आमालाई बोलाएर रिपोर्ट दिनुभयो र मैले नसुन्ने गरी केही कुरा भन्नुभयो।
म कोठाबाट बाहिर निस्किएँ। आमा रिसले आगो हुँदै मलाई गाली गर्न थाल्नुभयो। डाक्टरले मेरो पेटमा बच्चा रहेको र ७ महिना पुगिसकेकोले अब फाल्न नमिल्ने कुरा बताउनु भयो। आमाको अगाडि मुख देखाउन लाज लाग्यो। पोसिलो खानेकुरासँगै आइरन र क्याल्सियम नियमित रुपमा खाने सल्लाह डाक्टरले दिएर बिदाइ गर्नुभयो।
आमालाई समाजमा कसरी हिँड्ने भन्ने डर लाग्यो। घर पुगेपछि मलाई निकैबेर गाली गर्नुभयो। म धेरैबेर कोठामा गएर एक्लै रोएँ। समाजमा कसरी हिँड्ने, आफन्त, साथीभाइलाई के भन्ने?
यो सबै भनिरहँदा राममायाका आँखाभरि आँसु थियो। म छक्क परें। समाजमा घट्ने यस्ता घटनाको दोषी को?
यौनको प्यास मेटाउन राखेको सम्बन्धले राममायाको शरीरमा नासो छोडेर गयो। बिहेपूर्व विपरीत लिंगप्रति भएको आकर्षण र छोटो समयमै अरुलाई गरेको विश्वासको परिणाम आज धेरै किशोरीहरू अपरिपक्व उमेरमा आमा बन्दैछन्।
हामी हाम्रा हजुरआमाका जीवन कहानीमा ५/७ वर्षमा बिहे भएको र १५/१६ वर्षमा बच्चा जम्मिएको सुन्छौं। अहिले युग बदलियो, शिक्षाको पहुँच धेरै ठाउँमा पुगिसक्यो तर पनि सुनिने र देखिने यस्ता घटनाहरूले उही पुरानै समाजको झल्को देखाउँछ।
बिहेअघि हुने असुरक्षित यौन सम्पर्कले बच्चा पेटमा आउने र बदलिने छोरीहरूको जीवनशैली बारे सचेत कसले गराउने? अभिभावकहरू आफ्ना बालबालिका सानै ठान्छन्। उनीहरू आफ्ना सन्तानसँग यौन शिक्षाका कुरा गर्न चाहँदैनन् र जरुरी ठान्दैनन्।
स्कुल नै बालबालिकाहरूको दोस्रो घर भएकोले हरेक स्कुलहरूमा परामर्शदाता राख्न आवश्यक छ। जसले यौन शिक्षा दिन सकोस् र भविष्यमा आउने समस्याहरूको बारेमा पाठ पढाउन सकोस्।