टाढाबाट नै हेरिरहेँ एकटक
अहो! के हो त्यो विराजमान भनी
बनाएर अनेकन हाउगुजी भागिरहे-
बेलाबेला हिर्काए ढुंगाले पनि
हान्न खोजें मुक्का अनि लात
तर अहँ! अझै ठिंग छ बुख्याचा
बल्झाएर मेरो अभिमान
न चल्छ हावाको वेगसँगै
न फरक पर्छ मेरो आवेगसँगै
अचाक्ली अभिमान बोकेर
ठिंग उभिएको छ बुख्याचा
लाग्छ सबैको जीवनमा
एउटा बुख्याचा छ
जसलाई गर्छ निर्माण ऊ आफैं
बनाउँछ अनेकन हाउगुजी
र भागिरहन्छ नपुगिने गन्तव्यमा
बैरी मेरै सोच हो
जीवन बाँच्न संकोच भो
हुँदै नभएको
बुख्याचासँग लड्न
जीवन खर्चिएपछि यस्तो लाग्छ
साँच्चिकै 'गरिब' रह्यो मृत्यु मेरो।