तिमीले सुन्दर देख्न सक्छौ
उदाउँदै गरेको घामको प्रतिबिम्ब
त्यो कोशी किनारमा स्थिर भई
बसेको पानीको सतहमा
तर त्यो उदाउँदै गरेको घामको प्रतिबिम्ब
मलाई आमाको कोखबाट
भर्खरै जन्मेको नवजात शिशुको
आँखामा बिझाए झैँ बिझाउँछ
फगत
ब्युँझँदा ब्युँझँदै करोडौं
फूलका पातमा झुलेका चाँदनीका
शीतका थोपाहरूको
भ्रूण हत्या गर्दै
रुद्र रुपमा विराट आकाशमा
जज्वल्यमान भई उभिन्छ
एउटा सिंगो सूर्य
करोडौं सपनाको हत्या गर्ने हत्यारालाई
अर्घ चढाउँछौ तिमी पुष्प वृष्टि गर्छौ
नमस्कार गरिरहेछौ, लम्पसार परेर
तर म बिलाइ जाने सपनाहरू
संगाल्दा संगाल्दै थाकेको
एक अविराम यात्री हुँ
जो हारेको छुइँन
तिम्रो सिंगो सूर्यको आँखामा
आँखा जुधाएर हेर्ने दृष्टता गरिरहेछु
कुनै दिन आउनेछ चन्द्रमा दिनमा पनि
तिम्रो सूर्यमा लाग्ने ग्रहण बनेर
तर यो प्राकृतिक ग्रहण जस्तो
लाग्ने छैन मेरो चन्द्रमा
तिम्रो सूर्यमाथि
न केही क्षणलाई न सधैं
यसले त लेख्ने छ केवल
एक शुभ बिहान
जहाँ सिंगो सूर्यको तेजमा पनि
मुस्कुराइरहन्छ चाँदनीका शीतका थोपाहरू
फूलका पातहरूमा।