मेरो संसारमा
फूलले घोच्छ र काँढा ओइल्याउँछ
तिमी उता फर्के प्रेम हुन्छ
यता फर्के युद्ध
मेरो संसारमा लडाइँमा शान्ति हुन्छ र मान्छे जन्मिन्छन्
युद्धविरामको बेला कोलाहल हुन्छ र मान्छे मर्छन्
मेरो संसारमा म प्रेमको कसम खान्नँ- तीतो हुन्छ
यहाँ सबभन्दा मिठो भोक हुन्छ
सबभन्दा सुन्दर नाङ्गो हुन्छ
सबभन्दा सानो अनन्त हुन्छ
सबभन्दा ठूलो शून्य हुन्छ
अँध्यारो कामुक हुन्छ, उज्यालो दर्दनाक
जे देखिन्छ त्यो असह्य हुन्छ
आँखा चिम्लेपछि एकथोक हुन्छ
घुम्न आउने हो भने मेरो यताको संसार
उता हुन्छ
ट्रेकिङ गाइड जस्तै मेरो अस्तित्वमा तिमीलाई घुमाइदिन्छु
रिङ्गटा लाग्ने गरी
कुन भाषा बोल्छौ हजुर?
मेरो देशमा केवल दुई भाषा चल्छ
कि सुस्केरा हुन्छ कि सिस्कारी
प्रेमको यही दुइटा मुद्रा हुन्छ
तर म प्रेमको कालो बजारी गर्छु र डलरमा बेच्छु
घाम हुँदा ख्याल-ख्यालको प्रेम सित्तैमा बेच्छु
घाम डुबेपछि असली प्रेम लिलाम बढाबढमा
मेरो संसारमा म सधैं झुटो बोल्छु।