बा! म फेल भएछु
तपाईंले देख्नु भएको सपना
अनि मैले देखाएको भरोसा
तुँहिएछ प्रश्नपत्र र उत्तरपुस्तिकाको
घमासान द्वन्द्वमा
मैले घोक्नुपर्ने पाठ नघोकेको पनि होइन
गर्नुपर्ने गृहकार्य नगरेको पनि होइन
दिनुपर्ने समय पुस्तकलाई नदिएको पनि होइन
तर ती अक्षरहरूमा अनि पानाहरूमा
मैले तपाईंको दुब्लाउँदै गएको ज्यान देखें
पटपटी फुटेका हत्केलाहरू देखें
ढुङ्गा उठाउँदा उठाउँदा कुप्रिएको ढाड देखें
आँखामा लागेको पावरदार चस्मा देखें
अब तपाईं नै भन्नुस्
यति देख्दादेख्दै म कसरी पढुँ
यी कामै नलाग्ने शताब्धीऔँ पुराना
थानका थान पुस्तकहरू
यी आफैं बेरोजगार भएर बसेका
अक्षरहरूले मलाई केही सिकाएनन्
न त मेरो अभावमा नै मलम लाउन सके
न त तपाईंको चाहाना नै पूरा गर्न सके
म अब पढेर ठूलो मान्छे बन्ने सपनालाई
झुण्ड्याइदिन्छु बाध्यताको खाँबोमा
मलाई अब तपाईंको सहारा बन्नुछ
हेर्नुछ तपाईंको ठुटे ओठमा मुस्कान
यो सब गर्न मैले
यी थोत्रा पुस्तक पढ्न छोड्नुपर्छ
बा! मलाई अब फेल हुनुछैन।