बाल्यकालमै बुबाको निधन भएको हुनाले आमाले बुबा र आमा दुवै बनेर हुर्काउनुभयो। हाम्रो बाल्यकाल अरूको जस्तो सहज बिल्कुलै थिएन। भगवानले सानैमा बाबाको मायाबाट बञ्चित बनाए पनि अथाह माया गर्ने आमा भने हाम्रो भाग्यमा दिनुभयो।
श्रीमानबिना तीन नाबालक बच्चालाई हुर्काउन, पढाउन, विवाह गर्न कत्ति कठिन भयो होला आमालाई! म त कल्पना समेत गर्न सक्दिनँ। खेतीपाती, मेलापर्मा अनि गाईबस्तु पालेरै हामीलाई राम्रो शिक्षादिक्षा दिनुभयो। आमाको हकमा म जति भाग्यमानी थोरै होलान्।
आमाले जत्ति माया दिए पनि बुबाको माया मेटाउन नसकिने रहेछ। घरमा हुँदा बाबाको त्यति न्यास्रो लाग्दैनथ्यो तर साथीहरू आफ्नो बाबासँग घुमेको, चाडपिच्छे नयाँ खेलौना र कपडा पाएको देख्दा उहाँको सारै याद आउँथ्यो।
म यतिसम्म अभागी थिएँ कि, मसँग म र बुबा भएको एउटा फोटो समेत छैन। फोटो मात्र भएको भए पनि कल्पनामै बाबाको काँधमा घुमेको, रमाएको देख्न सक्थें। आमा भन्नुहुन्थ्यो, म गर्भमै हुँदा गाडी दुर्घटनामा परेर बुबा बित्नु भएको रे। बाबाको सम्झनामा एउटा विवाहको फोटो छ तर श्यामश्वेत, त्यो पनि धुवाँले धमिलिएको।
मेरो पहिलो बोली नै बाबा भनेर फुटेको रे। तल्लो घरको कमली दिदीले बुबा भनेको सुनेर सिकेको रे।
आमा भन्नुहुन्थ्यो, 'तिमीले पहिलो पटक बाबा भन्दा एकातिर खुसी लाग्यो अनि अर्कोतिर भक्कानो फुट्यो। बाबाको एक झल्को पनि देख्न नपाउनेको पहिलो शब्द नै बाबा। बुबालाई छोरी एकदम मनपर्थ्यो, त्यही भएर दुई जना दाजुपछि छोरीको रहरमा तिमीलाई पाएको। तिम्रो नाम भावना पनि बाबाले नै राख्ने भन्नुभएको थियो तर विधिको विडम्बना, तिमी दुवैले एक अर्कालाई देख्न पाएनौ।'
समय बित्दै गयो, बेला बेलामा बुबाको माया खट्किरहन्थ्यो। हामी ठूलो भयौं। पढाइ सकियो अनि राम्रो घरमा विवाह पनि। विवाहपश्चात श्रीमानको मायाले केही हदसम्म बुबाको कमी कम गरिदियो। मेरा सुख अनि दुःख दुवैमा साथ दिने जीवनसाथी पाएर होला जीवन रमणीय लाग्न थाल्यो। हाम्रो एउटा छोरी आशाको जन्म भयो। विस्तारै बाल्यकालको पीडा कम भयो।
तर अचानक अचेल पुरानो घाउ बल्झिन थालेछ। सुन्दा मान्छेलाई अनौठो लाग्ला तर आफ्नै छोरीलाई श्रीमानले गरेको माया देखेर एकातिर खुसी लाग्छ त अर्कोतिर डाह। मैले श्रीमानबाट एउटा श्रीमतीले पाउने माया पाएकै छु तर पनि आँखा अगाडि श्रीमानले आफ्नै आशालाई गरेको माया देख्दा खुसीसँगै मिश्रित दुःख पनि लागेको छ।
एउटा असल पिताले आफ्नो छोरीलाई यति धेरै माया गर्छन् भन्ने थाहै थिएन। श्रीमानले आशालाई पहिलो पटक काखमा लिँदा गहभरि आँसु भरिएको पल अझै क्यामेरामा कैद छ। कामको सिलसिलामा उहाँ प्रायः बाहिर जिल्ला जानुपर्थ्यो तर छोरीको यादमा चाँडै घर फर्किनु हुन्थ्यो। आफू काममा व्यस्त भएर बाल्यकाल हेर्न नपाइएला भनेर मलाई राम्रो क्यामेरा भएको मोबाइल किनिदिनु भयो अनि सधैं मलाई नानुको भिडिओ र फोटो पठाउन भन्नुहुन्थ्यो।
श्रीमान अचेल अफिसबाट फर्कने बित्तिकै लुगै नफेरी छोरीसँग खेल्न थाल्नुहुन्छ। कामको थकान छोरीको मुख देख्नासाथ हराउँछ भन्नुहुन्छ। छोरीको बाबाले कहिले काँधमा घुमाउने, घोडा बन्ने, अनेक उपहार लेराइदिने, आफ्नो गच्छेले भ्याएसम्म हरेक रहर पूरा गर्नुहुन्छ। कहिलेकाहीँ बदमासी गर्दा मैले हप्काएँ भने उल्टो मलाई नै हप्काउनुहुन्छ।
आमाको मायाको बखान त सबैतिर गरेको देखेको छु तर बाबाको माया पनि यति गहिरो हुन्छ भन्ने सोचेको पनि थिइनँ। बेलाबेलामा भान्छाको ढोकाबाट आशा बाबाको काखमा रमाएको हेरिरन्छु अनि आफैं आशा भएको कल्पनामा हराउँदो रहेछु। कुकरको सिट्ठीले धेरै पटक झस्किएकोछु म।
वर्तमानमा मसँग असल श्रीमान्, छोरी, जागीर अनि काठमाडौंमा घर छ। आमा पनि सकुशल नै हुनुहुन्छ। मैले आमालाई कहिले पनि बुबाको न्यास्रो लाग्छ भनेको छैन तर पनि बेलाबेलामा बाल्यकालको झझल्कोले सताउँछ।
हरेक वर्ष कुसे औंसीमा सबैले बाबासँगको आफ्नो तस्बिर सामाजिक सञ्जालमा शुभकामना दिएको देख्दा मनै कटक्क हुन्छ। औंसीको दिन एकाबिहानै नुहाएर अञ्जुलीभरि पानी दिँदै भन्छु, 'बाबा, हजुर कहाँ हुनुहुन्छ? कस्तो हुनुहुन्छ? हजुरको सारै याद आउँछ। हजुरलाई आफ्नो जीवनको सफलता सुनाउन मन छ। यो जुनीमा त हजुरको स्पर्श पाउन सकिनँ तर बिन्ती अर्को जुनीमा भने मलाई यति चाँडै छोडेर नजानू है! अनि सम्भव भए मेरो सपनामा कहिलेकाहीँ आउनू है, सपनामै भए नि फेरि बच्चा बनी आशाले जस्तै हजुरको मायामा बिग्रन मन छ, तीतो बाल्यकाल भुलाउन मन छ।'