आँगन डिलको आँपको बोटबाट
ढुकुरले हुर्काएर उडाइसक्यो
अनेकौं छिमल बच्चा
दलिनमा गौंथलीले धेरैपटक बनाइसक्यो माटोको घर
संगसंगै हुर्किसक्यौं हामी पनि
लागिसके पखेटा
सपनाको उडान भरिसक्यौं
घरलाई घरजस्तो बनाउन
आँगनलाई फराकिलो राखिरहन
खेतबारीमा देखिरहने एक्लो छायाले साथ खोजिरहेछ
बेलुका अँगेनाको डिलमा
एक्लै आशाको ढुङ्ग्रीले भरोसाको आगो फुकिरहने
आमाको मायाले पर्खिरहेको कसैको भर
फर्कन्छ भनेर पर्खनु, पर्खन्छ भनेर पछ्याउनु
सम्झिनेहरूलाई सम्झाउनु, सम्झाउनेहरूलाई बुझाउनु
सायद कठिन छ होला
त्यसैले त बताउन चाहानुभएको छैन हजुरले
बाध्यताहरूको गाँठो
सुनाउन चाहानुभएको छैन विवशताहरूको जालो।
अब त मैले बुझिसकेँ
परदेशमा फल्दैन सुन
टिप्न मिल्दैन पैसा बोटमा फलेजस्तो
भोग्न मिल्दैन विलाशी समय
गाउँमा साकेला नाचेजस्तो
र पनि
बनोस् भनेर हाम्रो भविष्य
खनोस् भनेर आफ्नो बाटो
तपाईंले बगाउनुभएको पसिनाको बिउ
अब उम्रिसकेको छ तपाईंकै बारीमा
फुल्न थालिसकेको छ घरैको बगैँचामा।
अब त फर्किनू घर
र तपाईंले मधेशबाट ढाकर बोकेर
घर आइपुग्दा टेकुवा टेकाउने आँगनको डिलमा
फेरि बिसाउनु जीवनको एउटा दुःख
अब त
हजुरको छोरीले माग्दिन पिंक कलरको जामा।
बुबा,
अब घर फर्किनूस्
यसपालि छोरालाई पिलपिले घडी हैन
हजुरले मुस्कान लिएर फर्किए पुग्छ।