म प्राय: कुनै विशेष उद्देश्य भएका दिन उहाँलाई भेट्न जाने गर्छु। त्यस दिन पनि मैले बिहानैदेखि भेट्न जाने विचार गरेको थिएँ। उहाँलाई भेट्न जाने दिन अलिक फरक तयारी गर्नुपर्ने चलन थियो।
बिहानै नुवाइधुवाइ गरेर चोखोनितो गर्नुपर्ने। मुख जुठो गर्न नहुने। फलफूलसम्म खान मिल्ने तर त्यति पनि सकभर किन गर्ने र? विशेष उद्देश्य लिएर भेट्न जानुछ। हुन पनि शुद्धता र पवित्रता जति बढी दिव्यदृष्टि त्यति नै बढी हुने अपेक्षा रहनु स्वाभाविकै हो नि।
त्यस दिन मैले परीक्षा दिनु थियो। त्यसैले बिहानै उहाँलाई भेट्नु पूर्वको तयारी गरेँ। केही पढ्ने र मनमनै सम्झिने गर्दागर्दै उहाँलाई भेट्ने तयारीले मन चंगा पनि भएको हुँदो हो। भगवान् बसेको ठाउँ नै तीर्थ हो, धाम हो। घरको बुँगलमा बसेका भगवानको स्थल पनि उस्तै पवित्र हो भनेर मेरा हजुरबाले भनेको सम्झिएँ।
हत्त न पत्त थालीमा केही फूल, अक्षता र नैवेद लिएर पूजा कोठामा पसेँ। आज भगवानको धकफुकाएर पूजा गरिन्छ के। मनमनै मैले इरादा गरेँ। त्यसपछि खुलेर वरदान मागिन्छ भनेर मनमनै सोचेँ।
उत्साहित हुँदै भित्र पसेको मलाई सोझै भगवानतर्फ हेर्न मन लाग्यो। पुलुक्क हेरेँ। आँखा चार भयो। यसपछि केही त भन्नै पर्यो वा कम्तीमा मुस्कुराएर सकारात्मक सन्देश त दिनुपर्छ नै। म नमस्कार प्रभु भन्दै मुस्कुराएँ।
भगवानको आज साक्षात दर्शन पाउनु मेरा लागि सौभाग्य नै हो भन्ने ठानेर आल्हादित भएको म उहाँको भाव देखेर झस्किएँ।
गम्भीर हुँदै उहाँले भन्नुभयो, 'तिमी आउँदा अवश्य केही के माग्नु पर्ने रहेछ आज भन्ने लाग्छ। केही काम नपरे तिकी हत्तपत्त मकहाँ अउन्नौ भन्ने मलाई थाहा छ।'
उहाँ थोरै गुनासो मिश्रित मुस्कुराउनु भयो।
म एकछिन अवाक भएँ। हठात् बोली फुट्यो, 'हो प्रभु, यस्तै बेलामा सम्झँदो रहेछु म।'
भगवान्: त्यही त मेरो पनि बाध्यता छ। तिमीलाई र तिमीजस्तै बेलाबेलामा झुल्किने भक्तलाई पनि केही न केही वरदान त दिनैपर्छ।
म उहाँलाई आश्वस्त पर्ने प्रयास गर्छु, ‘के गर्नु भगवान, मानव लोकमा अति नै व्यस्तता छ। एकछिन फुर्सद हुन्न।’ म बाध्यात्मक हाँसोसहित आफ्नो विवशता पस्किन्छु।
आज भगवान् कुरा गर्ने मुडमा रहेको पाएँ। उहाँले थप्नुभयो, ‘तिमी भक्त हौ कि पथिक मात्र हौ म अलमलमा पर्ने गर्छु।’
म विस्तारै बोल्छु, 'यो मेरो बाध्यता हो प्रभु। बाध्यता मात्र होइन प्रभु, सहयोग माग्नु पनि हजुरप्रतिको सम्मान हो। हजुरको मान सम्मान र हजुरप्रतिको अपेक्षा नै भक्तको कर्तव्य हो। म त्यो कर्तव्य पूरा गरिरहेको छु।'
लोक सेवा आयोगका कठिन प्रश्नहरूको समाधानका लगि धेरै सूत्रहरू घोकिरहेको मलाई अमूर्तबाट मूर्तिकृत आस्थाका प्रभुप्रति बिना हिच्किचाहट बोल्न नआउने कहाँ हो र?
भगवानलाई के लाग्यो कुन्नि, एकछिन मौन रहनुभयो। म तर्कले जितेँ भनेर मख्ख बनेको थिएँ। जीवनका कैंयन मोडमा यस्तै तर्कहरूले काम गरेका थिए। यो पटक आफ्ना आराध्यलाई बोलेर सन्तुष्ट बनाउन सफल हुनु मेरो सामान्य कर्म भएको लख काटेँ।
भगवानले मतर्फ दृष्टि लगाउँदै मर्जी भयो, ‘भक्त, तिम्रो कुरा सुनेर निकै गमेँ। तिमी आफूलाई चाहिएको बेला मात्र मेरो निवासमा आउँने गर्छौ।’
म उतै हेरेर बोलेँ, 'हो प्रभु।'
भगवानले फेरि थप्नु भयो, 'भक्त, यसरी आफूलाई काम पर्दा मात्र भेट्न आउने कुरा ठिक हो र? तिमी आफैं सोच त। तिमीसँग सहयोग माग्न मात्र भेट गर्न आउने शुभेच्छुकलाई तिमी के गरौला।'
मैले सहजै उत्तर दिएँ, 'प्रभु म त थर्काउँछु। यसरी सधैं मकहाँ लिन मात्र आउने। लिनु परे मात्र भेट गर्ने हो र? भनेर र्याखर्याख्ती पार्छु।'
'अनि तिमी आफू चाहिँ यो के हो त?,' पुन: प्रश्न आयो।
अब गम खाने पालो मेरो थियो।
मैले सोचेँ। हो नि। हुन पनि म आफूलाई विशेष काम परेका बेला थप बल चाहिने समयमा मात्र भगवानकहाँ जाने गर्दो रहेछु।
हुन त भगवानको भक्तिमा बिहान बेलुका नित्य कर्म गर्ने भक्तहरू पनि धेरै छन्। म त्यस्तो सदाबहार समय दिन सक्ने परिनँ क्यारे। आफ्नो स्वभावलाई बाध्यता सम्झेर मैले आत्मसन्तुष्टि लिन चाहेँ।
'भक्तहरूको प्रकार फरक-फरक हुनु स्वाभाविकै हो नि प्रभु। अरु दिन हजुरका नियमित भक्तबाट काम चलिरहेकै छ। यस्तै बेलामा म जस्ता पनि भेट्न आउछौँ। फूल चढाउँछौँ, नैवेद चढाउँछौँ, श्रद्धा गर्छौँ। यो अतिरिक्त भोजन र अतिरिक्त भक्तिभावको प्राप्तिले हजुरमा थप प्रसन्नता आउनु पर्छ नि प्रभु।'
भगवानको नजर मतर्फ सोझियो। मैले प्रतिक्रिया पर्खिएँ।
‘तिमी बोल्न सिपालु रहेछौ। वाक्पटुकताले मात्र काम चल्दैन बालक।’
मलाई बालक भनेकोमा असन्तुष्टि पोख्न चाहेँ। म एक सन्तानको पिता भैसकेको, उमेरमा अर्ध सतक हान्न लागेको मनुवालाई बालक? मानहानी मुद्दा लाग्ला जस्तो नि। तैपनि मैले खामोस खाएँ। किनकी आज त मेरो विशेष दिन। खुसी पारेर केही लिनु पनि छ। आफ्नो चित्त शान्ति पनि चाहिएको छ।
मैले मधुरो स्वरमा आफ्नो तर्क अघि सारेँ, ‘हामी नआए प्रभुको के अर्थ रहन्छ र भगवान्। कल्पना गर्नुस् त प्रभु। हजुरको बासस्थान, एकान्तस्थल छ। एकान्तपन छ। एक्लोपन छ। सायद पहिले आफ्ना समयमा थियो होला रमाइलो। राधाकृष्णको जस्तो प्रेम, वैकुण्ठको सरम्यता। कैलाशको चिसोमा नसाको मज्जा।’
भगवानको ध्यान मेरातर्फ खिचियो। केही सम्झे जस्तो। भित्रभित्रै खुसी फर्किए जस्तो उज्यालो फर्कियो।
मैले थपेँ, ‘अहिले त प्रभुको अग्ला पहाडका चुचुरामा वा नदीका किनारमा वा जङ्गलको बीचमा वा मैदानका फाँटमा मात्र बस्ने बानी छ।’
हुन पनि सधैं त मन्दिरमा पूजा हुन्छ। मेरा प्रभु जस्तै बुद्ध, गुरू नानक, मोहम्मद, प्रभु इशुको पनि पूजा हुन्छ, अर्चना हुन्छ। म जस्ता गृहस्थ भक्त त चाहिएका बखत आउने, भक्तको याद पुनरावृत्ति गराउने र आफ्नो अभीष्ट प्राप्त गर्ने विश्वासमा खुसी भएर फर्किने मात्र हो नि।
म एकछिन टोलाएछु क्यारे। भगवानको मन्त्रमुग्ध भावको तरङ्ग मेरा शरीरसम्म आइपुग्यो।
झट्ट उता नजर घुमाउँदै बोलेँ, ‘घरघरमा ल्याएर यसरी स्थापना नगर्ने हो भने त विस्तारै मान्छेले बिर्सन थाल्नेछन्।’
भगवानको मन चसक्क गरेजस्तो लाग्यो। आखिर आफ्नो अस्तित्व त सबैलाई चाहिने रहेछ।
‘सय खत माफ दिएर पनि आफ्ना भक्तलाई उतार्ने परम्परा नै हो नि प्रभु। नजिक पर्ने भक्तलाई दृष्टि दिने र कृपा गर्ने हजुरको परम्परा नै हो नि प्रभु,’ मैले सप्रमाण उहाँहरूको परम्परा सम्झाएँ।
मैले अझै थपेँ, ‘ धन्न म जस्ताले श्रद्धापूर्वक सम्झना गर्नाले प्रभुको अस्तित्वलाई मान्छेले अनुभूति गर्न पाएका छन्। सम्झेका छन्। यति मात्र होइन प्रभु, हजुरको परम्पराबाट सबै सिकेका पनि छन् नि।’
प्रभुको जिज्ञासु मुहारले मलाई उत्साहित गरेछ। मैले प्रमाणहरू थप्न थालेँ, ‘प्रभु नजिक आएकालाई बढी भाग दिने हजुरको परम्परा मान्छेले बिर्सेको छैन। श्रद्धापूर्वक बन्दना गर्नेलाई यसरी भक्तिभाव नदेखाउनेलाई भन्दा नजिक राख्ने गरेकै छ। याद मात्र हैन, त्यस्ता भक्तलाई अहिले पनि मानव जातिले नजिक राख्ने र बढी सुविधा दिने गरेकै छ। यति मात्र होइन नि अप्ठ्यारोमा परेको भए त्यस्तो सङ्कटबाट मुक्ति दिलाउन अनेक उपाय लगाउने गरकै छौँ प्रभु।’
प्रभुलाई यो मेरो यथा चरित्रको प्रमाण मन परेको हुनुपर्छ।
‘हामीले भक्तको रक्षाका लागि ठूला-ठूला युद्ध लडेका छौँ। मैले त अझ शत्रु पक्षका कोखमा जन्म लिएर पनि परिवारबाटै विद्रोह गराएको छु। यस्ता कैयौँ घटनाहरू छन्। दृश्यहरू छन् र सन्दर्भहरू छन्,’ उताबाट गर्जन मिश्रित आवाज सुनियो।
मैले आफूलाई सम्हाल्न कोशिस गरेँ। एकाबिहानै पूजा कोठाबाट गर्जन मिस्रित आवाज परसम्म पुग्यो भने समुदायमा नै असर पर्ने भयले म रोकिएँ। टक्क अडिएको मलाई भगवानबाट केही बोले हुने आशयको भाव प्रकट भयो।
मैले आफ्नो आजको अभीष्ट पेश गर्ने मौका पाएको अनुभूत गरेँ।
‘प्रभु, हो यसैले भक्त आज हजुरको समीपमा निहुँरिएको छ। आफ्नो कामना पूरा गर्न आशीर्वचनको प्रतीक्षामा रहेको छ।’
मैले थपेँ, ‘मेरो दावी छ श्रद्धापूर्वक भक्त आएपछि सन्तुष्ट बनाउनु हजुरको कर्तव्य हो। मेरो कामना पूरा भए मात्र हाम्रो भेटघाट बाक्लो बन्नेछ।’
‘के माग्छौ माग भक्त?,’ भगवानबाट सोधनी भयो।
मैले खुसी लुकाएर शान्त भावमा भनेँ, ‘ प्रभु, भक्तको मनमा के छ? हजुर आफैं जानिफकार हुनुहुन्छ नि। मैले माग्दा त हतारमा छुटाउन पनि सक्छु नि।’
धूर्त मान्छे। भगवानसँग यसरी तर्क गरी-गरी आफ्नो मनोकामना पूरा गराउने बलशाली प्राणी। यतिबेला मौन थिएँ। मेरो बग्रुहपूर्ण हेराइलाई सम्बोधन गर्न तत्पर उहाँको वाणी निस्कियो ‘सशर्त तथास्तु!’
मलाई सर्तको कुरा मन परेन। हत्तारिँदै अनुरोध गरेँ।
‘प्रभु भक्त र भगवानका बीचमा शर्तको पर्खाल किन र? यसले शोभा दिन्न प्रभु।’
उताबाट फेरि गर्जन मिस्रित आवाज आयो, ‘शक्तिको दुरूपयोग गर्नेलाई निशर्त हुनै सक्दैन। याद गर, देउताले सधैं सत्यका पक्षमा मात्र भक्तलाई च्याप्ने गरेको छ। मसँग एकै भेटमा यति धेरै तर्क गर्ने अहिलेको मानव सधैं सत्यको पक्षमा मात्र रहन्छ भन्ने मेरो विश्वास कमजोर बनेको छ।’
म सतर्क भएँ।
'त्यसैले म यतिमात्र भन्छु, सशर्त तथास्तु’।
म झल्याँस्स बिउझिएँ। शरीरमा हल्का पसिना आएका रहेछन्।
आजको सपना त कस्तो रमाइलो, छिमेकीसँग सिकुवामा भर्खरै कुराकानी गरे जस्तो।
बिहान उज्यालो भैसकेको थियो। लामो श्वास तानेर सरीरमा फूर्ति बढाएँ र पुस्तकका पानातिर विस्तारै नजर घुमाएँ।
त्यहाँ लेखिएको थियो ‘सुशासनमा कर्मचारीतन्त्रको दायित्व’।