जुस खान त डाक्टरको सल्लाह लिने
मजस्तो संवेदनशील मान्छेलाई
घुस खायो भनेर आरोप लगाउने कस्तो तपाईं?
अलिअलि नुनको सोझो गर्दैमा
देशकै ढुकुटी रित्यायो भनेर चिच्याउने कस्तो तपाईं?
मेरो घर
मेरो गाडी
मेरो बैंक ब्यालेन्स
सबै नेताजीबाट बक्स भएको हो
त्यसैले मेरो जिन्दगी रक्स भएको हो
उहाँको सानो काम सल्टाइदिएपछि
उहाँले यसो खल्ती टकटक्याउँदा झरेका सिक्काहरूलाई
नखाई नखाई जम्मा गरेर
मैले काठमाडौंमा जम्मा चार तले झुपडी जोडेको हुँ
ललितपुरमा यसो दुई/चार रोपनी माटो किनेको हुँ
श्रीमतीको नाममा यसो दुई/चार करोडको बिजनेस थालेको हुँ
मजस्तो गरिब मान्छेलाई
तपाईं कसरी लुटेरा भन्न सक्नुहुन्छ?
मलाई थाहा छ
जनतासँग लिएको पैसाले जुनीभर पिरोल्छ
त्यसैले त म बिचौलियाहरूबाट पैसा उठाउँछु
ठेकेदारहरू त मेरा दुहुना गाई भैहाले
कसैले ठेक्का मिलाइदिए बापत
कसैले जागीर लगाइदिए बापत
मिठाई खान भनेर
यसो दुई/चार लाख रुपैयाँ दिन्छ भने
त्यसलाई कसरी घुस भन्न मिल्छ?
मजस्तो इमान्दार मान्छेलाई
तपाईं कसरी भ्रष्ट्राचारी भन्न सक्नुहुन्छ?
हो, म पहिला पहिला घुस खान्थेँ
हाकाहाकी पैसा माग्थेँ
कुनै दिन मेरो बुद्धि फिर्यो
यसरी पैसा माग्नु भिख मागेजस्तो भयो
एक/दुई हजार माग्दा बजारमा आफ्नो इज्जत गयो
त्यसैले मैले यो जिम्मेवारी सालोलाई दिएको छु
सबै रेट उसैले सेट गर्छ
बिचौलिया, नेता, ठेकेदारसँग उसैले भेट गर्छ
मलाई त नोट गन्नेसम्म फुर्सद हुँदैन
अफिसमा चिया/पानी भन्नेसम्म फुर्सद हुँदैन
मजस्तो काममा तल्लीन मान्छेलाई
तपाईं कसरी कामचोर भन्न सक्नुहुन्छ?