झसंग हुँदै बिउझिएँ, सिरक पसिनाले निथ्रुक्क भिजेको थियो, हात जोर्नी दुखेका थिए, त्यसो त नदुखेको मन पनि कहाँ थियो र?
अघिल्लो दिन फुटसल खेलेको थिएँ, थाकेछु क्यारे, ९ बजे मात्र निद्रा खुल्यो!
उठेर झ्यालको छेउमा सिरानीको अस्थायी सिट बनाउँदै बिस्ताराबाट सर्लक्क पर्दा हटाएँ। मौसम धुम्म परेको छ, सायद पानी पर्छ आज, मेरो आँखाबाट पनि!
मलाई शिशिर ऋतु मन पर्दैन, मलाई लाग्छ यो खोस्न, छिन्न र लुट्न बनेको हो।
उदाहरणको रूपमा वृक्षहरूबाट हरियाली खोसेर, पातहरू लुटेर उजाड गराउँछ। मलाई ऋतुहरूमा वर्षा ऋतु खुब मन पर्छ। वर्षाले धेरै कुरा दिएको छ मलाई!
प्रदूषणले भरिएको यो सहरमा पनि छेउछाउका खेतबाट आउने हिलोको वासनाले त गाउँमा बिताएको बाल्यकाल नै याद दिलाउँछ। वैशाख र जेठको सहनै नसकिने गर्मीबाट पनि मुक्ति पाइन्छ। त्यही वर्षा ऋतु हो जसले कुनै बेला मलाई प्रेम अनुभूति गर्ने अवसर पनि दिएको थियो।
म दावाको साथ भन्न सक्छु, वर्षा ऋतुमा एउटा छुट्टै हावा चल्छ, मिठासको! तर ऋतुहरू त बदलिन्छन्, मान्छेहरू जस्तै! मन त चाहन्छ कि म सधैं वर्षा ऋतुमा अडिरहूँ, एक शिशिर छ जो हरेक वर्ष फर्केर आउँछ, यादहरू जस्तै!
मोबाइलमा फेसबुक खोलेर हेरेँ, मेरो एक नवविवाहित साथीको जोडीको फोटो टक्क अगाडि आयो। मेरो साथीको तस्बिरले मेरो फोनको स्क्रिनबाट मलाई हेरिरह्यो, मानौं यसले मेरो खिल्ली उडाइरहेको छ। मनमा थोरै डाहा पलायो। कुनै समय प्रेमको न्यानोपनले भरिएको हृदयले अब मोहभंग र विश्वासघातको भार बोकेको छ, लाग्छ डाहा पनि जायज छ।
भर्खर–भर्खर माया प्रेमको अनुभूति लिइरहेका भाइ बहिनीहरू हेर्छु, आहा, कस्तो मिठास! पहिलो भेट, पहिलो प्रतिज्ञा, पहिलो चुम्बन, निर्दोषता आदि इत्यादि!
सायद विगतका यस्ता पलहरू सम्झिँदा वृद्ध भइसकेको मान्छेको ओठमा पनि मुस्कान आउँदो हो। आखिर नआओस् पनि किन? जसरी चन्द्रमाको प्रेमिल उज्यालोले अँध्यारो रातलाई अँगाल्छ, त्यस्तै प्रेम नै त हो एक चम्किलो ज्योति जसले बिना सर्त र स्वार्थ कसैको अँध्यारो जीवनमा शितल र उज्यालो दिन्छ।
कसैको लागि पक्कै हावामा पनि प्रेम होला, तर मेरो लागि यो एक मन्द विष भयो जसले सधैं कमजोर र शिथिल मात्र बनाइराख्यो त्यसैले अहिले समाजमा देखिने माया र प्रेमका किस्साहरू मेरो परिभाषा अन्तर्गत पर्दैनन्। सम्बन्धमा साथ र माया त बिरलै देखिन्छन्, यी छन् भारी शब्दहरू: धोका, प्रयोग र बिछोड जो हर कतै देखिन्छन्।
विश्वासघातको प्रभाव यी भारी शब्दहरूको वजनसँग मिल्दोजुल्दो छ, प्रत्येक शब्दले चकनाचुर भएका अपेक्षाहरू, टुटेका वाचाहरू र टुक्रिएको बन्धनको बोझ बोकेका छन्।
विश्वासघातले निराशा र शोकको गहिरो भाव पैदा गर्दछ, भावनाहरू तरबारहरू जस्तै टकराउँछन्, विश्वास चकनाचुर हुन्छ र मानव एक नाटकको पात्र जस्तै बन्दछ।
विश्वासघातले लगाएका घाउहरू, समयसँगै निको हुन सक्ने शारीरिक घाउहरू भन्दा फरक हुन्छन्, यी कहिल्यै पूर्णतया ओइलाउन सक्दैनन्, यी घाउ निको हुँदैनन्, भइहालेछन् भने पनि हृदयको कक्षहरूमा दाग छोडेर जान्छन्। यो मेरो नित्तान्त व्यक्तिगत विश्वास हो, भोगाइभन्दा पनि फरक पर्दैन। बिछोड पछाडिका धेरै बसन्तहरू बितिसके, सम्झनाका तीरहरू उनीहरूको अस्तित्वको गहिराइमा पुगिसके, तर यी यादहरू मेटिँदैनन्।
आहा! प्रेम विघटनमा विश्वासघातको बाटो!
एक निस्वार्थ प्रेम पाउनको लागि धेरै लड्नु पर्ने रहेछ, फेरि लड्ने कुरा बहुत गाह्रो हुन आउँछ जब व्यक्ति आफ्नै सोच, आफ्नै भावना, आफ्नै विचार र आफैंसँग लड्नु पर्छ। आत्मविश्वास घट्छ र आत्म–घृणा त यसरी बढ्छ कि मान्छे आफैंभित्र कमजोरी खोज्न थाल्छ, आफैंलाई घृणा गर्छ। मानिसहरूको घुइँचोले भरिएको ठाउँमा आफूलाई एक्लो पाउने कुरा त सामान्य नै रह्यो।
एकातर्फ निराशा र शोक त छँदै छन्, अर्कोतर्फ बारम्बार सोधिने प्रश्नहरूको जवाफ दिन मसँग मेरो निश्चल आसुका थोपाहरूबाहेक केही थिएनन्। फेरि हाम्रो समाजमा छोरा मान्छेलाई रूने छुट पनि रहेनछ। जब मेरो आसुले मलाई कमजोर र अपरिपक्क मान्छेको संज्ञा दियो, मेरा इमानदार आँसु बाहिर निस्कन छाडे। आँसुसँग मेरो लगाव छ, ओशो भन्नुहुन्छ, ‘शब्दले बयान गर्न नसक्ने कुराहरू आँसुले बताउँछ, फेरि आँसु दु:खको मात्र कहाँ हुन्छन्?’
हो, मैले विगतका अविस्मरणीय पलहरू सम्झँदा खुसीका आँसुहरू पनि झारेको छु।
म मेरो मानसपटलभित्र चलिरहेका अनगिन्ती सोचहरूमा हराएर बसिरहँदा अचानक वर्षाको लयबद्ध थोपाहरूले मेरो ध्यान खिचे। लामो समयदेखि गुम्सिएको हिउँद र मेरा भावनाहरू आज एकै पटक खुल्न थाले, मनमा शान्ति छायो। मेरो लागि वर्षाको कोमल गनगन आत्मनिरीक्षणको साथी हो, म यसको गीतभित्र शान्तिको अभयारण्य भेट्टाउँछु।
बाहिर पानी पर्न थालेपछि शिशिरमा पनि, वर्षाको जादूले फेरि एकपल्ट मन छोएको महसुस गरेँ।
मैले शिशिरको चिसो हावामा वर्षाको सान्त्वना फेला पारे। वर्षाको थोपाले सहरमात्र होइन मेरो आत्मालाई पनि सफा गर्दछ, नकारात्मकतालाई पखाल्छ र नवीकरणको भाव छोड्छ।
ममताको कोमल वर्षा हुँदा, हराएका तर नबिर्सिएका मायाका सम्झनाहरू पुनः जगाउने आजको बिहान, हिजोको साँझजस्तै खास छ। बुझ्न समय लाग्यो तर शिशिरले पनि केही सिकाउने रहेछ क्यारे! जस्तो कुनै वाक्यमा पूर्णविराम लागेपछि मात्र अर्को वाक्य सुरू हुन्छ। आखिर पुरानो पातहरू झरेपछि नै त नयाँ कोपिला लाग्ने हो।
प्रकृतिको नियमानुसार ऋतुहरू त परिवर्तन भइरहन्छन्। अध्याय समाप्त भइसकेका पलहरूको मिठासको स्वाद लिनु मानव अस्तित्वको स्वभाव हो तर यादहरू जस्तो तिमी कहिले फर्केर नआउनू!