क्षितिज पूरै रातो भएर रवि उदाउने तर्खरमा थिए। त्यस्तै सिरसिर चलेको मन्द बताससँगै ऋतु राजमा फक्रेका पुष्पहरूले मिठो सुगन्ध छरिरहेकै थिए भने उज्यालो बढेसँगै सडक आ-आफ्नो काममा लाग्नु पर्ने जीवनहरू, बिहानीको कर्म पूरा गर्न सलबलाएका भिडले रंगिचंगी भइसकेको थियो।
घरै अगाडि लाग्ने तरकारी बजारमा बिहानीको समय जोडी भएर तरकारी किन्न आउँथे। कौसीमा तातो-तातो चियासँगै गफमा मस्त देखिने जोडीहरूले हर घरको शोभा बढाएको तियो। तर पनि उसलाई भने ती जोडीहरूका मिलनले आफैलाई गिज्याइरहेको भान हुन्थ्यो। न उसको जीवनमा नयाँ बिहानीले उल्लास थपिन्थ्यो न फूलको सुगन्धले मोहकता। न समयले हतार गराउँथ्यो न मुहारमा चमकता।
उसले उदाउँदै गरेको सूर्यको दर्शन गरेसँगै आफूले विवाहपूर्व कल्पना गरेको जीवनसाथी र वास्तविक जीवनमा कुनै रात आरामले निदाउन नदिने श्रीमानबीच तुलना गरी। सोही समयमा वसन्तको साथ पाएर पालुवा पलाएसँगै हरियो बनेको घर पछाडिको जङ्गलबाट कोइलीले 'कुहु-कुहु' र 'काफल पाक्यो' भन्दै सुरिलो स्वरमा आफ्नो परदेशिएको प्रेमीलाई बोलाए जस्तै ऊ पनि आफ्नो भाग्यमा परेको पथभ्रष्ट श्रीमानलाई फकाएर आफ्नो सुमधुर भविष्य कोर्न सकिने कुनै मन्त्रको खोजीमा थिई।
हुन पनि विवाह भएको दश वर्षसम्म उसले कुनै दिन पनि आफ्नो श्रीमानसँग बसेर न मिठो गफ गर्न पाएकी थिई न सँगै बजार गएर मन लागेका कुरा घुर्की लगाउँदै किन्न। न कुनै दिन सँगै बसेर खाना खान पाएकी थिई न सँगै माइत जान।
सुनेकी थिई त बस् 'तँ मेरी श्रीमती हैनस्' र 'मेरी आमाकी बुहारी' भन्ने भनाइ। देखेकी थिई त आधारातमा बेहोसीमा भित्रँदै स-सानो कुरालाई लिएर निहुँ खोज्दै गर्ने झगडा र भोगेकी थिई त रातभरिको दानवीय व्यवहार।
श्रीमानसँगै डुल्ने, घुम्ने र सिनेमा हेर्न जाने कुरा त ऊ न सपनामा देख्न सक्थी न विपनामा पाउन सक्थी। मात्र कहिलेकाहीँ कल्पना गरेर रमाउने गर्थी। ऊ थिई त मात्र सासूकी संस्कारी बुहारी। सम्पन्न घरकी मालिक्नी। अनि बाबुको पौरखको सम्पन्नतासँगै चार छोरीपछि जन्मिएकाले पुल्पुलिएर हुर्केको, दुःख र अभाव नदेखेकोले गलत संगत र बाटो बनाउँदै जानी-जानी गन्तव्यहीन यात्रामा रमाएर पुरुषार्थ गरेको सम्झने र आफ्नी आमाले सम्पत्तिको आडमा आफ्नो बिग्रिसकेको छोरोलाई सुधार्ली कि भन्ने आशमा आफ्नै साथीकी छोरीलाई आफ्नो चलाखीले भित्र्याएकी, श्रीमतीले दिएको माया र सम्मानलाई पाखण्डीपन ठान्ने पुरुषकी श्रीमती।
नौ महिना कोखमा राखेर जन्म दिई हुर्काएको घमण्ड गर्ने सासूआमाले आफ्नो छोराको भविष्य बनाउने चाहनाले आफ्नै साथीकी छोरीको भविष्य अन्धकार पारिदिएकी थिइन्। छोराको सतव्यवहारको भिख माग्न उसका हरेक इच्छा खुसीसाथ पूरा गरिदिएकी थिइन् भने दुई जना सहयोगीहरू हरेक क्षण उसको अघिपछि लगाइदिएकी थिइन्।
छोराकी आमा हुन पाएकोमा गर्व गर्ने सासूआमाले आफ्नै छोरालाई मान्छे बनाउन अर्काकी छोरीसँग गर्नु परेको याचना देखेर कुनै बेला निकै माया लाग्ने गर्थ्यो उसलाई। कुनै समय थाहा हुँदाहुँदै आफ्नो कुबाटोमा हिँडेको छोराका लागि आफ्नै साथीकी अबोध र उमेर नै नपुगेकी छोरीका सपनाहरूसँग गरेको खेलवाड सम्झेर आमाको नाममा असंख्य श्रद्धा बटुलेकी नारी सासूको नातामा कतिसम्म दुष्ट बन्न सक्दारहेछन् भन्ने कुराको पुष्टी गराउँथ्यो।
भलै उसको दिनचर्या देखेर लोभ र डाह गर्नेहरूको पनि कमी पटक्कै थिएन। त्यस्तै, बाबुको व्यापार व्यवसाय सम्हालेर बसेको ज्वाइँ भनेर दङ्ग परेका माइती पक्षसँग पनि उसले गर्न सक्ने गुनासाहरू केही थिएनन्।
विवाहपूर्व सजाएका रमाइला क्षण र सुनौलो रातको कल्पना, बिहेकै दिन मध्यरातमा बेहोस हुँदै तीन जनाको सहयोगमा आएको उसको पति र उसले सुनाएको उसकी प्रेमिकाको वर्णन अनि विवाहसँग उसलाई कुनै सरोकार नभएको कुराले चक्नाचुर पारिसकेको थियो। तैपनि माया र व्यवहारले आफ्नो बनाउँछु भन्ने झिनो आशालाई उसले मर्न दिएकी थिइन।
श्रीमानको मायाबिना मरुभूमि सरहको घर सम्हाल्ने जिम्मा लिनुपर्ने बाध्यता र प्रेमबिनाको सम्बन्ध निर्वाह गर्नुपर्दाको पीडा उसलाई जति सायद कसैलाई थाहा थिएन। एउटी नारी आखिर पतिकै मायाको आडमा त उसको घर, व्यवहार र नाता सम्हाल्न सक्छे। २४ घण्टाको समय कटाउन त गाह्रो हुने मानवीय मनले आखिर १० वर्षसम्मको समय व्यतीत गरिसकेको थियो।
बाहिरबाट हेर्दा चिटिक्क देखिने भव्य महलभित्र विवाहपछि कर्तव्य भुलेर घर बिग्रिएसँगै माइत बसेका दुई आमाजूहरू पनि थिएँ। घर चलाउने सासूआमालाई पनि सजिलो त कहाँ थियो र? घर रिझाउन नसकेर एक-एक सन्तानसहित माइती बस्न आएका दुई छोरी, आमाको रहर सम्झेर वास्ता नगर्ने बेपर्वाह छोरो, हरेक दिन मानसिक पीडा लुकाउँदै शारीरिक पीडा छुपाउन नसकी अमिलो मन लिएर भित्र र बाहिर गर्ने बुहारी अनि सम्हाल्नै नसकिने अथाह सम्पत्ति।
श्रीमानको मृत्युसँगै खप्नु परेको असह्य वेदना र उमेर बढ्दै गएसँगै लागेका रोग तथा कमजोरीमा पनि घर धानेर बस्नु पर्ने अवस्थाकी सासूआमाको दिनचर्या पनि सहज थिएन। घर-व्यवहार छोरा-बुहारीलाई जिम्मा लगाएर तीर्थ व्रतमा रमाउनु पर्ने उनको समय रातदिन माइती बसेका छोरीहरूको परिवार र कुलकै कलंक बनेको छोराको परिवारको कुरा मिलाउँदैमा व्यतीत हुन्थ्यो।
सासूआमाको दुःख बुझेकी भए पनि उसको खेर गएको उमेर, जवानी, रूप र मरेका रहरहरूको क्षतिपूर्ति कतैबाट हुने आश थिएन उसलाई। आखिर मान्छेलाई आफ्नै दुःख त ठूलो हून्छ नि, अर्काकै लागि आफ्नो अनमोल जीवन दाउमा पनि त कति दिन लगाउनु र?
कुनै दिन केही नसोची घर छोडेर हिँडिदिउँ जस्तो पटक-पटक लागेको भए पनि कुनै पल खुसी नदिएको श्रीमानले आमाकै चाहना भनेर उसलाई तीन मायालु छोरीहरू भने दिइसकेको थियो। तिनैका रेखदेखमा तिनकै मुहार र भविष्य हेरेर दिन कटाउनु सिवाय केही उपाय नभएकी उसलाई अझै दिनभन्दा पनि रात कटाउन मुस्किल पर्थ्यो।
धेरै मानिसहरूको दिनभरिको कामको थकान मेट्ने र कामको सिलसिलामा छुटेका प्रियजनहरूसँग भेट्ने रातको सुमधुर समय उसको लागि भने कालरात्री झैं बन्दथ्यो। सूर्य अस्त भएसँगै देखिने अँध्यारोपनमा उसको मुटुको धड्कन पनि तीव्र गतिमा धड्कन्थ्यो। उसको श्रीमानले ठानेको रमाइलोभित्र रहेको बेहोसीमा निहुँ खोज्दै गर्ने झगडाले शरीरका धेरै अंगहरूमा चोट पुगिसकेको थियो। कुनै दिन ढोका र भित्तामा ठोक्क्याइदिएको शिरको दुखाइ बढ्दै गएर भोगेको पीडा घरका मान्छेहरूले नदेखे झैं गर्दथे भने बाहिरका मान्छेहरूलाई सुनाउनुको कुनै अर्थ थिएन।
उमेर बढ्दै गएसँगै देखिने कमजोरी, दिनदिनैको चोट अनि दुखेको मनले अब भने सहनुको सीमा नाघिसकेको संकेत दिन थालिसकेको थियो। घर-परिवारको व्यवहार परिवर्तन हुने कुनै लक्षण देखिएको थिएन। त्यस्तै घरदेखि निकै टाढा रहेको माइती र माइती पक्षसँग लुकाइएको पीडाले बिस्फोट पो हुने हो कि भन्ने अवस्था आइसकेको भान हुन्थ्यो।
अब भने उसको मनले घर छोड्ने निर्णय गरिसकेको थियो। कहाँ जाने र के गर्ने बारे केही नसोची एक रात निदाइसकेका छोरीहरूको अनुहार धित मर्ने गरी नियाली र गन्तव्यहीन यात्रामा निस्की।